आगामी आमनिर्वाचनमा उम्मेदवार भएका स्वतन्त्रहरूमाथि धेरैको चासो छ। तर उनीहरूलाई उम्मेदवार बन्न जति सजिलो छ, जित्न उति नै मुश्किल हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।
काठमाडौँ– गत स्थानीय तहको निर्वाचनमा ठूला शहरमा स्वतन्त्र उम्मेदवार विजयी भए। कतिपय पालिकामा दलका बागीले समेत जित हात पारे। काठमाडौँ महानगरसहित, धरान, धनगढी, जनकपुर, बर्दिबासजस्ता शहरी क्षेत्रका पालिकामा स्वतन्त्र उम्मेदवारले फराकिलो अन्तरसहित जित हासिल गर्दा त्यसको प्रभाव आगामी आमनिर्वाचनमा पनि देखिने भएको छ।
नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन्। एमालेबाट टिकट पाएर पनि आफ्नो समूहलाई बन्चित गरेको भन्दै अर्का स्थायी समिति सदस्य प्रभु शाहले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
दलसँग असन्तुष्ट भएर वा टिकट नपाएर उम्मेदवारी दिनेहरूको सूची लामै छ। तर दलमा आबद्ध नभइ विभिन्न पेशा तथा क्षेत्रमा क्रियाशील भएर चिनिएकाहरू पनि प्रतिश्पर्धामा उत्रिएका छन्। लेखक युग पाठक, वरिष्ठ पाइलट केबी लिम्बू, चलचित्र निर्देशक मनोज पण्डितलगायतले दलका उम्मेदवारलाई चुनौती दिएका छन्।
दलहरुले आन्तरिक लोकतन्त्रको अभ्यास र सुशासनको पालना नगर्दा स्वतन्त्र उम्मेदवारहरु धमाधम आउन थालेको वरिष्ठ पत्रकार चन्द्रकिशोर बताँउछन्। “दलहरूले आवश्यक क्षेत्रगत सर्वेक्षण नगरी असन्तुलित टिकट वितरण गर्दा स्वतन्त्रहरु देखापरेका हुन्,” उनले उकालोसँग भने, “अहिले बढी मात्रामा स्वतन्त्रहरु देखापर्नुको कारण ‘प्रि इलेक्सन एलायन्स’ हो, जसलेगर्दा अवसरबाट बञ्चित भएकाहरु आफ्नो उम्मेदवारी दिएका हुन्।”
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमाथि अन्यबेला सक्रिय नभएको आरोप पनि लाग्दै आएको छ। निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिनेहरु ‘नेम र फेम’ का लागि मात्र आउने गरेको राजनीतिक विश्लेषक हरि शर्मा बताँउछन्। “स्वतन्त्र उम्मेदवारहरू मुलुकका कतिपय मुद्दामा कहाँ कहिले बोल्छन्? कतै सुनिँदैन्। काठमाडौँ महानगरकै मेयर बालेन शाह स्वतन्त्र उम्मेदवार बन्नुअघि कहिल्यै कुनै मुद्दामा बोलेको सुनिएन,” विश्लेषक शर्माले भने।
थप समाचार: कांग्रेसको केन्द्रीय कार्यालयमा शेखर पक्षीय नेताहरूको धर्ना
राजनीतिक दलका लागि कति चुनौतीपूर्ण?
काठमाडौँ महानगर प्रमुख जितेपछि गएको स्थानीय निर्वाचनमा बालेन शाहको चर्चा देशैभरि भयो। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई भारी मतान्तरले पराजित गरेका थिए। धरानबाट स्वतन्त्र उम्मेदवार बनेर प्रमुखमा विजयी भएका हर्क साम्पाङको चुनाव चिह्न पनि लौरो नै थियो। स्थानीय तह निवर्वाचनमा लौरो चुनाव चिह्न चर्चित भयो कि, यसैलाई लिएर नयाँ दल हाम्रो नेपाली पार्टी नै गठन भयो।
काठमाडौँ महानगरमै प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले पनि १३ हजारभन्दा बढी मत पाएका थिए। बालेन शाह र हर्क साम्पाङका कारण लौरो चुनाव चिह्न चर्चित भएपछि सुमन सायमी यसपटक हाम्रो नेपाली पार्टीबाट काठमाडौँ–८ बाट उम्मेदवार बनेका छन्।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल र विराटनगरमा बागी उम्मेदवार बनेका जसपाका उमेश यादवले पनि सम्मानजनक मत पाएका थिए। तर, दुवै महानगरमा उनीहरूले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारलाई पराजित गर्न सकेनन्।
निर्वाचन आयोगका अनुसार, गएको स्थानीय तह निर्वाचनमा ३८५ स्वतन्त्र उम्मेदवार विभिन्न पदमा निर्वाचित भएका छन्। यही उत्साहले पनि आगामी आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति धेरैको चासो भएको विश्लेषकहरू बताउँछन्। तर संसदीय निर्वाचनमा राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्रहरूको ठूलो चुनौती नहुने विश्लेषक शर्माको बुझाइ छ। “स्वतन्त्र उम्मेदवार जितेर आए पनि संसद्मा उनीहरु एक्लै केही गर्न सक्दैनन्,” शर्मा भन्छन्, “उनीहरुलाई पार्टीको जस्तो ह्वीप नलाग्ला तर एकाध मतले संसद्मा केही फरक पर्दैन।”
उनले भनेजस्तै स्वतन्त्रबाट उठेका सबै उम्मेदवार दलका लागि चुनौति बन्नसक्ने अवस्था छैन्। अधिकांश ठाँउमा दलहरुकै रजगज छ। तर केही ठाउँमा अप्रत्याशित नतिजा आउने वा परिणाम फरक पर्ने सम्भावना रहेको पत्रकार झा बताउँछन्। “यो पद्दतिमा दलहरूको महत्व छ, केही ठाँउमा स्वतन्त्रहरूका कारण अप्रत्याशित परिणाम आउन सक्ला तर अधिकांश ठाँउमा सम्भावना देखिँदैन्,” उनले भने।
विश्लेषक शर्मा पनि स्थानीय तहमा जस्तो संसदीय निर्वाचनमा स्वतन्त्रको ठूलो चुनौती नहुने बताउँछन्। “प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्रले जित हात पार्न त्यति सजिलो छैन्, जति स्थानीय तहमा थियो,” शर्माले भने, “स्थानीय निर्वाचनमा जितेपछि कार्यकारी पदमा बस्न सकिन्छ तर संसदीय निर्वाचनमा जितेर स्वतन्त्र कार्यकारी पदमा भइहाल्दैनन्।”
यी हुन् चर्चित स्वतन्त्र उम्मेदवार
लेखक तथा समाजिक अभियन्ता युग पाठक एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा–५ बाट मनोनयन दर्ता गराएका हुन्। उनी ‘उर्गेनको घोडा’ र ‘माङगेना: नेपाल मन्थन’का लेखक हुन्। उनी नागरिक आन्दोलनहरूमा पनि सक्रिय छन्।
त्यस्तै वरिष्ठ पाइलट केबी लिम्बू सुनसरी–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। २०३७ सालदेखि पाइलट पेशामा आबद्ध उनी २०६४ सालदेखि २०६८ सम्म नेपाल वायु सेवा निगमको महाप्रबन्धक थिए। लिम्बुले चुनाव जितेर धरानलाई पर्यटकीय शहर बनाउने, फोहरमैला व्यवस्थापन, घर घरमा खानेपानी पुर्याउनेलगायत थुप्रै विकासका काम गर्ने घोषणा गरेका छन्।
सुनसरी–१ मा एमाले र कांग्रेसका उम्मेदवार छैनन्। एमालेले जसपाका अशोक राईलाई समर्थन गरेको छ भने कांग्रेसले माओवादीका मुक्साहाङ मेन्याङ्बोलाई समर्थन गरेको छ। यो क्षेत्रमा एमालेका मनोज मेन्याङ्बोले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनी २०५४ सालको निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुख निर्वाचित भएका थिए।
चलचित्र निर्देशक मनोज पण्डित काभ्रे–२ बाट उम्मेदवार बनेका छन्। दलहरूले भित्र्याएको विकृतिविरुद्ध आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।
काठमडौँ ५ बाट रञ्जु दर्शाना पनि स्वतन्त्र उम्मेदवार बनेकी छिन्। उनी २०७४ सालमा विवेकशील पार्टीबाट स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्। उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्।
पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिभिजन कार्यक्रममा प्रश्न गरेर चर्चामा आएका सागर ढाकल देउवा उठेकै क्षेत्र डडेलधुराबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। ढकालले ‘हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने’ अभियान चलाइराखेका छन्।
पार्टी परित्याग गरेर वा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने यसपटक उपल्लो तहका नेता पनि छन्। एमाले परित्याग गरेका स्थायी समिति सदस्य घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। अर्का स्थायी समिति सदस्य प्रभु साह रौतहट–बाट स्वतन्त्र उम्मेदवार बनेका छन्।
माओवादी केन्द्र परित्याग गरेका हेमराज भण्डारीले धनकुटाबाट उम्मेदवारी दिएका छन्। त्यसैगरी, कांग्रेस नेता अमरेशकुमार सिंहले सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
