माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधबारको बैठकले शर्मालाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

सुर्खेत– नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधबार बसेको बैठकले शर्मालाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

अध्यक्ष केसीले भनिन्, “दल नेतामा कालिकोटका दुर्गाबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो। हिजो र आज बसेको प्रदेश समितिको बैठकमा बृहत् छलफलपछि उहाँलाई सर्वसम्मत रूपमा दलको नेता बनाइएको हो।”

दलको नेतामा निर्वाचित शर्मा रूकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०७४ मा जिल्ला समन्वय समिति रूकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका उनले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन्।