बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए पदबाट राजीनामा

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले पाण्डेले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए।

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी धादिङ १ बाट निर्वाचित भएका थिए। संसद् सचिवालयले बिहीबार प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउँदा उनी पनि सहभागी थिए। प्रतिनिधिसभा सदस्यको रूपमा शपथ लिएपछि उनलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन नैतिक दबाब परेको थियो।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले पाण्डेले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिए। उनका अनुसार नयाँ सरकार गठन नहुँदासम्म पाण्डेले नै कामचलाउ सरकारका रूपमा काम गर्ने छन्।

उनी नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट २०७८ कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यसअघि नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।