नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।
शरीरमा पानी तथा लवण आदिको कमी पूरा गर्न रक्तवाहिनी नलीबाट सुईमार्फत शरीरमा पानी पुर्याउने कामलाई पुनर्जलीय उपचार भनिन्छ। आधुनिक चिकित्सा विज्ञानले विकास गरेको विधि हो यो। यसले शरीरबाट निक्लिएका तरल पदार्थको सन्तुलन राख्न र शरीरमा पुनः तरल पदार्थ दिएर ठिकठाक गर्ने काम गर्छ। शरीरको मुख्य धमनीमा संकट आउँदा गरिने प्राथमिक र अचुक उपाय यही हो। पार्टीलाई पनि शरीरसँग दाँज्ने हो भने प्राथमिक उपचारमा यही विधि अपनाउनु पर्छ। भयानक रोगग्रस्त भइसकेको खण्डमा मुख्य शल्यक्रिया (मेजर अप्रेसन) नै गर्नुपर्ने हुन्छ। नेकपा एमालेमा यतिखेर यही स्तरको उपचारको खोजी भइरहेको छ। विषय वा प्रसंगले अर्को अर्थ नलागेमा अन्य पार्टी सकुशल छन् भन्ने पटक्कै होइन। संयोगबस, तीनको पनि समयमा ‘डाइग्नोसिस’ हुने नै छ।
वाम एकता: चीनको सुझाव
एमालेमा यतिखेर पुनर्जलीय उपचारको आवश्यकता रहेको चर्चा भूसको आगोसरह विस्तारित भएको छ। र, यसको केन्द्रीय पात्र हुन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै, कुलिङ पिरियडलाई वास्तै नगरी एमाले राजनीतिमा उनको सक्रियताले यस कुराको पुस्टी गर्दै लगेको छ।
चीन भ्रमणपछि नेपाली छापा र विद्युतीय माध्यममा उत्पादित समाचारहरूले यसैतर्फ संकेत गरेका छन्। यसै पनि नेपालीजनको ‘वाम मोहनी’ जबरजस्त छँदै छ। यही भावनालाई जोडेर वाम एकता नै गर्न भण्डारीलाई चीनले सुझाएको लगभग समाचारमा ठोकुवा गरिएको छ। ‘वाम एकताको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव’ शीर्षकका समाचार प्रमुखताका साथ छापिएका छन्।
यद्यपि, चीनले मुखर भएर वाम एकताको सूत्रधार बनाउन खोजेको हो वा चिनियाँ नेताको शारीरिक भाषा (बडी ल्यांग्वेज) खबरीलालहरूले बुझेका हुन् भन्नेबारे यकिन छैन। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको वेबसाइटमा नेपालमा वाम एकता गर्न सुझाएको कुनै लिखितम् छैन। लिखितम् नभए मौखिक रूपमा चिनियाँ नेतासँग खासखुस भएको हुन पनि सक्छ। भण्डारीको भ्रमणलाई समाचारीय मूल्य बनाउन मात्र खोजिएको पनि हुनसक्छ। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाउले वाम एकता गर्न दिएको मन्त्रको खुट खबरले वाम कित्ताको पसलमा तुफान नै भने ल्याइहालेको छैन।
पुनर्जलीय उपचारको छन्द
तर के एमाले पार्टी पुनर्जलीय उपचारले मात्र तंग्रिन्छ? यो उपचारपछि एमालेको विगतको ‘लोकप्रियता’ आगतमा पुनर्स्थापित हुन्छ? ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे आउँदैन है जनवाद छमछम नाचेर’ गीत गाउँदै उदाएको माले हुँदै एमाले यतिखेर कहाँ आइपुगेको छ? सामन्त त झापा विद्रोहमा एकाध गिँडिए, तर त्यस उप्रान्त त उतिखेर सामन्त गिँड्न हिँडेका राजवंशीका सन्ततिहरू नै ‘एमालेको बल्खु दरबार’मै झुन्डिए।
'आफ्नो गाउँ आफै बनाऊँ' र 'वृद्ध भत्ता' कार्यक्रमको सावाँ ब्याज एमालेले उठाइ सकेको छ। ‘अबको सरकार एमालेको, अल्पमतको हैन बहुमतको’ नारा लगाएर कुनै बेला साना वामहरूको काँधमा चढेर अल्पमतको सरकार पनि त एमालेले बनाएकै हो। यतिखेर दक्षिणपन्थी कांग्रेसको कन्दनी समाएर समाजवादोन्मुख राजनीतिक सत्ताको अर्थ लगाइरहेको छ। गएका निर्वाचनहरूमा घोर दक्षिणपन्थी राप्रपालाई सघाएर एमालेले वामपन्थको तेजोवध गरेकै हो। अहिले तिनै दक्षिणपन्थीले सडकमा हायलकायल पारेकै छन्। यदि वास्तवमै सो दल 'एमाले' हुन्थ्यो भने दक्षिणपन्थीको अगाडि घुँडा धस्ने नौबत नै आउने थिएन। एमाले भवनलाई रातारात ‘मीन भवन’ बनाउन हुन्न है भनेर सानो स्वरमा निवेदन गर्दा भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई पाँडे पजनी गरिँदैनथ्यो।
यस्तो बेला 'यो पार्टी त बामाले भइसकेछ' भनेर बात लाग्नु कुनै भारी बात भएन। यति हुँदाहुँदै पनि इमान जमानका एमाले जनलाई पार्टी पुनर्जलीय उपचारपछि तंग्रिने विश्वास हुँदो हो। त्यसमाथि, एमालेको कष्टसाध्य जीवनको उपचारमा आउने मनसुवा त्यस पार्टीको पूर्व नेता (भण्डारी) ले नै राखेपछि कतिपयमा विश्वास पलाएको हुनसक्छ। यसैबीच 'झोला प्रकरण' चर्चामा आएको छ, यस्ता सस्ता, प्रतिक्रियात्मक प्रचार र फोटाले एमाले उल्टै अप्ठ्यारोमा फस्नेछ।
प्रसंग पुनर्जलीय उपचारकै छ। चीन भ्रमणको पूर्वसन्ध्यामा भण्डारीले हेटौँडामा बोलेको 'पञ्चलाइन' यतिखेर चर्चित छ। उनले भनेकी थिइन्, "विगतमा एमालेले राप्रपासँग सहकार्य गर्नु गलत थियो। यतिखेर यही वाक्यको अनेक अर्थ लगाइँदै छ। चीन भ्रमणको अघिल्लो दिन यस्तो कथन आउनु र उताबाट वाम एकताको सुझाव आउनु संयोगमात्र नभएको बरु भित्रभित्रै केही पाक्दै गरेको विश्वास पलाउनु अनौठो होइन। यो वाक्यको मनोगत भावानुवाद गर्दा जे अर्थ आउँछ, अहिलेको राजनीतिक कार्यदिशा त्यही होझैँ गरिन्छ। त्यसअघि विराटनगर पुगेर 'आवश्यकता परे पार्टी नेतृत्व लिन रेडी छु' भन्ने भनाइले भण्डारी आए एमालेको पुनर्जलीय उपचार हुन्छ भन्ने विश्वास बढेको थियो। विराटनगरबाटै भण्डारीले भनेको "मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ।" यो कथनकै निरन्तरता स्वरूप नै अहिलेको कार्यक्रमिक भनाइ आएको बुझाई हुनसक्छ।
कुनै समय थियो, नेपालको राष्ट्रिय राजनीतिमा विराटनगर-कोइराला निवासबाट सार्वजनिक भएको धारणाले सानोतिनो ‘कम्पन’ ल्याउँथ्यो। अब विराटनगर राष्ट्रिय राजनीतिको ‘इपिसेन्टर’ रहेन। हिउँदमा हुस्सु लागेर विराटनगरमा जहाज अवतरण हुन र उड्न पनि मुस्किल पर्छ। राष्ट्रिय राजनीतिका पारखीहरूले पनि भण्डारीकृत त्यो भुईँचालोको मापन गरेको पाइएन। त्यसैको निरन्तरता स्वरूप आएको यी भनाइले एमालेमा कुनचाहिँ ‘कोरामिन इन्जेक्सन’ (कुनै समय आकस्मिक अवस्थामा चिकित्सा क्षेत्रले मानवका लागि प्रयोग गर्ने इन्जेक्सन) दिन्छ भन्ने विश्वास पलाउँछ र? नेताले बोलेको एकाध टिप्पणी टपक्क टिपेर आत्मरतिमा रमाउन त सकिन्छ, तर यति नै भनाइले पुनर्जलीय उपचार भइजाने भो भनेर विश्वास गर्न कठिन हुन्छ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताको संकेत वाम एकता नै भए पनि नेपालका वामपन्थी कम्युनिस्ट पार्टीहरूलाई एक साथ ल्याउने प्रयास प्राविधिक मात्रै हो। यसको पछिल्लो र ज्वलन्त उदाहरण त माओवादी र एमालेबीचकै एकता छँदै छ। यी दुईको एकतापछि गठित डबल नेकपा एक वर्षसमेत राम्ररी टिक्न सकेन। अहिले पनि वाम एकताको नाममा दर्शन र विचारको सम्मिलन हुनसक्छ। यस्ता सम्मिलनहरू ऐतिहासिक अभिलेखसम्म हुन सक्लान्। व्यवहारिक कार्यान्वयन पटक्कै गर्नु नपर्ने अभिलेख त किताबका भान्टासरह हुन्। नेपालका वाम पार्टीका प्रवृत्तिगत पाठ्यक्रमले र आजको परिस्थितिले मेलमिलाप गराउने छेकछन्द ल्याउँदैन। यसर्थ, वाम एकता डाँडा पारिकै कुरा भो। कमसेकम एमालेलाई पुनरावृत्ति गराउने पुनर्जलीय उपचार नै ठूलो कुरा हो।
रहलपहल
नेपालका सबै पार्टी रोगग्रस्त छन्। ती सबैको सिघ्रातिसिघ्र उपचार आवश्यक देखिन्छ। एमाले मात्र रोगग्रस्त भएको अर्थ नलागोस्। कोइली कराएपछि अरू पनि जागा हुन्छन् नै। नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।
नेपालको बहुदलीय पार्टीभित्र राजनीतिक स्वतन्त्रताको कुरा परै रह्यो, पार्टी स्वतन्त्रताको पनि सर्वथा अभाव छ। यसैले भन्ने गरिएको छ, यहाँ नीति तन्त्रबाट स्खलित हुँदै पार्टी दलतन्त्र र नेता तन्त्रमा सीमित भएको छ। त्यो तन्त्र सीमितता पनि शीर्ष नेतामा पुगेर टुंगिएको छ। यस्तो लाग्छ ग्रीक माइथोलोजीको ‘नार्सिसस’ र ‘फिनिक्स’ कुन कथामा ढाल्ने कुराले नै पार्टीको भविष्य तय गर्छ। 'पुनर्ताजगी, पुनर्जागरण र पुनर्निर्माण' का शब्दले मात्र पार्टीको भविष्य सुनिश्चित गर्दैन। यस्तो अवस्थामा भण्डारीको राजनीतिक ‘इन्ट्री’ले सानोतिनो चर्चा बटुल्ला, स्थायी समाधान भने निस्कने सम्भावना छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
