‘खुलामञ्चमा जे मन लाग्यो त्यो नगर्नु’ ः हरिप्रभा खड्गी

काठमाडौँ महानगरले खुलामञ्चमा तीन तले पार्किङ बनाउने योजना अघि सारेपछि खुलामञ्चको स्वच्छन्दाता तथा मौलिकतामा असर पर्नेतिर सम्पदाकर्मी चिन्तित छन्।

काठमाडौँ महानगरले खुलामञ्चमा तीन तले पार्किङ बनाउने योजना अघि बढाएको छ। महानगरको उक्त योजनाले खुलामञ्चको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक महतालाई धुमिल्याउने सम्पदा अधिकारकर्मीको मत छ। कुनै समय एशियाकै ठूलो कबाज मैदान मानिएको खुलामञ्च विभिन्न समयमा अतिक्रमित भई साँघुरिएको छ। अतिक्रमित खुलामञ्चलाई खुला गराउन विगतमा महत्वपूर्ण भूमिका खेलेकी काठमाडौँ महानगरपालिकाकी पूर्व उपप्रमुख एवं हाल काठमाडौँ १ को (ख)बाट प्रदेशसभामा निर्वाचित हरिप्रभा खड्कासँग उल्लिखित सन्दर्भमा केन्द्रित रही उकालोकर्मी सुनीता साखकर्मीले गरेको संवादको सारसंक्षेप:

खुलामञ्च के हो, योसँग तपाईंको सम्बन्ध कसरी जोडियो? 
म सानो छँदा काठमाडौँमा खुल्ला वातावरण थियो। त्यतिखेर घर पनि यति ठूल्ठूला थिएनन्। भक्तपुरबाट कलेज पढ्न यहाँ आउँदा अर्कै शहरमा आइपुगेको महशुस हुन्थ्यो। त्यतिखेर होटल, रेस्टुरेन्ट जाने भन्ने चलन थिएन, साथीभाइहरूसँग बदाम, सुन्तला किनेर जाडो मौसममा त्यहाँ (खुलामञ्चमा) बसेर खाने, गफसफ गर्ने गर्थ्यौं। राजनीतिमा पाइला राखिसकेपछि त्यहीँ खुला ठाउँमा बसेर राजनीतिक विमर्शहरू हुन्थे। इतिहासका पाना पल्टाउँदै गर्दा हरेक देशका परिवर्तनहरू खुलामञ्चमै टेकेर भएका छन्। नेपालमा पनि मैले मेरो उमेरले बुझेअनुसार सर्वमान्य नेता गणेशमान सिंहले आह्वान गरिसकेपछि प्रजातन्त्र ल्याउन खुलामञ्चबाटै आन्दोलनको शुरूआत भएको हो। त्यहीँबाट भाषण गरेर देशमा प्रजातन्त्रको घोषणा भएको हो। बीपी कोइरालादेखि पुष्पलाल श्रेष्ठलगायत प्रायः अग्रज नेताहरू खुलामञ्चबाटै स्थापित भएका हुन्। खुलामञ्चलाई हाम्रा पुर्खाले किन छोडेर गएको हुन्, त्यसको हेक्का राख्नु जरुरी छ। खुल्लामञ्चमा त्यस्तो ठाउँ हो, जहाँ  बसेर सास फेर्न पाऊँ, सुखदुःखको कुरा गर्न पाउँ, साथीभाइ भेट्न पाउँ भन्ने हुन्छ। 

खुलामञ्चमै दुईमाजु छ। दशैँमा तलेजुमा पूजा गर्नुअघि त्यो दुईमाजुमा पूजा नगरी चढ्दैन। त्यसको इतिहास छुट्टै छ। हाम्रो त त्यहाँ पूजा गर्ने ठाउँ छ। मेरो त देवाली नै त्यहाँभित्रै छ। त्यहाँ अरूको पनि देवाली पूजा हुन्छ होला। टुँडिखेल बनाउन त्यहाँको बस्ती नै सारेर बागबजार बस्ती बस्न गएको हो भन्नुहुन्थ्यो मेरो सासु। 

काठमाडौँ विपद्‌ग्रस्त छ। २०७२ सालको महाभूकम्प आएको धेरै भएको छैन। हामीले प्रस्ट रूपमा देख्यौँ, म आफैँ पनि पीडित थिएँ। मेरो घर भासिँयो। एक महिनासम्म परिवारसहित बाहिर बसेका थियौँ हामी। बाहिरै लाइन बसेर खाना खाने अवस्थासम्म भोगियो। बागबजार क्षेत्र कतै पनि खुला छैन, हाम्रो लागि खुला भनेको त्यही टुँडिखेल हो। त्यसकारण टुँडिखेललाई त्यो ढंगमा पुर्खाले छोडेको हो। १९९० सालको भूकम्पमा पनि टुँडिखेलमै जनतालाई पाल राखेर बसोबास गराएको मेरो सासुले सुनाउनुहुन्थ्यो। ०७२ को भूकम्पमा टुँडिखेल हामीहरू धेरैको आश्रयस्थल थियो। त्यस्तो सामाजिक महत्वको ठाउँलाई ध्यानमा राखेर दूरदर्शी तरिकाले विकास निर्माण गरिनुपर्छ। खुलामञ्चलाई खुल्लै राख्नुपर्छ।

तपाईं उपप्रमुख भएकै बेला खुलामञ्च अतिक्रमणको प्रयास भयो। त्यसको विरुद्धमा तपाईं सडकमै उत्रिनुभएको थियो, त्यसो गर्नु कतिको सहज थियो? 
म उपप्रमुख हुँदा मैले मेरै संस्थासँग मैले लड्नुपर्‍यो, सडकमा उत्रिनुपर्‍यो। किनभने, त्यतिबेलै खुलामञ्चमै ५१ वटा पसल राखिएका थिए। त्यतिखेर ताजै भएको बेला मैले स्ट्यान्ड नलिएको भए अहिले ५१ वटा होइन, हजारौँ पसल भइसक्थे होला। अहिले जसरी सुकुमबासीलाई हटाउन हम्मेहम्मे भएको छ, त्यस्तै हुन्थ्यो। 

पीएल सिंह प्रमुख हुँदा टुँडिखेलमा धेरैजसो पसलहरू थियो। ती पसल उठाउन धेरै गाह्रो भयो। आज ती पसल भृकुटीमण्डप भित्र छन्। अहिलेसम्म उहाँहरूलाई व्यवस्थित गर्न सकिएको छैन। म त राजनीतिमा आइसकेको थिएँ। त्यो देखेकोले त्यही अवस्था आउला भनेर पसलहरू हटाउन प्रमुख(विद्यासुन्दर शाक्य)विरुद्ध लडाइँ शुरू गरेँ। मैले कार्यपालिकाबाट नै यसलाई सल्टाऊँ, ४२ जना सदस्यसामु यो विषय पुर्याउँ भनेर जोडतोडले उठाएँ। 

अर्को कुरा महानगरपालिकाको न्यूरोडमा जग्गा छ। त्यहाँ हामीले सर्बे गर्दा मैले मेयर (विद्यासुन्दर शाक्य)लाई अहिलेको नयाँ प्रविधिअनुसार त्यहाँ २६५ वटा गाडीहरू अट्छ भनेको थिएँ। हामी चीन, जापान जाँदा त्यहाँ पनि देखेका थियौँ। सानो ठाउँमा पनि पार्किङ राख्न मिल्दो रहेछ, त्यही प्रविधिलाई टेकेर पार्किङको व्यवस्था गर्नुपर्छ भनेर मैले आवाज उठाएँ। न्युरोड, असन हाम्रो व्यापारिक थलो हो। त्यहाँ व्यापार नगरी देश कसरी चलाउन सकिन्छ? मुख्यतः हाम्रा पसल चल्नुपर्‍यो। पसल धमाधम खोल्नुपर्‍यो । त्यहाँको करबाट हामीले विकास गर्ने हो। व्यापारलाई कहिले पनि बेवास्ता गर्नुहुँदैन। न्युरोड र असन भनेको देशको मुटु नै हो। त्यो ठाउँको लागि पार्किङको व्यवस्था गर्नु आवश्यक छ। त्यो ठाउँ पुरानो नगरपालिकाको लाइनमै एक रोपनी जग्गा खाली थियो। प्रमुख (विद्यासुन्दर शाक्य) लाई पहिले कुरा गर्दा ‘हुन्छ’ भन्नुभएको थियो। तर उहाँले आफैँले निर्णय गरेर त्यो ठाउँमा अहिले सांस्कृतिक भवन बनाउनुभयो। हाम्रो सल्लाह लिनुभएको भए त्यो ठाउँमा भवन बन्दैनथ्यो, पार्किङ नै खडा हुन्थ्यो। मैले धेरै रोकेँ, तर सकिनँ। पार्किङ नै गरौँ भनेको थिएँ। मर्ज गरेर भत्काएर महानगरले लगानी गरेर पुस्तौँपुस्तासम्म नाम रहने गरी काम गरौँ भनेर उहाँलाई पटकपटक भनेँ तर मेरो कुराको सुनुवाइ भएन। किनकि म उपप्रमुख भएँ, प्रमुख त हुन सकिएन। म प्रमुख भएको भए काम गर्थें होला। उपप्रमुख हुँदा सबैकुरा मलाई जानकारी छ, बुझ्छु तर मेरो कुरा सुनुवाइ भएन। आज त्यो सुनुवाइ भइदिएको भए सायद पूर्व प्रमुखज्यूको पनि नाम रहन्थ्यो। सुनुवाइ नहुँदा हामीले केही नगरेको जस्तो देखियो। हामी (महानगर)ले सबै घरमा पार्किङको व्यवस्था गर्नुपर्छ भनेर जमिनअनुसारले नक्सापास गर्ने अनि महानगरपालिकाले आफ्नै भवन बनाउँदा पार्किङ नै बनाएको छैन त्यहाँ

पार्किङ व्यवस्थापनका लागि के गर्न सकिन्छ? 
हामीले त्योबेला पार्किङका लागि हुने जग्गा कहाँकहाँ खाली छ भनेर ठाउँठाउँमा सर्बे गराएका थियौँ। अहिलेको नेतृत्वले पनि  कर्मचारीलाई बोलाएर कहाँकहाँ जग्गा छ भनेर फाइलहरू पल्टाउनुपर्‍यो। ठाउँठाउँमा जग्गा छ। विदेशमा हामीलाई आधुनिक पार्किङको व्यवस्था देखाएको थियो। त्यतिबेला एक रोपनीमा १६५ वटा गाडी अट्छ भन्ने थाहा पाएको थियौँ। सयवटा मात्रै गाडी अटेपनि आधा रोपनीमा पुगिगो नि! त्यहाँबाट हाम्रा त्यही वडाका महिलाहरू, युवाहरूलाई रोजगार पनि दिनसके राम्रो हुन्थ्यो। 

पुरानो बसपार्कमा बन्दै गरेको भवनमा तीन तला त पार्किङ हो। त्यसलाई चाँडो पूर्ण गर्नुपर्‍यो भनेर अनुगमन जाँदा मैले नै घचघच्याएको थिएँ। धरहरामा पनि २ सय चानचुन पार्किङको व्यवस्था छ। त्यसलाई व्यवस्थित गरौँ न। विकल्प हुँदाहुँदै टुँडिखेलमा किन पार्किङ गर्ने? टुँडिखेललाई खुल्लै राखिदिऊँ। म प्रमुख(बालेन्द्र साह)ज्यूलाई अभिभावकको रूपमा खुला मञ्चलाई खुला राख्नुहोस्, पार्किङ गर्ने ठाउँ धेरै छ, विचार पुर्‍याउनु भन्न चाहन्छु। 

टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ राख्ने कि भन्ने कुरा हाम्रो पालमा पनि आएको हो तर त्यहाँको जमिनमुनि लेदो भएकोले त्यसो गर्नु उचित नहुने मैले नै भनेको थिए। 

अहिलेका मेयर बालेन्द्र शाहले पनि खुलामञ्चमा पार्किङ र रिभर्स बोरिङ गर्ने योजना ल्याउनुभएको छ। त्यसबारे तपाईंको धारणा के छ? 
अहिलेको प्रमुखलाई खुलामञ्चमा पार्किङको व्यवस्था नगरौँ भन्छु म। यसलाई खुला रूपमै राखिदिऊँ। पार्किङ त अहिले नयाँनयाँ प्रविधिहरू आएको छ। अहिले आधा रोपनी मात्रै जग्गा भएपनि नयाँ प्रविधिमा टेकेर पार्किङ बनाउन सकिन्छ। पार्किङको आवश्यकता छ, छैन म भन्दिनँ, किनभने जतिजति विकास हुँदै जान्छ, सबैको घरघरमा बाइक, गाडी हुन्छ। त्यसकारण पार्किङको आवश्यकता छैन त म भन्दै भन्दिनँ। तर अहिले नयाँ प्रविधिहरू आइसकेको छ। 

यस्तो कुरालाई टेकेर प्रमुख (बालेन्द्र शाह) ले एकदमै विवेक र विचार पुर्‍याएर अहिलेको नयाँ प्रविधिलाई भित्राउनुभयो भने ठाउँठाउँमा आधा रोपनी मात्रै भएपनि पुग्ने भएकोले यो कुरालाई खुला नै राखिदिनुभयो भने हुन्थ्यो। अहिले हाम्रो खुला ठाउँ छैन। भोलि भयावह अवस्था आयो भने हामी कहाँ जाने ? उहाँले जे गर्नुभएको छ, त्यसमा म उहाँलाई साथ दिन्छु। साथ नदिइकन विकास हुन सक्दैन। साथ दिएर अगाडि बढ्नुपर्छ। म त अझ बागमती प्रदेशको माननीय भएर जितेर आइसकेको छु। हामीसँग पनि सल्लाह लिनुभयो भने अझ उहाँलाई प्लस पोइन्ट हुन्छ। मनपरी नगरिदिए हुन्थ्यो भन्ने मेरो आग्रह छ।  पाँच वर्षका लागि हामी सबै मिलेर काम गरौँ भन्ने आग्रह त। सल्लाह लिनुहोस्, हामी राम्रै सल्लाह दिन्छौँ। उहाँ सफल हुने हिसाबले नै सल्लाह दिन्छौँ। जनताले मत दिइसकेपछि हामी सबैले मान्नुपर्छ। जनताले जिताइसकेपछि हामीले मान्नुपर्छ। त्यसैले प्रमुखज्यूलाई अहिले पार्किङको व्यवस्था नगरिदिन आग्रह गर्छु। 

उहाँ पनि त्यत्रो पढेको इन्जिनियर हो, बुझेकै होला, नबुझेको भन्न सकिँदैन। त्यसैले पार्किङको लागि धेरै ठाउँहरू छ, त्यो ठाउँ महानगरपालिकामा बसेको छ, कहाँकहाँ सरकारी जग्गा छ, त्यसलाई अवलोकन गर्नुपर्‍यो। टेकुमा जानुभयो भने पार्किङको लागि महानगरकै जग्गा छ। न्यूरोडमा महानगरको अझ एउटा जग्गा छ। त्यहीँ पार्किङको व्यवस्था गर्न सकिन्छ। त्यो व्यवस्थातिर हेरेर खुलामञ्चमा पार्किङ नगरिदिए धेरै राम्रो। 

नयाँ बनेको वीर अस्पतालको पनि हामीले नक्सा पास गरेकोले त्यहाँ पनि पार्किङ छ। वीर अस्पतालको लागि पार्किङ चाहिँदैन, त्यहीँ भित्रै पार्किङ भइसकेको छ। उहाँले पनि बुझेको हुनुपर्छ, पहिले कहीँकतै राख्ने बुझेर जानुपर्छ। अध्ययन गरेर मात्रै एक्सनमा जाँदा उहाँलाई राम्रो हुन्छ। 

तर, नगर प्रमुख शाहको कार्यशैली हेर्दा उहाँ खुलामञ्चबाट पछाडि हट्नुहुन्न कि जस्तो देखिन्छ। यदि उहाँ खुलामञ्चमै पार्किङ बनाउन अघि सर्नुभो भने तपाईं के गर्नुहुन्छ? 

शुरूमा त म ध्यानाकर्षण नै गराउँछु। उहाँको अधिकार भन्दैमा जे मन लाग्यो, त्यही गर्न पाइँदैन। हामी पाँच वर्षको लागि आएको हो। मेयर, उपप्रमुख जित्यो भन्दैमा संसारै मेरो हो भन्ने बुझ्नु एकदमै गलत हुन्छ। त्यसैले कुन ठाउँमा पाइला राख्ने, कुन ठाउँमा नराख्ने भन्ने कुरा आफूले बुझ्न आवश्यक छ। पार्किङको कुनै दुःख लिनुपर्दैन। प्रमुखले कहाँकहाँ महानगरको जमिन छ भनेर खोज्नुपर्छ‍। उहाँले ठाउँठाउँमा नयाँ प्रविधिअनुसार पार्किङको व्यवस्था गरिदिनुभए हुन्छ। खुलामञ्च खुलाको खुलै रहन्छ। खुलामञ्च खुला गर्नेपर्छ।

विगतमा चिनियाँ प्रधानमन्त्री आउने बेला खुलामञ्च फोहोर भएको भनेर सफा गर्नुको साटो ढलान गरियो। त्यहाँ म नै स्ट्यान्ड लिन गएँ। सम्पदाप्रेमी बाबुहरू आए। सबै भत्काइदियौँ। त्यो बेला त त्यसरी लडेँ। किन उपप्रमुखले लडेको हो, अहिलेको प्रमुखले बुझ्न आवश्यकता छ। 

तपाईं उपप्रमुख हुँदा मेयरविरुद्ध गएर काम गर्नुभयो। अहिलेको उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म खुलामञ्चमा पार्किङ बनाउने कुरामा औपचारिक रूपमा कतै धारणा राख्नुभएको छैन। त्यसलाई कसरी हेर्नुभएको छ? 
नचाहिँदो कुरामा गर्नुपर्छ। हामी त्यो ठाउँमा सेवा नै गर्छु भनेर गएको हो नि। त्यसैले अहिलेको उपप्रमुख पनि यसरी नै उभिइदियो भने उहाँले एक शब्द मात्रै यो टुँडिखेलमा पार्किङ नगरिदिउँ भन्नुभयो भने मात्रै पनि धेरै कुरा पछाडि जानसक्छ। हरेक कुरामा ‘एस म्यान’ बन्नुहुँदैन। हामी महिलाहरू जहिल्यै ‘एस म्यान’ नै हुने गरेका छौँ। त्यसैले नै पनि हामीलाई दोस्रो स्थानमा राखिने गर्छ। त्यसैले हामी ‘एस म्यान’ बन्नुहुन्न। हामी हरेक कुरामा अगाडि बढ्न सक्छौँ। ठाउँ दिनु, नेतृत्व तहमा पुगेर हामी आफैँले आफ्नो क्षमता देखाउन सक्छौँ। 

मैले महानगरपालिकामा काम गरेर देखाएँ नि त। अहिले मलाई टिकट लिन गाह्रो भएन। किनकि काम गर्ने मान्छे हो। काम गरेकोले फेरि प्रदेशमा चुनिएँ। यसरी काम गर्‍यो भने जनताले पनि मूल्यांकन गर्छन्। 

राजनीतिको पाइला त उहाँ(सुनीता डंगोल)ले पनि अगाडि सारिसक्नुभएको छ। अहिले लियो भने भोलिलाई पनि धेरै राम्रो हुन्छ। 

मेयरविरुद्ध गएर ‘एक्सन’ लिँदै गर्दा कुनै डरधम्की आयो?

जब रानीपोखरीको विषयमा स्ट्यान्ड लिएँ, त्यतिखेर सात महिना प्रमुखले मेरो लागि कर्मचारी नै पठाइदिनुभएन। उपप्रमुखको दायित्वबाट बाहिर राख्नुभयो। जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा सबै काम कर्मचारीमार्फत गराएर आफू मात्रै माथि (स्टेज)मा, मलाई तल (दर्शक दीर्घामा) राख्नुभयो। त्यो भनेको सबै रिस हो। मैले किन स्ट्यान्ड लिएँ भन्ने कुरा त उहाँले बुझ्नुपर्छ। आज उहाँको नाम छैन, मेरो नाम किन रह्यो त? यो भनेको त भोलिसम्म इतिहासमा रहने नामहरू हो। राजनीति गर्ने मान्छेले हेक्का राख्नुपर्छ, राजनीति भनेकै देश, समाज, जनताको लागि हो। पहिलो प्राथमिकता नै त्यसलाई दिनुपर्छ। कुनै मेवा खानको लागि राजनीति गर्ने होइन। त्यो गर्ने हो भने त व्यापार व्यवसाय, जागिर गर्ने हो। जनताको सेवा गर्न राजनीति गरेको हो। 

मलाई त धेरै भएको हो त्यहाँ। रुन मात्रै सकिनँ। कतिपटक एक्लै बसेर आँखाबाट आँशु पनि झारेँ। धेरै गाह्रो भएको थियो। एक त महिला, अर्को मैले त राम्रै कुरामा स्ट्यान्ड लिएको हो भन्ने कुरा मनमा लिएँ। उहाँले अझ मलाई धन्यवाद देला सोचेको, उल्टो उहाँले मलाई सात महिनासम्म कर्मचारी नपठाएर अझ मेरो ढोकामा सिसि क्यामेरा राख्नुभयो। कोको कर्मचारी मेरोमा आउँछ, उसलाई स्पष्टीकरण लिनुहुन्थ्यो, त्यसैले कोही कर्मचारी मेरोमा आउँदैनथे। कर्मचारीलाई सरुवा गर्ने, कुनकुन ठाउँमा राख्ने भन्ने सबै मेयरको हातमा हुन्थ्यो। हुँदा हुँदा बाहिरको पाहुना (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) को अगाडि पनि तमासा जस्तो भइयो। यो त राम्रो होइन। उपप्रमुख भएपछि स्टेजमै राख्नुपर्नेमा तल राखेर हेपेको भनेर प्रधानमन्त्री ज्यूले नै भन्नुभयो।

महानगरमा पाँच वर्षको लागि आएको हो। सदाको लागि त्यो पदको लागि आएको होइन। त्यो पद पाउँदा राम्रो प्रयोग गरेर जानुपर्छ। अहिले प्रदेशमा आएको छु। मूल्यांकन गरेर जनताले पठाएको छ। पहिले एउटा महानगर थियो, अहिले त १३ वटा जिल्लामा विकास गरेर जानुपर्छ। 

खुलामञ्च जोगाउन सम्पदा संरक्षण अभियन्ताहरूको ठूलो भूमिका रह्यो, तपाईंलाई पनि उहाँहरूले साथ दिनुभयो। अहिले पनि खुलामञ्च जोगाउन उहाँहरू संघर्ष गर्दै हुनुहुन्छ, तपाईंलाई कस्तो लाग्छ ? 

मेरो सम्पदाप्रेमी भाइहरूलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ। किनभने उहाँहरूले मलाई ध्यानाकर्षण गराउनुभयो। मेरो पदले त्यसमा स्ट्यान्ड लियो। त्यो गर्दा काठमाडौँ महानगरको चारैवटा सम्पदा बचाउन म सफल भएँ। शायद उनीहरूको लागि म र मेरो लागि उनीहरू त्यो दुइटा पार्ट नमिलेको भए दुवैले गर्न सक्दैन थियौँ। 

टुँडिखेलमा पार्किङ गर्ने भन्ने कुरा आएको झण्डै २ महिना जति हुन लागिसक्यो तर सकेको छैन। शायद म त्यो ठाउँ (उपप्रमुख)मा भइदिएको भए त्यो नाम नै आउन दिन्नथेँ होला। अहिले साथ दिने मान्छे नहुँदा सम्पदा संरक्षण अभियानमा लाग्नुभएको भाइहरूलाई गाह्रो भइरहेको छ। मैले त्यो कुरा बुझ्छु। त्यो ठाउँमा म भइदिएको भए यत्तिको दुःख गरिरहनुपर्ने आवश्यकता थिएन। मेरो पदले धेरै काम गर्थ्यो। उनीहरू नभई म पनि अगाडि बढ्न सक्दिनँ।

चारवटा सम्पदा बचाउनु सानो कुरा होइन। पूर्व भौतिक मन्त्री हिसिला यमीले पशुपतिमा बाटो खोल्नुभएको थियो। जनताको लागि होइन, कंक्रिट ओसार्ने व्यापारको लागि त्यो बाटो खोलिएको थियो। पशुपति भनेको त नेपालको पहिचान हो। त्यो ठाउँलाई जति सक्दो बचाउनुपर्छ भनेर सम्पदाप्रेमी भाइहरूले ध्यानाकर्षण गराउनुभएपछि मैले बाटो बन्द गराएँ। 

त्यसपछि २०७२ को भूकम्पपछि विश्वरुपा त्यसै फ्यालेर राखेको थियो। कंक्रिटको हात्ती पाइला राखिसकेको थियो। मैले राख्नुहुँदैन, पुर्खाले बनाएको जस्तै बनाउनु भनेँ। 

रानीपोखरी पुरानै शैलीमा बन्यो। स्ट्यान्ड नलिएको भए स्विमिङ पुलजस्तो बन्थ्यो। अझ ६ करोडको पानी पनि बर्सेनि राखिन्थ्यो। त्यो रोकेँ। जनताको कर राम्रो ठाउँमा प्रयोग गर्नुपर्छ भनेर आवाज उठाएँ। 

बौद्धमा बत्ती राख्न प्वाल बनाएको थियो। किला ठोकेर झिलिमिली बनाएकोमा मैले स्ट्यान्ड लिएँ। सबैले साथ दिनुभयो। त्यसलाई बचाउन सफल भयो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भूको पछाडिपट्टी चक्रपथ विस्तारको लागि भएका गुम्बाहरू भत्काउँ भन्दा म त्यसमा सहमत भइनँ। उहाँले मलाई ध्यानाकर्षण गराएपछि अनुगमनमा गएँ। विकल्प त खोज्नै पर्छ। भत्काउनु त राम्रो होइन। अहिले त्यो कुरामा प्रधानमन्त्रीसँग छलफल गर्छाैँ। मैले सुतेर, गफ गरेर महानगरपालिकामा बिताइनँ। सम्पदा बचाउन म तदारुकताका साथ अगाडि बढेको थिएँ।