तराई तथा मधेशमा आज होली मनाइँदै

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

नवलपरासी– रङहरूको पर्व होली आज तराई तथा मधेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा पनि मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।

आज नवलपरासी (बर्दघाट सुस्तापूर), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ।

मिथिला क्षेत्रका साथै थारू, मगरलगायत समुदायले पनि यस पर्वलाई विशेष ढंगले मनाउने गर्छन्। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्वका रूपमा लिने गरिन्छ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको हो। रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ।

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।