अष्टलक्ष्मी शाक्यलाई प्रश्न– तपाईं राष्ट्रपति बन्दै हुनुहुन्छ?

परिस्थितिमा नाटकीय फेरबदलसँगै एमाले, माओवादीसहितका दलहरूको सरकार बन्दैगर्दा राष्ट्रपति एमालेबाट बन्ने भएपछि सम्भावित राष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको नामसमेत चर्चामा छ।

आइतबार अपराह्न अप्रत्याशित रूपमा सत्तागठबन्धन भत्किएपछि नयाँ–नयाँ राजनीतिक विकासक्रम तीव्र बने। केही बेरअघि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयत्न गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नाटकीय मोड आए झैँ वर्तमान सत्ता गठबन्धनबाट बाहिरिए। अनि नेकपा एमालेसँगै औपचारिक रूपमा जोडिएको संवादपछि उनी एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्ने तय भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आइतबार साँझ नै प्रधानमन्त्री नियुक्त गरेकी छन्। सोमबार दाहालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्। 

एमाले, माओवादीसहितका सात दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि नयाँ राष्ट्रपति एमालेको भागमा परेको छ। राष्ट्रपति भण्डारीको पदावधि फागुनमा सकिने भएकाले माघभित्रै नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने छ। एमालेले नयाँ राष्ट्रपतिका रूपमा कसलाई अगाडि सार्ला? यस्तो चासो बढ्दै गर्दा एमालेमा राष्ट्रपतिका रूपमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम पनि चर्चामा आएको छ। मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ८ को उम्मेदवारमा प्रस्ताव गरिए पनि शाक्यले नयाँलाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन्। के शाक्य राष्ट्रपति बन्ने तयारीमा छन्? एमालेले चर्चामा आए झैँ उनलाई नै राष्ट्रपतिमा अगाडि सार्ला? शाक्यसँग उकालोका लागि सुनीता साखकर्मीले गरेको संक्षिप्त कुराकानी: 

नयाँ गठबन्धनमा भएको सहमतिअनुसार एमालेले राष्ट्रपति पाउने तपाईंको नाम नयाँ राष्ट्रपतिका रूपमा चर्चामा आएको छ। के तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो? 
आज दलहरूका बीचमा एमालेबाट नयाँ राष्ट्रपति बन्ने सहमति भएको सुनेँ। मैले नेताहरूसँग कुरा गरेकी छैन। मेरो नाम राष्ट्रपतिका लागि चर्चामा छ भनेर अरूले पनि भन्नुभएको छ, तपाईंले पनि सुनाउनुभयो। तर, अहिलेसम्म मैले त्यतिपट्टि ध्यान दिएको छैन। 

तपाईंको नाम पहिले पनि राष्ट्रपतिका रूपमा चर्चामा आएको थियो। यसपालि पनि चर्चामा आउँदा केही त सोच्नुभएको होला नि?
हो, त्यसबेला चर्चा भएको थियो। तर, अहिलेको चर्चाबारे मलाई त्यति जानकारी छैन।

तपाईंलाई पार्टीले राष्ट्रपतिका रूपमा अगाडि सार्‍यो भने त बन्नुहुन्छ होला नि? 
पहिलो कुरा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा मैले भन्दा पनि पार्टीले निर्णय गर्ने कुरा हो। त्यस्तो अवस्था भयो भने त्यहीबेला भनौँला। मेरो प्रस्ट कुरा चाहिँ के हो भने मैले अब संसदीय राजनीतिमा लाग्दिनँ भन्ने घोषणा चुनावअघि नै गरेको हो। त्यही भएर निर्वाचनमा उम्मेदवार बनिनँ। अब के हुन्छ, परिस्थिति कसरी अघि बढ्छ, कसले के गरिरहेका छन् भन्नेबारे मलाई जानकारी छैन। 

पार्टीले तपाईंलाई केही भनेकै छैन?
मलाई राष्ट्रपति बन्नुपर्छ भनेर पार्टीले भनेको छैन, अहिलेसम्म त्यस्तो अफर आएको छैन। 

तपाईं मंसिर ४ को निर्वाचनमा उम्मेदवार बन्नु भएन। कतिपयले निर्वाचनमा भाग नलिएकाले पनि तपाईंलाई राष्ट्रपतिका रूपमा अगाडि सार्न अनुकूल छ भनिरहेका छन् नि? 
हेर्नुस्, म राष्ट्रपति बनुँला, त्यो सम्भावना होला भनेर चुनाव नलडेको होइन। मैले अब संसदीय राजनीतिबाट बिदा लिनुपर्छ, अब मलाई मन्त्री बन्नु पनि छैन, सांसद पनि कति पटक पो बन्नु भनेर, नयाँ पुस्तालाई अवसर दिऔँ भनेर निर्वाचनमा भाग नलिने निर्णय गरेको हो। निर्वाचनमा भाग नलिने घोषणा गरेपछि अब म पार्टी राजनीतिमा मात्र केन्द्रित हुन्छु भनेको थिएँ। अब पार्टीले मलाई कुन जिम्मेवारी दिन्छ, मैले त्यही गर्ने हो। म पार्टीको आदेश शिरोपर गर्ने कार्यकर्ता हो।

२०७२ मा पनि राष्ट्रपतिमा तपाईंको नाम चर्चामा आएको थियो। तर, त्यसबेला विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो। अब म बन्नुपर्छ भन्ने लाग्दैन?
२०७२ मा विद्यादेवी भण्डारीलाई पार्टीबाट सर्वसम्मत नै राष्ट्रपतिको उम्मेदवार बनाएर पठाएको हो। त्यतिबेला उहाँलाई राष्ट्रपति बनाउने विषयमा पार्टीमा कुनै विवाद भएको थिएन। त्यसमा मेरो कुनै असहमति पनि थिएन। उहाँ दोस्रोपटक राष्ट्रपतिको उम्मेदवार बन्दा भने झलनाथ खनाललगायतको पनि नाम आएको थियो। 

त्यतिबेला कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा पार्टीभित्र केही विवाद पनि सिर्जना भएको थियो। तर, पछि भण्डारीकै नाममा पार्टीले सर्वसम्मत निर्णय गरेको थियो। त्यतिबेला मलाई नबनाएर पार्टीले अहिले बनाउन खोजेको हो भने पार्टीले यसबारे भन्ला नि। मलाई यसबारे जानकारी छैन। 

राष्ट्रपतिको अफर औपचारिक आयो भने नि? 
यो बारेमा पार्टीमा सल्लाह होला, छलफल होला। पार्टीमा सरसल्लाह नगरी मैले यही गर्छु भन्ने कुरा हुन्न। म त्यसो भन्न पनि सक्दिनँ। अहिलेसम्म मलाई कसैले केही भन्नु भएको पनि छैन।