नेपालको मौलिक धन ललितकलाः गर्नैपर्ने यी ५ काम

कलाक्षेत्र संसारमा सिर्जनशील अर्थतन्त्र निर्माणमा अग्रणी बन्दैछ। नेपालकै हस्तकला अन्तर्राष्ट्रिय बजारमा चर्चित छ। कला–संस्कृतिमा धनी नेपालले यो मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न ढिलो गर्नुहुन्न।

नेपालको ललितकला क्षेत्रमा रहेका सम्भावना र अवसरको उपयोगबाट देशले बृहत्तर लाभ लिन सक्ने अवस्था निर्माण गर्न यी काम गर्नैपर्छ। ओमप्रकाश घिमिरे (फोटोका लागि)



ओमप्रकाश घिमिरे



लेखक तथा कला इतिहासकार जोन रस्किनले भनेका छन्, ‘ललितकला त्यस्तो मानव कला हो जहाँ मानव हात, दिमाग र हृदय सँगसँगै हिँड्छन्।’



ललितकला सिर्जनाका लागि शिल्प, ज्ञान र हृदयभावको संयोजन अपरिहार्य रहेको उनको यो भनाइले देखाउँछ। बसन्तकुमार शर्माको शब्दसागर नेपाली शब्दकोशअनुसार मनका कोमल भावलाई नरम तरिकाले व्यक्त गरिने जीवन्त सीप, वास्तु, शिल्प, चित्र, मूर्ति, संगीत आदिको कला नै ललितकला हो। जे होस्, ललितकला सर्जकको सिर्जनाको विविधताको प्रतिनिधित्व दुवै दृष्टिले व्यापक छ। नेपाल जस्तो भाषा, धर्म, संस्कृति र परम्परामा उच्च विविधता भएको देशका लागि त ललितकलाको क्षेत्र अझै व्यापक र महत्त्वपूर्ण छ। 



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको यही सम्भावनालाई उजागर गर्न हरेक वर्ष प्रादेशिक तथा राष्ट्रियस्तरका प्रदर्शनी आयोजना गर्दै आएको छ। यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी १५–३१ जेठमा सम्पन्न भयो। ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ नारासहित आयोजित यस प्रदर्शनीमा ६०० कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरिएका थिए। यसमा सातै प्रदेशका कलाकृतिसहित राउटे समुदायको काष्ठकला र राउटे समुदायको समेत सहभागिता थियो।



विगतका प्रदर्शनीको तुलनामा यस पटक राजनीतिक नेतृत्व, कलाकार, विद्यार्थी र विदेशी कूटनीतिक व्यक्तित्वको बाक्लो उपस्थिति देखियो। करिब ५० हजार व्यक्तिले अवलोकन गरेको यो प्रदर्शनीले नेपालको ललितकला क्षेत्रमा आशाको सञ्चार गरेको छ। प्राध्यापक डा. अभि सुवेदीका अनुसार, सातै प्रदेशको प्रतिनिधित्वसहितका ग्यालरी निर्माण, विस्तृत जानकारीमूलक पुस्तिका र गाइडेड टुरको व्यवस्थाले प्रदर्शनीको स्तरमा सुधार आएको संकेत गर्छ।



ललितकला प्रतिष्ठानको यो प्रयास प्रशंसनीय भए पनि नेपालको ललितकलाको विशाल सम्भावनाको तुलनामा यो पर्याप्त छैन। पछिल्ला दुई वर्षका प्रदर्शनीमा देखिएका चासो र ललितकलाको व्यापकतालाई मध्यनजर गर्दा यस क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने पाँच महत्त्वपूर्ण सवालहरू उजागर भएका छन्। यो लेखमा यिनै पाँच सवाल संक्षिप्त उठान गरिएको छ:



१. ललितकलाको सार्वजनिक महत्वलाई देशव्यापी बनाउने 



ललितकला समाजको चिनारी, सामूहिक ज्ञान, मनोरञ्जन तथा भावनात्मक अभिव्यक्तिको सिर्जना हो। हाम्रो ललितकलाबारे थाहा पाउनु हरेक नेपाली नागरिकको अधिकार हो। नागरिकको यो अधिकार सुनिश्चित गर्न ललितकलाको सार्वजनिक महत्त्वलाई विस्तार गर्न आवश्यक छ। पछिल्ला प्रदर्शनी यस दिशामा महत्त्वपूर्ण प्रयास हुन्। तर यसलाई ७५३ वटै स्थानीय सरकार, सातै प्रदेश सरकार, विद्यालय, राजनीतिक दल तथा अन्य सामाजिक संस्थासँग जोडेर अभियानका रूपमा विस्तार गर्न सके ललितकलाको सार्वजनिक महत्त्वलाई सघन रूपमा स्थापित गर्न सकिनेछ।



ललितकला कुनै पनि देशको मौलिकताको सिर्जनालाई प्रतिबिम्बित गर्ने कला हो। यसलाई कुनै अस्थायी वा अवधि विशेषको प्रदर्शनीले मात्र सबैसम्म जोड्न सक्दैन। ललितकलाको संग्रहालय सञ्चालन गर्न सकिए देशविदेशबाट आउने सबै कलाका पारखीलाई वर्षभर नै ललितकला हेर्ने अवसर सिर्जना गर्न सकिन्छ। प्रतिष्ठानले केही प्रयास गरे पनि यसलाई मूर्तरूप दिन सकिएको छैन। संग्रहालय अभावले ललितकलाका विधा र विविधतालाई हामीले आममानिससम्म जोड्ने अवसर गुमाइरहेका छौँ।



फ्रान्सको लुभ्र म्युजियम विश्वमा सबैभन्दा बढी आगन्तुक आउने संग्रहालय हो, जहाँ वार्षिक झन्डै ९० लाख दर्शक आउँछन्। यसले वार्षिक रूपमा २० करोडदेखि २५ करोडसम्म युरो आम्दानी गर्छ, जुन झन्डै ४० अर्ब रुपैयाँ बराबर हो। संसारका अन्य धेरै देशका कला संग्रहालयले पनि वार्षिक लाखौँ पर्यटक आकर्षित गरी अर्बौं आम्दानी गर्छन्। यो उदाहरणले ललितकला संग्रहालय खर्चको स्रोत मात्र नभई आर्थिक आम्दानीको महत्त्वपूर्ण स्रोत र आम मानिसलाई आफ्नो कलासँग जोड्ने माध्यम पनि हो भन्ने देखाउँछ। जति धेरै ललितकला अवलोकनको अवसर सिर्जना हुन्छ, यसको सार्वजनिक महत्त्व त्यति नै बलियो बन्छ।



२. ललितकलालाई सिर्जनशील अर्थतन्त्र निर्माणसँग जोड्ने 



अहिले विश्वका धेरै देशमा कला क्षेत्र सिर्जनशील अर्थतन्त्र निर्माणको अग्रणी क्षेत्रका रूपमा स्थापित हुँदैछ। सन् १९९० को दशकमा युनेस्कोले कला र संस्कृतिलाई सिर्जनशील अर्थतन्त्रसँग जोड्न नसक्दा विश्वले ठूलो अवसर गुमाएको औँल्याएको थियो। त्यसपछि धेरै देशले  कला र संस्कृतिलाई सिर्जनशील अर्थतन्त्रसँग जोड्ने क्रम शुरू गरेका हुन्। सन् २०२१ लाई संयुक्त राष्ट्रसंघले सिर्जनशील अर्थतन्त्र वर्षको रूपमा मनायो। उक्त अवसर पारेर गरिएका अध्ययनले सिर्जनशील अर्थतन्त्र निर्माणमा कला क्षेत्रको योगदान अग्रणी रूपमा आउने देखाएका छन्। 



कला र संस्कृतिमा धनी नेपालले यस मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न सके ललितकलाको विकासका साथै आर्थिक लाभ पनि विस्तार हुनेछ। उदाहरणका लागि, विदेशी बजारमा चर्चित नेपालको हस्तकला क्षेत्रले करिब १० लाख व्यक्तिलाई रोजगारी दिएको छ र वार्षिक १२ अर्ब रुपैयाँको निर्यात गर्छ। थांका लगायतका अन्य चित्रकलाबाट कलाकारले लाखौँ आम्दानी गर्छन्। ललितकलालाई व्यवस्थित गरी यसको पूर्ण आर्थिक सम्भाव्यतालाई उपयोग गर्न सकेमा उल्लेख्य आर्थिक आम्दानी गर्न सकिन्छ। यसले कलाकारको आर्थिक पक्षलाई बलियो बनाउँदै समग्र कला क्षेत्रलाई सबल बनाउँछ। यो सम्भावनालाई उपयोग गर्नका लागि राष्ट्रियस्तरको अध्ययन गरी त्यसको निचोडका आधारमा खास क्षेत्रको ब्रान्डिङसमेत गर्न सकिन्छ। ललितकला प्रज्ञा प्रतिष्ठानले नेतृत्व गरेर सरोकारवालासँगको समन्वयलाई सशक्त बनाएमा यसको नतिजा आउन धेरै समय कुर्नु पर्दैन।



३. संघीयताको ढाँचामा ललितकलाको विकास र विस्तार 



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान २०६४ सालको ऐनअनुसार स्थापना भई कार्यरत छ। यो ऐन नेपालको संविधान २०७२ भन्दा अघि आएकाले संघीयताको संरचना र सिद्धान्तलाई समेटेको छैन। यसकारण, विद्यमान ऐनलाई संशोधन गरी प्रतिष्ठानलाई संघीय संरचनाअनुसार काम गर्ने स्पष्ट कानूनी आधार खुल्ला गरी दिन आवश्यक छ। कानूनी सीमाका बाबजुद प्रतिष्ठानले प्रदेशस्तरमा ललितकलाको प्रदर्शनी गरेर संघीयताको लयमा ललितकला प्रवर्द्धनलाई अघि बढाएको छ। जबसम्म संस्थागत रूपमा काम गर्ने आधार तयार हुँदैन, तबसम्म यसले दिगोपना पाउन सक्दैन। हाल प्रदेशस्तरमा काम गरिरहेका संस्थासँग सहकार्य गर्ने र उनीहरूलाई ज्ञान, सीप, क्षमता हस्तान्तरणलाई व्यवस्थित गर्न पनि कानून परिमार्जन आवश्यक छ।



संविधानको अनुसूची ६ मा प्रदेश सरकारको एकल अधिकारअन्तर्गत १८ नम्बर बुँदामा भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग शीर्षकमा ललितकलाको विकासलाई प्रदेशको अधिकारका रूपमा पनि उल्लेख गरिएको छ। अनुसूची ८ ले २२ वटा बुँदामा स्थानीय सरकारको जिम्मेवारीअन्तर्गत ललितकलाको संरक्षण र विकासलाई उल्लेख गरेको छ।



स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन नियमन गर्ने तथा भाषा, लिपि संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग गर्ने  व्यवस्था स्थानीय सरकारको कामअन्तर्गत उल्लेख गरेको छ। तर संघीय संरचनामा ललितकलाको क्षेत्रमा संघीय सरकारको कार्य क्षेत्रलाई स्पष्ट पार्ने कानून अहिलेसम्म बन्न सकेको छैन। यस अवस्थामा संघीय सरकारअन्तर्गत रहेको राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानलाई काम गर्न केही असजिलो पक्कै पनि भएको होला। 



प्रतिष्ठानले हाल व्यावहारिक रूपमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको भए पनि, यो कार्यलाई व्यवस्थित र दिगो बनाउन ऐन संशोधन अनिवार्य छ। यसमा जति ढिला हुन्छ, ललितकला विकासका अवसर त्यति नै गुम्दै जान्छन्।



४. ललितकलालाई विद्यालय पाठ्यक्रमसँग जोड्ने 



नेपालको संविधानले आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ। शैक्षिक नीतिअनुसार आधारभूत तहको पाठ्यक्रमअन्तर्गत सामाजिक अध्ययन, सिर्जनात्मक कला र शारीरिक शिक्षामा २० प्रतिशत पाठ्यभार स्थानीय विषयवस्तुमा आधारित हुनुपर्ने प्रावधान छ। यस अन्तर्गत सिर्जनात्मक कलालाई ललितकलासँग जोड्न सकिन्छ।



पाठ्यक्रम निर्माणदेखि सिर्जनात्मक सिकाइलाई बलियो बनाउने शिक्षण विधि, शैक्षिक जनशक्ति जस्ता क्षेत्रमा प्रतिष्ठानले स्थानीय सरकार र विद्यालयहरूसँग सहकार्य गर्न सक्छ। यो सहकार्यले ललितकलालाई सार्वजनिक रूपमा व्यापक बनाउनुका साथै विद्यालय स्तरबाटै नयाँ कलाकारहरू तयार गर्ने आधार बनाउन सकिन्छ। यसले विद्यार्थीका लागि पेसागत विविधता उत्खनन गर्ने नयाँ अवसर पनि सिर्जना गर्छ। कतिपय विद्यालयले सिर्जनात्मक कलाको विषयमा अध्यापन गराए पनि यसको व्यापकतालाई पाठ्यक्रममा समावेश गरी पठनपाठनको व्यवस्था मिलाउनु र यसको शुरूआत नगरेका विद्यालयमा पनि यसलाई लागू गर्न काम गर्नु आवश्यक छ।



५. साझेदारी र सहकार्यको क्षेत्र विस्तार गर्ने 



ललितकलाको विकास प्रज्ञा प्रतिष्ठानको एकल जिम्मेवारी मात्र होइन। प्रतिष्ठानले विभिन्न निकाय तथा क्षेत्रसँग सहकार्य गर्ने, बहस गर्ने र व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्नेजस्ता काम गरिरहेको छ। समाजको एक महत्त्वपूर्ण हिस्साका रूपमा रहेको निजी क्षेत्रलाई पनि ललितकलाको विकास अभियानमा जोड्ने प्रशस्त सम्भावना छ। केही प्रयास भए पनि ती पर्याप्त छैनन्। निजी क्षेत्रलाई यो अभियानमा जोड्न सक्दा आर्थिक स्रोत जुटाउन सहज हुनुका साथै ललितकलाको विस्तारलाई फराकिलो बनाउँदै विशेष गरी सिर्जनशील अर्थतन्त्रको स्रोतका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।



यसका अतिरिक्त, सञ्चार क्षेत्र, संग्रहालय, सम्पदा तथा कलाको क्षेत्रमा काम गरेका संस्था तथा निकायसँग अझ सघन सहकार्य गर्न आवश्यक छ। नेपालको ललितकलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरको पहलकदमी पनि आवश्यक छ।



यी पाँच वटै सवालमा ललितकला प्रज्ञा प्रतिष्ठानले प्रयास गरिरहेको होला। तर ललितकलाले उजागर गरेका प्रशस्त सम्भावनालाई अधिकतम लाभका लागि उपयोग गर्न यी सवालहरूमा गरिने कामको तीव्रता अझ बढाउन आवश्यक छ। यस क्षेत्रमा अरू पनि धेरै काम गर्नुपर्ने र जोडिएका सवालहरू होला नै। तर यी पाँच कार्यहरूले नेपालको ललितकला क्षेत्रमा रहेको सम्भावना र अवसरलाई उपयोग गरी बृहत्तर लाभ लिन सक्ने अवस्था निर्माण गर्नेछन्।