लत्रिएका तारबाट बहने करेन्टका कारण बर्सेनि ५० जनासम्मको मृत्यु भइरहेछ। हावाहुरी, चट्याङ, बाढीपहिरोजस्ता कारण पोल ढल्ने वा तार लत्रिने हुन्छ। विद्युत् प्राधिकरण भन्छ– जनचेतना फैलाउनु आवश्यक छ।
काठमाडौँ— झिसमिसे नहुँदै वैशाख २ गते मे१च ३०११ नम्बरको जिप ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीर्थयात्री लिएर काफ्लेपाटीतर्फ जाँदै थियो। काफ्लेपाटीमा उत्रिएर तीर्थयात्री सखारै पाथीभराको दर्शन गर्नपुग्ने योजनामा थिए। तर उनीहरू काफ्लेपाटी नै पुग्न पाएनन्।
बिहान करिब ५ बजे फुङलिङ नगरपालिका–१० सेवारो चोकनजिक तेर्से भन्ने ठाउँमा पुगेपछि जिपमा हुर्हुरी आगो दन्किन थाल्यो। बिजुलीको दुई पोलबीचमा तलसम्म झुन्डिएको तार छोइएपछि गाडीमा आगो लाग्यो। दुर्घटनामा चार जनाको मृत्यु भयो भने, अन्य दुई जना घाइते भए।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनका अनुसार करेन्ट बगिरहेको तार जिपको हुटमा पर्दा आगो लागेको थियो। “त्यहाँको सडक कच्ची छ। खाल्डाखुल्डी छल्न खोज्दा लच्केको तार जिपको हुटमा परेछ,” उनी भन्छन्, “बिहानको समयमा हुस्सुले खासै देखिने अवस्था थिएन। तार कसरी र कहिले लच्कियो भन्ने जानकारी भएन। एकदुई दिन अघिसम्म त्यस्तो केही थिएन। अब अनुसन्धान होला।”
नेपाल विद्युत् प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रले पूर्वाधारबारे ध्यान नदिँदा यस्ता घटना बर्सेनि हुने मादेन बताउँछन्। २०७८ सालयता ताप्लेजुङकै विभिन्न स्थानमा पाँच वटा दुर्घटना भइसकेका छन्।
नगरप्रमुख मादेनका अनुसार २०७८ सालमा फुङलिङ–२ मा ट्रकको हुटले बिजुलीको तार छुँदा चालकको मृत्यु भएको थियो। २०७९ सालमा फुङलिङमै लत्रिएको तार छुँदा खेल्दै गरेका बालकको मृत्यु भएको थियो। २०८० सालमा आठराई त्रिवेणी गाउँपालिकामा बाख्रा चराउने क्रममा लत्रिएको तार छुँदा एक महिला र २०८१ सालमा मेरिङदेन गाउँपालिकामा ट्रकले तार छुँदा एक युवाको मृत्यु भएको थियो।
तारहरू लत्रिने र समयमा नबन्ने हुँदा बारम्बार दुर्घटना भइरहेको नगरप्रमुख मादेन बताउँछन्। उनी भन्छन्, “हामीले पटकपटक तार, पोललगायत विद्युतीय संरचनामा गम्भीर भएर काम गर्न वितरण केन्द्रहरूलाई भनिरहेका छौँ। तर अनुरोध गरेअनुसार काम भइरहेको छैन, दुर्घटना पनि रोकिएको छैन।”
विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरी सेवारो चोक नजिक पोलमा तार अड्याउने पिन खुस्किँदा तार लत्रिएको बताउँछन्। पिन खुस्किनुको कारण भने पत्ता नलागेको उनको भनाइ छ। “हावाहुरी चट्याङका कारण राति पिन खुस्किएको हुनसक्ने आशंका छ। हामीलाई जानकारी हुनुअगावै घटना भयो। हाम्रो कमजोरी होइन,” उनी भन्छन्।
चौधरीका अनुसार पहाडी क्षेत्रमा हावाहुरी र चट्याङ आइरहने कारण विद्युत् लाइन र पोलहरूमा समस्या आउँछ। यस्तो समस्याको जानकारी समयमै हुँदैन र जानकारी आएपछि पनि भौगोलिक कारण पुग्न समय लाग्छ। कहिलेकाहीँ प्राधिकरणको टोली पुग्नुअगाडि नै दुर्घटना हुने उनी बताउँछन्।
“कुनै ठाउँमा समस्या भएर लाइन काटिए सिस्टममा जानकारी हुन्छ। तर अन्य समस्याको छिटो जानकारी आउँदैन,” चौधरी भन्छन्, “हामी जिम्मेवार भएर काम गरिरहेको छौँ, जनचेतना जगाउनेलगायत काम पनि गरिरहेका छौँ।”
ताप्लेजुङमा चार जनाको ज्यान जानेगरी घटना भएपछि सांसद योगेश भट्टराईले प्रसारण लाइन तथा अन्य उपकरणहरूको गुणस्तरीयतामा ध्यान दिन विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। “ताप्लेजुङ जिल्लामा विद्युतका तार र पोलका कारण पटकपटक दुर्घटना भएर मानिसहरूको मृत्यु तथा घाइते हुने घटना दोहोरिइरहको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म विद्युत् प्रसारण लाइन, पोल तथा अन्य उपकरणहरूको गुणस्तरीयतामा ध्यान दिन नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गर्दछु र पीडितहरूलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको प्रबन्ध गर्न अनुरोध गर्दछु।”
ताप्लेजुङमा मात्र नभई, अन्य ठाउँमा पनि ढलेका पोल तथा लत्रिएका तारका कारण दुर्घटना हुने गरेको छ। २०८० साउनमा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित सौरभञ्ज्याङका राजु सिङताङ (२६) मर्निङ वाकमा निस्किएका थिए। उनको घर नजिकै बाटोमा बिजुलीको तार लत्रिएको थियो। त्यसलाई छोइँदा करेन्ट लागेर उनको मृत्यु भयो।
विद्युत् प्राधिकरण वितरण केन्द्र लगनखेलका प्राविधिक इन्जिनियर आशिष नेपाल त्यति बेला हावाहुरी र चट्याङका कारण तार लत्रिएको बताउँछन्। तारले भुईं छोएको थिएन। त्यहाँ पुगेका राजुले बाटोबाट तार पन्छाउन खोज्दा करेन्ट लागेको हुनसक्ने उनी बताउँछन्। “वर्षातको समय, राति हावाहुरी वा चट्याङले तार लतारेको हुनसक्छ। बिहान सबेरै उहाँले पन्छाउन खोज्दा दुर्घटना भएको हुनसक्ने अनुमान छ,” उनी भन्छन्।
उनका परिवारले आर्थिक क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई जागिरको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्। तर जागिर दिने व्यवस्था नभएका कारण उनीहरूको निवेदनको अझै टुंगो नलागेको केन्द्रकी तत्कालीन सूचना अधिकारी चाँदनी विक बताउँछिन्।
खेत जोतिरहेका बेला बिजुलीको तार खस्दा २०८० मंसिरमा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका बैजुलाल पण्डितको मृत्यु भएको थियो। करेन्ट लागेर एउटा गोरु पनि मर्यो। त्यहाँ ११ हजार भोल्टको तार खसेको थियो।
रौतहटस्थित विद्युत् प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार तार भुईंभन्दा धेरै उचाइमा थिएन। खेतमा काम गर्दा पराल अड्किएको र विद्युत् सर्ट भई तार खसेको उनको दाबी छ। “विद्युत् सर्ट भएर भुईंमा तार खसेपछि टेक्दा घटना भएको हो। एक्कासि सर्ट भएकोले ध्यान पुर्याउने मौका थिएन,” उनी भन्छन्।
महतोका अनुसार पण्डितको परिवारलाई सरकारले तोकेअनुसार क्षतिपूर्ति दिएको छ। सकेसम्म यस्ता घटना दोहोरिन नदिन केन्द्र चनाखो रहेको उनी बताउँछन्।
प्राधिकरणको कमजोरीका कारण दुर्घटना भएको पुष्टि भए पीडित पक्षलाई क्षतिपूर्ति दिने व्यवस्था छ। विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार यस्ता दुर्घटनामा मृत्यु भए पीडित परिवारलाई ५ लाख रुपैयाँ दिनुपर्छ। शतप्रतिशत अंगभंग भए १ लाख २५ हजार र चोटपटक लागे बिलअनुसार उपचार खर्च २ लाख ५० हजारसम्म दिने व्यवस्था छ। प्राधिकरणले पाँच वर्षमा १६ करोड ३१ लाख ७४ हजार रुपैयाँ क्षतिपूर्ति तथा उपचारका लागि तिरेको छ।
बर्सेनि ५० जनाले गुमाउँछन् ज्यान
विद्युत् प्राधिकरणको तथ्यांकअनुसार पाँच वर्षयता विद्युतसँग सम्बन्धित दुर्घटनामा परेर २१४ जनाको ज्यान गएको छ। घाइते हुनेको संख्या २६४ छ। करेन्ट लागेर २८४ वटा जनावरको पनि मृत्यु भएको छ।
प्राधिकरणको पाँच वर्षको तथ्यांक हेर्दा विद्युतसँग सम्बन्धित दुर्घटनामा परेर बर्सेनि ४० देखि ५० नागरिकको मृत्यु र ६० जनासम्म घाइते हुन्छन्। अधिकांश दुर्घटना प्राकृतिक कारणले हुने गरेको र केही भने नागरिकको कमजोरीले हुने प्राधिकरणका सूचना अधिकारी राजाभाइ शिल्पकार बताउँछन्।
शिल्पकारका अनुसार विद्युतीय संरचना र मानव बस्तीबीच दूरी राख्नुपर्छ। ११ हजार केभी प्रसारण लाइन भए घर वा आवासीय संरचनाको दूरी औसतमा ५.५ मिटर हुनुपर्छ। ३३ हजार केभीको भए ५.८ मिटरको दूरी बनाउनुपर्छ।
यो दूरी विद्युत् तारको क्षमताअनुसार बढ्दै जाने शिल्पकार बताउँछन्। तर नागरिकहरूमा त्यसको ज्ञान नहुने र भए पनि लापरबाही गर्दा दुर्घटना हुने उनको भनाइ छ। “प्राकृतिक कारणले हुने घटना छँदैछ, तर सरकारले तोकेको मापदण्ड नअपनाउँदा र अन्य समस्या हुँदा वितरण केन्द्रलाई समयमा जानकारी गराउनुपर्छ। यसका लागि नागरिक आफै पनि सचेत हुनुपर्छ,” उनी भन्छन्।
किन भइरहन्छन् दुर्घटना?
विद्युतीय दुर्घटना सबैभन्दा धेरै पहाडी क्षेत्रहरूमा हुने प्राधिकरणको प्रशासन निर्देशनालयका उपनिर्देशक तुलाराम गिरी बताउँछन्। उनका अनुसार, यस्ता दुर्घटनामा खेतबारीमा काम गर्ने वा घाँसदाउरा गर्ने किसानहरू सबैभन्दा धेरै पर्ने गरेका छन्।
खेल्ने उमेरका बालबालिका र सवारी चालकहरू पनि बारम्बार दुर्घटनामा पर्छन्। हावाहुरीका कारण विद्युतीय संरचनामा हुने क्षतिका कारण पैदलयात्रुसमेत दुर्घटनामा परेका छन्। विद्युतीय समस्या आउँदा वितरण केन्द्रलाई खबर नगरी बीनाजानकारी अग्रसर हुँदा पनि दुर्घटना निम्तिने गिरी बताउँछन्।
सडक विभाग तथा विभिन्न स्थानीय तहले जानकारी नदिई सडकको आकार तथा स्वरूप परिवर्तन गर्ने र सडकमा निर्माण संरचना राख्ने गर्छन्। यसो गर्दा भुईं र तारको दूरी नजिक हुन्छ र सवारी साधन तथा बालबालिकालाई जोखिम हुन्छ। “पहाडी क्षेत्रमा प्राकृतिक रूपमा विपत्तिका धेरै घटना निम्तिन्छन्, तराई क्षेत्रमा हुकिङ गर्ने हुँदा दुर्घटना हुने गरेको छ,” उपनिर्देशक गिरी भन्छन्, “प्राधिकरणका संरचनाहरू पुरानो हुँदै जाँदा जीर्ण बन्न थाल्छन्। कतिपय अवस्थामा कमजोर संरचनाका कारण पनि दुर्घटना हुन्छ।”
बजेटअनुसार पूर्वाधार परिवर्तनका काम गर्नुपर्दा सबै ठाउँमा पुराना संरचना फेर्न नसकिएको गिरी बताउँछन्। “अहिले लोडसेडिङको समस्या छैन। त्यसैले अबको हाम्रो लक्ष्य भनेको दिगो र गुणस्तर पूर्वाधार हो। यसमा हामी क्रमशः काम गर्दै छौँ,” गिरी भन्छन्।
नांगो तार हुँदा जोखिम धेरै हुन्छ। पाँच वर्षयता विद्युत् प्रवाह हुन नसक्ने वस्तुले मोरिएका तार राख्ने गरेको योजना तथा प्राविधिक सेवा विभाग प्रमुख अच्युतबाबु घिमिरे बताउँछन्। उनका अनुसार अहिले पुरानो तारमा ‘कभर’ थप्नुका साथै नयाँ तार जडानमा नांगो तार हाल्न छाडिएको छ। “अहिलेसम्म कति गरियो भन्ने यकिन तथ्यांक नभएकाले भन्न सकिएन, तर तार कभर गर्ने काम भइरहेको छ,” उनी भन्छन्।
त्यस्तो तार महँगो पर्ने हुँदा ठूलो संख्यामा काम हुन नसकेको गिरीको भनाइ छ। साथै, सर्वसाधारणलाई विद्युतको जोखिमबारे जानकारी दिन प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरिएको उनी बताउँछन्। “पहिलो कुरा नागरिक विद्युतबारे सचेत हुनुपर्छ। नागरिक सचेत भयो भने विद्युतीय दुर्घटना स्वतः कम हुन्छ। त्यसका लागी विद्युतको जोखिमबारे पाठ्यक्रममै पढाउन शुरू गर्नुपर्छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
