नेपालमा राजावादीहरू जुर्मुराउँदा भारतीय मिडिया तरंगित

पूर्वराजाको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनपछि भारतीय मिडियाले नेपालमा राजतन्त्र फर्काउने विषयमा रिपोर्ट, बहस र विश्लेषण मात्र दिइरहेका छैनन्, लोकतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न पनि उठाएका छन्।

काठमाडौँ– ‘नेपाल की राजनीति में बडा मोड!’, ‘क्या राजशाही लौटेगी?’, ‘नेपाल में नारे क्यों लगे... हमारा राजा वापस लाओ?’, ‘नेपालः लोकतंत्र बनाम राजशाही’, ‘क्या राजा ज्ञानेंद्र की वापसी तय है?’, ‘नेपालमें फिर लौटेगी राजाका राज?’, ‘क्या नेपाल फिर से हिंदु राष्ट्र बन रहा है?’ 

पछिल्लो साता यी ‘हेडलाइन’ भारतीय अखबारका पाना, टेलिभिजनको पर्दा र युट्युब च्यानलको थम्बनेलमा देखिए। केही अखबारले यो समाचारलाई पहिलो पृष्ठमै ठाउँ दिए। कतिपय टेलिभिजनले त विशेष रिपोर्ट नै प्रसारण गरे। केहीले विशेष अतिथि बोलाएर नेपालमा राजतन्त्र पुनर्बहालीबारे बहस चलाए।

युट्युब कन्टेन्ट क्रिएटरहरूले पनि प्राथमिकताका साथ राजा, राजतन्त्र र हिन्दू राष्ट्रबारे बेलिबिस्तार लगाए। कतिपयले दरबार हत्याकाण्डको बारेमा ‘कन्सपिरेसी थियोरी’ समेत सुनाए।

भारतीय मिडियाले यो विषयलाई महत्त्वका साथ ठाउँ दिनुका कारण फागुन २५ गते काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा गरिएको प्रदर्शन थियो। पारिवारिक भ्रमण सकेर पोखराबाट काठमाडौँ फर्किंदा उनको स्वागतमा त्रिभुवन विमानस्थलको गेटअगाडि ठूलो भिड जम्मा भएर नाराबाजी गरेको थियो। उक्त भिड पूर्वराजा शाहको गाडीको पछि लागेर निर्मल निवाससम्मै पुगेको थियो।

शाहको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता–कार्यकर्ता पनि पुगेका थिए। त्यस्तै, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल र दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका कार्यकर्ता र समर्थक पनि स्वागतमा पुगेका थिए।

यो विषयलाई भारतका सरकार समर्थित र आलोचक दुवै मिडियाले प्राथमिकता दिएका थिए। टेलिभिजन च्यानल आज तकमा कार्यरत पत्रकार सुधीर चौधरीले आफ्नो कार्यक्रम ‘ब्ल्याक एन्ड ह्वाइट’मा नेपाली जनता लोकतन्त्रसँग दिक्क भएर पुनः राजतन्त्रतिर नै जान चाहेको विश्लेषण सुनाएका थिए।

“नेपालीहरू राजशाहीको बहाली गराउन चाहन्छन्। उनीहरू लोकतन्त्रलाई सधैँको लागि समाप्त गरिदिन चाहन्छन्। किनकि, नेपालमा लोकतन्त्रले राजनीतिक स्थिरता दिन सकेन,” उनले भनेका छन्, “पछिलो १६ वर्षमा नेपालमा १३ प्रधानमन्त्री बदलिएका छन्। सोच्नुस् १६ वर्षमा १३ प्रधानमन्त्री।”

‘जी न्युज’, ‘इन्डिया टीभी’, ‘रिपब्लिक भारत’, ‘दूरदर्शन’, ‘न्युज १८ इन्डिया’, ‘टाइम्स नव भारत’ र ‘रिपब्लिक वल्र्ड’ जस्ता भारतीय टीभी च्यानलले पनि ‘विशेष रिपोर्ट’ र ‘एक्सक्लुसिभ रिपोर्ट’ प्रसारण गरे।

इन्डिया टीभीले राजतन्त्रबारे १० मिनेटभन्दा लामा दुईवटा विशेष रिपोर्ट प्रसारण गरेको थियो। तीन जना वक्ता बोलाएर आधा घन्टाभन्दा बढीको ‘टक शो’ चलाएको थियो। तीन दिनअघि पनि ‘क्या नेपाल में फिर से राजशाही आने वाली है?’ भनेर १४ मिनेटको रिपोर्ट बजाएको थियो।

इन्डिया टीभीको रिपोर्टमा भनिएको छ, “हामीले राजतन्त्रलाई हटाएर लोकतन्त्र ल्याउन आन्दोलन भएको देखेका छौँ। तर नेपालमा उल्टो भइरहेको छ। १७ वर्षअगाडि मात्रै २४० वर्षदेखि चलिआएको राजतन्त्रको सफाया गरेर लोकतन्त्रलाई चुनिएको थियो। तर नेपाली जनताको लोकतन्त्रमाथिको भरोसा उठिसक्यो, यसले भारतलाई के संकेत गर्छ?”

स्वतन्त्र भनिएका ‘द रेड माइक’, ‘सत्य हिन्दी’ र ‘बीबीसी हिन्दी’ जस्ता मिडियाले पनि यो खबरलाई प्राथमिकताका साथ ठाउँ दिए। ‘द इन्डियन एक्सप्रेस’, ‘फस्र्ट पोष्ट’, ‘टाइम्स अफ इन्डिया’, ‘द हिन्दू’ जस्ता अखबार पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ फर्किएदेखि नै नियमित रूपमा लेखिरहेका छन्। 

अधिकांश मिडियाको मुद्दा ‘हिन्दू राष्ट्र’
भारतीय मिडियाले पृष्ठभूमिमा राजतन्त्रका कुरा गरे पनि उनीहरूले नेपाल हिन्दू राष्ट्र बनाउने विषय महत्त्वका साथ उठाइरहेका छन्। ‘जी न्युज’ले आफ्नो रिपोर्टमा नेपाल धर्म निरपेक्ष बनेदेखि नै मुलुकको अधोगति शुरू भएको जिकिर गरेको छ। उक्त रिपोर्टमा नेपाल हिन्दू राष्ट्रको पहिचान छाडेर चिनियाँ सरकारको नीतिअन्तर्गत चलिरहेको समेत दाबी गरिएको छ।

“नेपालका जनता फेरि एकपटक ज्ञानेन्द्र शाहलाई राजा बनाउन चाहन्छन्। उनीहरू धर्म निरपेक्षलाई पनि खारेज गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छन्,” रिपोर्टमा भनिएको छ, “केही दिनअघि मात्रै अमेरिकाले नेपालमा यूएसएआईडीको प्रोजेक्ट बन्द गरेको थियो। यूएसएआईडीको मुख्य उद्देश्य नै नेपाललाई नास्तिक देश बनाउनु थियो। तर अहिले नेपालमा सही आवाज उठिरहेको छ।”

राजाको स्वागतमा फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्‍यालीमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर पनि देखिएको थियो। उनको तस्वीरलाई पूर्वराजा शाहसँग जोडिएर राखिएको थियो। दुवै तस्वीरमा प्रदीपविक्रम राणाको नाम थियो र उनैले बोकेका थिए। 

भारतीय मिडियाले यो तस्वीरको पनि चर्चा गरेका छन् र योगी आदित्यनाथले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको बताइरहेका छन्। आज तकका पत्रकार सुधीर चौधरीले भनेका छन्, “नेपालमै भलै आन्दोलन राजसंस्थाका लागि भइरहेको होस्, तर त्यस आन्दोलनको पोस्टर बोई योगी आदित्यनाथ नै हुन्। नेपालका हिन्दूहरू भनिरहेका छन्– उनीहरूलाई योगीजस्तो हिन्दूवादी नेता चाहिएको छ, जो नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउन सकोस्।”

‘सत्य हिन्दी’ नामक युट्युब च्यानलमा लिइएको अन्तर्वार्तामा विरिष्ठ पत्रकार सर्वन गर्गले योगीले भारतमा लोकतन्त्र चाहे पनि नेपालमा राजतन्त्र नै चाहने बताएका छन्। उनका अनुसार योगीले हिन्दूत्व केवल भारत र उत्तरप्रदेशमा मात्रै सीमित राख्न चाहँदैनन्, बरू नेपाललाई पनि हिन्दू राष्ट्र बनाउन आफ्नो समर्थन दिइरहेका छन्।

“नेपालमा योगी आदित्यनाथ हिन्दूत्ववादीहरूका लागि ठूला नेता हुन्। उनी त्यहाँ मोदीभन्दा पनि ठूला नेता मानिन्छन्। काठमाडौँमा जुन र्‍याली देखियो, त्यहाँ ज्ञानेन्द्रबाहेक मोदीको पनि पोष्टर थिएन, माओत्से तुङ वा कुनै चिनियाँ नेताको पनि थिएन,” उनी भन्छन्, “त्यहाँ केवल योगी आदित्यनाथको तस्वीर थियो।”

के चाहन्छ भारत?
भारतीय मिडियामा भारत के चाहन्छ भन्ने कतै स्पष्ट नपारिए पनि अधिकांश बहस, रिपोर्ट, अन्तर्वार्ता र विश्लेषण भारतको लागि के उपयुक्त हुन्छ भन्ने विषयमा छ। इन्डिया टीभीमा प्रसारित हुने ‘कफी पर कुरुक्षेत्र’ मा पत्रकार सौरभ शर्माले नेपालका लागि राजदूत रहिसकेका रंजित रेसँग सोधेका छन्, “राजसंस्थासँग भारतको सम्बन्ध कस्तो थियो? हाम्रो लागि राजसंस्था ठिक छ?”

जवाफमा रे भन्छन्, “ऐतिहासिक रूपले राजसंस्था र भारतको सम्बन्ध त्यति राम्रो कहिल्यै रहेन। यसका कैयन कारणहरू छन्। जस्तो कि, तिनले बहुदलीय व्यवस्था समाप्त गरे र सत्ता आफ्नो हातमा लिए। दोस्रो, उनीहरूले चीनसँग हतियार खरिद गरे, त्यो पनि सामान्य होइन। अब भन्नुस् नेपाललाई एन्टी एयरक्राफ्ट गन जस्तो हतियार किन चाहियो? सन् १९६० मा पनि जब राजाले सत्ता हातमा लिए, त्यति बेला भारतले किन बहुदल हटाएको भन्दै आलोचना गर्‍यो, राजा चीन गए।” 

रेले राजाकै समयमा ‘एन्टी इन्डिया’ राष्ट्रवादलाई बढावा दिएको समेत बताए। “जब ज्ञानेन्द्र राजा भए, उनैले सन् २००५ मा पनि ढाकाको सार्क सम्मलेनमा चीनलाई सार्कको सदस्य बनाउन लबिङ गरे। त्यसैले विगतमा पनि राजसंस्था कहिले भारतको लागि हितकर थिएन,” उनले भनेका छन्।

राजनीतिक विश्लेषक सीके लाल पनि भारतले राजसंस्था स्विकार्नुमा शंका व्यक्त गर्छन्। राजसंस्थाको पक्षधर कोही व्यक्ति वा सानातिना संस्था हुनसक्ने भए पनि भारतीय संस्थापन यता नलाग्ने उनको अनुमान छ। “मलाई संस्थापन पक्षले हारेको घोडामा दाउ हाल्ला जस्तो लाग्दैन। विदेशी शक्तिहरू जहिले पनि जितेको कि जित्ने सम्भावनामा दाउ हाल्छन्,” उनी भन्छन्, “त्यसैले यो केही मिडिया इन्फ्लुएन्सर, केही व्यापारी वा दुईचार वटा महत्त्वकांक्षी बाबुसाहेबहरूको चाहना होला।”

डेनमार्कका लागि नेपालका पूर्वराजदूत तथा ‘सेन्टर फर सोसल इल्क्लुजन एन्ड फेडेरालिजम’का कार्यकारी अध्यक्ष विजयकान्त कार्ण पनि राजसंस्था भारतीय मिडियाका लागि केवल ‘प्रोपोगान्डा’ भएको बताउँछन्। भारतीय मिडिया काम नभएको बेला ‘बकम्फुसे तर्क’ दिन लागगिरहने उनको भनाइ छ।

“भारतीय मिडियामा आएका जति सबै डिस्कोर्ष बकवास हुन्। इन्डियन मिडिया फेक न्युजमा बहुत विश्वास गर्छन्। एकदिन १०–१२ हजार मान्छे राजाले ल्याए रे, यत्रो २४० वर्ष राज गरेका राजाले त्यति मान्छे ल्याउनु ठूलो कुरा भयो?” उनी भन्छन्, “यो दुई दिनको लडाइ हो र? सयकडौँ हजारौँ नेपालीले ज्यान दिएको छ।”