शेखर–गगन समूह निर्णायक छलफलमा

संसदीय दलको नेतामा आकांक्षा राखेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाउन संस्थापनइतर समूहले छुट्टै छलफल गरेको छ।

काठमाडौँ– नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूह निर्णायक छलफलमा जुटेको छ। नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारी गरेपछि उनीहरूलाई मिलाउन इतर समूहको छुट्टै छलफल भएको हो। 

लाजिम्पाटको एक होटलमा कोइराला र थापा दुवैलाई राखेर नेताहरूले छलफल गरेका छन्। बुधबार बिहान संसदीय दलको नेता चयन गर्नका लागि गठित निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि उनीहरू छलफलमा जुटेका हुन्। 

“एउटै समूहबाट दुई जना नेताको दाबी भएपछि सर्वसम्मत रूपमा एक जना मात्रै उम्मेदवार बनाउन हामी छलफलमा जुटेका हौँ”, सहभागी एक नेताले भने,“उहाँहरू नमिलेर प्रतिस्पर्धा गर्दा राम्रो सन्देश जाँदैन। त्यही भएर मिलाउन प्रयास गरिरहेका छौं।” 

उनका अनुसार इतर समूहबाट एक मात्र उम्मेदवार बनाउने तयारी भइरहेको छ। दुवै नेताले दलको नेतामा आ–आफ्नो दाबी छोडेका छैनन्। केही दिनदेखि नै निरन्तर छलफल गरिरहेका उनीहरूबीच सोमबार पनि छलफल भइरहेको हो।