देउवासँग को भिड्दैछ संसदीय दलमा, शेखर–गगन मिल्छन् कि एक्लाएक्लै लड्छन्?

दुई दिनपछि हुने कांग्रेस संसदीय दलको निर्वाचनमा अहिलेको प्रमुख प्रश्न सभापति देउवासँग भिड्ने संस्थापनइतरको उम्मेदवारलाई लिएर छ। डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवै दलको नेता बन्ने कसरतमा छन्।

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान निर्वाचन हुँदैछ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सह–महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ। 

सोमबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले बुधबारका लागि निर्वाचनको मिति तय गरेको हो। समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन गराउने तालिका निर्धारण गरेको छ। निर्वाचनको कार्यतालिका सार्वजनिक भए पनि कतिपयले सर्वसम्मत रूपमा दलको नेता चयन गर्नुपर्ने भन्दै प्रयास जारी राखेका छन्। कांग्रेस उपसभापति धनराज गुरुङ भन्छन्, “दलको नेता चयनका लागि पहिलो प्रयास सर्वसम्मत नै हुन्छ।”

सभापति शेरबहादुर देउवा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएर नयाँ सरकारको प्रधानमन्त्री बन्ने कसरतमा लागिरहँदा त्यस्तो सम्भावना भने न्यून देखिन्छ। पार्टीभित्रको संस्थापनइतर समूहका नेताहरूले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने निश्चित भएपछि देउवा स्वयं पनि निर्वाचनको तयारीमा लागिसकेका छन्।  

संस्थापनइतर समूहबाट सबभन्दा पहिले महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। कांग्रेसमा गत महाधिवेशनमा थापाले डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। अहिले डा. कोइरालाले पनि आफूले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने कसरत अघि बढाएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवालाई भेटेरै आफूलाई सर्वसम्मत रूपमा नेता बनाउन आग्रह गरेका छन्। 

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा संस्थापन पक्षबाट निर्विकल्प जस्तै उम्मेदवार देखिन्छन्। संस्थापनइतरबाट भने डा. कोइराला र थापामध्ये को उम्मेदवार बन्ला भन्ने प्रश्न यथावत् छ। कांग्रेसपंक्तिको ध्यान पनि अहिले यसमै केन्द्रित छ?

शेखर–गगन मिल्लान्?
डा. कोइराला र थापा दुवैले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने कसरत अघि बढाइरहँदा संस्थापनइतर समूहमा सकस देखापरेको छ। दुवै जनाले एकअर्कालाई स्वीकार नगरेको अवस्थामा कसलाई नेता मानेर जाने भन्नेमा संस्थापनइतरका सांसदहरू द्विविधामा देखिन्छन्।

“एक त पार्टीभित्र हामीहरू फरक विचार राख्ने समूहका रूपमा देखिएका छौँ। त्यसमै दुई जनाको दाबी हुँदा समस्या देखिएको छ”, कोइराला–थापा समूहका एक सांसद भन्छन्, “यसले झन् संस्थापन पक्षलाई नै फाइदा पुग्ने देखिन्छ।”

महामन्त्री थापाले मंसिर ४ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुनुअघि नै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। मत माग्दा पनि उनले पार्टीभित्र हस्तक्षेप गर्न सक्ने आफू मात्रै भएको र संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने बताएका थिए। 

निर्वाचित भइसकेपछि उनले संसदीय दलको नेताका लागि आफूले तयारी शुरू गरेको बताएका थिए। त्यति बेलासम्म १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गरेका कोइरालाले दलको नेता बन्ने कुनै संकेत गरेका थिएनन्। तर, निर्वाचित भइसकेपछि कोइरालाले दलको नेता बन्ने कसरत थालेका थिए। 

“शेखर दाइले निर्वाचित भइसकेपछि दलको नेता बन्ने तयारी गर्दा केही समस्या देखिएको छ”, महामन्त्री थापानिकट एक सांसद भन्छन्, “उहाँहरू दुवै हाम्रै समूहका नेता हुनुहुन्छ। तर, दुवैले दलको नेता बन्ने कसरत गर्दा त्यसले संस्थापन पक्ष हौसिएको छ। यसमा उहाँहरूले पक्कै पनि सोच्नुहुन्छ होला।”

संस्थापनइतर समूहबाट दुई जनाले दाबी गर्दा त्यसको लाभ देउवालाई हुनेछ। त्यो अवस्थामा संस्थापनइतर समूहनजिक रहेका भनिएका केही सांसदको सहयोग पनि देउवालाई नै हुने देउवानिकट नेताहरूको बुझाइ छ। 

नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिकतर्फका ३२ जनासमेत कूल ८९ सांसदमा देउवा पक्षकै वर्चस्व छ। प्रधानमन्त्री बन्ने आकांक्षा देखाएका प्रकाशमान सिंह र शंशाक कोइरालाको समर्थन पनि अन्तिममा देउवालाई नै हुने देखिन्छ। महाधिवेशनमा सभापतिमा देउवाविरुद्ध उम्मेदवारी दिएका विमलेन्द्र निधिको समर्थन पनि यसपटक दलको नेतामा देउवालाई नै हुनेछ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै नेता शंशाक कोइरालाले आफ्नो समर्थन शेरबहादुर देउवालाई हुने बताएका थिए। दलको निर्वाचनमा तपाईंको समर्थन देउवालाई नै हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनेका थिए, “हेर्दा त त्यस्तै लाग्छ। तर, मेरो दाइ पनि हुनुहुन्छ। उहाँ उठेपछि त म असमञ्जसमा पर्छु।” 

कांग्रेसको १४ औँ महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी बनेका शेखर कोइराला संसदीय दलको नेतामा पनि आफू नै भिड्नुपर्ने मनस्थितिमा छन्। उनी अहिले नै आफ्नो समूहबाट सहजै थापालाई दलको नेताका रूपमा देउवासँग प्रतिस्पर्धा गर्न दिने मनस्थितिमा छैनन्। कोइराला–थापा समूहका नेता र निर्वाचित सांसदहरू दुवै नेतालाई सहमतिमा ल्याउन प्रयास गरिरहेका छन्। 

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संस्थापनइतर समूहका सांसद सञ्जयकुमार गौतम आफ्नो विचार समूहबाट एक जना मात्र उम्मेदवार बनाउने प्रयास भइरहेको बताउँछन्। “हाम्रो नेता चाहिँ शेखर दाइ हो। गगनजी महामन्त्री हुनुहुन्छ। उहाँ पार्टीको भोलिको सम्भावना हो। हामी दुर्घटना नहोस् भन्ने चाहन्छौँ। उहाँहरूमध्ये जो भए पनि एक जना उम्मेदवार बनाउन प्रयासरत छौँ”, उनले भने, “नेताहरूलाई सम्झाउने प्रयास गरिरहेका छौँ। धेरै दिनदेखि यो प्रयास जारी छ। अहिले पनि त्यसकै प्रयास गरिरहेका छौँ।” उनले यस्तो परिस्थितिले आफूहरूलाई चिन्तित बनाएको भन्दै आफूहरूको विचार समूह विभाजित हुँदा राम्रो सन्देश नजाने र दुवै नेतालाई मनाउने प्रयास जारी रहेको बताए।

८९ सांसदमध्ये बहुमत सांसद अहिले देउवाको पक्षमा छन्। देउवानिकट एक नेता आफ्नो पक्षमा कम्तीमा ६० जना सांसदको समर्थन रहेको बताउँछन्। २९ जना सांसद मात्रै संस्थापन इतर समूहमा देखिएको उनको दाबी छ। सर्वसम्मत रूपमा दलको नेता चयनका लागि प्रयास जारी रहेको नेताहरूले बताए पनि देउवा आफ्नो विकल्पभन्दा बाहिर गएर सर्वसम्मत गराउने पक्षमा छैनन्। वर्तमान सत्तागठबन्धन कायमै राखेर छैटौँ पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवा निर्वाचनबाटै भए पनि संसदीय दलको नेता बन्न चाहन्छन्। यसकारण पनि देउवासँग प्रतिस्पर्धा कसले गर्छ भन्ने प्रश्न कांग्रेसमा प्रमुख बनेको छ। 

उपसभापति धनराज गुरुङ दलको नेताका लागि जति जनाले दाबी गरे पनि आफूहरूको विचार समूहबाट एक जना मात्रै उम्मेदवार हुने बताउँछन्। “हाम्रो प्रयास त सर्वसम्मत नै छ, भएन भने स्वस्थ प्रतिस्पर्धाबाट नै चयन गर्ने हो”, उनले भने, “अब कति जना उम्मेदवार बन्छन् भन्ने कुरा त उम्मेदवारी दिएपछि थाहा होला।” 

संस्थापनइतर समूहका नेताहरू केही दिनदेखि दुवै नेतालाई मिलेर जान दबाब दिइरहेका छन्। नेताहरूबीच सोमबारसम्म निरन्तरजसो छलफल भइरहेको छ। “संख्याका हिसाबले हामी कमजोर छौँ। दलको नेता चुनिन बहुमत छैन”, एक सांसद भन्छन्, “यस्तो अवस्थामा पनि एउटै समूहबाट किन दुई दुई जना प्रतिस्पर्धी बन्नु? त्यहीकारण शेखर दाइ र गगनजीमध्ये एक जनालाई मात्रै प्रतिस्पर्धामा जान भनिरहेका छौँ। सम्भवतः शेखर दाइ नै प्रतिस्पर्धा गर्नुहुन्छ होला।”