खेलको जितुवा हामी नै हौं र पाकिस्तान कमजोर र असहाय निशाना हो, जसले जवाफी हमला गर्न सक्दैन भन्ने खालका मूर्खतापूर्ण विश्वास चकनाचुर भएको छ।
आक्रोशसँगै, पहलगामको भयावह समाचार सुन्दा मलाई डर र अशान्तिको एक झट्का महसुस भएको थियो, किनभने प्रत्येक आतंकवादी घटनाले नागरिकहरूमा एक कुरूप प्रतिक्रियात्मक प्रतिक्रिया उत्पन्न गर्छ भन्ने कुरा अनुभवहरूबाटै मलाई थाहा छ, जस्तो कि अहिले छ। खराब परिणामस्वरूप, भारतीयहरूको खास विषाक्त समूह यस्ता त्रासदीलाई यहाँका मुस्लिमलाई विश्वासघाती, पाकिस्तानका समर्थक र आतंकवादका समर्थकको रूपमा चित्रण गर्न र उनीहरूलाई सजायको हकदार करा गर्ने एक अवसरका रूपमा देख्छ।
भारत-पाकिस्तान विभाजन भएको झन्डै आठ दशक बितिसकेको छ, तर हिन्दू र मुस्लिमलाई फरक गर्ने सङ्क्रामक-अविश्वासमा कुनै कमी आएको छैन। पछिल्लो दश वर्षमा, सत्तामा रहेको पार्टीका कुटिल योजनाहरूले गर्दा भारतमा मुस्लिम विरोधी भावना अत्यधिक बढेको छ। पाकिस्तानसँग भारतको कुनै तनाव हुनेबित्तिकै त्यस्तो प्रकरण सिधै भारतमा रहेका मुस्लिमहरूको उत्पीडनमा परिणत हुन्छ। दुखद कुरो, पहलगामको घटनापछिको स्थिति पनि ठ्याक्कै यस्तै भयो।
एक समाजको रूपमा, हामी अमानवीयताको गहिराइमा आइपुगेका छौं। मेरो टाउकोमा अलेलि बाँकी रहेको कपाल काट्ने युवा मसुदपुर डेरी क्षेत्रमा बस्ने आफू र अन्य मुस्लिमलाई त्यहाँबाट हट्न दबाब दिइएकोमा त्रस्त छन्। देशभर, हिन्दुत्व-समूहहरू खासगरी मुसलमान समुदायको जीवनलाई नरक बनाइरहेका छन्। महाराष्ट्रका कुख्यात मन्त्री नितिश राणेले हनुमान चालिसा पाठ गर्न लगाएर मुस्लिमहरूको पहिचान गर्न र उनीहरूले बेच्ने सामान बहिष्कार गर्न आह्वान गरेका छन्। राजस्थानमा, बंगलादेशी भएको आरोपमा दर्जनौं मुस्लिमलाई पक्राउ गरिएको छ। तेलंगानामा, हिन्दूहरूको स्वामित्वमा रहेको प्रख्यात कराँची बेकरीका दुई शाखालाई 'पाकिस्तानी नाम'कै कारण मात्र तोडफोड गरिएको छ। कश्मीरी विद्यार्थी र कामदारहरूलाई त्रास देखाइएको छ र उनीहरू कश्मीरतर्फ भागिरहेका छन्।
ठाडै भेदभाव गर्ने सन्दर्भमा, दिल्ली विश्वविद्यालयले कलेजहरूलाई कश्मीरी विद्यार्थीहरूको विवरण संकलन गर्न निर्देशन दिएको छ। र, आतंकवादबाट स्वयं पीडित हिमांशी नरवालले केवल मुस्लिम र कश्मीरीहरूलाई निशाना नबनाउन अपिल गरेकै कारण उनले 'नरकको आगो' भोगिरहेकी छन्। त्यसका लागि हामी लज्जित हुनुपर्छ। (हिमांशी कश्मीर हिंसामा मारिएकी भारतीय 'नेभी' अधिकृतकी श्रीमती हुन्।)
यो महात्मा गान्धीको भारत होइन।
आज हामी 'विश्वगुरु' (नरेन्द्र मोदी) ले बनाएको/कल्पिएको भारतमा बस्छौं, जसले एक दशकभन्दा बढी समयदेखि नेतृत्व गरिरहेका छन्, तर भारतले शान्ति, न्याय, कल्याण वा एकता देख्न पाएको छैन। विपक्षले पहलगाममा सुरक्षा-चूकको लागि सरकारसँग जबाफदेहिता मागिरहेको छ, जुन जायज छ। मेरो बुझाइमा, पहलगामको क्रूरतापछिको दुखद दिनमा मोदीको सबैभन्दा ठुलो असफलता, भारतका मुस्लिम र कश्मीरीहरूको उत्पीडनको मुद्दालाई सिधै उनले सम्बोधन गर्न अस्वीकार गर्नु हो। आक्रमणकारीहरूको दुष्टताको सामनामा उनको चर्को मौनता अक्षम्य छ, तर आश्चर्यजनक छैन, किनभने उनले मुस्लिम समुदायलाई 'तह लगाउने' नारा बोकेरै सत्ता कब्जा गरेका छन् र त्यसलाई कायम राखेका छन्।
भारतको सबैभन्दा खराब पक्षलाई यहाँको मध्यम वर्गले प्रतिनिधित्व गर्छ – वर्ग-सचेत, आत्मसन्तुष्ट, कायर र आत्मकेन्द्रित। र, गहिरो रूपमा साम्प्रदायिक। यिनीहरू व्हाट्सएप गुन्डाहरू हुन्–सुरक्षित ठाउँमा रहेर घृणा र विभाजन फैलाउने, आफ्नै देशवासीप्रति घोर अमानवीयताको नग्न प्रदर्शन हुँदा समेत लज्जित नहुने। गोदी मिडियाका 'योद्धा'हरूको दुर्भावनापूर्ण प्रचारबाट सिकेका व्यक्तिहरू हुन् यी। यिनकै टेलिभिजन कार्यक्रमहरूले सबैभन्दा धेरै दर्शक पाउँछन् – यो नै घृणाले भरिएको समाजको प्रतिबिम्ब हो। हामी अब घृणायुक्त समाज भएका छौं।
मैले कल्पना गरेको त्रासदपूर्ण घटना मे ७ को बिहानै प्रकट भयो, जब 'घरमा पसेर कुट्छु' भन्दै कठोर कुरा गर्ने प्रधानमन्त्रीले हिंसात्मक युद्धका सैनिकलाई खुला छोडिदिए। भारतले पाकिस्तान र पीओके (पाकिस्तान प्रशासित कश्मीर) मा नौ आतंकवादी स्थलहरूमा अति सटक प्रहार क्षमताका हतियार प्रयोग गरेर आक्रमण गर्यो। रक्षामन्त्रीले १०० भन्दा बढी आतंकवादी मारिएको तर कुनै नागरिक नमारिएको अविश्वसनीय दाबी गरे। भोलिपल्टै, पाकिस्तानले नियन्त्रण रेखामा १५ भारतीय नागरिकको हत्या गर्यो। केवल लडाकुहरू मात्र मारिएको 'पवित्र दाबी' भारतले गरे पनि, अन्तर्राष्ट्रिय संस्थाहरूले महिलाहरू र बालबालिकाहरूको पनि मृत्यु भएको पुष्टि गरेका छन्।
सबै खाले नेताले लागतको विचारै नगरी पाकिस्तानविरुद्ध चरम सजायात्मक उपायहरू प्रयोग गर्न राज्यलाई आह्वान गरे। कसैले पनि संयम हुने कुरा गरेनन्। पाकिस्तानलाई सिकाउन युद्धबाहेक अन्य उपायहरू प्रयोग गर्नुपर्ने आवश्यकताको तिनले कुरा गरेनन्। अत्यन्त चतुर शशि थरूरले समेत आतंकवादी संरचनालाई लक्षित गर्ने 'गतिशील' प्रतिक्रिया जनाउन माग गरे। मोदीको वकिलको अनावश्यक भूमिका ग्रहण गर्दै, उनले पहलगाममा भएको अक्षम्य गुप्तचर असफलतालाई हास्यास्पद बचाउ गर्दै भने कि सुरक्षा व्यवस्था/संयन्त्र सर्वज्ञानी हुँदैन र इजरायलले पनि अक्टोबर ७ को हमास आक्रमण रोक्न सकेन।
तीन दिनभन्दा अलि बढी समयसम्म हिंसाको दुष्चक्र चल्यो, त्यसपछि अमेरिकाले अचानक युद्ध विरामको मध्यस्थता गर्यो। अहिले समझदारी हाबी भएको छ र तीन दिनको आत्मघाती युद्धपछि दुवै देश शत्रुता स्थगित गर्न सहमत भएका छन्।
खेलको जित्ने पक्ष हामी नै हौं र पाकिस्तान कमजोर र असहाय निशाना हो, जसले जवाफी हमला गर्न सक्दैन भन्ने खालका मूर्खतापूर्ण विश्वास चकनाचुर भएको छ। यद्यपि, यो सत्य स्वीकार गर्न समेत हामी घृणा गर्छौं। राफेल विमानको धेरै चर्चित 'एम्बुस'बारे बोल्न नचाहने हाम्रो अनिच्छा अर्थपूर्ण छ। हामीले पाकिस्तानलाई गम्भीर क्षति पुर्याएका छौं, तर हामीले पनि कम क्षति भोगेका छैनौं। त्यसो हुँदाहुँदै पनि, आत्म-घोषित विशेषज्ञहरूको समूह, रक्तपिपासु कट्टरपन्थीहरू र पूर्व सेनाका जनरलहरूले पनि भारतले निर्णायक क्षणमा युद्ध विराममा सहमति जनाएको भन्दै युद्ध बिराममा सहमत हुने निर्णयको कडा आलोचना गरेका छन्। उनीहरूको बुझाइ छ कि अझै युद्ध लम्ब्याएर हामीले पक्कै थप केही हासिल गर्न सक्थ्यौं।
आउनुहोस्, हत्या र विनाशलाई निरन्तरता दिइराखेको भए के हासिल हुन सक्थ्यो भन्ने अनुमान गरौं। के हामीले आतंकवादलाई समाप्त गर्ने/कमजोर पार्ने, पीओके फिर्ता लिने र पाकिस्तानलाई घुँडा टेकाउने— हाम्रा दूरगामी उद्देश्यहरू नजिक पुग्न सक्थ्यौं?
वास्तविक राजनीतिका घागडान सिद्धान्तवादी म्याकियाबेली विश्वास गर्थे कि "यदि कसैलाई चोट पुर्याउनु छ भने त्यो यति गम्भीर होस् कि उसले पछि बदला लिने डर नहोस्।" यहाँका युद्धवादीहरूले सोचेभन्दा विपरीत, भारतको पाकिस्तानमाथिको निर्विवाद सैन्य शक्ति त्यो अवस्थामा छैन, जसबाट हामीले दुष्ट राष्ट्रमाथि आफ्नो इच्छा लाद्न सक्छौं।
हामीले के सम्झनुपर्छ भने सबैभन्दा कमजोर प्यालेस्टाइनीहरूले, अन्तर्राष्ट्रिय समुदायले त्याग्दा समेत, दशकौंसम्म इजरायलको क्रूरतम् हत्याको प्रतिरोध गरेका छन्। र, पाकिस्तान हाम्रो त्यस्तो शत्रु हो, जो आणविक शक्ति सम्पन्न छ र जसलाई चीनबाट सक्रिय समर्थन प्राप्त छ। यहाँनिर हामीले डगलस हर्टनको महत्त्वपूर्ण उक्ति हामीले बिर्सनुहुन्न। उनले भनेका छन्, "प्रतिशोध खोज्दा, दुई वटा चिहान खन्नुहोस्—एउटा आफ्नै लागि!"
अहिले मोदीको कश्मीर नीति तहसनहस भएको छ। धारा ३७० खारेज गरी केन्द्र शासित प्रदेशको दर्जामा झारिएपछि चुपचाप शत्रुतापूर्ण बनेको जम्मू र कश्मीरलाई, पहलगामपछिको अवस्थामा अत्यन्त संवेदनशीलताका साथ व्यवहार गर्नु आवश्यक थियो। तर, केन्द्र सरकारले आतंकवादीहरूसँग साँठगाँठ गरेको शंकामा त्यहाँका घरहरू भत्काउन थाल्यो र सयौँ कश्मीरीहरूलाई व्यापक सुरक्षा जाँचको दायरामा ल्यायो। त्यहाँ रहेका निर्दोषहरूलाई सरकारले वास्ता गरेन।
"उनीहरूले घृणा गरून्, तर डराइरहुन्" भन्ने दमनकारी नीतिले अन्ततः अलगाववादीहरू र पाकिस्तानकै हित गरिरहेको छ। भारतका अन्य भागमा कश्मीरीहरूको उत्पीडनसँगै मोदीले कश्मीरीहरूलाई थप अलग्याउने खतरनाक 'मिश्रण' तयार पारेका छन्। जम्हूरियत (लोकतन्त्र), इन्सानियत (मानवता) र कश्मीरियत (कश्मीरको आत्मा) अहिले मरेका छन्।
यो सकसपूर्ण समयमा, विगतका नेताहरूबाट हामीले प्रेरणा र मार्गदर्शन खोज्नु उचित हुन्छ। दुखद रूपमा, हाम्रो संकीर्ण समाज १९७१ को त्यो क्षण सम्झन्छ, जतिखेर हुल्याहा रिचर्ड निक्सनलाई बाज स्वभावकी इन्दिरा गान्धीले दपेटेकि थिइन्। तर यो अप्रिय घडीमा हामी किन महात्मा गान्धीबारे चाहिँ सोचिरहेका छैनौं? अप्रिय सत्य यो हो कि महात्माले यस समस्यालाई फरक तरिकाले समाधान गर्ने थिए। मैले मजाकमा भनेको होइन, तर मेरा साथीहरूलाई भन्छु कि महात्मा गान्धीलाई मुस्लिम र पाकिस्तानप्रतिको उनको दृष्टिकोणकै लागि आजको भारतमा, ढुंगाले हानिँदो हो।
यहाँनेर भारत-पाकिस्तान विभाजनताक भएको अराजकता र हिंसाप्रतिको गान्धीको प्रतिक्रियालाई सम्झनु अत्यन्त महत्त्वपूर्ण हुन्छ, जब दुवै पक्षबीच गोली हान्ने, छुरा रोपे र मार्ने काम भइरहेको थियो। रक्तपात र तिक्तता बीच, जब १९४८ मा भारत सरकारले स्वतन्त्रताको समयमा अविभाजित भारतले राखेको 'स्टर्लिङ-ब्यालेन्स'को पाकिस्तानको हिस्सा (५५ करोड रुपयाँ) रोक्ने निर्णय गर्यो, गान्धीजीले आमरण अनशन गरे र पाकिस्तानलाई उसको हिस्साबापतको रकम निकासा भएपछि मात्र आफ्नो अनशन तोडे।
आज हामीलाई विश्वासको त्यस्तै कदम चाहिन्छ र पाकिस्तानसँग हात मिलाएर आतंकवादविरुद्ध सँगै लड्नुपर्छ।
दवायरडटआइएनमा प्रकाशित लेखको भावानुवाद। लेखक भारत सरकारका निवृत्त कर्मचारी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
