१९९० सालको भूकम्पमा पनि टुँडिखेलमै जनतालाई पाल राखेर बसोबास गराएको मेरो सासूले सुनाउनुहुन्थ्यो। २०७२ सालको भूकम्पमा टुँडिखेल हामीहरू धेरैको आश्रयस्थल थियो।
काठमाडौँ महानगरले खुलामञ्चमा तीनतले पार्किङ बनाउने योजना अघि बढाएको छ। महानगरको उक्त योजनाले खुलामञ्चको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक महत्त्व धुमिल्याउने सम्पदा अधिकारकर्मीको मत छ। कुनै समय एशियाकै ठूलो कबाज मैदान मानिएको खुलामञ्च विभिन्न समयमा अतिक्रमित भई साँघुरिएको छ। अतिक्रमित खुलामञ्चलाई खुला गराउन विगतमा महत्वपूर्ण भूमिका खेलेकी काठमाडौँ महानगरपालिकाकी तत्कालीन पूर्वउपप्रमुख एवं हाल काठमाडौँ १ को (ख)बाट प्रदेशसभामा निर्वाचित हरिप्रभा खड्गीसँग उकालोका लागि सुनीता साखकर्मीले गरेको कुराकानी:
खुलामञ्च के हो, योसँग तपाईंको सम्बन्ध कसरी जोडियो?
म सानो छँदा काठमाडौँमा खुल्ला वातावरण थियो। त्यतिखेर घर पनि यति ठूल्ठूला थिएनन्। भक्तपुरबाट कलेज पढ्न यहाँ आउँदा अर्कै शहरमा आइपुगेको महसुस हुन्थ्यो। त्यतिखेर होटल, रेस्टुरेन्ट जाने चलन थिएन, साथीभाइहरूसँग बदाम, सुन्तला किनेर जाडो मौसममा त्यहाँ (खुलामञ्चमा) बसेर खाने, गफ गर्ने गर्थ्यौं। राजनीतिमा पाइला राखिसकेपछि त्यहीँ खुला ठाउँमा बसेर राजनीतिक विमर्शहरू हुन्थे। मेरो उमेरले बुझेअनुसार सर्वमान्य नेता गणेशमान सिंहले आह्वान गरिसकेपछि प्रजातन्त्र ल्याउन खुलामञ्चबाटै आन्दोलनको शुरूआत भएको हो। त्यहीँबाट भाषण गरेर देशमा प्रजातन्त्रको घोषणा भएको हो। बीपी कोइरालादेखि पुष्पलाल श्रेष्ठलगायत प्रायः अग्रज नेताहरू खुलामञ्चबाटै स्थापित भएका हुन्। खुलामञ्चलाई हाम्रा पुर्खाले किन छोडेर गए, त्यसको हेक्का राख्नु जरुरी छ। खुल्लामञ्च त्यस्तो ठाउँ हो, जहाँ बसेर सास फेर्न पाऊँ, सुखदुःखको कुरा गर्न पाऊँ, साथीभाइ भेट्न पाऊँ भन्ने हुन्छ।
खुलामञ्चमै दुईमाजु छ। दशैँमा तलेजुमा पूजा गर्नुअघि त्यो दुईमाजुमा पूजा नगरी चढ्दैन। त्यसको इतिहास छुट्टै छ। हाम्रो त त्यहाँ पूजा गर्ने ठाउँ छ। मेरो त देवाली नै त्यहाँभित्रै छ। अरूको पनि देवाली पूजा हुन्छ होला। टुँडिखेल बनाउन त्यहाँको बस्ती नै बागबजार सरेर गएको हो भन्नुहुन्थ्यो मेरो सासू।
काठमाडौँ विपद्ग्रस्त छ। २०७२ सालको महाभूकम्प आएको धेरै भएको छैन। म आफैँ पनि पीडित थिएँ, घर भासिएको थियो। एक महिनासम्म परिवारसहित बाहिर बस्यौँ। बागबजार क्षेत्र कतै पनि खुला छैन, हाम्रो लागि खुला भनेको त्यही टुँडिखेल हो। टुँडिखेललाई पुर्खाले त्यही ढंगले छोडेका हुन्। १९९० सालको भूकम्पमा पनि टुँडिखेलमै जनतालाई पाल राखेर बसोबास गराएको मेरो सासूले सुनाउनुहुन्थ्यो। २०७२ सालको भूकम्पमा टुँडिखेल हामीहरू धेरैको आश्रयस्थल थियो। त्यस्तो सामाजिक महत्त्वको ठाउँलाई ध्यानमा राखेर दूरदर्शी तरिकाले विकास निर्माण गरिनुपर्छ। खुलामञ्चलाई खुल्लै राख्नुपर्छ।
तपाईं उपप्रमुख भएकै बेला खुलामञ्च अतिक्रमणको प्रयास भयो। त्यसविरुद्ध तपाईं सडकमै उत्रिनुभएको थियो, त्यसो गर्नु कतिको सहज थियो?
म उपप्रमुख हुँदा मैले मेरै संस्थासँग लड्नुपर्यो, सडकमा उत्रिनुपर्यो। किनभने, त्यतिबेलै खुलामञ्चमा ५१ वटा पसल राखिएका थिए। त्यतिखेर मैले स्ट्यान्ड नलिएको भए अहिले ५१ वटा होइन, हजारौँ पसल भइसक्थे होला। अहिले जसरी सुकुमबासीलाई हटाउन हम्मेहम्मे भएको छ, त्यस्तै हुन्थ्यो।
पीएल सिंह प्रमुख हुँदा टुँडिखेलमा पसलहरू थिए। ती पसल उठाउन धेरै गाह्रो भयो। आज ती पसल भृकुटीमण्डपभित्र छन्। अहिलेसम्म उहाँहरूलाई व्यवस्थित गर्न सकिएको छैन। म त राजनीतिमा आइसकेको थिएँ। त्यही अवस्था आउला भनेर पसलहरू हटाउन प्रमुख (विद्यासुन्दर शाक्य) विरुद्ध लडाइँ शुरू गरेँ। मैले कार्यपालिकाबाट नै यसलाई सल्टाऊँ, ४२ जना सदस्यसामु यो विषय पुर्याउँ भनेर जोडतोडले उठाएँ।
अर्को कुरा, महानगरपालिकाको न्युरोडमा जग्गा छ। त्यहाँ हामीले सर्भे गर्दा मैले मेयर (विद्यासुन्दर शाक्य)लाई अहिलेको नयाँ प्रविधिअनुसार त्यहाँ २६५ वटा गाडीहरू अट्छ भनेको थिएँ। हामी चीन, जापान जाँदा पनि देखेका थियौँ। सानो ठाउँमा पार्किङ राख्न मिल्दोरहेछ, त्यही प्रविधिलाई टेकेर पार्किङको व्यवस्था गर्नुपर्छ भनेर मैले आवाज उठाएँ। न्युरोड, असन हाम्रो व्यापारिक थलो हो। त्यहाँ व्यापार नगरी देश कसरी चलाउन सकिन्छ? मुख्यतः हाम्रा पसल चल्नुपर्यो। पसल धमाधम खोल्नु पर्यो। त्यहाँको करबाट हामीले विकास गर्ने हो। व्यापारलाई कहिले पनि बेवास्ता गर्नुहुँदैन। न्युरोड र असन भनेको देशको मुटु नै हो। त्यस ठाउँको लागि पार्किङको व्यवस्थापन गर्नु आवश्यक छ। न्युरोडमा पुरानो नगरपालिकाको लाइनमै एक रोपनी जग्गा खाली थियो। प्रमुख (विद्यासुन्दर शाक्य) लाई पहिले कुरा गर्दा ‘हुन्छ’ भन्नुभएको थियो। तर आफैँले निर्णय गरेर त्यो ठाउँमा अहिले सांस्कृतिक भवन बनाउनुभयो। हाम्रो सल्लाह लिनुभएको भए भवन बन्दैनथ्यो, पार्किङ नै खडा हुन्थ्यो। मैले धेरै रोकेँ, तर सकिनँ। म प्रमुख भएको भए काम गर्थें होला। उपप्रमुख हुँदा सबैकुरा मलाई जानकारी छ, बुझ्छु तर कुरा सुनुवाइ भएन। सुनुवाइ नहुँदा हामीले केही नगरेको जस्तो देखियो। हामी (महानगर)ले सबै घरमा पार्किङको व्यवस्था गर्नुपर्छ भनेर जमिनअनुसारले नक्सापास गर्ने, अनि महानगरपालिकाले आफ्नै भवन बनाउँदा पार्किङ नै बनाएको छैन त्यहाँ।
पार्किङ व्यवस्थापनका लागि के गर्न सकिन्छ?
हामीले त्योबेला पार्किङका लागि हुने जग्गा कहाँकहाँ खाली छ भनेर ठाउँठाउँमा सर्भे गराएका थियौँ। अहिलेको नेतृत्वले पनि कर्मचारीलाई बोलाएर फाइलहरू पल्टाउनुपर्यो। ठाउँठाउँमा जग्गा छ। विदेशमा हामीलाई आधुनिक पार्किङको व्यवस्था देखाएको थियो। त्यतिबेला एक रोपनीमा १६५ वटा गाडी अट्छ भन्ने थाहा पाएका थियौँ। सयवटा मात्रै गाडी अटे पनि आधा रोपनीमा पुगिगो नि! त्यहाँ हाम्रा वडाका महिलाहरू, युवाहरूलाई रोजगार पनि दिनसके राम्रो हुन्थ्यो।
पुरानो बसपार्कमा बन्दै गरेको भवनमा तीन तला त पार्किङ हो। त्यसलाई चाँडो पूरा गर्नुपर्यो भनेर अनुगमनमा जाँदा मैले नै घचघच्याएको थिएँ। धरहरामा पनि २०० चानचुन पार्किङको व्यवस्था छ। त्यसलाई व्यवस्थित गरौँ न। विकल्प हुँदाहुँदै टुँडिखेलमा किन पार्किङ गर्ने? टुँडिखेललाई खुल्लै राखिदिऊँ। म प्रमुख (बालेन्द्र साह) ज्यूलाई अभिभावकको रूपमा खुला मञ्चलाई खुला राख्नुहोस्, पार्किङ गर्ने ठाउँ धेरै छ, विचार पुर्याउनु भन्न चाहन्छु। टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ राख्ने कि भन्ने कुरा हाम्रो पालमा पनि आएको हो तर त्यहाँको जमिनमुनि लेदो भएकोले त्यसो गर्नु उचित नहुने मैले नै भनेको थिएँ।
काठमाडौँका प्रमुख बालेन्द्र शाहले पनि खुलामञ्चमा पार्किङ र रिभर्स बोरिङ गर्ने योजना ल्याउनुभएको छ। त्यसो गर्नु उचित हो?
उहाँलाई खुलामञ्चमा पार्किङको व्यवस्था नगर्न भन्छु म। यसलाई खुला रूपमै राखिदिऊँ। पार्किङका लागि त अहिले नयाँनयाँ प्रविधिहरू आएका छन्। जतिजति विकास हुँदै जान्छ, सबैको घरघरमा बाइक, गाडी हुन्छ। त्यसकारण पार्किङको आवश्यकता छैन त म भन्दै भन्दिनँ, तर नयाँ प्रविधिहरू प्रयोग गर्नुपर्छ।
यस्तो कुरालाई टेकेर प्रमुख (बालेन्द्र शाह) ले एकदमै विवेक र विचार पुर्याएर अहिलेको नयाँ प्रविधिलाई भित्राउनुभयो भने ठाउँठाउँमा आधा रोपनी मात्रैले पनि पुग्ने भएकोले यो कुरालाई खुला नै राखिदिनुभयो भने हुन्थ्यो। म त अझ बागमती प्रदेशको माननीय भएर जितेर आइसकेको छु, हामीसँग पनि सल्लाह लिनुभयो भने अझ उहाँलाई प्लस पोइन्ट हुन्छ। मनपरी नगरिदिए हुन्थ्यो भन्ने मेरो आग्रह छ। पाँच वर्षका लागि हामी सबै मिलेर काम गरौँ। सल्लाह लिनुहोस्, हामी राम्रै सल्लाह दिन्छौँ। जनताले जिताइसकेपछि हामीले मान्नुपर्छ, त्यसैले प्रमुखज्यूलाई अहिले पार्किङको व्यवस्था नगरिदिन आग्रह गर्छु।
उहाँ पनि त्यत्रो पढेको इन्जिनियर हो, बुझेकै होला। त्यसैले पार्किङको लागि धेरै ठाउँहरू छन्, त्यो ठाउँ महानगरपालिकामा बसेको छ। कहाँकहाँ सरकारी जग्गा छ, त्यसलाई अवलोकन गर्नुपर्यो। टेकुमा जानुभयो भने पार्किङको लागि महानगरकै जग्गा छ। न्युरोडमा महानगरको अझ एउटा जग्गा छ। त्यहीँ पार्किङको व्यवस्था गर्न सकिन्छ। नयाँ बनेको वीर अस्पताल भवनको पनि हामीले नक्सा पास गरेकोले त्यहाँ पनि पार्किङ छ। वीर अस्पतालको लागि पार्किङ चाहिँदैन, त्यहीँ भित्रै पार्किङ भइसकेको छ। उहाँले पनि बुझेको हुनुपर्छ, अध्ययन गरेर मात्रै एक्सनमा जाँदा राम्रो हुन्छ।
तर, नगर प्रमुख शाहको कार्यशैली हेर्दा उहाँ खुलामञ्चमा पार्किङ बनाउने योजनाबाट पछाडि हट्नुहुन्न कि जस्तो देखिन्छ। त्यस्तो भयो भने तपाईंहरू के गर्नुहुन्छ?
शुरूमा त म ध्यानाकर्षण नै गराउँछु। उहाँको अधिकार भन्दैमा जे मन लाग्यो, त्यही गर्न पाइँदैन। हामी पाँच वर्षको लागि आएको हो। प्रमुख, उपप्रमुख जित्यो भन्दैमा संसारै मेरो हो भन्ने बुझ्नु एकदमै गलत हुन्छ। त्यसैले कुन ठाउँमा पाइला राख्ने, कुन ठाउँमा नराख्ने भन्ने कुरा आफूले बुझ्न आवश्यक छ।
विगतमा चिनियाँ प्रधानमन्त्री आउने बेला खुलामञ्च फोहोर भएको भनेर सफा गर्नुको साटो ढलान गरियो। त्यहाँ म नै स्ट्यान्ड लिन गएँ। सम्पदाप्रेमी बाबुहरू आए। सबै भत्काइदियौँ। त्यो बेला त त्यसरी लडेँ। किन उपप्रमुखले लडेको हो, अहिलेको प्रमुखले बुझ्न आवश्यकता छ।
तपाईं उपप्रमुख हुँदा प्रमुखविरुद्ध नै लाग्नुभयो। अहिलेकी उपप्रमुख सुनीता डंगोलले खुलामञ्चमा पार्किङ बनाउने कुरामा औपचारिक रूपमा कतै धारणा राख्नुभएको छैन। त्यसलाई कसरी हेर्नुभएको छ ?
हामी त्यो ठाउँमा सेवा नै गर्छु भनेर गएको हो नि। त्यसैले उपप्रमुखले एक शब्द मात्रै यो टुँडिखेलमा पार्किङ नगरिदिउँ भन्नुभयो भने मात्रै पनि धेरै कुरा पछाडि जानसक्छ। हरेक कुरामा ‘एस म्यान’ बन्नुहुँदैन। हामी महिलाहरू जहिल्यै ‘एस म्यान’ नै हुने गरेका छौँ। त्यसैले नै पनि हामीलाई दोस्रो स्थानमा राखिने गर्छ। नेतृत्व तहमा पुगेर हामीले आफ्नो क्षमता देखाउनुपर्छ। मैले महानगरपालिकामा काम गरेर देखाएँ नि त। अहिले मलाई टिकट लिन गाह्रो भएन। किनकि, काम गर्ने मान्छे हो। काम गरेकोले प्रदेशमा चुनिएँ। राजनीतिको पाइला त उहाँ (सुनीता डंगोल)ले पनि अगाडि सारिसक्नुभएको छ।
उपप्रमुख भएर प्रमुखविरुद्ध जाँदा के-कस्ता समस्या भोग्नुभो?
जब रानीपोखरीको विषयमा स्ट्यान्ड लिएँ, त्यतिखेर सात महिना मेरो लागि कर्मचारी नै पठाइदिनु भएन। उपप्रमुखको दायित्वबाट बाहिर राख्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा सबै काम कर्मचारीमार्फत गराएर आफू मात्रै माथि (स्टेज), मलाई तल (दर्शक दीर्घामा) राख्नुभयो। त्यो भनेको सबै रिस हो। मैले किन स्ट्यान्ड लिएँ भन्ने कुरा त उहाँले बुझ्नुपर्छ। आज उहाँको नाम छैन, मेरो नाम किन रह्यो त? यो भनेको भोलिसम्म इतिहासमा रहने हो। कुनै मेवा खानको लागि राजनीति गर्ने होइन। त्यो गर्ने हो भने त व्यापार व्यवसाय, जागिर गर्ने हो। जनताको सेवा गर्न राजनीति गरेको हो।
मलाई त धेरै भएको हो त्यहाँ, रुन मात्रै सकिनँ। कतिपटक एक्लै बसेर आँखाबाट आँशु पनि झारेँ। धेरै गाह्रो भएको थियो। एक त महिला, अर्को मैले राम्रै कुरामा स्ट्यान्ड लिएको हो भन्ने कुरा मनमा लिएँ। उहाँले अझ मलाई धन्यवाद देला सोचेको, उल्टो सात महिनासम्म कर्मचारी नपठाएर अझ मेरो ढोकामा सिसि क्यामेरा राख्नुभयो। कोको कर्मचारी मेरोमा आउँछ, उसलाई स्पष्टीकरण लिनुहुन्थ्यो। कर्मचारीलाई सरुवा गर्ने, कुनकुन ठाउँमा राख्ने भन्ने सबै मेयरको हातमा हुन्थ्यो। हुँदा हुँदा बाहिरको पाहुना (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) को अगाडि पनि तमासा जस्तो भइयो।
खुलामञ्च जोगाउन सम्पदा संरक्षण अभियन्ताहरूको ठूलो भूमिका रह्यो, तपाईंलाई पनि उहाँहरूले साथ दिनुभयो। अहिले पनि खुलामञ्च जोगाउन उहाँहरू संघर्ष गर्दै हुनुहुन्छ, तपाईंलाई कस्तो लाग्छ?
सम्पदाप्रेमी भाइहरूलाई म कहिल्यै बिर्सन सक्दिनँ। किनभने, उहाँहरूले मलाई ध्यानाकर्षण गराउनुभयो। मेरो पदले त्यसमा स्ट्यान्ड लियो। त्यो गर्दा काठमाडौँ महानगरको चारैवटा सम्पदा बचाउन म सफल भएँ। टुँडिखेलमा पार्किङ गर्ने भन्ने कुरा आएको झण्डै दुई महिना हुन लागिसक्यो, तर रोक्न सकिएको छैन। शायद म त्यो ठाउँ (उपप्रमुख)मा भइदिएको भए त्यो नाम नै आउन दिन्नथेँ होला। अहिले साथ दिने मान्छे नहुँदा सम्पदा संरक्षण अभियानमा लाग्नुभएको भाइहरूलाई गाह्रो भइरहेको छ। मैले त्यो कुरा बुझ्छु।
पूर्वभौतिक मन्त्री हिसिला यमीले पशुपतिमा बाटो खोल्नुभएको थियो। जनताको लागि होइन, कंक्रिट ओसार्ने व्यापारको लागि त्यो बाटो खोलिएको थियो। पशुपति भनेको त नेपालको पहिचान हो। त्यो ठाउँलाई जति सक्दो बचाउनुपर्छ भनेर सम्पदाप्रेमी भाइहरूले ध्यानाकर्षण गराउनुभएपछि मैले बाटो बन्द गराएँ। २०७२ सालको भूकम्पपछि विश्वरुपा त्यसै फ्यालेर राखेको थियो। कंक्रिटको हात्ती पाइला राखिसकेको थियो। मैले राख्नुहुँदैन, पुर्खाले बनाएको जस्तै बनाउनू भनेँ।
रानीपोखरी पुरानै शैलीमा बन्यो। स्ट्यान्ड नलिएको भए स्विमिङ पुलजस्तो बन्थ्यो। अझ ६ करोडको पानी पनि बर्सेनि राखिन्थ्यो। त्यो रोकेँ। जनताको कर राम्रो ठाउँमा प्रयोग गर्नुपर्छ भनेर आवाज उठाएँ। बौद्धमा बत्ती राख्न प्वाल बनाएको थियो। किला ठोकेर झिलिमिली बनाएकोमा मैले स्ट्यान्ड लिएँ। सबैले साथ दिनुभयो। त्यसलाई बचाउन सफल भयो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भूको पछाडिपट्टि चक्रपथ विस्तारको लागि भएका गुम्बाहरू भत्काउँ भन्दा म त्यसमा सहमत भइनँ। उहाँले मलाई ध्यानाकर्षण गराएपछि अनुगमनमा गएँ। विकल्प त खोज्नै पर्छ। मैले सुतेर, गफ गरेर महानगरपालिकामा बिताइनँ। सम्पदा बचाउन म तदारुकताका साथ अगाडि बढेको थिएँ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
