राजीनामा गरी १८ वर्षदेखि जारी यो गोरखधन्दामार्फत लाभ उठाएर आदर्शको भजन–कीर्तन गाइरहेका ढोँगीहरूको आवरण उतार्न सघाए लेखक खलनायकबाट एकैचोटि नायकमा अवतरित हुनसक्छन्।
“मेरो कारणले संसद् नै अवरुद्ध भयो। पत्रपत्रिकाले समाचार र सम्पादकीयमार्फत नैतिकताको आधारमा राजीनामा दिनुपर्छ लेखे। मेरो कथनबाट जनतालाई चित्त नबुझेपछि निकास खोज्नुपर्ने भयो। मैले राजीनामा दिएँ, तर यो राजीनामा दिनपर्ने मुद्दा थिएन,” तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले २०५३ साउन १६ मा राजीनामाका क्रममा भनेका थिए।
अमेरिकाको बैंकमा अर्थमन्त्रीको खाताबारे प्रश्न उठाई प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरुद्ध गरेको थियो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा जागिरका क्रममा खोलिएको खातामा तलब/सुविधाबापत बैंक दाखिला भई बचेको रकम भनेर मन्त्रीले दिएको स्पष्टीकरणमा अपत्यार गर्नुपर्ने केही थिएन। तैपनि प्रतिपक्षले राजीनामा माग गरी संसद् चल्न दिएन, सञ्चारमाध्यमले (प्रिन्ट नै निर्णायक मानिने बेला थियो) नैतिकताको प्रश्न उठाए। मन्त्रीले राजीनामा दिए। (२६ वर्षअघिको घटना: विदेशी बैंकको खातामाथि प्रश्न उठेपछि जब अर्थमन्त्री रामशरण महतले राजीनामा दिए, २१ असार २०७९ नेपाल लाइभ, किशोर दहाल)
रमेश लेखकले गृहमन्त्रीबाट राजीनामा दिउन्, कांग्रेसको पदाधिकारी बैठक वा एमालेको स्थायी समिति बैठकले दिने ‘क्लिनचिट’लाई वास्ता नगरी फिलहाल राजीनामा गरुन्। नागरिकको मन–मस्तिष्कबाट मिल्ने क्लिनचिटका लागि उनको राजीनामा अपरिहार्य छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थप्रसाद भट्टराईलाई उठाएकै कारण लेखकलाई गृहमन्त्री पदत्याग गर्न भनिएको होइन। अख्तियारले उठाउनासाथ ‘भट्टराई–गृहमन्त्री सेटिङ, दैनिक ५० लाख असुली गरिरहेथे भट्टराई’ भनेर एकै एंगलका स्टोरी यत्रतत्र सर्वत्र भए भनेर उनले राजीनामा गरिहाल्नपर्छ भनेको पनि होइन। सुनियोजित सुनिने एकै एंगलका स्टोरीमा भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा मन्त्रीको मिलीभगत पुष्टि गर्न खासै केही छैनन्, अख्तियारस्रोतले यसो भन्यो/उसो भन्योबाहेक।
अझ केही दिनअघि भारत–पाकिस्तान तनावका बेला केही भारतीय न्युज च्यानलका हेडलाइन ‘इस्लामाबाद मे भारतीय सेनाका कब्जा’, ‘कराँची बन्दरगाहमे भारतीय नौसेनाका भयंकर हमला’ टाइपका अख्तियारस्रोतका अनुसार भन्दै प्रकाशित/प्रसारित ‘भट्टराईद्वारा मन्त्रीसँग सेटिङ स्वीकार, दैनिक बुझाउँथे ५० लाख’ जस्ता समाचारकै आधारमा राजीनामा गरिहाल्न भनिएको पनि हैन। भरपर्दा आधारबेगर ‘मन्त्रीको सचिवालयको संलग्नता पुष्टि’लाई पत्याएर राजीनामा गर्नु भनिराखिएको छैन। अनुसन्धानको प्रारम्भिक चरणमै देखिने अख्तियारले मन्त्रीले सेटिङ गरेको भनिएका कर्मचारीको बयान लिनै बाँकी छ, उनका विद्युतीय डिभाइस फरेन्सिक ल्याबमा परीक्षणकै क्रममा छन्।
कांग्रेस–एमालेकै साझेदारीमा सरकार बनाई संविधानसमेत संशोधनको माग गरिरहने अनि आफूले मागेबमोजिमकै सरकार बनेका दिनदेखि सदाबहार आलोचक डा. शेखर कोइरालाले राजीनामा मागिसकेकाले अब त दिनैपर्छ भनेको पनि होइन। उनको आलोचना सामाजिक सञ्जालमा प्रचलित ‘अटेन्सन सिकर’भन्दा फरक सुनिन्न। लेखककै पालामा भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रमुखको आकर्षक पोस्टिङ पड्काएका थिए भन्ने आधारमै मन्त्रीसँग सेटिङ स्थापित भइसक्यो त्यसैले अब राजीनामा गरिहाल्नपर्छ भनिएको पनि छैन।
डा. महतको मुद्दाभन्दा शंका गर्नुपर्ने अनेकन् कारण रहेकाले उनले राजीनामा गर्नपर्छ भनिएको हो। अख्तियारले छापा मार्ने अघिल्लो दिन हतारहतारमा भट्टराईलाई मन्त्रालय फिर्ता गरिनुले नै उनीप्रति शंका जन्माउँछ। हाम्रो राजनीतिमा नैतिकता भन्ने शब्द जीवित छ भन्ने देखाउनलाई पनि लेखकले राजीनामा गर्नपर्छ।
पोहोर तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत झन्डा फहराउँदै बयान दिन अख्तियार पुग्थे। बस्नेतकै जस्तो आचरण र नैतिकता लेखकबाट अपेक्षा गरिएको छैन। त्यसैले त झन्डा फहराउँदै, बयान दिँदै गर्दा पनि बस्नेतसँग राजीनामाको माग खासै सुनिएन। ‘यिनीसँग नैतिकताको अपेक्षा गरेर जगहँसाई त क्यार्नु हउ’ भन्ठानेर पनि त मान्छेले राजीनामा नमागेका हुनसक्छन्। लेखक त गृहमन्त्री हुनु अघिसम्म राम्रैमा दरिन्थे। हेर्दा शालीन व्यक्तित्व अनि बेजोड वक्तृत्वकलाले राम्रै छाप थियो। भ्रष्टाचारीका रूपमा डुङडुङ्ती गन्हाएका पात्र पनि त थिएनन्। लेखक (राइटर)ले पाठक (रिडर)को चाहनाको परवाह गरेजस्तै गृहमन्त्रीले नागरिकको चाहना परवाह गरी राजीनामा गरे उनकै राजनीतिक भविष्यलाई सपार्ने सम्भावना छ।
नैतिकता पनि दरबारमा बन्धक राख्नपर्ने, कतिपयले त मन्त्रीमा नियुक्ति दिँदा राजीनामाको पत्रमा सहीछाप गरी लिने पञ्चायतकालसम्म पुग्नै पर्दैन। एउटा अव्वल प्रशासक (तत्कालीन अर्थसचिव रामविनोद भट्टराई)लाई गभर्नर बनाउने चाहनामा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विवादित व्यक्ति (डा. तिलक रावल)मार्फत पानी खन्याइदिएपछि महेश आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
२०५६ माघ १३ गते राजीनामा गरी बाहिरिएका आचार्य भट्टराईलाई गिरिजाप्रसाद कोइरालाले विस्थापित गरेपछि दुई महिना नबित्दै (चैत ८) मा पुनः अर्थमन्त्री बनेका उनले रावललाई बर्खास्त गराउन भूमिका खेले। बर्खास्त भएका तिनै रावललाई सर्वोच्च अदालतले बहाली गरिदिएपछि पुनः राजीनामा गरी बाहिरिन खोजेका आचार्यको राजीनामा प्रधानमन्त्री कोइरालाले अस्वीकृत गरेका थिए।
आचार्यले राजीनामा गरी हिँडे पनि प्रधानमन्त्रीले अस्वीकृत गरिएका त अरू एकाध किस्सा छन्। त्यसअघि शैलजा आचार्यले आफै मन्त्री रहेको कृषि मन्त्रालय नै माफियाले चलाएको सार्वजनिक अभिव्यक्ति विवादमा परेपछि राजीनामा दिएकी थिइन्।
भिजिट भिसाको आवरणमा तस्करी पुरानै गोरखधन्दा हो। वैदेशिक रोजगारी विभागमै महानिर्देशकसमेत रहिसकेका एक पूर्वसचिवअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ लागू भएपछि यस्तो गोरखधन्दा शुरू भएको हो। “वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि कामदारको हितमा नियमनहरू आउँदै गए,” उनी भन्छन्, “यसपछि नियमन बाहिरबाट भिजिट भिसाको आवरणमा मान्छे पठाउन शुरू भयो।’
भिजिट भिसाको इकोसिस्टमबारे उनी थप्छन्, “भिजिट भिसामा कडिकडाउ नगरेपछि वैध बाटोमार्फत वैदेशिक रोजगारीमा जानेउपर कडिकडाउ गरी विमानस्थलबाट फर्काउन शुरू हुन्छ। त्यसपछि भिजिट भिसातिर डिमान्ड बढ्छ, त्यो डिमान्डले फेरि भिजिट भिसा खुलाउँछ।”
यदि आफैले दाबी गरेजस्तै कुनै सेटिङमा संलग्न छैनन् भने उनले राजीनामा नगर्नपर्ने कुनै कारणै छैन। बरु उनले त राजीनामा गरी १८ वर्षदेखि जारी यो गोरखधन्दामार्फत लाभ उठाएर आदर्शको भजन–कीर्तन गाइरहेका ढोँगीहरूको आवरण उतार्न सघाए खलनायकबाट एकैचोटि नायकका रूपमा अवतरित हुनसक्छन्।
२०५३ साउन १६ गते राजीनामा गरेका महतलाई भदौ २० गते राजस्व अनुसन्धान विभागले क्लिनचिट दिएपछि कात्तिक १ मा पुनः अर्थकै जिम्मेवारीसहित मन्त्री भएका थिए। अख्तियारको अनुसन्धान, त्यो पनि जेठ २८ सर्वोच्च अदालतको फैसलासँगै सबै पदाधिकारीको नियुक्ति खारेज हुने सम्भावना भएका कारण महतकै जस्तो ‘फास्टट्र्याक’मा भिजिट भिसा काण्डको अनुसन्धान नटुंगिएला, तर १८ वर्षदेखि करिब–करिब अनवरत जारी गोरखधन्दाको पर्दाफास भए देशैलाई फाइदा पुग्नेछ।
नबाबहरूको शहर लखनउमा पढेका अनि शेर–ओ–शायरीका शोखिन लेखकले प्रतिनिधिसभामा वाचन गरेको शहाब जाफरीको शेर,‘तू इधर उधर की न बात कर
ये बता की काफिला क्यूँ लूटा
मुझे रहजनो से गिला नही
तेरी रहबरी का सवाल है’ स्मरण गरी सामाजिक सञ्जालमा उनको राजीनामा माग भइरहेको छ।
गृहमन्त्रीले लेखकलाई इरतिजा निशातको, ‘कुर्सी है तुम्हारा ये जनाजा तो नही है
कुछ कर नही सकते तो उतर क्यू नही जाते’ पनि याद नै हुनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
