दाहाललाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपतिकहाँ प्रस्ताव लगिँदै

बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने भएका छन्। 

बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

भर्खरै सकिएको बैठकले दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको र यसबारे औपचारिक प्रक्रियाका लागि राष्ट्रपति कार्यालय जान लागिएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई दिएको समयसीमा आइतबार बेलुकी पाँच बजे सकिँदैछ।

आइतबार सत्तागठबन्धनको बैठक भाँडिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका नेताहरू एमालेसँग संवादका लागि बालकोट पुगेका थिए।

बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको संयुक्त बैठक बसेको थियो। बैठकले दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यी दलको सिट संख्या जोड्दा प्रतिनिधिसभामा कूल १४८ सिट पुग्नेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले पनि यो गठबन्धनलाई सघाउने नेताहरुले बताएका छन्। यी दुई दलले समेत गठबन्धनलाई सघाउँदा राप्रपाका १४ र नागरिक उन्मुक्ति पार्टीका ४ सहित प्रतिनिधिसभामा कूल १६६ सिट पुग्नेछ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सदस्य छन्।