अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।
फागुन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा डा. मदनकुमार भट्टराई लिखित अनुसन्धानत्मक कृति नेपालको परराष्ट्र सम्बन्ध: संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित नामक कृति सार्वजनिक गरियो। कृति सार्वजनिकीकरण कार्यक्रममा प्रतिस्थापित एवं विशिष्ट पहिचान बनाएका पूर्वराजदूत, पूर्वन्यायाधीश पूर्वमुख्य सचिव, पूर्वसचिव, पूर्वउपकुलपति, सिद्धहस्त लेखक, चिकित्सक, इन्जिनियर, वकिल, प्राध्यापक, पत्रकार, अधिकांश पूर्वै (विभिन्न क्षेत्रमा कार्य सम्पादन गरिसकेका उल्लेख्य व्यक्तित्व)पूर्वको अपूर्व गैरराजनीतिक उपस्थिति रह्यो। यो उपस्थितिबाटै लेखकले आर्जन गरेको बौद्धिक सम्पत्तिको आकलन गर्न सकिन्थ्यो। ठीक पूर्वनिर्धारित समयमा प्रारम्भ भई एक घण्टा १५ मिनेटमै सम्पन्न हुनु विमोचन कार्यक्रमको एक विशेषता थियो।
डा. मदनकुमार भट्टराई पढ्दा, सेवामा रहँदा, सेवानिवृत्त हुँदा सदासर्वदा चलायमान, पदमा हुँदा नहुँदा एउटै प्रस्तुति, न अहम् न दम्भ, न त मपाईंत्व, आफूले आफैलाई चिनाएका भुइँमान्छे र मानवताका एक सरल पात्र हुनुहुन्छ। यस्ता व्यक्तित्वसँग उठबस, भलाकुसारी गर्न जोकोही पनि लालायित हुन्छन् नै। सेवानिवृत्त भएपछि आफ्नो अनुभवलाई अनुसन्धानको माध्यमबाट अब्बल कृति प्रकाशन गर्ने यस्ता मूर्धन्य कूटनीतिज्ञ (राष्ट्रसेवक) औँलामा गन्न सकिन्छ। राजनीति, इतिहास र कूटनीतिका मर्मज्ञ डा. भट्टराईको यो पछिल्लो कृति हो। यसपूर्व प्रकाशित भएका उहाँका परराष्ट्रका पात्र, परराष्ट्रका प्रशासक र चार कूटनीतिज्ञ पनि पाठकले औधी रुचाएका कृति हुन्। सम्भवतः उहाँको पहिलो कृति डिप्लोमेटिक हिस्ट्री अफ नेपाल पनि एक अनुसन्धानमूलक कृति नै थियो।
नेपालको परराष्ट्र सम्बन्ध: संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित ग्रन्थ नेपालको राजनीतिक इतिहासको ६ दशकभन्दा बढी समयका साक्षी, दर्शक, त्रिचन्द्र कलेजको पहिलो भाइस प्रिन्सिपल, नेपाली नागरिकका रूपमा चाहिँ पहिलो प्रिन्सिपल, पहिलो गैरराणा मुन्सीखानाका तैनाथवाला, पहिलो परराष्ट्रसचिव, लेखक र स्वयं इतिहासकै पात्र भएका नरेन्द्रमणि दीक्षित र उनको समकालीन नेपालको सेरोफेरोमा घुमेको छ।
सन् १९२५ देखि १९८० को दशकसम्म नेपालको विदेश सम्बन्धका विविध आयामले कृतिमा प्राथमिकता पाएका छन्। राणाकालीन र त्यसपछिको नेपाल–भारत सम्बन्धमा धेरै विदेशी र स्वदेशी लेखकका ग्रन्थ प्रचुर मात्रामा छन्। यस विषयले अझै लेखक र अनुसन्धानकर्ता आकर्षित भइरहेका छन्। यस्तो महत्त्वपूर्ण पक्षलाई तथ्य र कथ्यको आधारमा समुचित विश्लेषण भएको छ भने कैयौँ नवीन सूचना कृतिले प्रवाह गरेको छ। पूर्वप्रकाशित ग्रन्थ सामकालिक पत्रपत्रिका र अन्तर्वार्ताको माध्यमद्वारा प्राप्त सूचना जस्ता स्रोत प्रयोग गरी ठूलो परिश्रम र समय खर्च गरेर कृति तयार पारिएको प्रतीत हुन्छ। भूमिका, परिशिष्ट र तस्वीर खण्डबाहेक २५ अध्यायमा विभक्त भई ३२३ पृष्ठमा पुस्तक विस्तारित भएको छ।
लेखकले भूमिकामा यो पुस्तक लेख्नाको प्रयोजन उल्लेख गर्नुभएको छ। कृतिका लक्षित पाठक समूह तथा पूर्वप्रकाशित ग्रन्थका पाठकबाट प्राप्त प्रेरणा, लामो कूटनैतिक सेवाबाट आफूले हासिल गरेको अनुभव र हिजो पदीय हैसियतमा रहँदा भन्न नसकेका कतिपय मुद्दाहरू पाठकलाई जानकारी गराउने उद्देश्यबाट यो कृति प्रकाशित भएको बुझिन्छ। भूमिकामा उल्लेख भएको ‘...अन्य विधाका व्यक्तिलाई यो पट्यार लाग्दो र केवल इतिहासका बिर्सिसकेका घटनाको अनावश्यक पुनरावृत्ति हुन सक्छ।’ यो विचार भने पाठकको मनोविज्ञान विपरीत छ। विगतका घटना र समयलाई बुझ्ने सबैको रुचि हुन्छ। अतः श्रुति परम्परा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा आजको पुस्ताका लागि यस्ता ग्रन्थ अमूल्य खजाना हुन्। यी तथ्य बुझ्दाबुझ्दै पनि विद्वान् लेखकले किन यसो भन्नुभएको हो? पाठकले चाहिँ अझै बुझेका छैनन्।
भूमिकामा नै लेखकले उल्लेख गरेको ‘....अर्को विषय जानेको छैन जे जति लेख्छु परराष्ट्र सम्बन्ध, कूटनीति र अन्तर्राष्ट्रिय मामिला र यसको सेरोफेरोमा मेरो लेखनी हुन्छ’ भन्ने अभिव्यक्ति पनि हाम्रा लागि सुपाच्य छैन। परराष्ट्र सेवामा लामो समय रही विभिन्न उच्च तहका कूटनीतिज्ञ उहाँजस्ता विद्वान्बाट पाठक अन्य विषयभन्दा उहाँहरूकै अनुभवका कुरा पढ्ने र सुन्ने मजस्ता पाठकको चाहना हुन्छ। यस्ता कृति प्रकाशित गरेर आफ्नो विगतको सेवा र कार्यलाई सम्मान गर्नु नै इतिहासलाई सम्मान गर्नु पनि हो। अतः उहाँको यस कार्यबाट इतिहास सम्मानित भएको ठान्दछु। हिजोकै कारण आज आएको हो भन्ने हेक्का पनि सबैले राख्नै पर्दछ।
पुस्तकको शुरूका सात अध्याय मूल विषयवस्तुका पृष्ठभूमिका रूपमा रहेका छन्। जसमा अन्तर्राष्ट्रिय जगत्, परराष्ट्र मन्त्रालय र परराष्ट्र सचिवको भूमिकाको हैसियतमा निर्वाह गर्नुपर्ने उत्तरदायित्व, मूल प्रशासन संयन्त्रसँगको तालमेल, नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा नेपाल आएका विदेशी आवासीय दूतहरूको क्रियाकलाप, भारतीय शासकहरूको नेपाल हेर्ने दृष्टिकोण, श्री ३ महाराजहरू चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरहरूको विदेश नीति, विशेषतः भारतसँग लिएको तुष्टीकरणको नीति, श्री ५ त्रिभुवन तथा महेन्द्रको छिमेकी मुलुकप्रतिको दृष्टिकोण जस्ता विषयको सिंहावलोकन भएको छ।
सरदार नरेन्द्रमणि आचार्य दीक्षितलाई लेखकले निम्नानुसार पाठकलाई परिचय गराउनुभएको छ। वीरशमशेरको राज्यकालदेखि राणा शासकसँग घनिष्ठ भएका शिरोमणि आचार्य दीक्षितकै वंशज नरेन्द्रमणिको जन्म २४ जुलाई १९०३ मा भएको थियो। घरमा प्रारम्भिक शिक्षा हासिल गरेका, दरबार स्कुल र कलकत्ता विश्वविद्यालयमा अध्ययन गरेका नरेन्द्रले १९२२ मा बीएस्सी (अनर्स) र १९२४ मा अंग्रेजी साहित्यमा एमएसम्मको अध्ययन पूरा गरेका थिए। चन्द्रशमशेरका विश्वासी भएका आचार्य दीक्षितहरूलाई हिन्दुस्तानमा गई पढ्नका लागि कुनै आर्थिक कठिनाइ थिएन।
राममणि आचार्य दीक्षितको भएको कुरा र काशीनाथ आचार्य दीक्षितको पुराना सम्झना पढ्दा राणा शासकबाट उनले के कस्तो र कति उपहार, दान, बिर्ता, मानसम्मान पाएका थिए भन्ने प्रस्ट हुन्छ। यसैकारण नरेन्द्रमणि पनि चन्द्रशमशेरका प्रिय पात्र भएको सहजै आकलन गर्न सकिन्छ। एमए परीक्षा उत्तीर्ण गर्नेबित्तिकै त्रिचन्द्र कलेजमा प्रोफेसर (त्यतिबेला त्रिचन्द्र कलेज पढाउने सबै अध्यापकलाई प्रोफेसर भनिन्थ्यो। यस्तो प्रचलन २०३० सालअगाडिसम्म कायम थियो।) मा नियुक्त भई भाइस प्रिन्सिपल बनेका थिए। कालान्तरमा उनी त्रिचन्द्र कलेजकै दोस्रो तथा नेपाली नागरिकबाट पहिलो प्रिन्सिपल हुन पुगेको रोचक वर्णन पुस्तकमा छ।
दरबार स्कुलमा पढ्दा नरेन्द्रमणिका सहपाठी पुष्करशमशेर, बालकृष्णशमशेर, रुद्रराज पाण्डे, महेन्द्रविक्रम शाह, गेहेन्द्रशमशेर थापा, परशुरामभक्त माथेमा जस्ता नेपालकै इतिहासमा नाम चलेका व्यक्तित्वहरू भएको उल्लेख कृतिमा छ। यसैगरी त्रिचन्द्र कलेजमा सहकर्मीहरू बालकृष्णशमशेर, केशरबहादुर केसी, बोधविक्रम अधिकारी, हरिनाथ खनाल, तीर्थप्रसाद ढुंगाना, भैरवबहादुर प्रधान, रुद्रराज पाण्डे आदि भएको तथ्य पनि उजागर भएको छ। बालकृष्णशमशेरको विषय अर्कै भए तापनि नेपाली साहित्य अध्यापन गर्ने गरेका थिए। त्रिभुवन कलेज स्थापना भएदेखिका प्राचार्य र क्याम्पस प्रमुखहरूको तस्वीरसहितको सूची अनुसूचीमा संलग्न गरी महत्त्वपूर्ण जानकारी पाठकलाई गराइएका छ।
चन्द्रशमशेरको पालामा विशिष्ट सम्मान पाएका र शासनमा बोलवाला भएका दीक्षित परिवार भीमशेरको कोपभाजनमा परे। भीमशमशेरको शासन अवधिभर दीक्षित परिवार घरका न घाटका भएका थिए। यो जटिल परिस्थितिमा पनि नरेन्द्रमणिको चाहिँ हैसियतमा कुनै फरक परेन। नरेन्द्रमणिको योग्यता र उनले सम्पादन गरेका कार्यबाट भीमशेर सन्तुष्ट भएर वा नरेन्द्रमणिलाई हटाउँदा उत्पन्न हुने सम्भावित संकटको आकलन गरेर हो वा सुवर्णशमशेर (भीमशमशेरका नाति)का गुरु भएको कारणले हो यकिनसाथ भन्न सकिँदैन।
चन्द्रशमशेरको कोठे राजनीतिमा नरेन्द्र समावेश नभएको कारणबाट पनि भीमशमशेरको वक्रदृष्टि उनीमाथि नपरेको हुन सक्छ। भीमशमशेरपछि जुद्धशमशेर श्री ३ भएपछि दीक्षित परिवारले गुमेको मानप्रतिष्ठा र सम्मान प्राप्त भई पुनः नेपालको मूल शासनयात्राका प्रमुख पात्र हुन गए। यस परिस्थितिमा नरेन्द्रमणि राणाशासकका एक्का हुन पुगे।
सन् १९२४ मा पहिलोपटक नेपाली राजदूतावास संयुक्त अधिराज्यमा स्थापना भयो। बहादुरशमशेर पहिलो राजदूतमा नियुक्त भए। योग्यता र क्षमता पनि भएका तथा आफ्ना विश्वासपात्र पनि भएका कारण नरेन्द्रमणि द्वितीय सचिवका रूपमा नियुक्त भई १९४२ देखि १९४६ सम्म दूतावासमा कार्यरत रहे। त्यहाँबाट नेपाल फर्किएपछि चाहिँ त्रिचन्द्र कलेजमा अध्यापन कार्यमा सरिक भएनन्, प्रचार विभागको प्रमुखमा रहे। पद्मशमशेरले जारी गरेको नेपालको वैधानिक कानून २००४ तर्जुमाको गृहकार्यदेखि घोषणा गरुन्जेलसम्म नरेन्द्रमणिले प्रशस्त मिहिनेत गरेका थिए। भारतबाट आएका श्रीप्रकाशको सल्लाहकार मण्डललाई पनि उनले यथेष्ट सहयोग गरेको प्रसंग पुस्तकमा चर्चा गरिएको छ। उनको कार्य र प्रस्तुति दुवैबाट प्रभावित भई पद्मशमशेरले उनलाई सरदार उपाधि प्रदान गरेको अनुमान हुन्छ।
पद्मशमशेर विविध कारणबाट हिन्दुस्तानतर्फ पलायन भएपछि श्री ३ बनेका मोहनशमशेरका पनि विश्वासपात्र एवं भरपर्दा भारदार भए सरदार नरेन्द्रमणि। राणाकालमा परराष्ट्र मन्त्रालयको कार्य मुन्सीखानामार्फत सञ्चालन हुन्थ्यो। यसको तैनाथवाला रोलवाला राणा नै हुने परिपाटी थियो। यो परम्परा भंग गर्दै गैरराणा नरेन्द्रमणि पहिलोपटक मुन्सीखानाको तैनाथवाला बनाइए। यसबाट उनको योग्यता दक्षता र उनी मोहनशमशेरका विश्वासपात्र भएको प्रस्ट हुन्छ।
सन् १९४७ को गोर्खा भर्ती सम्बन्धमा भएको त्रिपक्षीय सन्धि, सन् १९४८ मा गणतन्त्र भारतलाई हैदराबाद विद्रोहमा नेपाली सैन्य पठाउँदा, सन् १९५० मा भएको गणतन्त्र भारतसँगको सन्धि त्रिभुवन हिन्दुस्तान पुगेपछि उत्पन्न असहज परिस्थिति र दिल्ली सम्झौतामा उनको भूमिकाको सविस्तार वर्णन पुस्तकमा पाइन्छ। सन् १९५१ को राजनैतिक परिवर्तनपछि गठन भएको सरकारहरूमा पनि कोइराला बन्धुहरूसँग उनको सम्बन्धका कारण उनको भूमिकामा खासै फरक परेन। परराष्ट्रसचिवकै रूपमा पदासीन रहिरहे।
सन् १९६१ मा परराष्ट्रसचिवबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्न थालेका नरेन्द्र नै नेपालको इतिहासमा परराष्ट्रसचिवबाट राजीनामा दिने पहिलो व्यक्ति भए। राजीनामा दिनुको कारण प्रस्ट नखुलाइए तापनि राणाहरूसँग भएको सम्बन्ध र राणाकालमा भएको उनको गतिविधिका कारण आफूलाई शासकले विश्वासयोग्य नठानेका कारण राजीनामा दिएको आकलन गरिएको छ।
नरेन्द्रमणिको १२ वर्षको उमेरमा ८ वर्षकी अर्यालपुत्री जयन्तीदेवीसँग विवाह भएको थियो। यसबाट त्यस समयमा बालविवाहले प्रोत्साहन पाएको देखिन्छ। नरेन्द्रमणिले त्रिचन्द्र कलेजमा पढाएका व्यक्तिहरू यदुनाथ खनाल, टंकप्रसाद आचार्य, चुनाप्रसाद शर्मा, सुवर्णशमशेर, विजयशमशेर, शारदाशमशेर, भीमबहादुर पाण्डे, डिल्लीरमण रेग्मी जस्ता हस्ती कालान्तरमा मुलुककै उच्च ओहोदामा पुगेको जानकारी पुस्तकमा पाइन्छ। यसैगरी नरेन्द्रमणिका सन्तानहरू पनि नेपालका गन्यमान्य नै भएको चर्चा गरिएको छ। लोकसेवा आयोग र योजना आयोगमा पनि उनको संलग्नता रहेको थियो।
सेवानिवृत्त भएपछि पनि सामाजिक एवं लेखन कार्यमा निरन्तर संलग्न नै भएका अनेकौँ उदाहरण छन्। उनले रत्नराज्यलक्ष्मी कलेज (जुन नेपालकै दोस्रो महिला कलेज)का सञ्चालक समिति अध्यक्ष, विजय मेमोरियल हाइस्कुलका सञ्चालक समितिका अध्यक्ष रही सेवा गरेका थिए। उनले स्कुल ज्यामिति, युरोपेली साहित्यको नमूना, संक्षिप्त अंग्रेजी नेपाली शब्दकोश जस्ता कृति प्रकाशन गरेका थिए।
२०१७ सालमा नेपाली त्रैमासिकमा छापिएको नेपाली इतिहासको एक टुक्रा शीर्षक उनको लेख निकै चर्चित रह्यो। उनले पीएचडी गर्न चाहेको तर जुद्धशमशेरले अनुमति नदिएको भन्ने कुरा पनि चलेको थियो। नरेन्द्रमणि घमण्डी, अरूलाई मान्छे नगन्ने र आफ्नो इच्छाअनुसार नै सबै चल्नुपर्छ भन्ने मान्यता राख्थे। द राइजिङ नेपाल पत्रिकामा ‘द’ शुरूमा राखेकाले कहिल्यै नपढेको कुरा पनि उनलाई देखिजान्नेहरूले बताएका छन्। उनले आफ्नै विद्यार्थी भवदेव पन्तबाट कुटाइ खाएको घटनाबाट पनि उनी सबैका प्रियचाहिँ थिएनन् कि भन्ने भान हुन्छ।
नेपालको धेरै कुरामा पहिलो भएका श्रद्धेय नरेन्द्रमणिको व्यक्तित्व र कार्यलाई विस्तृत रूपमा पुस्तकमा उल्लेख गरिएको छ। उनले नेपालको उच्च शिक्षाको विकास र विस्तारमा पुर्याएको योगदान बिर्सन सकिँदैन। त्रिचन्द्र कलेजलाई कलकत्ता विश्वविद्यालयबाट पटना विश्वविद्यालयसँग सम्बन्धन लिएको नेपालमै परीक्षा केन्द्र स्थापना गर्न पहल गरेको, त्रिचन्द्र कलेजमा नेपालीलाई संलग्न गराउन प्रोत्साहन गरेको जस्ता कार्य उनका उल्लेखनीय कार्यका उदाहरण हुन्। संक्षिप्तमा भन्ने हो भने सरदार नरेन्द्रमणि आचार्यलाई भावी पुस्तामा परिचय गराउन यो कृति सफल भएको छ।
प्रसंग नरेन्द्रमणि भए पनि यस कृतिले नेपालको इतिहासका विविध पक्षलाई उजागर गरेको पाइन्छ। समग्रमा नरेन्द्रमणिको समकालीन नेपालको शब्दचित्र प्रस्तुत भएको छ। कतिपय नवीन मौखिक स्रोतको अधिकतम प्रयोग गरिएको छ। जसबाट महत्त्वपूर्ण नवीन जानकारी उपलब्ध छन्। धेरै व्यक्तिसँगको अन्तर्वार्ता अन्तरक्रिया र छलफलबाट ती वरिष्ठ व्यक्तिहरूको विचार र भावना लुप्त हुन नदिने सार्थक प्रयास भएको छ। मौखिक स्रोत पनि इतिहासका भरपर्दा स्रोत हुन सक्छन् भन्ने भनाइलाई कृतिले मलजल थपेको छ।
पुस्तकको शीर्षकबाटै तीन महत्त्वपूर्ण विषय नेपालको परराष्ट्र सम्बन्ध, संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षितसँग सम्बन्धित भएको प्रस्ट छ। संक्रमणकाल किन राखियो भन्ने प्रश्नको उत्तरचाहिँ पाठकले पाउन सकेका छैनन्। सन् १९५१ को परिवर्तनपश्चात्को समयलाई संक्रमणकाल भनिएको हो भने त्यति बेला नरेन्द्रको भूमिका पूर्ववर्तीभन्दा फरक परेको देखिँदैन। बरु हैसियत कमै भएको पाइन्छ। नेपालको परराष्ट्र सम्बन्धमा संक्रमणकाल भन्ने हो भने सन् १७८८ देखि हालसम्म नै देखिन्छ, स्थायित्व देखिँदैन।
नेपालको भारतसँगको सम्बन्धको विषय पुस्तककै मूल चुरो भने पनि हुन्छ। सन् १८०१ को नेपाल र इस्ट इन्डिया कम्पनीको सन्धिबाट अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल भारत अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको घटनाहरूको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूको नेपालमा भएको गतिविधिको सफल शल्यक्रिया भएको छ।
गणतन्त्र भारतले नेपालप्रति लिएको दृष्टिकोण पूर्ववर्ती अंग्रेज शासकभन्दा पनि अनुदार भएको प्रसंगको राम्रो चित्रण भएको छ। सन् १९५० को सन्धि र कथित दिल्ली सम्झौता विषयक वर्णन अधुरो र अपुरो देखिन्छ। सन् १९५० को सन्धि राणाहरूको स्वार्थको कारणबाट भएको थियो। भारतको चाहनामाथि कूटनीतिज्ञ लेखकबाट वस्तुनिष्ठ मूल्यांकन भएन कि भन्ने पाठकले ठान्न सक्दछन्।
त्रिभुवन हिन्दुस्तानको शरणमा किन पुगे? जनतालाई अधिकार दिलाउन वा आफै राजनीतिमा सक्रिय हुन हो? कि यसमा भारतको चाहना थियो? यस विषयमा लेखक स्पष्ट हुन चाहेको देखिँदैन। सन् १९५० को सन्धिलाई मोहनशमशेरको स्वार्थको उपज भन्ने जुन मानसिकता छ त्यसमा समुचित विवेचना हुन वाञ्छनीय छ।
त्रिभुवनले भारतसामु नेपाललाई एक प्रान्त बनाउन नेहरूलाई मन्त्रणा गरेको, दिल्लीको कथित वार्तामा भाले बनाएको, इशारामा चल्ने गरेको जस्ता टिप्पणीको सन्दर्भमा लेखकको विचार आएको भए पुस्तक सुनमा सुगन्ध हुने थियो। २००७ सालपछि नेपालको राजनीतिमा प्रत्यक्ष वा परोक्ष भारतको प्रभाव विस्तार गराउन को–को उत्तरदायी छन्? हालसम्म पनि नेपालको स्वार्थ वा भारतको आन्तरिक स्वार्थका कारण भारतको प्रभाव बढेको हो? यसको वस्तुनिष्ठ मूल्यांकन गर्ने बेला आएको छ।
राजा महेन्द्रले बढ्दो भारतीय प्रभाव रोक्ने प्रयासलाई तथा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आफ्नै पहिचानसहित चिनाउने उल्लेखनीय कार्य गरे। राजा महेन्द्रको कार्यको सही विश्लेषण गर्ने समय पनि आएको छ। हिजो उनको स्तुतिगान गर्न धेरै रमाए र आज कटु विरोध गर्ने पनि धेरै उत्रिएका छन्। यी दुवैमा अतिशयोक्ति र अतिरञ्जनाको भावना छ। यस प्रसंगमा लेखकको निम्न भनाइ सान्दर्भिक देखिन्छ:
जेसुकै भए पनि आधुनिक नेपालको परराष्ट्र नीतिको विस्तार विविधीकरण र परिमार्जनको श्रेय कुनै एक व्यक्तिलाई दिने हो भने यसको ठूलो हिस्सा श्री ५ महेन्द्रको पक्षमा जान्छ.....। समय घटना परिस्थिति व्यक्ति र स्थितिको मूल्यांकन गर्न उनी माहिर थिए। आफ्नो लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा के गर्नुपर्छ भन्नेमा पनि उनी सुपरिचित र सिद्धहस्त थिए।
राजा महेन्द्रले नयाँ संविधान दिने गृहकार्य गर्दै रहेका बेला चितवनमा उनको देहावसान हुन पुग्यो। मुलुकले अपेक्षित कानून पाउन नसकेको तथ्यप्रति लेखकले महत्त्व दिएका छन्। २००७ सालपछि नेपाल र भारत सम्बन्धलाई किन कुन उद्देश्य र प्रयोजनले विशेष सम्बन्ध भनिएको हो सो विषयमा लेखकको भनाइ अपेक्षित रूपमा स्पष्ट छैन। नेपाल–भारत सम्बन्धमा चर्चा बढी तर भोट चीनसँगको सम्बन्धमा चर्चा कम गरिएको छ। नेपालको फ्रान्स र अमेरिकासँगको सम्बन्धका विषयमा पनि केही बाछिटा परेको छ।
संयुक्त राष्ट्रसंघ स्थापना भएपछि सो संघको सदस्यता प्राप्त गर्न नेपालले प्रथम पटक भगीरथ प्रयत्न गर्दा पनि प्राप्त हुन नसकेकोमा आफ्नो कमजोरी भएको परराष्ट्र सचिव नरेन्द्रमणि दीक्षितले स्वीकारेको दृष्टान्तबाट उनका उत्तराधिकारीहरूले के कस्तो पाठ सिके वा सिक्न सके सो पनि बहसको विषय बनाउनुपर्ने बेला आएको भान हुन्छ।
दीक्षित परिवार वीरशमशेरको पालादेखि नै राणाखलकका भित्रिया कसरी बन्न पुगे चन्द्रशमशेरले किन दीक्षित खलकलाई लगेर मान प्रतिष्ठा दिए। भीमशमशेरको कोपभाजनमा किन दीक्षित परिवारहरू परे यी अहम् प्रश्नको उत्तर पुस्तकमा पाउने चाहना भने पाठकको अधुरो नै रहेको छ।
राणाशासन, केन्द्रीकृत संरचना, रोलवाला र बोलवाला राणाहरूको आपसी झगडा, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरको राज्यकाल, त्यसबेला राणा र गैरराणाबीचको भेद, त्यस समयमा गोरखापत्रको महत्त्व जस्ता कुरा बुझ्न प्रस्तुत कृति सहयोगी साबित भएको छ। पुस्तक पढ्दै जाँदा पाठकमा हिन्दी सिरियल चन्द्रकान्ताको जस्तै कतिपय स्थानमा ‘साइड इस्यु’को विवेचना गर्दा बाटो बिराएको हो कि भन्ने भान पनि हुन्छ।
अमेरिकी राष्ट्रपतिहरूको जन्ममृत्युको अवधि उल्लेख हुनुभन्दा बढी उनीहरूको कार्यकाल उल्लेख गर्दा राम्रो हुने थियो कि जस्तो लाग्छ। एउटै प्रसंग बारम्बार दोहोरिँदा पाठक अलमलमा पर्न जाने र पुस्तकको प्रवाह एउटै गतिमा बढेको देखिँदैन। कृतिउपर सबै पाठकका आआफ्ना धारणा हुन्छन् सबैको एकै किसिमको हुँदैन र लेखकको बुझाइ र पाठकको बुझाइ फरक पर्दछ, पर्नु पनि पर्दछ। जे होस् यो कृतिका सबल पक्ष उल्लेख गर्दा लेख थोरै लामो हुने हुन्छ। अतः पाठकले आफै कसी चलाउने नै छन्।
लेखकले भूमिकामा २०८१ मा महाप्रस्थान भएका मूर्धन्य व्यक्तित्वहरूको लामो सूची प्रस्तुत गर्नुभएको छ। त्यसको जानकारी त पाठकले पाए नै तर ती व्यक्तित्वको सरदार दीक्षित र पुस्तकसँग के कस्तो सम्बन्ध वा सरोकार छ तथा नेपालको परराष्ट्र सम्बन्धमा ती के कस्ता सारथि थिए भन्ने ज्ञात हुँदैन।
भौगोलिक राजनैतिक र सामाजिक कारणबाट नेपालको विदेश नीतिमा परेको प्रत्यक्ष प्रभावको कारणबाट उत्पन्न असहज परिस्थिति र नेपालले कतिपय मुद्दामा आत्मा सम्मान विपरीत सम्झौता गर्नुपरेको दृष्टान्त दिइएको छ, घुमाउरो पाराले। कतिपय संगिन र संवेदनशील मुद्दामा लेखकले अरूको दृष्टिकोण त प्रस्तुत गर्नुभएको छ तर लेखक स्वयंको भनाइ के हो प्रस्ट आएको देखिँदैन।
राणाकालीन प्रशासन अर्थात् हिजोको समय मूल्यांकन गर्दा हालको चस्माबाट मूल्यांकन गर्न उचित हुँदैन हिजोको समय र परिस्थितिको परिवेशमा विवेचना गर्नुपर्छ। इतिहासको दर्शन पनि यही हो। हो, पदअनुसारको अधिकार उपयोग गर्न सम्बन्धित अधिकारीहरूले हिजो पनि अवसर पाएका थिएनन् र आज पनि छैन। आजकै परिस्थिति हेर्दा मन्त्रीले सचिवको र सचिवले मन्त्रीको जस्तो कार्य गरेका उदाहरण प्रचुर मात्रामा पाइन्छन्। आजको विकसित राजनीति परिपाटी हेर्दा हिजोका दिन पो राम्रा थिए कि भन्ने भान पर्न गइरहेको छ, आम नेपालीमा।
पुस्तकमा पादटिप्पणी राखिएको छ तर सन्दर्भसूची उल्लेख नहुँदा केही अप्ठेरो पर्न गएको छ। साथै अनुसन्धान ढाँचासमेत एकरूपता देखिँदैन। ‘पूर्ववत्’को स्थानमा ‘उही’ उल्लेख भएको भए कस्तो हुन्थ्यो होला भन्ने जिज्ञासा लाग्छ। यद्यपि, यस कृतिले नेपालको कूटनैतिक इतिहास लेखन विधामा एक महत्त्वपूर्ण आयाम थप गरेको छ। यो व्यक्तिको होइन नेपालकै इतिहासको विवेचना हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
