सहनशील छन् नेपाली, तर सधैँ सहँदैनन्

सरकारी संयन्त्रको उदासीनता र लापरबाहीका बाबजुद नेपालीहरू सहेरै बसेका छन्। व्यक्तिगत-पारिवारिक तवरबाट अनेकौँ दुःख कठिनाइ सहेर पनि समाज र देशप्रतिको कर्तव्य र निष्ठालाई मर्न दिएका छैनन्।

सहनशीलता महत्त्वपूर्ण मानवीय गुण हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि आत्म नियन्त्रण र धैर्यसाथ व्यवहार गर्न उत्प्रेरित गर्छ। यो गुण मानव जीवनका विभिन्न क्षेत्रमा अत्यन्त उपयोगी र प्रभावकारी र अपरिहार्यसमेत छ। सहनशीलताको अभावमा मान्छे आक्रोश, संघर्ष र तनावमा आउँछ, जसले व्यक्तिगत र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ।

सहनशीलता केवल कठिन परिस्थितिमा सहन गर्न सक्ने क्षमता मात्र होइन, यो त कुनै पनि प्रकारका असहमति, विफलता र समस्याबीच पनि धैर्य र शान्ति कायम राख्ने क्षमता हो। जबकि, आम रूपमा मान्छे आफ्नो अपेक्षा र पक्षधरताका अनुसार नै निर्णय होस् भन्ने चाहन्छ, र त्यस्तो सधैँ हुन सम्भव छैन।  

सहनशीलताले मानिसलाई समय र परिस्थितिअनुसार प्रतिक्रियाको सही बाटो चयन गर्न मद्दत गर्छ भने विभिन्न कठिनाइबाबजुद पनि सकारात्मक सोच र व्यवहार अघि बढाउन सहायता प्रदान गर्छ। जीवनका कठिन क्षणमा सहनशीलताले हामीलाई निराशा र तनावबाट मुक्त गर्न सक्छ। मानसिक स्वास्थ्यको लागि पनि यो गुण अत्यन्त आवश्यक छ। विचार र व्यवहारमा सहनशीलता राखेर हामी व्यक्तिगत रूपमा सन्तुलन कायम राख्न सक्छौं र समाजमा समानता र शान्तिको प्रयास गर्न सक्छौँ ।

नेपाली समाजमा सहनशीलता मौलिक गुणको रूपमा स्थापित छ। पछिल्लो पटक अक्सफोर्ड विश्वविद्यालयको वेलबीइङ रिसर्च सेन्टरद्वारा प्रकाशित वर्ल्ड ह्याप्पिनेस रिपोर्टले नेपाललाई दक्षिण एसियाकै खुशी राष्ट्रमा सूचिकृत गर्नुले पनि त्यसतर्फ संकेत गर्छ, खुशी रिपोर्टमा भारत ११८औँ स्थानमा हुँदा नेपाल ९२औँ स्थानमा छ। यसो किन पनि भने, समाज र सामाजिक सञ्जालमा देखिने बेचैनीबीच पनि हामी खुशी नै रहेछौँ। 'नेसलन ग्रस हयाप्पिनेस इन्डेक्स' भन्दै आफ्नो देशको खुशीको विश्व स्तरमा ब्रान्डिङ गर्ने सानो छिमेकी भुटान भने यो सूचीमा छैन। 

यहाँ खुशीको किन पनि चर्चा गरिएको हो भने सामाजिक सञ्जाल र चिया पसलतिर देश वरवाद भयो भन्ने भाष्य व्यापक छ। तर त्यसका साँच्चै सूचकचाहिँ ठ्याक्कै फरक छन्। नेपाली समाजको उद्विकास हेर्दा हामी ठिकै ठाउँमा छौं।   

आजकलको युवा पुस्ता र समाज चाँडै परिणाम र परिवर्तनको अपेक्षा राख्छन्, जसले गर्दा सहनशीलता केही हदसम्म घटेझैं देखिन्छ। तर अर्कोतर्फ सरकार र सरकार सञ्चालन गरिरहेका विभिन्न राजनीतिक दलका गतिविधि, राष्ट्रिय सम्पत्तिको दोहन र भ्रष्टाचारबीच पनि नेपाली 'सहज र खुशी' देख्दा कतै नेपालीहरू संसारमै सबैभन्दा सहनशील मानिसहरू मध्येका मानिस हुन् भन्दा समेत फरक नपर्ने स्थिति छ।

नेपाली समाज यहाँका सबै समुदाय, सम्प्रदाय, भाषा, क्षेत्र, लिंगबारे उत्तिकै सहनशील छ भनेर बहस उठाउन सकिन्छ, तर बौद्ध, हिन्दू र किरात आदि समुदायको यो समाजमा दक्षिण एसियाका अन्य देशमा झैँ असहिष्णुता पनि छैन। केही हदसम्म सहअस्तित्व स्वीकृत छ समाजमा। नेपाली समाजको सहनशीलतामा स्थानीय परम्परा, यहाँका विविधतायुक्त भूगोलको कठिनाइका कारण सिर्जित संयमता पनि हुनसक्छ। सहकार्यले जीवन सहज बनाएका कारण पनि नेपालीले सहनशीलतालाई जीवनशैली बनाएका हुन सक्छन्। 

त्यसो भन्दै गर्दा, पछिल्लो दशकमा परिवर्तन हुँदै गएको नेपालीको जीवनशैली, स्वदेशमा परिश्रम गर्न छाडी ठूलाठूला सपना देख्दै कठिनभन्दा कठिन र अवैध बाटोबाट विकसित भनिने देशतिर गइरहेका नेपालीका कथा-किस्सा हेर्ने हो भने नेपालीमा धैर्यताचाहिँ कम हुँदै गएझैं लाग्छ। हुनलाई धैर्यता र अधैर्यता सापेक्षतामा हेरिने विषय हो। 

नेपालको ऐतिहासिक पृष्ठभूमि केलाउने हो भने पनि नेपाली समाजले प्रायः कष्टपूर्ण परिस्थितिको सामना धैर्यता र सहनशीलतासाथ गरेका छन्। उसो त गम्भीर अध्ययन गर्दा हरेक मानव समाजले त्यस्ता कष्ट भोगेकै छन्। मानव समाज अनेकन् महामारी, भोकमरी, प्रलय र युद्धबाटै गुज्रेर यहाँसम्म आइपुगेको हो। अनेकन् प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता, युद्ध र संघर्षका बेला नेपालीहरूले अत्यधिक धैर्य र सहनशीलता देखाएकै हुन्। भूकम्प र कोरोना महामारी निकट विगतका घटना हुन्। दशक लामो जनयुद्ध नेपालीले भोगेको अर्को कष्ट हो।  

नेपाली समाजले फड्को मार्दै गर्दा उत्तिकै विभेद, भ्रष्टाचार र झमेलाहरू छन्। नेपालमा सरकारी सेवा, विकास परियोजना, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य र शिक्षा सेवालगायत सबैजसो क्षेत्रमा ढिलासुस्ती र लापरबाही देखा पर्छ। खासगरी भौतिक संरचनाको निर्माणमा भइरहेका ढिलासुस्ती, सडक सुरक्षा, सार्वजनिक सेवाको असहजता, कतिपय सरकारी कार्यालय र कर्मचारीले दिने अनावश्यक हैरानी, पहुँच र पैसा (घुस) बिना काम अघि नबढ्ने र बढी हाले पनि अत्यन्तै ढिलासुस्ती हुने तितो यथार्थको बेलिबिस्तार गरिसाध्य छैन। शिक्षा स्वास्थ्यलगायत सेवामा रहेका कमजोरीहरूले नागरिकलाई अत्यधिक सकस हुने गरेको छ।

यसका बाबजुद पनि बालकृष्ण समको 'सहु सहु बाबु सहनै नसके पनि' श्लोक मनन गर्दै नेपाली जनताले लामो समययता सहनशीलता कायम राखेका छन्। असहजताबीच पनि जीवनलाई सम्मानजनक र स्थिर राख्ने कोसिस गर्दै आएका छन्। आफ्नै देशवासीबाटै अनेकौँ उत्पीडन, आरोप र लाञ्छनाबीच सीमानाका नेपालीहरू भूभाग बचाउन हरदिन प्रयासरत छन् भने सीमा छाडेर उडेकाहरूले देशलाई रेमिटेन्स पठाइदिएर मौद्रिक सीमालाई मजबुत बनाइराखेकै छन्। 

पछिल्ला वर्षहरूमा सार्वजनिक हुँदै गएका भ्रष्टाचारका काण्डहरू अरबौँ रकमका छन् भने एक पछि अर्को गर्दै झन् भन्दा झन् ठुला काण्डहरू सार्वजनिक हुँदै गएका छन्।देशको सार्वजनिक ऋण ज्यामितीय रूपले वृद्धि हुँदै त्यसको भार जनतामाथि थपिँदै गइरहेको छ भने भौतिक विकासको गति कछुवा स्तरबाट माथि उठ्न सकेको छैन। मुस्लिन नारायणगढ राजमार्ग बिस्तारको नियति हाल बिस्तार भइरहेको नारायणगढ-बुटवल राजमार्ग, अरनिको राजमार्ग लगायत देशका अधिकांश बिस्ताराधीन सडक तथा अन्य भौतिक संरचनाले भोगिरहेका छन्। यस्तो ढिलासुस्तीले हरेक दिन हजारौँ जनताले प्राणको बाजी लगाउँदै यात्रा गर्नु परिरहेको छ। बर्खा मासमा हुने कैयौँ दुर्घटनाहरू सरकारी संयन्त्रको कमजोरी र निर्माणकर्ताको ढिलासुस्तीकै कारणले भएका हुन् भनेर दावाका साथ भन्न सकिन्छ। 

सार्वजनिक स्वास्थ्य सेवाको बेथितिको वर्णन गरिसाध्य छैनन्। केही अपवाद बाहेक अधिकांश सरकारी अस्पतालका सेवा र अन्य सार्वजनिक सेवामा मान्छेको हुलिया हेरेर गरिने व्यवहार, खाद्य तथा तरकारीको अनुगमनमा गरिने कर्मकाण्डी अनुगमन, उपभोक्ताको स्वास्थ्यमा हुने गम्भीर खेलबाड, सार्वजनिक यातायातमा सर्वसाधारण र महिलाले झेल्ने दुर्व्यवहारदेखि अस्पताल, पेट्रोल-डिजेल पम्पका लामो लाइनमा बाहुबलीहरूले गर्ने व्यवहारका भुक्तभोगी छन् सर्वसाधारण। तर हामीहरू जानी-नजानी त्यसप्रति लाचारी प्रकट गरिरहेका हुन्छौँ।

सकारात्मक नतिजाको निमित्त सामान्य असहमति र असहजतामा सहनशीलता प्रकट गर्नु राम्रो हो, तर हरेक किसिमको बलमिच्याईलाई सहन गर्नुचाहिँ उचित हुँदै होइन। हदभन्दा बढी सहनशील हुनुचाहिँ लाचार हुनु नै हो। 

नेपाल मात्र नभई भौतिक-प्राविधिक विकासमा पछाडि रहेका संसारका अधिकांश देश अथवा तथाकथित तेस्रो विश्वका जनताको नियति यस्तै नै हो। विगत केही वर्ष यता नेपालले झेलिरहेको आर्थिक मन्दीमा समेत नेपाली समाजले देखाइरहेको सहनशीलता, छिटपुट घटनाबाहेक साँच्चै प्रशंसनीय छ। (चैत्र १५ गतेको लुटपाटलाई आर्थिक मन्दीको कारक भनेर ठहर गर्न सकिँदैन।)

आफूलाई विश्वको पहिलो दर्जाको मुलुक भनेर चिनाउने संसारका कतिपय विकसित भनिएका देशमा आर्थिक मन्दीले सामाजिक अराजकता र विचलन निम्त्याएको उदाहरणहरू ज्वलन्त छन्। विविध कारणले नेपाली अर्थतन्त्रमा देखिएको समस्याको प्रत्यक्ष चपेटामा मध्यम वर्गीय र निम्न मध्यम वर्गीय नेपाली गुज्रिरहेका छन्। त्यसको बाबजुद पनि आफूलाई समायोजन गर्दै, विचलित नभई अघि बढ्ने प्रयत्नमा देखिन्छन् नेपाली। जसले फेरी एक पटक नेपालीहरू साँच्चिकै सहनशील छन् भन्ने तथ्यलाई पुष्टि गर्छ।

त्यसो त सानै विषयमा पनि 'आन्दोलनको आँधीबेहरी' ल्याउने र गम्भीर विषयलाई पनि नजरअन्दाज गर्ने अपवाद नेपाली समाजमा प्रशस्त भेटिन्छन्। देशमा भएका सबै समस्याको जड अहिलेको व्यवस्था हो र पुरानै व्यवस्थामा फर्किने हो भने छुमन्तर सरह यी सबै समस्या समाधान हुन्छ भनेर वकालत गर्ने वर्ग पनि सक्रिय छ एक हिसाबले नेपालमा।

सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणमा चार विद्यार्थीसहित १० नेपालीले ज्यान गुमाए। सो आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था हालैको युद्ध बिरामपछिको अवस्थासम्म अज्ञात छ। यसबीच नेपाल सरकारको तर्फबाट भएका प्रयासहरू पर्याप्त भए-भएनन् भन्ने सन्दर्भमा आ-आफ्नै धारणा बन्न सक्छन्। हाम्रा धारणाले पर्ने सरकारी प्रयासमाथिको प्रभावको चरणबाट समय गुज्रिसकेको छ।

युद्धबिरामलगत्तै हमासले रिहाइ गरेको बन्दीहरूको सूचीमा विपिन जोशी छैनन्, तथापि युद्धका दुवै पक्षबाट चरणबद्ध रूपमा बन्दी रिहाइ गर्दै जाने क्रममा नेपाली विद्यार्थी विपिन जोशी पनि अवश्य रिहा हुनेछन् भनेर आशाको दियो बाल्न भने सकिन्छ । इजरायल-प्यालेस्टाइन युद्धले गर्दा विपिन जोशी बढी चर्चामा रहे पनि वैदेशिक रोजगारीको सिलसिलामा के कति नेपाली युवाले विपिन जोशीको नियति भोगिरहेका छन् भन्ने तर्फ न त नेपाली समाज आकर्षित छ, न सरकारी निकायसँग यकिन तथ्यांक नै छ।  

सहनशीलता केवल नचाहिएको अवस्थासम्म चुप रहनु मात्र होइन, अपितु समस्याको समाधानको खोजीमा निरन्तर संयमसाथ कर्म/संघर्ष गर्नु हो। संसारमा भएका हरेक कुराको आफ्नै सीमितता हुन्छन्। जब नेपाली जनताको धैर्यता र सहनशीलताले सीमा पार गर्छ, तब जनआन्दोलन र विद्रोहको लहर उठ्न सक्छ भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ। जब नेपाली जनताले लामो समयसम्म सहनशीलता देखाएपछि पनि कुनै प्रतिक्रिया पाएनन्, तब सशक्त आन्दोलनहरूको अगुवाइ गरे र त्यसबाट अवस्था परिवर्तनको अपेक्षासहित व्यवस्थाहरू परिवर्तन भए। यी आन्दोलनहरूले सरकारलाई केही हदसम्म उत्तरदायी बनाएको छ र कतिपय अवस्थामा सामाजिक र राजनीतिक सुधारको प्रक्रिया शुरू पनि भएको छ। 

निष्कर्षमा भन्न सकिन्छ कि सरकार र सरकारी संयन्त्रको उदासीनता र लापरबाहीका बाबजुद नेपाली जनता सहेरै बसेका छन्। व्यक्तिगत-पारिवारिक तवरबाट अनेकौँ दुःख कठिनाइ सहेर पनि समाज र देशप्रतिको कर्तव्य र निष्ठालाई नेपालीहरूले मर्न दिएका छैनन्। तर राज्य सञ्चालनको चाबी लिनेहरूले यो बिर्सनु हुँदैन कि नेपाली समाजमा सहनशीलता र धैर्य मात्र होइन, सही समय र स्थानमा आवाज उठाउने क्षमता पनि छ। २००७ सालको कान्तियताको पंचायतविरूद्धको लामो आन्दोलन, दुई ठूला जनआन्दोलन, जनयुद्ध र मधेश विद्रोह त्यसका दृष्टान्त हुन्। जनताले चुनेका गणतान्त्रिक नेपालका 'हर्ताकर्ता'हरूले यो कुरा मनन गरिराखुन्।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका व्यक्तिगत हुन्।)