म्याकार्थीको कप्तानीमा विराटनगरको टोली घोषणा

विराटनगर सुपर किङ्समा म्याकार्थीबाहेक सिकन्दर राजा, गौरन्शु शर्मा, कियोन जोसेप, हुसेन टलट र राज रोक्की नानन विदेशी खेलाडी छन्।

काठमाडौँ– नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली विराटनगर सुपर किङ्सले आन्द्रे म्याकार्थीको कप्तानीमा टोलीको घोषणा गरेको छ। विराटनगरले बुधबार वेस्ट इन्डिजका ब्याट्सम्यान म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेका छन्। म्याकार्थीबाहेक टोलीमा सिकन्दर राजा, गौरन्शु शर्मा, कियोन जोसेप, हुसेन टलट र राज रोक्की नानन विदेशी खेलाडी छन्।

पृथु बाँस्कोटा, अर्जुन साउद, प्रदीपसिंह ऐरी, विवेक यादव, नन्दन यादव, शाहब आलम, अमरसिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ र रिजन ढकाल नेपाली खेलाडीको रूपमा रहेका छन्।

विराटनगरको मुख्य प्रशिक्षक भने लिन्डेन फ्रेजर रहेका छन्। यस्तै, टिम म्यानेजरमा राहुल शर्मा रहने छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल टी-२० लिग पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा काठमाडौँ, पोखरा र विराटनगरसँगै जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुने छन्।