उद्योगमन्त्री बन्दै जनमत पार्टीका नेता अब्दुल खान

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्रीका लागि योग्य नभएको बताए। उनले पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।

काठमाडौँ– जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको सत्तारूढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताए। 

उनले सो मन्त्रालयमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णयसमेत गरिसकेको जानकारी दिए। अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए।

"हाम्रो पार्टीको तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष अब्दुल खानजी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ। त्यो निर्णय पार्टीबाट भएको छ। मचाहिँ सांसदको लागि पनि त्यति योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो", उनले भने, "त्यही भएर हाम्रो पार्टीले योग्य व्यक्तिलाई नै पठाउँदै छ सरकारमा। उहाँ पनि निकै ठूलो संघर्ष गर्नुभएको व्यक्ति हो।"

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयले आजै अपराह्न ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ।