नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।

फाइल तस्वीर

पर्सा– वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ। 

आइसीयू कक्षका लागि भवन निर्माण गरी १५ शैय्याको डायलासिस सेवा शुरू गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले जानकारी दिए। नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार हुनेछ।

साथै निमोनियालगायत रोगका कारण मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा. प्रधानले बताए। आकस्मिक डायलासिस सेवा लिनेले केही शुल्क तिनुपर्छ। ज्सबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्नेछ। नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीका हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनले बताए।

निजी अस्पतालले आकस्मिक डायलासिसको १० देखि १२ हजारसम्म शुल्क लिने गरेका छन्। नारायणी अस्पतालले पाँच हजार मात्रै तोकेको छ। आकस्मिक डायलासिसमा दुई शैयया एचआइभी संक्रमितका लागि छुट्याइएको छ। अस्पतालमा २२ वटा डायलासिस मेसिन छन्।

यी सबै मेसिन २४सै घण्टा सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा. प्रधानले बताए। भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताले पाँच लाख सहयोग गरेको उनको भनाइ छ।