राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा आउने

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ।

काठमाडौँ– अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आउँदो भदौमा बजारमा आउने भएको छ। पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ।

हमालको जन्मदिनको अवसरमा सोमबार काठमाडौँमा पुस्तकको आवरणसमेत अनावरण गरिएको छ। हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा अनावरण गरेका थिए।  

“बहुप्रतीक्षित एवं महत्त्वाकांक्षी साहित्यिक घटनामध्ये एक– हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशनको घोषणा गर्न पाउँदा हामी हर्षित छौँ,” भारीले भने, “यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई दशैँको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ। मलाई लाग्छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो।” 

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ। लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको फाइनप्रिन्टले बताएको छ।