‘रिसाइकल’का लागि प्लास्टिकको मानकीकरण गरिँदै

नेपालमा विभिन्न व्यक्तिले आफ्नो सुविधाअनुसार प्लास्टिक ‘रिसाइकल’ गरिरहेका छन्। प्लास्टिकको पुन: प्रयोगका लागि वैज्ञानिक मापदण्ड र कानूनी आधार तय गर्न आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन्।

काठमाडौँ– मानकीकरण नहुँदा प्लास्टिकको ‘रिसाइकल’ (पुनर्प्रयोग)का लागि वैज्ञानिक र कानूनी आधारको अभाव रहेको सरोकारवालाले बताएका छन्।

वातावरणका लागि चुनौतीका रूपमा रहेको प्लास्टिक व्यवस्थापनको उपयुक्त विकल्प रिसाइकललाई भनिए पनि त्यसको पुनर्प्रयोग लागि चाहिने मानक निर्धारण हुन नसकेको प्राडा. रामेश्वर अधिकारीले बताए। काठमाडौँमा मंगलबार आयोजित रिसाइकल गरिएका प्लास्टिकको मानकीकरणका लागि मुख्य सरोकारवालाको संवादमा बोल्दै ‘पोलिमर’ विज्ञ अधिकारीले यस्तो बताएका हुन्।

धेरै प्रकारका प्लास्टिक प्रयोग भइरहेको, तीमध्ये धेरैलाई पुनर्प्रयोग गर्न सकिए ठूलो मात्रामा हाम्रो सेरोफेरोबाट प्लास्टिक व्यवस्थित गर्न सहज हुने उनको भनाइ छ। अहिले विभिन्न व्यक्तिले आफ्नो सुविधाअनुसार प्लास्टिक रिसाइकल गरिरहेको भए पनि यसमा वैज्ञानिक मापदण्ड तय गर्न जरुरी रहेको उनले बताए।

प्लास्टिककै विषयमा विद्यावारिधि गरेका अधिकारीले ‘रिसाइकल’का लागि प्लास्टिकको मानकीकरणको टड्कारो आवश्यकतालाई जोड दिँदै आफू यसका लागि स्वैच्छिक रूपमा काम गर्न तयार रहेको बताए।

पूर्ववातावारणमन्त्री गणेश साहले प्लास्टिकबिना जीवन चल्नै नसक्नेजस्तो भएकाले यसलाई नकार्नुभन्दा यसबारे जानकार हुँदै जानु उचित हुने बताउँदै रिसाइकल निकै महत्त्वपूर्ण हुने धारणा राखे।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्राले आफूहरूले काम गर्दा आवश्यक अध्ययन गरेर स्ट्यान्डर निर्धारित गर्ने गरेको बताए। यो विषयमा पनि अब आवश्यकता पहिचान भएपछि यसको लागि अघि बढ्ने उनको भनाइ छ।

“नेपालमा स्ट्यान्डर बनाउनका लागि सुरक्षा, स्वास्थ्य, व्यापारिक दृष्टिकोणलाई आधार बनाउने पहिला मान्यता भए पनि अब दिगोपना, वातावरण, सामाजिक प्रभाव र लैङ्गिक पक्ष जस्ता विषय हेरिन्छ,” उनले भने, “हामीले प्लास्टिकको पुनर्प्रयोगका लागि केही कुरा गरेका पनि छौँ, पाइप बनाउनमा पहिले नयाँ प्लास्टिकका दानामा प्रयोग गर्ने व्यवस्था थियो, अब रिसाइकल गरिएको प्लास्टिकका दाना पनि गुणस्तर नबिग्रिने गरी प्रयोग गर्ने गरी नीति परिमार्जन गरिएको छ।”

यसो गर्दा पनि गुणस्तर कायम राख्ने विषयलाई महत्त्व दिएको उनले दोहोर्‍याए। उनले प्लास्टिकको बढ्दो प्रयोगबारे चिन्ता जनाए, “अध्ययनअनुसार प्रतिव्यक्ति एक टन प्लास्टिक संसारमा छ।”

रिसाइकल व्यवसायको अभ्यास गरिरहेका पन्कज पञ्जियारले प्लास्टिक पुनर्प्रयोग आफैमा अर्बौं मूल्य बराबरको बजार भएकाले यसले अर्थतन्त्रलाई सघाउ पुर्‍याउने धारणा राखे। “तीन वटा पृथ्वीबाट प्राप्त गर्न सकिने जति प्राकृतिक स्रोतसम्पदाको हामी मानिसले पहिल्यै उपभोग गरिसकेका छौँ, भोलि हाम्रो सन्ततिलाई के छोडेर जाने?” आफूजस्ता केही व्यक्ति समाजसेवामूलक उद्यममा रहेको बताउने पञ्जियारले भने, “त्यस कारण रिसाइकलमा जानै पर्छ।”

आयातकर्ताले भन्सार विन्दुमै प्लास्टिकआधारित प्याकेजिङका वस्तुको वजन स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ। प्लास्टिकका बोतल र जार प्रयोग गर्ने उत्पादनको चर्चा गर्दै उनले अर्को सुझाव दिए, “जस्तै, हलुका पेय बनाउनेले वर्षमा कति प्लास्टिक बोतल प्रयोग गर्ने हो? वा गरेको हो स्वघोषणा गर्दा हुन्छ।”

मानिसमा ‘फोहोरबाट मोहर’बारेको बुझाइ पनि अपूरो रहेको बताउँदै उनले सबै फोहोरमा मोहर नभएको जिकिर गरे। आर्थिक रूपमा कम प्रभावकारी फोहोर रिसाइकलमा स्रोतका रूपमा उद्योगलाई जिम्मेवार बनाउन नाफाबाट केही अंश लिएर त्यो स्रोत रिसाइकल गर्ने गरी अगाडि बढ्न सकिने उनको सुझाव छ। पाइपजस्ता निर्माण सामग्रीमा २५–३० प्रतिशत रिसाइकलबाट आएको प्लास्टिक दाना राख्नैपर्ने प्रावधान ल्याउँदा अवधारणालाई सघाउ पुग्ने पनि उनको भनाइ छ।

वातावरण विभागका उपमहानिर्दैशक शैलेश झाले रिसाइकलका लागि तत्कालै सबै कुरा सम्भव नभए पनि सरकार, निजी क्षेत्र र जनताको सहकार्यमा राम्रो नतिजा निकाल्न सकिने बताए। आफ्ना उत्पादनको गुणस्तरबारे  उत्पादकले नै स्वघोषणा गर्ने अभ्यास भए सजिालो हुने उनको भनाइ छ। “उत्पादक आफै सचेत भएमा सजिलो हुन्छ,” उनले भने।

प्लास्टिक व्यवस्थापनमा समुदाय र केही स्थानीय तहसँग मिलेर काम गर्दै आएको संस्था क्रिएसनकी महासचिव सुजाता कोइरालाले प्लास्टिक प्याकेजिङ वस्तु उत्पादन गरी प्रदूषणकर्ता बनिरहेका उद्योगले आफ्नो नाफाको केही हिस्सा रिसाइकलमा योगदान गर्न सके सकारात्मक सन्देश जाने बनाइन्। सगरमाथाजस्ता संवेशनशील क्षेत्रमा फोहोर संकलन गर्न खोज्दा मौजुदा कानूनले नै छेक्ने तथा दण्ड जरिबानामा पर्ने अवस्था रहेकाले त्यस्ता कानूनी प्रावधान समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको उनले औँल्याइन्।

केमिकल इन्जिनियर राजेन्द्र जोशीले प्लास्टिकलाई केमिकल प्रतिक्रियामार्फत स्वरूप बदलेर पुनर्प्रयोग गर्न सकिने विकल्प सुझाए। सडकमा छरिएका प्लास्टिक नदीनाला हुँदै वनक्षेत्र, राष्ट्रिय निकुञ्ज लगायत ठाउँमा पुगेर चुनौती खडा गर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे। फोहोरसँग जोडिएका पेसाप्रतिको हेय दृष्टि अन्त्य गर्नका लागि जागरूकता आवश्यक रहेको उनको भनाइ थियो।

“कवाडीप्रति हेय दृष्टि छ। कामको सम्मान छैन। श्रमको सम्मान नहुँदा हामी खाडी गइरहेका छौँ र यहाँ भारतबाट आएका मानिस महिनामा ५० हजारसम्म आम्दानी गरिरहेका छन्,” उनले भने, “त्यस्तै, स्कुलमा पनि सचेतना जरुरी। बालबालिका प्लास्टिकको प्रयोगबारे अनभिज्ञ छन्। ए प्लस ग्रेड ल्याइरहेका बालबालिका पनि प्लास्टिकको प्रयोगबाट हुने प्रदूषणबारे जानकार हुँदैनन्।”

उद्यमका जानकार अनिल चित्रकारले प्लास्टिक व्यवस्थापनको अनुसन्धानमा लागेका विद्यार्थी र अध्ययेता लगायतसँगको सहकार्य आवश्यक रहेको बताए। त्यस्ता क्षेत्रका मानिसबाट प्लास्टिकको पुनर्प्रयोगका लागि नयाँ अन्वेषण र प्रविधि खोज्न सघाउन पुग्ने उनको तर्क थियो। त्यस्तै, पुनर्प्रयोग नगरिँदा प्लास्टिक फोहोर भइजाने गरेको बताउँदै उनले भने, “एउटा बोतल फ्याँकियो भने फोहोर हो। संकलित गरे एक टन प्लास्टिक बोतल पुर्‍याइयो भने त्यो एउटा स्रोत हो।”

दक्षिण एशियाका लागि प्लास्टिकमुक्त नदी तथा समुद्र आयोजना तथा क्रियसन र विभिन्न दातृ निकायको सहयोगमा आयोजित कार्यक्रममा डेढ महिनाभित्र मानिकीकरणको खाका तयार गर्ने निष्कर्ष निकालिएको छ।