नयाँवर्षका अवसरमा ‘पोखरा सडक महोत्सव’ हुने

पर्यटन प्रवर्द्धनका लागि लेकसाइडको तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्न लागिएको पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले बताका छन्।

फाइल तस्वीर

पोखरा– अँग्रेजी नयाँवर्षका अवसरमा पुस १३ देखि १७ गतेसम्म २४औैँ ‘पोखरा सडक महोत्सव’ हुने भएको छ।

रेस्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्ष जस्तै महोत्सव गर्न लागेको हो। आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले बताए।

‘सडकमा नै खाऊँ, सडकमा नै रमाऊँ’ नाराका साथ हरेक वर्ष महोत्सव हुने गरेको उनको भनाइ छ। महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँक्री, रात्रिकालीन कन्सर्ट, बोट रेस र डमुमेन्ट्री प्रदर्शन गरिने आयोजकले बताएका छन्।

सडक महोत्सवले कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई ब्यूँताउन सहयोग पुग्ने व्यवसायीले बताएका छन्। रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले व्यापार मन्दी कम गर्न महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे। व्यापार र पर्यटन प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ।

नेपालका सबै स्थानमा यस्ता सडक महोत्सव गर्न सरकारले सहयोग गर्नुपर्ने राजभण्डारीले बताए।