कांग्रेस संसदीय दलको निर्वाचन आज

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

काठमाडौँ– संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले आज निर्वाचन प्रक्रियाबाट संसदीय तलको नेता छान्दै छ।

जसका लागि नवनिर्वाचित ८९ जना सांसदहरूले मतदात गर्दैछन्। मतदान बिहान ८ देखि १० बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले बताए।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्। सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव र उपसभापति पूर्णबहादुर खड्काले समर्थन गरेका छन्। यता महामन्त्री थापाको प्रस्तावक डा. शेखर कोइराला बसेका छन्।

समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्। संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ।

यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ।