तटस्थताको 'दिखावा'समेत छैन हाम्रो मिडियामा

सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।

२ डिसेम्बर १९९५ को दिन। दिल्लीको आइफेक्स बिल्डिङमा बीबीसीको लागि हाम्रो अन्तर्वार्ता चल्दै थियो। यत्रो विख्यात संस्थामा  जागिरको लागि अन्तर्वार्ता दिँदा हामी त्यसै नर्भस् हुने नै भयौं, अन्तर्वार्ता लिने रिचर्ड ह्यारिसले हामीभन्दा फर्राटेदार हिन्दी बोलिरहँदा झनै परेसान थियौं। 



उनले एकाएक एउटा बाउन्सर दागे, ‘रेहान, के तिमी राजनीतिक व्यक्ति हौ?’ सेकेन्डभर नकुरी जवाफ दिएँ, ‘हैन–हैन, म राजनीतिक व्यक्ति हैन।’ फेरी उनले दागे, ‘तिमी अन्तर्राष्ट्रिय समाचार संस्थामा काम गर्न खोजिरहेका छौ अनि भन्छौ म राजनीतिक मान्छे होइन!’ अनि पार्टी पोलिटिकल पर्सनचाहिँ होइन भन्दै सम्हालिँदै जवाफ दिएँ। रिचर्ड जोरले हाँसे। उनले मेरो परीक्षण गर्न एकदमै भारीभरकम राजनीतिक प्रश्न पनि सोधे, जसको चर्चा यहाँ उपयुक्त ठान्दिनँ। अन्तर्वार्ता सकिएपछि उनले काम गर्न बीबीसी मुख्यालय, लन्डनमा आमन्त्रण गरे।



मेरो पहिलो असाइन्मेन्ट नै भारतका सञ्चारमन्त्री सुखरामसँगको टेलिफोनिक अन्तर्वार्ता थियो। निकै विवादमा रहेका मन्त्रीका पिएलाई फोन लगाउँदा उनले प्रश्नावलीहरू फ्याक्स गरिदिन भने। बीबीसीको तालिममा जतिसुकै ‘ठूलो’ व्यक्तित्व भए पनि पहिले नै प्रश्न नदिनु भनिएको थियो। अन्तर्वार्ता गर्न खोजेको विषयमा सामान्य छलफलसम्म गर्न पाइने, राष्ट्रप्रमुखै भए पनि प्रश्नावली सेयर गर्न नपाइने नीति थियो। अन्तर्वार्ता गरिइने व्यक्तिले अन्तर्वार्तामा सोधिने प्रश्नहरू पहिल्यै थाहा पाउँदा दुई पक्ष (लिने र दिने) बीच मिलीभगतजस्तो देखिन्छ भन्ने बीबीसीको मान्यता थियो। स्रोतालाई त्यस्तो अभ्यास थाहा भयो भने त  अन्तर्वार्ताको मक्सद समाप्त हुन्छ भन्ने बीबीसी ठान्थ्यो।



अब मलाई आपत् पर्‍यो। पहिलो काम छ, प्रश्न नपठाए अन्तर्वार्ता नै नपाइने देखिन्छ। अनि मैले बीचको बाटो निकालें–प्रश्नावली पठाउने र उनका लागि कठिन प्रश्नहरूचाहिँ नपठाईकन अन्तर्वार्ताकै क्रममा पूरक प्रश्नको रूपमा सोध्ने। प्रश्नावली पठाइदिएँ। मन्त्रीसँग पहिले पठाइएको नरम प्रश्नहरूबाट अन्तर्वार्ता सुरु गरें। पाँचौ वा छैटौँ प्रश्नको रूपमा प्रश्नावलीमा नसमेटिएको र मन्त्रीको लागि असहज प्रश्न दाग्दिएँ। प्रश्न झर्नेबित्तिकै उनले ‘यो प्रश्न त पठाइएको’ थिएन भनेर अन्तर्वार्ता रोके। मैले मनाउन खोज्दाखोज्दै बाइबाई गर्दिए। 



अन्तर्वार्ता किन रोकियो भनेर सोधिखोजी सुरु भयो। म त मन्त्रीले बीचैमा रोक्दिए त के गरूँ भनेर उम्किन खोजेको थिए, वरिष्ठ सहकर्मीले सुखरामको सचिवालयमै यसबारे सोधिखोजी गरेछन्, मेरो पोल खुलिहाल्यो। प्रश्नावली पठाएको भनेर अफिसमा हल्लीखल्ली मच्चियो। बकाइदा मेरो क्लास लिइयो। तर आजको समयमा कुनै ‘ठूलो मान्छे’ले प्रश्नावली पठाऊ भन्दा पत्रकारले मिल्दैन भन्ने कल्पना गर्न नसकिने भएको छ। अब त प्रश्नावली पठाउन मिल्दैन भन्नेले अन्तर्वार्ता नै पाउँदैन। 



हामीलाई सिकाइयो, बेटर लेट देन रङ (गल्ती हुनुभन्दा ढिलो होऊ)। बरु विलम्ब मन्जुर छ, गल्ती स्वीकार्य छैन। 



‘इन्दिरा गान्धीको हत्याको खबर ब्रेक गर्ने संस्था’को रूपमा पनि चिनिन्छ बीबीसी। त्यस पछाडिको कहानी सुनाउँछु। त्यसबखत मार्क टेली (बीबीसीका भारतस्थित कार्यालय प्रमुख) भारतबाहिर रहेका कारण अफिसमा सतिश जेकब निमित्त प्रमुख थिए। पत्रकार आनन्द सहायले सतिशलाई फोन गरेर प्रधानमन्त्री निवासमा केही भएको छ त भनेर सोधे। जेकबलाई थाहा थिएन। सहायले उनलाई पत्ता लगाऊ त भने। चार पाँच जनालाई फोन गर्दा कसैको फोन नउठेपछि सतिश आफैँ प्रधानमन्त्री निवास सफदरजंग रोड पुग्छन्। एउटा सुरक्षा गार्डलाई सोध्दा एम्बुलेन्स अस्पतालतिर गएको सूचना पाउँछन्। सबैभन्दा नजिकको अस्पताल लगिएको हुनुपर्ने अनुमान लगाएर सतिश एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस) पुग्छन्।



अस्पतालमै टहल्दै गरेका बेला एक जना डाक्टर रगत चुहिरहेको पञ्जा खोल्दै बाहिर निस्किन्छन्। डाक्टरको नजिकै गई सतिश सोध्छन् ‘सबै ठिक छ नि?’ डाक्टर झर्किँदै जवाफ दिन्छन्, ‘सबै ठिक छ? कसैलाई ३५ गोली लागेको छ अनि सब ठिक कसरी हुन्छ?’ 



प्रधानमन्त्रीलाई गोली लागेको त थाहा भयो। श्रीमती गान्धीका पिए आरके धवनसँग सतिशको त्यहीँ भेट हुन्छ। धवनसँग कुरा कसरी अघि बढाउने सोच्दै सतिशले ‘एकदम नराम्रो भयो हगी’ भन्दै कुरा सुरु गर्छन्। धवनले घटनाक्रम नै बताइदिन्छन्। आफ्नै निजी सुरक्षाकर्मीबाट गोली हानेको पनि थाहा हुन्छ। समय ११ बजेको हुन्छ। सतिश अफिस आएर १२ बजेको बीबीसी बुलेटिन भ्याउनेगरी समाचार पठाउँछन्। तर १२ बजे समाचार प्रसारण हुँदैन।



सतिश प्रधान कार्यालयमा फोन घुमाउँछन्। उताबाट जवाफ आउँछ, ‘तिमी एउटै स्रोतमा भर परेका छौं, फेरि दुनियाँका कुनै सञ्चारमाध्यममा यो समाचार आएको छैन, हामीले यति ठूलो जोखिम लिन सकेनौं।’ ‘पिटिआई’ले प्रधानमन्त्रीउपर गोली चलेको एक वाक्यको समाचार दिएपछि बीबीसीले दोस्रो स्रोत मानेर १ बजेको बुलेटिनमा समाचार प्रसारण गर्‍यो। बीबीसीको यही खबरबाट कलकत्तामा एउटा कार्यक्रममा रहेका राजीव गान्धीले आमाउपर गोली चलेको थाहा पाएका थिए। 



अब चलनचल्तीको पत्रकारितासँग तुलना गरौं। कन्फर्मेसन केही छैन, खबर दिने जल्दबाजी मात्रै छ। गलत कि सही मतलब छैन। फेरी गल्ती भयो भने माफी माग्न कन्जुस्याइँ छ। ‘ब्रेकिङ न्यूज सिन्ड्रोम’को जमाना छ। मिनेटपिच्छे ब्रेकिङ न्यूज चाहिएको छ। हरेक घटनालाई सनसनीखेज बनाउन परेको छ।  



उहिल्यै जेपी (जयप्रकाश नारायण) को मृत्यु नै नहुँदा उनको मृत्युको खबर चलाइयो। खबरकै आधारमा संसदमा शोक सन्देश पारित भयो। हालै जाकिर हुसेन अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा भारतका आधाजसो मिडियाले उनलाई मृत घोषणा गर्दिए। आदर्श मिडिया अभ्यासको एकदम खिलाफ काम भइरहेको छ। समाचारलायक केही हुँदै नभएको कुरा पनि एक्टिभ र प्यासिभ भ्वाइसमा बारम्बार दोहोर्‍याएर/चिच्याएर जबरजस्ती न्यूज बनाउने प्रयत्न हुन्छ। 



जोर–जोरले बोलेर (लाउड माउथ) आफूले धेरै जानेको छुु, अरूभन्दा धेरै न्यूज पस्केको छु भन्ने भ्रम छर्न खोजिन्छ। चुनावको नतिजाको दिन सुन्नुस् त, पत्रकारहरू हकीको कमेन्ट्रीको रफ्तारमा बोलिरहेका सुनिन्छन्।  



भारतीय इलेक्ट्रोनिक मिडियाका प्राथमिकता अहिले राजनीति र क्रिकेट हुन्। ग्रामीण विकास, साहित्य, संगीत अनेकन् विषय छन्–तर तिनलाई ती छुनै चाहँदैनन्। ती विषय अनाकर्षण मानिन्छ। राजनीतिक खबरमा कुनै ‘पर्सपेक्टिभ’ छैन। पृष्ठभूमि, जोडिएका फरक र रोचक विषय, किस्सा/कहानीको अभाव हुन्छ। किनकि पत्रकारहरू पढ्न अल्छी गर्छन्।  



हालै प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुग्दा टिभी च्यानलहरू उनको स्वागत कसरी भयो भन्ने खबर दिन व्यस्त थिए, त्यसमै मस्त रहे। यस्तो खबरमा त पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु अमेरिका पुग्दा कसरी प्रोटोकल तोडेर राष्ट्रपति जोन एफ केनेडी स्वागत गर्न विमानमै पुगे भन्ने झनै रोचक  हुन्थ्यो नि। सन् १९६६ मा पहिलो चोटि अमेरिका जाँदा रात्रीभोजमा अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले डान्स गर्ने प्रस्ताव गर्दा इन्दिरा गान्धीले लजाउँदै भनेकी थिइन, ‘हुँदैन प्रेसिडेन्ट, मेरो देशवासीले यस्तो मन पराउने छैनन्।’   



सन् १९७१ मा अमेरिका जाँदा प्रधानमन्त्री श्रीमती गान्धीलाई राष्ट्रपति रिचर्ड निक्सनले ढोकाबाहिर ४५ मिनेट कुराएका थिए। भित्रपट्टि निक्सन मन्त्रीहरूसँग हाँसीमजाक गरिरहेका थिए, बाहिर हाम्रा प्रधानमन्त्री कुरिरहेकी थिइन्। यी कुनै अपुष्ट किस्सा/कहानी होइनन, दस्ताबेजहरूमा भएका प्रामाणिक तथ्यहरू हुन्, तर यस्ता टिटबिटका लागि पत्रकारहरूले पढ्न त पर्‍यो नि। 



आजको मिडिया पक्षपाती छ भन्नेमा धेरै जना सहमत छन्। सरकारी मुखपत्रमा खुम्चिएका छन् मिडिया भन्दा अन्यथा हुँदैन। ९/११ को घटनापश्चात् तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले भनेका थिए, ‘इदर यु विथ देम अर विथ अस्’ (कि त तिमीहरू उनीहरूको पक्षमा छौ, त्यसो होइन भने सिधै हाम्रो पक्षमा)। भारतीय मिडियाको हकमा बुसको सोही बहुचर्चित कथन हुबहु लागू भइरहेको छ, ‘तपाई यतातिर कि उतातिर?’ को अवस्था छ, बीचको कुनै गुञ्जाइस छैन। यसैले त जनविश्वास घट्दो छ। कि कालो कि सेतो, खैरोका लागि कुनै ठाउँ छैन। मूलधार भनिएका मिडिया सरकार पक्षधर छन्। युट्युब च्यानल छन्, फेरि पूरै सरकार विरोधी। सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।



भारतमा दुवै पक्षबीच सन्तुलित मिडियाको दरकार छ। 



सन् १९९७ मा चुनाव हारेपछि प्रधानमन्त्री पदबाट राजीनामा गर्न जोन मेजर महारानीसमक्ष पुग्नै लाग्दा उनको काफिला ट्राफिक रेड लाइटमा रोकियो। महारानी उता उभिइरहेकी छन्, तर नियम त तोडिँदैन। बेलायतमा प्रधानमन्त्रीले चुनाव हारेपछि टेन डाउनिङ स्ट्रिट (प्रधानमन्त्री निवास) चुनाव हारेकै दिन खाली गर्ने परम्परा छ। डेभिड क्यामरन सन् २०१६ मा प्रधानमन्त्री निवासबाट बाहिरिने क्रममा कार्डबोर्डको बक्सा आफैँले ट्रकमा हालिरहेको फोटो भाइरल भएको थियो। भारतमा यस्तो कल्पना गर्न सकिन्छ? 



मिडिया प्रतिपक्षको भूमिकामा हुनपर्छ र यस्तो भूमिका हमेसा रहनुपर्छ। तपाईँले सरकारको प्रतिपक्षी भूमिका निभाउनु भयो, तर प्रतिपक्षमा रहेको पार्टी सत्तामा पुगेपछि सत्ताको जयजयकार गर्नु इमानदारी होइन।  



हाम्रा करण थापरले गुरु मान्ने बीबीसीका जेरेमी पेक्सम्यानले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री टोनी ब्लेयरलाई कठिन प्रश्न सोधे। ब्लेयरले नेताकै शैलीमा कुरा चपाएर जवाफ दिए। जेरेमीले फेरी त्यही प्रश्न जस्ताको तस्तै दोहोर्‍याए। चित्त बुझे जवाफ आएन। ब्रिटिस प्रधानमन्त्रीलाई एउटै प्रश्न जस्ताको तस्तै छचोटी सोधियो। टेलिभिजनमा अन्तर्वार्ता हेरिरहेका हामी चकित खायौँ। हाम्रा प्रधानमन्त्रीसामु यस्तो गर्ने दुस्साहस कुन पत्रकारले गर्ला?



तर हाम्रोमा त तटस्थताको 'दिखावा'समेत छैन। 



एक जना अवकाशप्राप्त जनरललाई हामीले बीबीसी स्टुडियोमा पहिलो पटक निम्त्यायौँ। उनी धेरै खुसी भए। कम्फर्ट जोनको विषय थियो, प्रश्नहरू उनका लागि कठिन थिएनन्। हाँसीखुशी जवाफ दिए, खुशीखुशी बिदा भए। अर्कोचोटी जम्मु कश्मीरमा मानवअधिकारको सवाललाई लिएर हामीले निम्त्यायौ, कठिन सवालहरू सोध्यौं। उनले खुब फुर्तीका साथ उत्तर दिए। तर तेस्रो चोटि बोलाउँदा भने जरसाब आउनै मानेनन्।  



समाचार सामग्रीमा तटस्थताको कुरा गर्दा बराबरी स्थान दिने चाहना हाम्रा पत्रकारहरूमा हुनुपर्‍यो। एउटा उदाहरण पेस गरौं: हामी १९७१ को भारत–पाकिस्तान युद्धमा भारतको जितबारे डकुमेन्ट्री बनाउँदै थियौ। हामीले भारतीय सेनाप्रमुख शाम मनेकश, युद्धभूमीमा अगुवाइ गरेका जनरले जगजितसिंह अरोडा, जनरल जेकब आदि युद्धसम्वद्ध अनेकनको अन्तर्वार्ता समावेश लियौँ। तर हाम्रो बोसले भारतीय सेनासमक्ष आत्मसमर्पण गर्ने पाकिस्तानी जनरल एएके न्याजीको अन्तर्वार्ता नभई यो डकुमेन्ट्री पूर्ण हुँदैन भने। हामीलाई बोसको कुरा अजिब लाग्यो। भारतको जितबारे बनाइन लागेको डकुमेन्ट्रीमा हरुवा पाकिस्तानी जनरल किन चाहियो भन्ने प्रश्न हामीले उठाउँदा बोसले भने, उनीसँग कुरा नगरे यो डकुमेन्ट्री पूरा हुँदैन। हामीले जनरल न्याजीको अन्तर्वार्ताका लागि लाहोरमा फोन गर्‍यौँ र बकाइदा अन्तर्वार्ता गर्यौं।   



यसैगरी, १९७५ को विश्वकप हकीमा भारतको जितलाई लिएर डकुमेन्ट्री बनायौँ। त्यसमा अशोक कुमार, अजितपालसिंह, सुरजित सिंहलगायतको अन्तर्वार्ता गर्यौं। तर त्यसमा पाकिस्तानका क्याप्टेन इस्लाउद्धिनका इन्टरभ्यु अझै समावेश थिएन। आफ्नो हारबारे उनी के सोच्थे?



अन्ततः उनको पनि इन्टरभ्यु गरियो र डकुमेन्ट्री पूर्ण भयो।



तर हाम्रोमा पत्रकारले सोध्ने अन्दाजले नै उनको पक्षधरता अनुमान लाउन सकिन्छ। मन परेका व्यक्ति छन्, पत्रकार नरमपूर्वक पेस हुने गर्छन्, मन नपर्दा आक्रामक। पत्रकारलाई देखेपछि दर्शक/श्रोताले अब यसले यस्तो सोध्छ भनेर अनुमान लाउँछन् भने पत्रकारका रूपमा तपाईँ सही हुनुहुन्न ।



भारतका सरकारी हुन् या निजी मिडिया, आफू असहमत भए पनि अर्को ‘प्वाइन्ट अफ भ्यू’का लागि तिनले ठाउँ दिन जरुरी छ। आफ्ना असहमति भए पनि अर्को पक्षलाई उति नै महत्त्वपूर्ण ठाउँ मिलोस् भन्नेमा सचेत हुनुपर्छ। तर किन त्यस्तो भइरहेको छैन? किन अहिलेजस्तो हुनु उचित छैन? 



(फजल बीबीसि वर्ल्ड सर्भिसका सम्पादक हुन्। उत्तर प्रदेश,आजमगढस्थित हरिऔध कला केन्द्रमा आयोजित एक कार्यक्रम दौरान उनले दिएको भाषणको भावानुवाद।)