पछिल्लो ६ महिनामा चार वटा घरेलु प्रतियोगिता हुँदा राष्ट्रिय टोलीका खेलाडीहरू लयमा फर्किन संघर्षरत थिए। केही ‘अनक्याप्ड’ खेलाडीको प्रदर्शन भने अब्बल थियो, तर तिनै खेलाडी किन छुटे स्कटल्यान्ड भ्रमणमा?
काठमाडौँ– क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डविरुद्ध त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्ने राष्ट्रिय टोली गत वैशाख ३१ गते बेलायत प्रस्थान गर्दा अधिकांश पुरानै खेलाडी थिए। पछिल्लो ओडीआईमा हार बेहोरेकै टोलीलाई निरन्तरता दिँदा घरेलु क्रिकेटमा अब्बल प्रदर्शन गर्ने खेलाडी नेपालमै छुटे।
नेपालले लिग–२ अन्तर्गत दुई वटा ओडीआई श्रृंखलाका लागि २०८१ असोजमा पहिला क्यानडा र त्यसपछि अमेरिका भ्रमण गरेको थियो। त्यसयता ओडीआई खेलेको छैन। ती प्रतियोगितामा आठमध्ये एक खेल जितेको नेपाली टोलीका दुई खेलाडी मात्र परिवर्तन गरेर युरोप भ्रमणमा पठाइएको छ।
क्यानडा र अमेरिकामा लिग–२ का आठ खेल खेल्दा नेपाल घरेलु टोलीसँगका चार खेलमै पराजित भएको थियो। ओमानसँग एक खेलमा पराजित हुँदा, अर्को खेल वर्षाले रद्द भएको थियो। स्कटल्यान्डविरुद्ध पहिलो खेल जितेको थियो भने दोस्रो खेल वर्षाले रोकिएको थियो।
उक्त भ्रमणमा नेपाल ब्याटिङ र बलिङ दुवैमा चुकेको थियो। नेपालका ओपनर ब्याटर अधिकांश खेलमा चल्न सकेका थिएनन्।
यसपटक स्कटल्यान्डमा नेपालले असार २ गते नेदरल्यान्डसँग पहिलो ओडीआई खेलेर लिग–२ को चौँथो श्रृंखला शुरू गर्नेछ। नेपालको टोलीमा गत वर्ष अमेरिका भ्रमण गरेका कुशल मल्ल र अर्जुन साउद मात्र छैनन्।
यसपटक बसिर अहमद र नन्दन यादव टिममा छन्। बसिर बायाँ हाते ब्याटर र बायाँहाते अर्थोडक्स हुन्। नन्दन मध्यम गतिका बलर हुन्। उनी तल्लोक्रमम आएर ब्याटिङ गर्ने क्षमता राख्छन्।
नेपालले सात महिनाको अन्तरालपछि लिग–२ खेल्दैछ। यसबीचमा नेपाल प्रिमियर लिग (एनपीएल) पीएम कप, जय ट्रफलगायत घरेलु प्रतियोगिता भए। यी प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिरहेका ललित राजवंशीबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको प्रदर्शन औषत रह्यो।
यी प्रतियोगितामा अर्जुन कुमाल, तृतराज दास, शुभ कंसाकार, नन्दन यादव, किरण ठगुन्ना, युवराज खत्रीजस्ता ‘अनक्याप्ड’ खेलाडीले राम्रो प्रदर्शन गरे। टी२० मा राष्ट्रिय टोलीबाट खेलिसकेका साहब आलमको बलिङ पनि राम्रो भयो। राष्ट्रिय टोलीका रिजन ढकाल र बसिर अहमदको प्रदर्शन पनि ठीकठाक थियो।
तर पीएम कपमा ब्याटिङमा सबैभन्दा बढी रन बनाउनेको शीर्ष ३ मा परेका अर्जुन कुमाल, तृतराज दास, इशान पाण्डे राष्ट्रिय टोलीमा परेनन्। यी तीनै खेलाडी शीर्षक्रमका ब्याटर हुन्। एनपीएल, पीएम कप, जय ट्रफी मात्र नभई कोर क्याम्पमा पनि राम्रो प्रदर्शन गरेका शुभ कंसाकारलाई पनि टिममा राखिएको छैन।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी छनोटका लागि भनेर पीएम कप र जय ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्ने तथा यू१९ टोलीका गरी ५२ जनालाई कोरक्याम्पमा राखेको थियो। यी खेलाडीलाई चार टिममा बाँडेर दोहोरो लिग खेलाइएको थियो।
कोरक्याम्पको प्रतियोगितामा पनि राष्ट्रिय टोलीबाट खेलिसकेका अधिकांशको प्रदर्शन राम्रो थिएन। राष्ट्रिय टोलीका ओपनर आसिफ शेख र अनिल साहले रन बनाउनै सकेनन्। कप्तान रोहित पौडलको खराब फर्म जारी रह्यो।
अर्को चार वर्षका लागि नेपालको ओडीआई मान्यता जोगाउन लिग–२ महत्त्वपूर्ण प्रतियोगिता हो। नेपालले लिग–२ अन्तर्गत १२ खेल खेल्दा जम्मा दुई वटामा जितेको छ र दुई वटा रद्द भएका छन्।
नेपाल ६ अंकसहित आठ देश सम्मिलित तालिकामा सबैभन्दा पुछारमा छ। नेपालले यही प्रतियोगिताबाट ओडीआई मान्यता जोगाउन शीर्ष चारमा पर्नुपर्छ।
लय बिग्रिएकालाई नै किन अवसर?
नेपालको ब्याटिङ समस्या परम्परागत नै हो। खासगरी ‘टप अर्डर’ ब्याटिङमा समस्या थियो। तर तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोरले कुशल भुर्तेल र आसिफ शेखलाई ओपनरको भूमिकामा ल्याएपछि केही समय यो समस्या समाधान भयो। यही बीचमा मौका पाउँदा अनिल साह र अर्जुन साउदले पनि ओपनिङमा राम्रो प्रदर्शन गरे।
तर पछल्लो पटक खेलेको लिग–२ श्रृंखलामा मात्र नभई घरेलु क्रिकेटमा पनि भुर्तेललाई छाडेर अन्यको प्रदर्शन राम्रो भएन। पारस खड्काको सन्यासपछि ‘वान डाउन’मा रोहित पौडेललाई राम्रो मानिएको थियो। तर उनी फर्ममा फर्किन सकेका छैनन्। यो स्थानमा परीक्षण गरिएका भीम सार्की र आरिफ शेखले पनि राम्रो गर्न सकेनन्।
राष्ट्रिय खेलाडी छनोट समितिका संयोजक एलबी क्षेत्री विगतमा राष्ट्रिय टोलीमा गरेको प्रदर्शनलाई पनि आधार बनाएर खेलाडी छानिने बताउँछन्। खेलाडीको अहिलेको प्रदर्शन मात्रै हेर्दा यसअघि दिएको योगदानमाथि अन्याय हुने उनको भनाइ छ। जटिल र संघर्षपूर्ण स्थितिमा बलियो मनोविज्ञानका साथ खेल्नुपर्ने हुँदा अनुभवीलाई मौका दिनुपरेको उनी बताउँछन्।
स्कटल्यान्ड जानुअघि अहिले नेपाली टोली बेलायत भ्रमणमा छ। त्यहाँ नेपाली टोलीले पहिलो अभ्यास खेल जितेको छ। तर शीर्ष र मध्यक्रमका ब्याटरको प्रदर्शन फेरि पनि निराशाजनक भयो।
न्यु पोर्ट क्रिकेट क्लबविरुद्ध २१३ रनको लक्ष्य पछ्याएको नेपालले १८ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। नेपालले खातामा रन नजोड्दै कुशल भुर्तेल र वान डाउन आएका अनिल साहलाई गुमाएको थियो। छनोट समिति संयोजक क्षेत्रीले भनेजस्तै, मध्यक्रम र पुछारमा आएका दुई अनुभवी ब्याटर आरिफ शेख तथा गुल्सन झाले जितसम्म पुर्याएका थिए। गुल्सनले ७१ बलमा ८० र आरिफले ९८ बलमा ७२ रन बनाए।
क्यानले खेलाडीको प्रशिक्षणमा गरेको लगानीलाई पनि ध्यानमा राखेर निर्णय गर्नुपर्ने क्षेत्रीको तर्क छ। “अप्ठ्यारो स्थितिमा सम्हालिएर प्रदर्शन गरेको अनुभव र टिमको स्पिरिटलाई नियाल्न सक्ने खेलाडी छनोट गरेका हौँ,” उनी भन्छन्, “कोर क्याम्प खेलाडीहरूको प्रतिभालाई उचित मूल्यांकन गर्न नै गराइएको प्रतियोगिता हो। नयाँ खेलाडीलाई प्रतिभा देखाउने अवसर भयो।”
पछिल्लो समय क्यानले गरेका घरेलु प्रतियोगिताबाट कुन खेलाडी कस्तो स्वरूपको खेलमा योग्य हुनसक्छ भनेर चिन्न पाइएको उनी बताउँछन्। आगामी दिनमा कुन प्रतियोगितामा कुन खेलाडी छनोट गर्न सकिन्छ भनेर बुझ्न पनि पाइएको उनले बताए। नयाँ खेलाडीहरूले लय र धैर्यलाई निरन्तरता दिइराख्नु पर्ने उनको भनाइ छ।
नेपाल पुलिस क्लबका प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी मञ्जित श्रेष्ठ भने घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका एक–दुई जनालाई मौका दिएको भए टिम अझै बलियो हुने बताउँछन्। तर नेपाली खेलाडीमा ‘मोमेन्टम क्रिएट’ गर्नसक्ने क्षमताको कमी भएको उनको भनाइ छ।
घरेलु प्रतियोगिताका आधारमा दिलीप नाथ, शुभ कंसाकार, इशान पाण्डेजस्ता खेलाडी राष्ट्रिय टोलीमा राख्न योग्य देखिएको मञ्जितको मूल्यांकन छ। तर राम्रो प्रदर्शन गरिरहेका र राष्ट्रिय टिममा नपरेका खेलाडीले आफ्नो प्रदर्शनलाई स्थिर बनाउनुपर्ने उनी बताउँछन्। ती खेलाडी भविष्यमा जुनसुकै बेला राष्ट्रिय टोलीमा पर्नसक्ने उनको भनाइ छ।
आशा मारेका छैनन् नयाँले
क्यानले राखेको कोर क्याम्पमा रेड टिमबाट खेलेका शुभ कंसाकारले पहिलो खेलमै ग्रिन टिमविरुद्ध ६३ बलमा ७३ रन जोडे। उनी ‘टप अर्डर’ ब्याटर हुन्। पछिल्लो ६ महिनामा भएका घरेलु क्रिकेटमा उनले शुरूआती र तेस्रो नम्बर दुवै स्थानमा राम्रो खेलेका छन्। जय ट्रफीमा तीन खेलमा १९७ रन बनाएर उनी धेरै रन बनाउनेको सूचीमा तेस्रो नम्बरमा थिए।
नेपाली राष्ट्रिय टोलीमा तेस्रो नम्बरमा आएर खेल्ने खलाडीको कमी छ। कप्तान रोहित पौडेल मध्यक्रम (चौँथो स्थान) मा झर्दा तेस्रो स्थानका लागि शुभ विकल्प हुनसक्थे। तर उनी राष्ट्रिय टोलीमै पर्न सकेनन्।
आफूले टिममा पर्न अझ राम्रो गर्नुपर्ने महसुस भएको शुभ बताउँछन्। उनी भन्छन्, “एक हिसाबले टिममा पर्छुजस्तो लागेको थियो। तर अर्को हिसाबले अहिलेका म्याचहरू एकदमै महत्त्वपूर्ण भएकाले पर्दिन कि भन्ने पनि थियो।”
आफूलाई अझै राम्रो गर्नसक्ने विश्वास भएको उनले बताए। अहिले ओपनिङ र वान डाउनमा खेलिरहे पनि प्रशिक्षकको निर्देशनअनुसार जुनसुकै स्थानमा खेल्नसक्ने विश्वास भएको उनको भनाइ छ।
पछिल्ला घरेलु प्रतियोगिताको प्रदर्शनका आधारमा इशान पाण्डेलाई पनि टिममा फर्किने विश्वास थियो। उनले सन् २०१९ मा सिंगापुरमा भएको ट्राइ नेसन्स टि२० सिरिजमा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए। तर ओडीआईमा भने डेब्युको पर्खाइमा छन्।
उनले क्यानले गरेको कोर क्याम्पमा एउटा शतक बनाएका थिए। पीएम कपमा एक शतक र दुई अर्धशतकसहित सबैभन्दा धेरै रन बनाउने ब्याटरको तेस्रो स्थानमा थिए। टिममा पर्नुभन्दा जित दिलाउनु महत्त्वपूर्ण भएको उनी बताउँछन्। यद्यपि, यसपटक उनलाई टिममा पर्ने आशा थियो। उनी देब्रेहाते ब्याटर भएकाले कुशल मल्लले स्थान नपाउँदा विकल्पमा तेस्रो नम्बरमा उनलाई राख्न सकिन्थ्यो।
इशान भने आफूलाई ओपनिङ पोजिसनका लागि उपयुक्त ठान्छन्। तर टिमको आवश्यकताअनुसार आफू जुनसुकै स्थानमा खेल्नसक्ने बताउँछन्। “टिममा परेँ भने अवश्य केही गर्नसक्छु भन्ने लागेको थियो, तर अब म फेरि अझै निखार्दै जहिले टिममा पर्छु जित दिलाउन सक्ने गरी तयारी गर्छु,” उकालोसँगको कुराकानीमा उनले आशा देखाए।
नेपाल पुलिसबाट खेल्ने दिलीप नाथको प्रदर्शन पनि यो वर्षको घरेलु प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्यको तुलनामा राम्रो थियो। उनले कोरक्याम्पको पहिलो खेलमा ७५ बलमा ८० रन जोडेका थिए। सन् २०१७ मा नै राष्ट्रिय टिममा डेब्यु गरेका दीलिप धेरैपछि लयमा फर्किएका छन्।
दिलीपले पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकरलगायत खेलाडीहरूसँग राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनी भन्छन्, “धेरै समयको फेलियर पछि फेरि कमब्याक गरेको जस्तो लागेको छ, यसपालि टिममा पर्छु भन्ने आशा थियो।”
उनले शीर्ष र मध्य दुवैक्रममा खेलेका छन्। तर आफू मध्यक्रममा नै राम्रो गर्नसक्ने उनी बताउँछन्। आफूले आशा नमारेको र अझ राम्रोसँग लयमा फर्किएर राष्ट्रिय टोलीमा पुग्ने लक्ष्य राखेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
