नयाँ बोतल पुरानै दुर्गन्ध

यताका नयाँहरूमा पनि केजरीवाल प्रवृत्ति सुनिन्छ। उनीहरू न संविधानको विरोध गर्न सक्छन् न त संविधानबाट प्राप्त संघीयता, धर्मनिरपेक्षताको समर्थन गरी सामाजिक सञ्जालमा व्याप्त आफ्ना समर्थक गुमाउन चाहन्छन्।

बाह्र वर्षअघि दिल्लीमा शुरू भएको राजनीकि ‘स्टार्टअप’ आम आदमी पार्टी (आप) ‘युनिकर्न’ हुनुअगावै अन्योलग्रस्त अवस्थामा पुगेको छ। दिल्ली विधानसभा चुनावमा पराजयसँगै यसको बजारलाई लिएर अनेकन अडकलबाजी भइरहेका छन्। सन् २०१२ मा स्थापना भई २०१३ कै ७० सदस्यीय दिल्ली विधानसभा चुनावमा २८ सिटसहित दोस्रो ‘मार्केट लिडर’ का रूपमा ‘दस्तक’ दिएको आप हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा पराजित भएको छ।

यो राजनीतिक स्टार्टअपले आफूहरू एकदम अर्ग्यानिक भएको दाबी ठोकेका थिए। डीटूसी (डाइरेक्ट टू कन्जुमर) कै शैलीमा आम आदमीसँग सोझै संवाद गर्ने हौँ भन्थे। बन्द कोठामा हुने बैठक पनि लाइभ गर्नुपर्छ भन्दै ‘फुटेज’ खान्थे। बजारमा छिर्नासाथ नेपालकै हाराहारी जनसंख्या भएको दिल्लीमा स्थापनाको वर्षदिन भित्रै सरकार बनाउन सफल भएको पनि थियो। पहिलो ठूलो दल भारतीय जनता पार्टीलाई रोक्न कांग्रेसले बाहिरबाट समर्थन दिएपछि दोस्रो ठूलो दल आपले सरकार बनाएको थियो।

चुनाव जितेपछि आपले के–के मात्र फन्डा गरेन। मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारी सुविधाको गाडी नचढी निजी सुजुकी (वाग्नर) चढे। कुनै मन्त्रीले त अटो चढेर सुरक्षा निकायलाई हत्तु हैरान खेलाए। मुख्यमन्त्री–मन्त्री जहाँ बसे पनि, जे चढे पनि आखिर सुरक्षा निकायले सुरक्षा प्रबन्ध गर्नैपर्‍यो। आपको त्यो सरकार त धेरै दिन टिकेन, भ्रष्टाचार नियन्त्रण गर्न नागरिक समाजको सहभागितामा जनलोकपाल कानून मस्यौदाको आन्दोलनको आँधीबेहरीको जगमा खडा भएको आप त्यही कानून निर्माणमा विलम्ब भएको भन्दै ४९ दिनमै सरकारबाट बाहिरिएको थियो।

त्यही ४९ दिन गरेको फन्डामा आपले सन् २०१५ मा भएको दिल्ली विधानसभाको चुनावमा अन्य दललाई बढारिदियो। झाडु चुनाव चिन्ह पाएको आपले विधानसभाको ६७ सिट जितेको थियो। २०१३ अघि लगालग तीन चुनाव जितेर १५ वर्ष दिल्लीमा शासन गरेको कांग्रेस शून्य सिटमा पुग्यो।

सन् २०२० को चुनावमा ६३ सिट जितेर सत्तामा निरन्तरता दिएको आप पछिल्लो चुनावमा २२ सिटमा खुम्चिएको छ, अर्थात् पहिलो चुनावको भन्दा पनि ६ सिट कम। अनवरत १५ वर्ष दिल्लीको मुख्यमन्त्री रहेकी शिला दीक्षितलाई २०१३ को चुनावमा हराएर उदाएका केजरीवाल स्वयं यसपालि पराजित भए, ‘सिकारी खुद यहाँ शिकार हो गया’ भनेजस्तै।

किन त?   
१० वर्षभन्दा बढी शासन चलाइसकेपछि आपले ‘एन्टी इन्कमबेन्सी’को चुनौती सामना गर्नपर्ने नै थियो। तर आपको पराजय यतिमै सीमित छैन। अझ भनौँ, एन्टी इन्कम्बेन्सीभन्दा मजबुत कारण अरू नै छन्। राजनीति बदल्न भन्दै आएका केजरीवालहरूलाई आफै बदलिन धेरै समय लागेन। जसरी हामीकहाँ २०४६ पछि कांग्रेस/एमालेहरू बदलिए अथवा, २०६२/६३ पछि माओवादी बदलिए, अनि मधेश आन्दोलनपछि मधेशकेन्द्रित पार्टीहरू बदलिए। प्रणाली बदल्न आएकाहरू प्रणालीकै हिस्सा बन्न पुगे।

सन् २०१५ को चुनावमा प्रचण्ड बहुमतसहित सत्तामा पुगेपछि आपले राज्यको स्रोत मुफ्त बिजुली, मुफ्त पानीजस्ता निम्न र निम्नमध्यम वर्गीय जनतालाई राहत दिने योजना खन्यायो। ‘मोहल्ला क्लिनिक’ जस्ता स्वास्थ्य परियोजनाको पनि वाहवाही नै भयो। यस्तै, सरकारी विद्यालयको गुणस्तरमा पनि राम्रै काम गरेको ठानियो। आपले मार्केटिङ गर्ने संयन्त्र निर्माणमा खुबै लगानी गरेको थियो, काम थोरै गरे पनि मार्केटिङ व्यापक भयो, जसले उसलाई अर्कोपालि पनि प्रचण्ड बहुमतसहित सत्तामै राखिराख्यो। भ्रष्टाचारको दाग–धब्बा लागिसकेको थिएन।

“केही राम्रा काम अवश्य भए पनि तिनको विज्ञापन बढी भएको थियो,” आपकै को–फाउन्डर योगेन्द्र यादव भन्छन्, “मोदीको गुजरात मोडलकै शैलीमा दिल्ली मोडलको हौवा फिजाइएको थियो।”

सस्तो निजी गाडी, अझ अटोसम्म चढेर स्टन्ट गर्ने आपका नेताहरूलाई महँगा सरकारी गाडीतिर सोझिन धेरै समय लागेन। ‘सरकारी बंगला किन चाहियो, दुईवटा कोठा भए पुगिहाल्छ’ भनेर गफ जोत्ने केजरीवालका लागि कोभिडको लहरमा दिल्लीमा भव्य मुख्यमन्त्री आवास निर्माणाधीन थियो। भाजपाले पहिले त यो भव्य महलको चोटा–कोठा मात्र होइन शौचालयसमेतको एचडी भिडियो बनायो र मिडियामार्फत सिसमहल भनेर प्रचार गरायो। ‘गोदी मिडिया’ भनेर आलोचित भाजपा सत्ताको भोंपुजस्ता मिडियाले बफादारीपूर्वक सघाउन कुनै कसर बाँकी राखेनन्।

सन् २०२१ मा नयाँ शराब नीति लागू गर्दा गरेको भनिएको अनियमितताको कारण तिनको सफेद टोपीमा दागधब्बा लाग्न पुग्यो। शराब बेच्ने कारोबारबाट दिल्ली सरकारलाई अलग गर्नेगरी ८५० दोकानलाई रक्सी बेच्ने लाइसेन्स दिइएको थियो। ३२ जोनमा बाँडेर १६ कम्पनीलाई वितरणको अधिकार दिइयो। यसबाट प्रतिस्पर्धा निरुत्साहित गरिएको आरोप लाग्यो। 

नयाँ अन्तःशुल्क नीतिले माफियाराज खतम पार्ने र राजस्व पनि बढ्ने भनिएको थियो, तर सरकार नोक्सानीमा देखियो। उपराज्यपाल विनयकुमार सक्सेनाले मुख्यसचिवसँग रिपोर्ट मागे, सरकारबाट कानून उल्लंघन भएको मुख्यसचिवले स्वीकार गरे, ८ जुलाई २०२२ मा। पूर्णराज्यको मान्यता नपाएको दिल्लीमा पुलिस/कर्मचारीतन्त्र केन्द्रकै अधिनस्थ हुन्छ। शराब ठेकेदारहरूको १४४ करोड रूपैयाँ माफी मिनाहा दिइएको थियो। शुरूमा उपराज्यपालले सीबीआईलाई जाँचको आदेश दिए। पछि प्रवर्तन निर्देशनालय (ईडी) लाई पनि केन्द्र सरकारले अनुसन्धान गर्न लगायो।

केजरीवालका मजबुत पिलर मानिने मनीष सिसोदिया र सञ्जय सिंह अनि केजरीवाल पनि जेल पुगे (तीनैजना जमानतमा छुटेका छन्।) “शराब घोटालाबाट अरविन्द वा मनीष लाभान्वित भए भनेर ठोकुवा गर्दिनँ, यो घोटालाको आरोप  प्रमाणित हुनेछ भन्नेमा पनि शंकै छ,” आपको को–फाउन्डर योगेन्द्र यादव भन्छन्, “तर यो स्क्याम त थियो, जसले अरू बिगार गरे पनि भ्रष्टाचारचाहिँ गर्दैनन् है भन्ठान्ने मध्यमवर्गलाई आहत बनायो।”

आपमार्फत राजनीतिमा प्रवेश गरी त्यहीबाटै राजनीति त्यागेको घोषणा गरेका पत्रकार आशुतोष पनि आप र अरविन्दले कहिल्यै उकासिन नसकिनेगरी नैतिक धरातल गुमाइसकेको टिप्पणी गर्छन्।

निरकुंश, असुरक्षित र कृतघ्न ‘वान म्यान आर्मी’
राजनीति गर्ने हैन बदल्ने, व्यवस्था मात्रै होइन अवस्थै बदल्ने प्रण गरेर उदाएका केजरीवाल र उनको स्टार्टअप अरूजस्तै देखिन त धेरैबेर लागेन नै, खुद केजरीवाल एउटा असुरक्षित, निरकुंश र कृतघ्न सीईओमा बदलिए। अन्ना हजारे नेतृत्वको भ्रष्टाचारविरुद्धको आन्दोलन (इन्डिया अगेन्स्ट करप्सन) मा ‘ब्याकस्टेज’मा बसेर सघाएका केजरीवालको अन्नासँग पार्टी गठन गर्ने कुरामै विमति भयो, अलग्गिइहाले। पार्टी गठनमा सहकार्य गरेकामध्ये पनि आफूलाई चुनौती दिनसक्नेलाई उनले पार्टीबाट पन्छाए। 

वरिष्ठ अधिवक्ताद्वय शान्तिभूषण र प्रशान्तभूषण (बाउछोरा) अन्नाको आन्दोलनदेखि नै अग्रपंक्तिमा थिए र पार्टी गठनमा पनि। प्रशान्तभूषणले त पार्टी गठनमा घोषितरूपमै १ करोड भारु दान दिएका थिए। नीतिगत असहमति व्यक्त गरेपछि उनलाई केजरीवालले बाहिरको बाटो देखाइदिइहाले। योगेन्द्र यादव पनि केजरीवालको निरकुंश शैलीको शिकार भए। सरकार र पार्टीको नेतृत्व एकै व्यक्ति हुनु हुँदैन भनेपछि उनलाई निष्कासन गरियो। राज्यसभामा पुग्न इच्छुक आन्दोलनदेखि साथै रहेका डा. कुमार विश्वासको सट्टा व्यापारी सुशील गुप्तालाई रोजेपछि उनले पनि चित्त दुःखाएर पार्टी छाडे। 

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को प्राध्यापक हापेका आनन्दकुमारले पनि सन् २०१४ को लोकसभा चुनावमा दिल्लीमा सम्मानजनक मत त पाए, धेरै टिकेनन्। “हामी त एउटा स्वच्छ राजनीति परिकल्पना गरी आप बनाएका थियौँ,” आपको हारपछि उनी भन्छन्, “अरविन्द त तिमीहरूको जस्तो आदर्शवादी कुराले पार्टी चल्दैन पो भन्न थाले।”

सन् २०१८ मा पार्टीबाट अलग्गिएदेखि नै केजरीवालको कटु आलोचक रहँदै आएका कुमार विश्वासले त आप र केजरीवालको हारलगत्तै ‘देशका करोडौँ मान्छेका सपनाको हत्याराले सानो दण्ड मात्रै पाएको छ’ भन्दै प्रकृति र नियतिको प्रमुख दण्ड बाँकी नै भएको बताए। “करोडौँ मान्छेले देखेको वैकल्पिक राजनीतिको मिठो सपना एउटा आत्ममुग्ध, नीच, असुरक्षित, अविश्वसनीय र चरित्रहीन व्यक्तिले आफ्नो आत्ममुग्धताको चक्करमा हत्या गर्‍यो,” उनले भनेका थिए। 

पार्टीमा चुनौती दिनसक्ने अनुहारहरूलाई पार्टी छोडाएर भक्तजनहरूलाई नेतृत्वमा स्थापित गराई उनले केजरीवाल एन्ड कम्पनीमा रूपान्तर गरे। 

शराब घोटालामा जेलमै पुग्दा पनि मुख्यमन्त्री पदबाट राजीनामा नगरी हदै गरे। अग्रिम जमानत नदिएको अदालतले थुनिइसकेपछि जमानत दिएन, तैपनि उनले जेलबाटै मुख्यमन्त्री चलाए। जेलबाट सरकार चलाउन सम्पर्क सूत्रका रूपमा काम गर्न श्रीमती सुनिता केजरीवाललाई अघि सारे। पार्टीका सभा/र्‍यालीहरूमा श्रीमती नै अघि सरेको देखियो। परिवारकै सदस्यलाई राजनीतिक उत्तराधिकारी बनाउने भारतीय राजनीतिको विडम्बनालाई अघि बढाउँदै उनले श्रीमतीलाई राजनीतिमा अघि बढाउन खोजे। राजनीति नै बदल्न भन्दै आएका उनी अन्ततः शतप्रतिशत पुरानै पाराका नेता देखिए। सर्वोच्च अदालतबाट जमानत पाएपछि चाहिँ उनले राजीनामा गरी मन्त्री आतिशी सिंहलाई मुख्यमन्त्री बनाए।

“जेल जानु परेपछि उनले मुख्यमन्त्रीबाट राजीनामा गरिहाल्नु पर्थ्यो,” बिहारमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोर भन्छन्, “जेलबाटै शासन चलाइसकेको मुख्यमन्त्रीले जमानत पाएपछि बरु राजीनामा नगरेको भए हुन्थ्यो।”     

यस्तो पनि
पृष्ठभूमीमा डा. भीमराव अम्बेडकर र भगत सिंहको तस्वीर छ। अम्बेडकर, जो दलित उत्पीडनको मुद्दामा महात्मा गान्धीको समेत निर्मम आलोचनक रहे। जात व्यवस्थालाई प्रश्रय दिने हिन्दू धर्म नै परित्याग गरी बौद्ध धर्मावलम्बी बने। भगत सिंहले फासीको फन्दा रोजे, माफी मागेनन्। कोठामा एउटा कुर्सीमा नवनियुक्त मुख्यमन्त्री आतिशी छन्, सँगै अर्को कुर्सी खाली छ। खाली कुर्सी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले प्रयोग गरेको कुर्सी हो।

“जसरी भरतले भगवान श्रीरामचन्द्रको खराउ राखेर १४ वर्ष अयोध्याको शासन चलाए त्यसैगरी आउने चार महिना म दिल्लीको मुख्यमन्त्री चलाउने छु,” अक्सफोर्ड विश्वविद्यालयमा दीक्षित मुख्यमन्त्री आतिशी टेबुलभरि बुम राखेर उपस्थित पत्रकारहरूसमक्ष  भन्छिन्, “फेब्रुअरीमा हुने चुनावमा दिल्लीका जनताले आफ्नो प्यार, आशीर्वादका साथ केजरीवाललाई कुर्सीमा बसाउने विश्वास छ।” खाली कुर्सी देखाउदै त्यतिन्जेल उक्त कुर्सी त्यही कोठामा अरविन्द केजरीवालको प्रतीक्षामा रहने पनि उनले बताइन्।

भारतमा त्यस्ता दृश्य नौलो थिएनन्। आतिशीले कुर्सीमा मात्रै नबस्ने भनेकी थिइन्, तामिलनाडुका पनिर सिल्भमले त बफादारीको नयाँ मानक ठड्याएका थिए। मुख्यमन्त्री जयललिताविरुद्ध सन् २००१ मा जग्गा घोटालाको मुद्दा लागेपछि ६ महिनाका लागि र सन् २०१४ मा आयभन्दा बढी सम्पत्तिको मुद्दामा अदालतले दोषी ठहर्‍याएपछि आठ महिनाका लागि मुख्यमन्त्री भएका पनिर सिल्भम त कुर्सी मात्रै होइन कि मुख्यमन्त्रीको कार्यकक्षमै बसेनन्। क्याबिनेट बैठकमा बस्दा उनको दाहिने अघिल्तिर जयललिताको तस्वीर छुट्दैनथ्यो। मुख्यमन्त्री रहँदा राज्य विधानसभामा जयललिता बस्ने कुर्सीमा बसेनन्, नै उनी बोल्ने माइकको छेउतिर छुट्टै माइक जडान गराई त्यही प्रयोग गरे।

६ महिना मुख्यमन्त्री भई जयललिताको वापसीपछि उनकै क्याबिनेटमा विभिन्न मन्त्रालय सम्हालेका सिल्भमले अर्थमन्त्रीका रूपमा बजेट पेश गर्दा बजेटको ब्रिफकेशमा जयललिताको फोटो टाँसे। 

निम्नमध्यम वर्गीय परिवारबाट उदाएका थिए सिल्भम विख्यात शिक्षण संस्थाको प्रमाणपत्रधारी थिएनन्। आतिशीका बाबु विजय सिंह र आमा तृप्ति वाही दिल्ली विश्वविद्यालयका प्राध्यापक। माक्र्सवादी–लेनिनवादी अभिभावकले आतिशीको थर नै सिंहको सट्टा मार्लेना (माक्र्सवादी–लेनिनवादीको छोटो रूप) राखिदिएका थिए। ‘राजनीतिमा आएपछि मान्छे मेरो कामको चर्चा गरुन्, न कि थरको’ भन्दै आतिशी मात्र लेख्न थालिन्। भारतको अब्बलमा दरिने स्प्रिङडेज स्कुल, सेन्टस्टिफिन कलेज (दिल्ली विश्वविद्यालय) त पढिन् नै, विश्वविख्यात अक्सफोर्ड पढिन्, सिभनिङ र रोड छात्रवृत्ति पाएकी थिइन्। संसारकै उत्कृष्टमध्येमा दरिने छात्रवृत्ति पाई उस्तै ठानिने शिक्षण संस्थामा अध्ययन गरी राजनीति नै बदल्छु भनेर हाम्फाले पनि सारमा मात्र होइन रूपमै पनि फरक देखिइनन् आतिशी।

“भरतले अयोध्याको शासन चलाएजसरी त भनिन्,” पत्रकार राहुल श्रीवास्तवले टिप्पणी गरेका थिए, “रामचन्द्रले रिमोट कन्ट्रोलबाट शासन चलाएका थिएनन्।” 

पत्रकार संकेत उपाध्यायले प्रश्न गरेका थिए, “यो त संवैधानिक पदको अपमान होइन र?”

यो हदको चाकरीयुक्त बफादारी प्रदर्शन गरेकी आतिशीले आपबाटै राज्यसभामा पुगेकी स्वाती मालिवाललाई केजरीवालका पीएले हातै छाडेको विवादमा पनि हातपात गर्नेलाई जोगाउन पत्रकार सम्मेलनै गरेर स्वातीको खेदो खनेकी थिइन्। 

अनि नेपालमा 
नेपालमा पनि विवेकशील पार्टीले शुरू गरी डा. बाबुराम भट्टराईसमेतले अघि बढाएको वैकल्पिक राजनीतिको बहस आम आदमी पार्टीको सन् २०१३ मा उदयसँगै घनिभूत भएको थियो। पत्रकारहरूले पनि स्टोरी, विचार र सामाजिक सञ्जालमार्फत त्यस्तो राजनीतिक स्टार्टअप बन्न उत्प्रेरित गरेका थिए।
उतिबेलै कान्तिपुरमा लेखेको स्टोरीमा प्राध्यापक कृष्ण खनालले दलहरू सुध्रिने सम्भावना क्षिण भएकाले नेपालमा आप टाइपको स्टार्टअपको सम्भावना औँल्याएका थिए। दिल्लीमा आशलाग्दो कार्यसम्पादन भए नेपालमा पनि यस्तो पार्टीको सम्भावना बढेर जाने उनको विचार थियो। त्यतिबेला कांग्रेस केन्द्रीय सदस्य रहेका गगन थापाले त कार्यशैली परिवर्तन नगरे नयाँ आउनेहरूले पुरानालाई बढारिदिने भनेर केन्द्रीय समितिमै बोलेका थिए।

“एमालेलाई आम आदमीजस्तै बनाउन प्रयत्नरत छु,” एमालेका तत्कालीन नेता घनश्याम भूषालले भनेका थिए, “नसके आफै अघि सर्छु।”

आपको सफलताको छायाँ यता पनि नपरेको हैन। २०७४ सालको स्थानीय चुनावमा काठमाडौँ महानगरको मेयर पदका लागि विवेकशील पार्टी र साझा पार्टीका उम्मेवार रञ्जु दर्शना र किशोर थापाले उल्लेख्य मत पाएका थिए। केही महिनापछि भएको आमचुनावमा चाहिँ वैकल्पिक राजनीतिको ब्रान्ड चलेन। बामगठबन्धनको बहुमत प्राप्त सरकार बनाउने जनइच्छाको अगाडि वैकल्पिक राजनीतिको ब्रान्डले बजारमा पानीधरी मागेन। 

बहुमतको सरकारको राग पनि बेसुरा नै रहेछ, केही नाप्न नसक्ने रहेछन् भन्ने चाल पाएपछि मतदाता बल्ल वैकल्पिक भनिएका उम्मेदवारतिर लोभिएको देखियो। स्थानीय चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङको जितले कथित वैकल्पिक राजनीतिको जग बसायो। आमचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त उपस्थिति जनायो।

“सडकमा मुद्दा उठाएजस्तो हुनेछैन सत्तामा पुगेर डेलिभरी गर्न,” आपको पहिलो सफलता (सन् २०१३) लगत्तै डा. रामशरण महतले तत्कालीन ट्विटरमा पोष्ट गरेका थिए, “आपको भविष्य चाँडै निर्धारण हुनेछ।”

आप, केजरीवाल र तिनको नेतृत्वमा देखिएकै पारा यहाँ पनि देखिइसकेको छ। वा भविष्यमा देखिने नै छ। केजरीवाललाई उनकै पूर्व सहकर्मी र भाजपा आलोचकहरूले लगाउने आरोप– उनी स्पष्ट छैनन्। भाजपाको विरोध त गर्छन्, तर हनुमानभक्त देखिएर ऊभन्दा चर्को हिन्दू भएको प्रमाण पेश गर्न खोज्छन्। “धर्मनिपरपेक्षता, अल्पसंख्यकलाई बराबरी अधिकार, आरक्षण आदि मुद्दामा राहुल गान्धी जति स्पष्ट छन्, अरविन्द त्यति नै अस्पष्ट,” गान्धीको भारत जोडो यात्रामा गान्धीसँगै पैदल हिँडेका योगेन्द्र यादव भन्छन्। 

यहाँका नयाँहरूमा यस्तै केजरीवाल प्रवृत्ति सुनिन्छ। संघीयता, धर्मनिरपेक्षता आदि मुद्दामा स्पष्ट छैनन्। उनीहरू न संविधानको विरोध गर्न सक्छन् न संविधानबाट प्राप्त संघियता, धर्मनिरपेक्षताको समर्थन गरी सामाजिक सञ्जालमा व्याप्त आफ्ना समर्थक गुमाउन नै चाहन्छन्।

केजरीवालका लागि भनिएका आत्ममुग्ध, अहंकारी, अलोकतान्त्रिक र निरकुंश चरित्र यहाँका नयाँहरूमा पनि छरपष्ट देखिन्छन्। तिनका दायाँबायाँ देखिनेहरूमा आतिशीको खडाउ प्रवृत्तिले भरिभराउ सुनिन्छन्। नेताहरू पक्राउ पर्दा आपबाट राज्यसभा पुगेका राघव चड्ढा (लन्डन स्कुल अफ इकनोमिक्स पढेका) महिनौँ बेलायततिर बरालिए, स्वाती मालिवाल अमेरिकातिर अल्झिइन्। 

नेता संकटमा अनि पार्टीको भविष्य अन्योलमा देखिँदै गर्दा आफ्नो जहाज परिवर्तन गर्ने मुसा प्रवृत्ति यहाँ पनि देखिने नै छ। रवि लामिछाने मुद्दामामिलामा अल्झिएपछि रास्वपाको भविष्य अन्योलपूर्ण देखेर बालेनतिर सम्बन्ध बढाउन खोजिरहेकाहरू अलिपछि छरपस्ट हुने नै छन्।

नेपाली समाजमा पीएचडी, विदेशको नामचिन विश्वविद्यालयका साथै नयाँ/युवा पनि बिक्ने वस्तु हुन्। नयाँ/युवा देख्नेबित्तिकै तिनलाई पत्याइहाल्ने पंक्ति ठूलै छ। ‘कर्मचारीतन्त्रमा युवाहरू देखिँदा, आश जाग्यो’ टाइपको टिप्पणी सुनिन्छ। तर तिनका गफ सुनेर होइन काम, आचरण पहिल्याउन थाल्ने हो भने उल्टो सुनिन्छन्। 

सम्भावित सुखसयल मात्रै होइन ज्यानकै बाजी लगाई देश, जनता, प्रजातन्त्र, लोकतन्त्र भनेर हिंडेकाहरूको नेतृत्वमा देश, तिनका दल, शासनको हविगत यस्तो छ। नयाँ भनिएका धेरैजसो अनेकन कमाउधन्दामा छन्। कर्मचारीतन्त्रमा त्यस्तै छ। अहिले नेतृत्वमा रहेकामध्ये जागिरको शुरूआतीचरणमै लाउन्जमा बसेर उच्चकोटीको मदिरा पिउने, छुट्टी मनाउन थाइल्यान्ड, भियतनाम वा युरोप/अमेरिका जाने सपना साँचेको पुस्ता होइन, कालान्तरमा तिनको ताल देखिइहालियो/देखिँदैछ। 

अहिले कर्मचारीतन्त्रमा छिरेका/छिरिरहेकामा त जागिरको शुरूआतदेखि माथि उल्लेखित सुखसयल भोग्न प्रयत्नरत रहनेको बाहुल्य छ। कर्मचारीतन्त्रमै रहेका उपल्ला तहका अधिकारीहरूको कुरा मान्ने हो भने ती अधिकांशमा लामो समय जागिर खाने धैर्य पनि छैन। “उनीहरू केही वर्ष काम वा विदेश अध्ययन गर्न पाए अन्तर्राष्ट्रिय जागिरमा छिर्ने, विदेशमै माइग्रेट गर्ने योजनामा छन,” एक जना सचिव सुनाउँछन्, “चाँडचाँडै सम्पत्ति पनि जोडिहाल्ने हतारोमा पनि छन्।”

राजनीतिमा आएका नयाँहरूमा (सबैमा भनेको हैन) कुमार विश्वासले अरविन्द केजरीवाललाई आरोपित गरेझैँ आत्ममुग्धता, अहंकार, अलोकतान्त्रिक, असुरक्षित कृतघ्न चरित्रयुक्त पनि देखिन्छ। साइबर सेना बनाउन लगाएर सामाजिक सञ्जालमा आलोचना गर्नेको बोल्ती बन्द गर्न ती तत्पर छन्। के बोल्दा भ्युज/लाइक्स पाइन्छ भन्नेमा जानकार छन्। फेसबुकमा बिरामीको हातमा एउटा कोसो केरा थमाएर फोटो खिचेको पोष्ट घुमिरहेको हुन्छ। एउटा कोसो केरा थमाएर प्रचारमा जोड गर्ने प्रवृत्ति नयाँ र युवाहरूमा देखिन्छ– काम कम प्रचार ज्यादा। संस्था बलियो बनाउने, प्रणाली बसाउने, कार्यशैलीमा परिमार्जन गर्नेमा तिनको कुनै जाँगर छैन, ढंग त जाँगर भएपछि आउने कुरा भयो। तैपनि पुराना बढी खराब कि नयाँ बढी खराब भन्ने ठोकुवा गर्नचाहिँ अनुसन्धानै हुनपर्छ वा केही कुर्नपर्छ। बहसचाहिँ थालौँ।

(उकालोमा प्रकाशित विचार सामग्री लेखकका निजी हुन्।)