हुलाक टिकटमा कला पोख्ने एक्ली पूर्णकला

लाहुरेकी छोरी पूर्णकलाको परिवारमा चित्रकलाको सोख भएका कोही थिएनन्, तर उनी हुलाक सेवा विभागबाट १५ वर्षयता प्रकाशन भइरहेका सबै टिकटको ‘डिजाइनर’ हुन्।

काठमाडौँ– हुलाक सेवा विभागले गएको फागुन ५ गतेदेखि दुई वटा नयाँ हुलाक टिकट प्रचलनमा ल्यायो। तीमध्ये एउटामा शाक्यवंशीय राजधानी रहेको तिलौराकोटको २८ सय वर्षअघिको सभ्यता चिनाउन पञ्चमार्क मुद्रा अंकित छ। तिलौराकोट गौतमबुद्धले जीवनका २९ वर्ष बिताएको ठाउँ हो। 

नौ वर्षअघि तिलौराकोट दरबारबाहिर कन्थक स्तुपदेखि २० मिटर दक्षिणमा उत्खनन गर्दा चाँदीका ४९७ वटा पञ्चमार्क मुद्रा भेटिएका थिए। यी मुद्रा एक मिटर गहिराइमा माटोको भाँडोभित्र फेला परेका थिए।

त्यही दिन प्रचलनमा ल्याइएको अर्को हुलाक टिकटमा प्युठानको भित्रीकोट दरबारको तस्वीर अंकित छ। प्युठान नगरपालिका–४ मा पर्ने भित्रीकोट दरबार पर्यटकीय स्थल हो। नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित हुँदा चौबिसे राज्य अन्तर्गतको शक्तिशाली प्युठान राज्यको दरबार भित्रीकोट दरबार थियो।

हुलाक विभागले प्रकाशन गरेका यी दुई टिकटका तस्वीर फरक हुन्, तर दुवै टिकटको प्रसंगमा एउटा साझा नाम जोडिन्छ– पूर्णकला लिम्बू। दुवै टिकटको डिजाइन पूर्णकला लिम्बूले गरेकी हुन्। यी मात्र होइन, १५ वर्षदेखि हुलाकले प्रकाशन गरिरहेका सबै टिकटको डिजाइन उनै पूर्णकलाले गर्छिन्।

पूर्णकला २०६७ मंसिरदेखि कला अधिकृतका रूपमा हुलाक सेवा विभागमा कार्यरत छिन्। बबरमहलस्थित विभाग पुग्दा उनी कार्यकक्षमा काममै तल्लिन् थिइन्। टेबलमा डिजाइनका नमूना र प्रकाशन भएका हुलाक टिकटहरू थिए।

सुदूरपूर्व पहाडको ताप्लेजुङमा जन्मिएकी पूर्णकलाको परिवारमा चित्रकलामा लागेका कोही थिएनन्। उनका बाबु बेलायती सेनामा थिए। बाबुको जागिर सर्दै जाँदा उनी पनि आमासँग कहिले हङकङ, कहिले ब्रुनाइ र कहिले धरानतिर सरिरहिन्। कहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमै बस्नुपर्थ्यो।

बाल्यकालमा स्थायी बसोबास नभएका कारण साथीभाइसँग खेल्ने, रमाइलो गर्ने मौका पाइनन्। उनका स्थायी साथी पनि भएनन्। “अभिभावकको बसाइ स्थिर नहुँदा म सानोमा साथीहरूसँग रमाउन पाइनँ,” उनी भन्छिन्।

उनले काठमाडौँको बागमती बोर्डिङ स्कुलबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि बसाइमा केही स्थिरता आयो। एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छोरीलाई डाक्टर बनाउने बुबाआमाको इच्छा थियो। तर पूर्णकला चित्रकलामा रुचि राख्थिन्।

सानै छँदा पनि उनी खेल्ने समयमा चित्र कोरेर बस्थिन्। कहिले अग्ला हिमाल त कहिले बगिरहेको खोला बनाउँथिन्। रंगिचंगी फूलका चित्र बनाउँथिन्। बाबुआमा र साथीको चित्र पनि बनाउँथिन्।

उनको रुचि र कला देखेर परिवारका सदस्य अचम्म मान्थे। एसएलसीपछि उनी त्यसैलाई अगाडि बढाउन चाहन्थिन्। उनको रुचिका अघि बाबुआमाको जोडबलले काम गरेन, अनि ललितकला क्याम्पसमा भर्ना भइन्। “परिवारमा कोही नपढेको (फाइन आर्ट) पढाइ र नगरेको कामलाई गलत बाटो भन्नेहरू पनि थिए, तर म आफ्नो मनको आवाज सुनेर कलातिरै होमिएँ,” उनी सुनाउँछिन्।

पूर्णकलाले फाइन आर्टमा स्नातक सकाइन्। उनको अर्को पनि सोख थियो– ढाका र पस्मिनाका कपडा बुन्ने। स्नातक सकाएपछि ग्राफिक्स सिक्न थालेकी उनी त्यसलाई बीचैमा छाडेर टेक्स्टटाइल डिजाइनिङ सिक्न भारत गइन्। केही समय पछि नेपाल फर्किएर हस्तकला महासंघमा काम गर्न थालिन्।

चित्र त उनी घरमा थोरै समय मिल्दा अझै पनि कोरिरहन्छिन्, तर टेक्स्टाइल डिजाइनिङलाई भने समय दिन सकेकी छैनन्। टेक्स्टाइल डिजाइनिङमा काम गर्ने उनको धोको अझै बाँकी छ।

यसरी जोडिइन् हुलाक टिकटसँग
पूर्णकला आफ्नै कलाको दुनियाँमा मस्त थिइन्। फाइन आर्ट पढेर अरू साथीले जस्तै ग्यालरी खोल्ने कि, आर्ट प्रदर्शनतिर लागेर नाम कमाउने भन्ने दोधार थियो। टेक्स्टाइल डिजाइनिङमा रुचि भएको हुँदा ढाकाकपडाको लघु उधमी बन्ने सपना पनि थियो। उनी रनभुल्लमै थिइन्।

त्यही समय ललितकला क्याम्पसमा सँगै पढेका साथी सन्तोष विष्टसँग भेट भयो। सन्तोषले लोकसेवा पढ्न सुझाव दिए। उनले पहिलो प्रयासमै २०६७ सालमा कला अधिकृतमा नाम निकालिन्।

पूर्णकला र उनका साथी सन्तोषको रुचि मिल्थ्यो। रुचिसँगै मन पनि मिल्यो, अनि २०६८ सालमा विवाह गरे। अहिले उनिहरूको १० वर्षकी छोरी र ७ वर्षको छोरा छन्।

हुलाक सेवामा प्रवेश गरेको समयमा उनलाई हुलाक टिकट निर्माणको प्रक्रिया र डिजाइनको शैलीबारे थाहा थिएन। उनले गरिरहेको चित्रकला वा टेक्स्टाइल डिजाइनभन्दा हुलाकको काम फरक थियो। उनलाई बुझ्न र त्यसमा भिज्न गाह्रो भइरहेको थियो। त्यस बेला आफूलाई वरिष्ठ कला अधिकृत मोहननरसिंह राणा र केके कर्माचार्यले टिकट डिजाइनको शैली र प्रकृयाबारे बुझाएको उनी सम्झिन्छिन्।

कलाकार मोहननरसिंह राणा २०६९ सालमा उपसचिव पदबाट सेवानिवृत्त भएका थिए। २०७१ सालमा उनको निधन भइसकेको छ। उनले ६०० भन्दा बढी टिकटको डिजाइन गरेका थिए।

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका कलाकार केके कर्माचार्य पनि हुलाकका जागिरे थिए। उनले करिब ३९ वर्ष हुलाक सेवामा काम गर्दा ४०० भन्दा बढी टिकट डिजाइन गरे। यस्ता नामी कलाकारको बाटो पछ्याउँदै पूर्णकला अहिले टिकट डिजाइनमा व्यस्त छिन्।

पूर्णकलाले २०६८ सालमा पहिलोपटक डिजाइन गरेको टिकट प्रकाशन भएको थियो। रु.५ को उक्त टिकटमा ‘नेपाली शिक्षा परिषद् २००८’ लेखिएको छ।

पूर्णकलाले डिजाइन गरेको पहिलो टिकट।

टिकटमा एकैथरीको चित्र नराखिने उनी बताउँछिन्। कहिलेकाहीँ चित्र मेल खान गए पनि सकेसम्म हरेक वर्ष निस्किने टिकटमा फरक प्रकारका चित्र राखिन्छ। हुलाक टिकटमा चराचुरुंगी, वनस्पती, कलासंस्कृति, गुफा, हिमाल, जनावर, ख्यातिप्राप्त व्यक्तिलगायत सम्पदा वा विभिन्न ठाउँको पहिचानलाई राखिन्छ।

अहिलेसम्म उनले ३७२ प्रकारका हुलाक टिकट डिजाइन गरिसकेकी छन्। “हुलाक टिकटमा राखिने चित्रबारे मैले पनि सुझाव दिने गरेकी छु,” उनी भन्छिन्, “कालिकोटको पचाल झरना, पर्वत–बागलुङ जोड्ने झोलुंगे पुल, बुद्धको थांका चित्र, लुम्बिनी पिस म्याराथन, पश्चिम नेपालमा पाइने लोपोन्मुख चरा खरमजूर, तेह्रथुमको ह्यात्रुङ झरना आदिको टिकट निकाल्न मैले सिफारिस गरेकी थिएँ।”

कतिपय सामग्रीको तस्वीर लिएर त्यसैलाई डिजाइन गरिन्छ, केहीको भने पूर्णकलाले चित्र बनाएकी छन्। २०७८ सालमा प्रकाशन भएको रु.२० मूल्य अंकित हुलाक टिकटमा थम्सनको गुराँसको चित्र राखिएको थियो। त्यो चित्र पूर्णकलाले बनाएकी हुन्। उनले कतिपय वनस्पतीको चित्र पनि बनाएकी छन्। २०८२ सालमा निस्कने हुलाक टिकट सबैको डिजाइन सकिइसकेको उनको भनाइ छ।

पूर्णकलालाई याद आइरहने हुलाक टिकटमा राखिएको आफ्नो चित्र।

पहिला कला अधिकृत उपसचिवसम्मको पदमा थिए। मोहननरसिंह राणा उपसचिवबाटै सेवानिवृत्त भएका थिए। तर अहिले उपसचिव पद हटाइएको छ। त्यहीकारण आफ्नो बढुवा अनिश्चित हुँदा भने दुःख लागेको उनको गुनासो छ।

“अरूको जस्तै माथिल्लो तहमा गएर नयाँ काम, नयाँ अनुभव बटुल्न मन लाक्छ। तर हाम्रो लागि सरकारले त्यो रहर पूरा गर्ने ठाउँ राखिदिएन,” पूर्णकला भन्छिन्, “जहाँ आएको तेहीँबाट घर फर्किनुपर्ने सम्झिदा कहिलेकाहीँ नराम्रो महसुस हुन्छ।”

नेपालमा हुलाक टिकट
पहिला टाढाको खबर आदानप्रदानका लागि चिठी पठाउनुपर्थ्यो। चिठीमा हुलाक टिकट टाँस्नुपर्ने नियम थियो। प्रधानमन्त्री रणोद्वीपसिंह राणाको पालामा १९३५ सालमा नेपालमा हुलाक घरको स्थापना भएको थियो। १९३८ सालमा पहिलो पटक नेपाली हुलाकी टिकट प्रकाशन भएको थियो, जसको मूल्य एक आना थियो। सेतो कागजमा तयार पारिएको उक्त हुलाक टिकटमा खुकुरी क्रस र श्रीपेच अंकित थियो।

पूर्णकलाले चित्र बनाएर डिजाइनसमेत गरेका नेपालको संस्कृति झल्काउने केही हुलाक टिकट।

नेपाल र भारतबीच १९९३ सालमा नेपाली र भारतीय टिकट प्रयोग गरेर एक–अर्को देशमा चिठी पठाउन सकिने सम्झौता भयो। नेपाल २०१३ असोज २६ गते विश्व हुलाक संघको सदस्य भयो। हुलाक सेवा विभागको स्थापना भने २०२८ सालमा भएको हो।

मोबाइल र इन्टरनेटको जमाना आइसकेपछि अब चिठी पठाउने चलन प्रायः ठप्पजस्तै छ। तर कतिपय सरकारी पत्र भने अझै पठाइन्छ। सरकारी कामकाजमा पनि हुलाक टिकट टाँस्नुपर्ने नियम छ। तर अहिले पहिलाको तुलनामा हुलाक टिकट धेरै कम मात्र छापिने पूर्णकला बताउँछिन्।

हुलाक टिकट नेपालमा छापिन थालेको दुई वर्ष मात्र हुँदैछ। नेपालमा ‘सेक्युरिटी प्रेस’ नभएको कारण विदेशबाट छापिएर आउने गर्थ्यो। डिजाइन पठाएर माग गरेको ९० दिनभित्रमा मात्र टिकट नेपाल आइपुग्थ्यो। “नेपालमै छापिन थालेपछि आकस्मिक रूपमा छाप्नु परे पनि समस्या छैन, यसले निकै सहज भएको छ,” उनी भन्छिन्।