हामी निराश हुने कि आशावादी?

नेपालको पर्यटकीय मौसमअनुसार पुस खासै पर्यटक भित्रिने समय होइन, तर यो हदको शून्यता हुँदैनथ्यो। यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ– विश्वमै जारी आर्थिक मन्दी।

‘नेपाल बरबाद भयो,’ एकथरी भन्छन्। ‘नेपालको अवस्था राम्रो छ। गलत भाष्यले मात्र कुरा बिग्रेको हो,’ अर्कोथरी भन्छन्। तर अहिले चलेको निराशाको चर्चाको एउटै आयाम मात्र हेरेर पुग्दैन। नेपालको वर्तमानलाई अनेक आँखीझ्यालमा हेर्नुपर्छ। 

एउटा गीतले भन्छ:
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमी छ
फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ।

जोगी आउँछन् हजुर देवताको भेषमा 
जनताभन्दा हजुर नेता छन् यो देशमा
फुल फुलेर के गर्नु…..पिरै पिरमा छ।

एउटै डर हजुर लाग्दैछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देश पनि
फूल फुलेर के गर्नु…..पिरै पिरमा छ।

एयरपोर्टमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी
फूल फुलेर के गर्नु…..पिरै पिरमा छ।


गत वर्ष सामाजिक सञ्जालमा ‘भाइरल’ यस गीतमा कुनै समसामयिक विषय छुटेका छन् र! गीतमा वर्तमान नेपाल प्रतिबिम्बित छ। तर जिन्दगीमा उत्साह भर्दै अर्का सर्जक यसो पनि भन्छन्,

संघर्ष हो जीवन, जीवन संघर्ष हो।
जीवनदेखि थाकेर बस्छु नभन,
जीवनदेखि हारेर मर्छु नभन।

नेपाली समाजमा साँच्चिकै निराश छ? निराशा छ भने किन? निराश छैन भने किन? कतै नेपालमा भनिएको निराशा कसैबाट सिर्जित त होइन? दुई महिनायता यिनै प्रश्नले हिर्काएको हिर्काई छ।

***

पुस ९ गते, घुम्न सपरिवार ठमेल पुगेका थियौँ। संयोगले त्यस दिन क्रिसमसको अघिल्लो साँझ परेको थियो। अनपेक्षित थियो ठमेलको माहौल, पश्चिमा पर्यटकको उपस्थिति एकदमै कम थियो। पंक्तिकारले ३५ वर्षयता चिनेका आधा दर्जन साथीभाइ छन् ठमेलमा। हस्तकला, प्राचीन कलावस्तु, हिमाल आरोहण र पैदलयात्रामा जानका लागि सामग्री बेच्ने र चमेनागृह चलाउने व्यापारी हुन् ती। सोधेँ, ‘ठमेलको माहौल आजको साँझ किन शून्य?’ साथीको जवाफ थियो, ‘कोभिडकालको कुरै नगरौँ, ठमेलमा पर्यटकको यस्तो शून्यता कुनै पनि क्रिसमसको अघिल्लो साँझ देखिएको थिएन।’

नेपालको पर्यटकीय मौसमअनुसार पुस खासै पर्यटक भित्रिने समय होइन, तर यो हदको शून्यता हुँदैनथ्यो। यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ– विश्वमै जारी आर्थिक मन्दी। नेपाल घुम्न चाहने पश्चिमा पर्यटकको गोजी रित्तो छ। प्रायः इसाईहरू आफ्नै नातागोता र आफन्तकै समीप मनाउँछन् आफ्ना प्रमुख चाडमा। जे भए पनि पश्चिमा पर्यटकसमेत चरम महँगी र मन्दीकै कारण खुम्चिएका छन्। संसारका सबैजसो धनी देशका नागरिक मन्दी र महँगीले अत्तालिएका छन्। अमेरिकाको बोस्टोनमा रहेर सूचना प्रविधिमा काम गरेर राम्रै आम्दानी गर्ने अजय खतिवडा चरम महँगीले दिक्क मान्दै सामाजिक सञ्जाल एक्समा पोखिए, ‘महँगीले आकाश छोयो, ट्रम्प सरकार, राजीनामा दे।’ अस्ट्रेलियाको सिड्नी बस्ने मदनमणि अधिकारीले सहमति जनाउँदै भने, ‘अस्ट्रेलियामा पनि महँगी डरलाग्दोसँग बढेको छ।’ नेपालमा पनि मन्दी र महँगीले सबै अत्तालिएका छन्। 

ढुकुटीले ‘सुकुटी’
–मध्यपुर थिमिका प्रकाश बोगटी(४४)ले एक दशकअघि ढुकुटी खेलेर पैसा डुबेपछि प्राण त्याग गरे।
–पूर्वी पहाडका चर्चित पूर्वमन्त्रीकी लिम्बूपत्नीले ढुकुटीमा लाग्नाले उनको परिवार लगभग सडकमै आइसकेका छन्।
–उर्वशी परियार (३५)को फेन्सी पसल, थानका कपडा पसल र टेलरिङ राम्रै चलेको थियो। भक्तपुरमा एकतले सानो घर थियो। ढुकुटीले परियारको घरपरिवार डुब्यो।
–झापा दमकका वसन्त अधिकारी (४५)लाई ढुकुटीले ‘धोती न टोपी’ बनायो। भक्तपुरमा रहेको तीनतले घर बेचेर पनि ढुकुटीबाट उम्कन सकेनन्।
–भक्तपुरमै स्टुडियो चलाइरहेकी मन्दीरा राई (४५)ढुकुटीकै कारण आर्थिक रूपमा ‘सुकुटी’ भइन्। अहिले पनि ऋण तिर्दै छिन्।
–झापाका विष्णु घिमिरे (५५)ले भक्तपुरको आफ्नो साढे दुईतले घर र दुई वटा कपडा पसल बेच्दासमेत ढुकुटीको मिटरब्याजी ऋण तिर्न नसकी सपरिवार जापान गएको दशक नाघिसक्यो।
–इलामकी कमला अधिकारी (३७)को काठमाडौँको पाँचतले घर ढुकुटीले गर्दा नासियो। सपरिवार कमला अस्ट्रेलिया गएको सात वर्ष हुन लाग्यो।
–काठमाडौँकी मेनका थापा (४३)को एकतले घर ढुकुटीले खोस्यो। उनी सडकमा पुगिन्।
–काठमाडौँ निवासी सुरवीर खड्का (५८)को नाममा चार वटा घर र धेरै रोपनी जग्गा थियो। छिटै खर्बपति बन्ने लोभले लागे ढुकुटीतिर लागेका उनको अहिले ओठमुख सुकेको छ।
–रौतहटका कुमार शर्मा (४५) र उनकी पत्नीलाई विना मिहिनेत करोडपति बन्न मन लाग्यो। पैतृक सम्पत्तिको रूपमा रहेका जग्गा सबै ढुकुटीले सिद्ध्यायो, अहिले जसोतसो ऋण तिर्दै छन्।
–काठमाडौँका रैथाने गोमा शर्मा (४३)लाई पनि धनी बन्ने भोकले ढुकुटी पुर्‍यायो। ढुकुटीले लागेको ऋण तिर्न उनले कति जग्गा बेचिसकिन्। चेक अनादरको मुद्दामा कैयन पटक प्रहरीको खोर परिसकिन्।
–शर्माकै थातथलो नजिकका जीवन शर्मा (५२) ढुकुटीमा लागे। उनले ढुकुटीकै कारण आफ्ना धेरै जग्गा बेचे। आफ्नो अगुवाइमा सञ्चालित एउटा सहकारीको बचत रकम हिनामिना गरी शर्मा बेपत्ता छन्।

आमाको थुन चुसेर भएन, बुवाको घुँडा चुसेर हुन्छ त? ढुकुटी नामको अवैध आर्थिक कारोबार बाउको घुँडो थियो।

ढुकुटीको मारमा परेका माथिका केही दृष्टान्त मात्र हुन्, ‘ढुकुटीबाट सुकुटी‘ बन्नेहरूको व्यवस्थित तथ्यांक कतै छैन। नेपालमा सबै विषयको व्यवस्थित तथ्यांक प्रणाली नै छैन। तर ढुकुटीकै कारण सकसपूर्ण जीवन बाँचिरहेकाहरूको संख्या अहिले पाँच लाख जति हुनुपर्छ। अनेक तथ्यांकका आधारमा निकालिएको नितान्त व्यक्तिगत अनुमान हो यो।

दुःख पाइस् मंगले 
एकताका को चाहिँ लागेको थिएन नेपालमा घरजग्गा कारोबारमा? ठूला रियल इस्टेटदेखि सामान्य परिवारका युवा र प्रौढसम्म। स्थानीय तरकारी–चिया पसलेदेखि निर्माण व्यवसायीसम्म। बैंकका कार्यकारी प्रमुखदेखि, सहकारी र लघुवित्तमा हालीमुहाली गर्नेसम्म, नेपालका धनाढ्यदेखि निम्न मध्यम वर्गसम्म सबै यस धन्दामा थिए। ‘माटोमा रोपेपछि फल्छ’ भन्दै उल्लेख संख्यामा यस कारोबारमा होमिएका थिए।

संसारलाई नै कुरीकुरी गर्नेगरी केही साल अघिसम्म नेपालमा घरजग्गाको कृत्रिम कारोबार यति बढ्यो, भनिसाध्य छैन। लस एन्जलस, लन्डन, न्युयोर्क, टोरोन्टो, टोकियो, मुम्बई, न्यु दिल्ली, ओस्लो, कोपेनहेगन, पेरिस, बर्लिन, सिओल, ताइपेइ र हङकङजस्ता व्यस्त, सुरक्षित अनि स्वास्थ्य सुविधा, रोजगारी र अनेकौँ सामाजिक सुरक्षा भएका ठूला शहरभन्दा काठमाडौँ उपत्यकाभित्र घरजग्गाको मूल्य महँगो थियो। त्यसको प्रभाव देशका अन्य शहरी क्षेत्रमा पनि सर्‍यो।

त्यो अवस्था अझै छ। यस्तो स्थिति सिर्जना हुनुमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले अपनाएको गलत ऋण प्रवाह नीति नै थियो। जसले अनुत्पादक क्षेत्रमा बेपरवाह ऋण प्रवाह गरेको थियो, किनभने यो कृत्रिम कारोबारमा नेपालका राजनीतिक दलका नेतालगायत ‘धन बनाउन खोज्ने’ सबका सब लागेका थिए। राष्ट्र बैंकको तथ्यांकअनुसार गत डिसेम्बरसम्म घरजग्गामा मात्र दुई खर्ब ७७ अर्ब ३४ करोड रुपैयाँ लगानी भएको देखिन्छ।   

यसरी हेर्दा नेपालका ठूला लगानीकर्ता, कारोबारी, जग्गा दलाली, लेखनदास, मालपोत र नापीमा काम गर्ने कर्मचारी गरेर करिब १५ लाख मानिस घरजग्गाबाट प्रभावित हुनुपर्छ। मन्दीका कारण यतिखेर घरजग्गा कारोबार लगभग ठप्प छ।

यथार्थमा, नेपालको घरजग्गा कारोबार हिजो कृत्रिम थियो र अहिले पनि कृत्रिम नै छ। त्यसैले यसको मूल्य पनि सधैँ कृत्रिम रह्यो। यो कारोबारले करिब १५ लाख नेपालीको हालत आर्थिक झन्झट र संकटकै कारण भिरमा फलेको फर्सीझैँ भएको छ। फर्सी टिप्न जाऊँ, लडेर मरिएला भन्ने डर। झटारो हानेर फर्सी झारौँ, फर्सी भिर मुन्तिर पुगेर फुट्ला र केही पनि हात नलाग्ला भन्ने डर। फर्सीलाई भिरमै छोडिदिऊँ त त्यसै कुहिएर कामै नलाग्ला भन्ने डर।

अब जाऊँ समस्याको अर्को पहाडतिर।   

दशा बाजा बजाएर आउँदैन
ग्रामीण भेग र शहरका जनताले आशा भरोसा गरेका सहकारी संस्थामा झनै महासंकट देखियो। नेपालभर ३१ हजार ३७३  सहकारी छन्। संघीय सांसद सूर्य थापाको नेतृत्वमा जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समिति बन्यो। त्यसको प्रतिवेदनअनुसार ४० वटा सहकारीबाट ८७ अर्ब ८९ करोड रुपैयाँ अपचलन भएको छ।

सर्वसाधारणले खाई नखाई बचत गरेको अर्बौं रकम ठगी गर्ने सहकारी सञ्चालकले विदेशमा विलासी जीवन बिताई मध्यम, निम्न मध्यम र दैनिक गुजारामा बाँचेका बचतकर्तालाई घरको न घाटको बनाएका छन्। समितिले ४० सहकारीको ८७ अर्ब ८९ करोड अपचलन भएको निष्कर्ष निकालेको छ। २२ ओटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोड बचत रकमसहित ८७ अर्ब ८९ करोड रुपैयाँ दायित्व देखिन्छ। ऋण उठाउनुपर्ने ब्याज, अन्यत्र गरिएको लगानी र गैरबैंकिङ सम्पत्तिको उठ्ने आधार भने कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले ‘देशभरिका ७३ लाख ८० हजार सहकारी सदस्य र बचतकर्ताको ४ खर्ब ८० अर्ब रुपैयाँ परिचालनमा समस्या आउन सक्छ’ भनेको छ।

सहकारीका मनोमानी वर्णन गर्नै नसकिने गरी जारी छ, यद्यपि देशैभरका सहकारीमा समस्या आएको होइन। सहकारीको उद्देश्य, सिद्धान्त, मूल्य र मान्यतामा अडिग भएका संस्थामा कुनै समस्या देखिँदैन। सहकारीको बेलगाम मनपरीतन्त्र हुनुमा राष्ट्र बैंकको प्रणालीभित्र अनुगमन, सुपरिवेक्षण र निरीक्षणभित्र बचत तथा ऋण सहकारी नसमेटिनु प्रमुख कारण थियो। त्यसबाहेक बलियो र प्रभावकारी अनुगमन गर्ने निकाय नहुनु अर्को कारण थियो। राज्य र सरकारका तर्फबाट गम्भीर गल्ती त भई नै सक्यो। आखिर नेपालको राजनीतिक दल र नेताहरू ‘फोहोर गरेपछि दैलो देख्ने’ कुलतमा वर्षौंदेखि छन्। ‘नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ, चिनेको मान्छेभन्दा किनेको नै काम लाग्छ, यहाँ पैसै ठूलो छ’ मा भनिएझैँ सरकार र राजनीतिक दलले सहकारी समस्या बेलैमा सम्बोधन गर्नु साटो आर्थिक अपराध गर्नेहरूलाई काखी च्याप्दा यो महासंकट जन्मेर हुर्केको हो। 

तथ्यांक केलाउँदा सहकारीमा बचत गरेर मर्कामा पर्ने जोखिममा सदस्य १० लाख देखिन्छ।

शेयर: रुनु कि हाँस्नु?
पुस मसान्तसम्मको विवरणअनुसार नेपालको शेयर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बराबर छ। नेपालमा सूचीकृत तथा कारोबार हुने कम्पनी २९७ र म्युचुअल फन्डसहित कुल ३३४ कम्पनी छन्। ५६ लाख नेपालीले डिम्याट अकाउन्ट प्रयोग गरेर शेयर कारोबार गर्छन्, यसमध्ये १५ लाख शेयर कारोबारी सक्रिय छन्। तर लगभग एक हजार ठूला शेयर कारोबारीले शेयर मूल्य तलमाथि गर्न नियमित चलखेल गर्छन्। एक हजार ठूला शेयर कारोबारी मनग्गे पैसा कुम्ल्याएर तर मारिरहेका छन्, तिनलाई शेयरको ‘तर मारा’ वर्गमा राख्न मिल्यो। सक्रिय १४ लाख ९९ हजार शेयर कारोबारी भने शेयरको मूल्य घटेका कारण तनावमा छन्। 

यस्तो हनुमा अर्थमन्त्रीपिच्छे नै शेयर धितोको सिलिङ तोकिनु हो। यसलाई नियमन गरेर शेयर धितो राखेर लिन सक्ने ऋणको सीमा घटाएर यथार्थपरक गर्ने हो भने शेयर कारोबार र सूचकांक अस्वाभाविक रूपमा घट्न सक्छ। जारी कारोबार कृत्रिम भएकाले ऋणको रकम सीमा तर्कसम्मत, यथार्थपरक र जनहितलाई ध्यानमा राखी घटाउनेबित्तिकै नेपालमा यथार्थवादी शेयर कारोबार हुन्छ। अर्थमन्त्रीपिच्छे तय हुने शेयर धितोको सिलिङले नै शेयर क्षेत्रको कारोबार बरबाद भएको ‘ओपन सेक्रेट’जस्तै हो।

न घरबार न रोजगार
चुनावको बेला सबै दलले आफ्नो घोषणापत्रमा रोजगारी दिने कुरा उल्लेख गर्छन्। तर कुनैले पनि रोजगारी सिर्जना गर्ने मुद्दालाई मतलब गर्दैनन्। लोकसेवा आयोग, नेपाल प्रहरी, नेपाली सेनालगायत अन्य निकायको बिरलाकोटी निस्कने विज्ञापनमै उनीहरू खुशी देखिन्छन्। ससाना कुरामा अल्झिएर बस्छन् पटके सरकार।

भन्नै नपर्ला, रोजगारीको मुद्दा नेपालमा सबैले बेवास्ता गरेर रछ्यानमा फालेका छन्। फलतः १८–४० उमेर समूहको नेपाली मिलेर र पाएसम्म बिदेसिन चाहन्छन्। जागिर छोड्दै विदेश हिँड्ने सैनिक, प्रहरी र स्वास्थ्यकर्मीहरूको संख्याले पनि त्यसलाई पुष्टि गर्छ। नेपालमा कार्यरत स्विस संस्था हेल्बिटासका अनुसार एक दिनमा १५ सयदेखि ३ हजार नेपाली रोजगारी, शिक्षा र उच्च जीवन यापनका लागि देश छाडिरहेका छन्। 

विदेशबाट नेपाल आउने हवाईजहाजमा बाहिरबाट फर्किने नेपाली टन्नै हुन्छन्। उसो त पहिले पनि पैसा कमाउन नेपाली विदेश जान्थे। अहिले नेपाल फर्कनेहरूको यकिन तथ्यांक अध्यागमन विभागसँग छैन। समस्या यहीँनेर छ।

अब जाऊँ विदेशतिर बसिरहेका नेपाली नियाल्न। 

यो मन त मेरो नेपाली हो 
‘लाहुरे हुन नजाऊ है अब त, खेर गयो नेपाली रगत।’

यो गीत नेपालका वामपन्थीहरूले आफ्ना कार्यक्रममा धेरै पटक गाए होलान्। जन्मभूमिमै बस्ने, रोजगारी सिर्जना गर्ने र नेपाल बनाउने अभीष्ट थियो गीतमा। कता गए त्यस्ता राष्ट्रप्रेमी उद्देश्य? कहाँ भयो त्यसअनुरूपको नीति र कार्यान्वयन? अहिले त झन्डै आधा जति नेपाली बिदेसिन बाध्य छन्। करले वा रहरले कहाँ पुगेका छैनन् नेपाली?

१० वर्ष क्यानडा बसेर नेपाल फर्केको पंक्तिकार दुई वर्ष अध्ययनका लागि अस्ट्रेलिया बस्यो। अहिले झन्डै १११ वटा देश पुगेका छन् नेपाली। तीमध्ये धनी वा मध्यम धनी देश पुगेका नेपाली फुर्सद हुँदा शुक्रबार, शनिबार वा आइतबार प्रायः भोज गरिरहन्छन्। मदिराको मात्रा अत्यधिक भएपछि तिनमा देशप्रेम प्रलयसँग उर्लेर आउँछ। जादुझैँ नेपाल तत्कालै आफू बसिरहेको देशजस्तै बनोस् भन्ठान्छन्, रक्सीको मादकता थपिँदै जाँदा। त्यसपछि सामाजिक सञ्जाल छिरेर ‘नेपाल खत्तम भो’ भन्न/लेख्न थाल्छन्। त्यो अक्षम्य गल्ती स्वयं पंक्तिकारले क्यानडाको एडमन्टनमा सोमरस पिउँदा धेरै पटक गरेको हो। त्यसो गरेर कसैको चित्त दुखाएको छु भने यही आलेखबाट माफी माग्छु।

सन्तुलित रूपमा ‘झिल्केपानी’ पिउनेमा खासै समस्या हुँदैन। तर अधिक मदिरा सेवन गर्नेहरूले नेपालबारे सामाजिक सञ्जालमा नकारात्मकबाहेक सकारात्मक विषय सामान्यतः कमै लेख्छन् र बोल्छन्। देशलाई नै गाली गर्ने कति छन् कति। जन्मे/हुर्केको भूगोलको के दोष? निश्चित भूगोल मात्र नभई त्यहाँ बस्ने जनता हो मूल रूपमा देश। उसो हुँदा सामाजिक सञ्जालको दुरुपयोगले पनि ‘नेपाल बरबाद वा खत्तम’ छ भन्ने भाष्य बनाउन बल पुर्‍याएको छ।

रित्तिँदो पहाड
पहाडमा नेपालीको बसोबास बाक्लै थियो। दुईचार दिन हिँडेर चाडपर्व मान्न उनीहरू घर जान्थे। नुन, तेललगायत घरेलु सामग्री ढाकर वा डोकोमा कैयन् दिन बोकेर आफ्नो बस्ती पुर्‍याउँथे। विगतमा पहाडमा सहज बाटो थिएन। बिजुली, स्वास्थ्य केन्द्र, यातायात, विद्यालय र प्रहरी चौकीलगायत सुविधा दुर्लभ थिए। गाह्रो-साह्रो भए पनि दुखजिलो गरी पहाडमा मान्छेहरू बस्थे। पहिलेको तुलनामा लगभग सबै सुविधा पुगेको छ पहाडमा, तर नेपाली पहाडका बस्तीहरू लगभग रित्तो हुने अवस्थामा पुगेका छन्। माओवादी 'जनयुद्ध'लाई पनि कतिले यसको कारक मानेका छन्, तर यसका अनेकौँ कारण होलान्, जसबारे गम्भीर अध्ययन आवश्यक छ। 

एक जना ‘पठाओ’ चालकसँग केही पहिले गहिरो संवाद गरेको थिएँ। नीरञ्जन श्रेष्ठ (४७) ले भने, ‘नेताहरूले बाँचुन्जेल नछोड्ने भए। त्यसले पनि निराशा बढेको हो कि!’ कमर्समा प्रवीणता (आईकम) गरेका श्रेष्ठ ५८ सालमा मलेसिया गएर चार वर्ष बसेका रहेछन्। त्यसले खान लाउन मात्र पुगेपछि उनी २०६८ सालमा कतार गई २७ महिना बसेछन्। उनी सुनाउँछन्, ‘कतारको कमाई दुई लाख ५० हजार र बुवासँग दुई लाख ५० हजार लिएरपछि सहकारीबाट ऋण लिएर ट्याक्सी किनेँ। अहिले सबै ऋण तिरिसकेँ। देशमा काम गर्नै धेरै अल्छी गर्ने तर बिदेसिने देखासिकी बढ्यो। त्यस्तो लहरले देश छोड्न नखोज्ने युवासमेत बिदेसिन प्रोत्साहित भए। विदेशमा नेपालभन्दा कति धेरै दुःख छ भन्ने कुरा भोग्नेलाई पो थाहा हुन्छ। देशको राजनीतिले पनि हो नेपाली वाक्क भएका। राजनीतिमा एकले अर्काको विरोधको लागि विरोध मात्र गरेको देखियो। गाउँ रित्तियो भन्दाभन्दै शहरै रित्तिने बेला भइसक्यो।’ 

***
ढुकुटीले सुकुटी भएका, घर-जग्गाको कारोबारले आर्थिक रूपमा जकडिएका, सहकारीमा बचत गरी मर्कामा पर्ने जोखिममा रहेका र शेयर कारोबारमा शेयर मूल्य घटेर रोइरहेका सबैको संख्या जोड्दा कुल संख्या ४५ लाख हुन आउँछ। यो कुल संख्यामा दोहोरो र तेहेरो लगानी गरेका पनि हुन सक्छन्। त्यस हिसाबले कूल संख्यालाई आधी मात्रै ठान्दा पनि २२ लाख ५० हजार नेपाली आर्थिक संकटमा देखिन्छन्। ४५ लाखमध्ये तीन भागको एक भाग मात्र आर्थिक उल्झनमा फसेको ठान्दा पनि १५ लाख नेपाली लगानी र बचतकर्ता आर्थिक संकटमा परेको पुष्टि हुन्छ।

स्मरणीय छ, नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन्, जसमध्ये आठ प्रतिशतले आर्थिक समस्याका परेका हुन्छन्। 

यो कुल संख्या नेपालको मध्यम र निम्न मध्यम वर्गीय परिवारका शिक्षित मानिसहरू नै हुनुपर्छ भन्ने ठानौँ। ती नेपाली नेपाली समाजको मेरुदण्डझैँ हुन। ती १५ लाख नेपालीले जानेर वा नजानेर आफ्नो आर्थिक अवस्थालाई महासंकटमा पारे, जसका कारण कयौँ मानिस अवसाद, तनाव, ऐँठन, दिक्दारी, चिन्ता, र उदासीमा परेका हुन सक्छन्। यहाँनिर खप्तड बाबाको ‘विचार विज्ञान’को याद गराउँछ, जसमा उल्लेख छ, ‘जस्तो सोच्यो, त्यस्तै हुन्छ।’

यो पनि: कति तर्कसम्मत छ खप्तड बाबाको विचार विज्ञान?

आफ्नो आर्थिक महासंकटलाई देशसँग जोड्दै तिनले ‘नेपाल बरवाद भो, देश खत्तम भो’ भन्न थाले। यो कथन एक कान दुई कान हुँदै मैदान भयो। मनोविद् भन्छन्– समस्यामा परेका मानिसले सनैसनै कुनै पनि कुराको दोष अरूलाई लगाउँछन्।

***
यसबीच पंक्तिकार नेपालीको मानसिक स्वास्थ्यको अवस्था खोज्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालय पुग्यो। सन् २०२० मा नेपालमा कोभिडको प्रभाव र असरका कारण उत्पन्न नेपालीको मानसिक अवस्था जान्न गरिएको सर्वेक्षणमा आधारित प्रतिवेदनबाहेक केही फेला परेन।

त्यसपछि एक पूर्वस्वास्थ्य सचिव र वरिष्ठ मनोचिकित्सकलाई नेपालीको राष्ट्रिय मानसिक स्वास्थ्य अवस्थाबारे सोधियो। नाम खुलाउन नचाहेका उनले भने, ‘जनताले मरी-मरी काम गरेर सरकारलाई कर तिर्ने, करले केन्द्र र प्रदेशका ठूलो संख्याका सांसद र मन्त्री पाल्नुपर्ने। रोजगारी कतै छैन, जताततै राजनीति छ। ठूलो धनराशि खर्चेर देश बिगार्ने संविधान बन्यो। महँगी छ। कोही युवा देश बस्न चाहँदैन। यस्तो देशमा आम अवसादबाहेक के हुनसक्छ?’ उनको प्रतिक्रियाको सत्यपानको जिम्मा पाठकलाई छोडौँ। 

माथिका अनेक कथन र तथ्य केलाउँदा नेपालमा १५ लाख मानिस मानसिक स्वास्थ्य समस्याको कुनै न कुनै चरणमा परेका हुन सक्छन्। तर यसकै भरमा सिंगो देश खत्तम भइसक्यो भन्ने भाष्य स्थापित हुन सक्दैन।

कसलाई छैन संकट?
नबिर्सौं, सन् २००७-२००८ मा संयुक्त राज्य अमेरिका गहिरो आर्थिक मन्दीमा परेको थियो। पहिलो र दोस्रो विश्वयुद्धपछि पहिलो पटक करोडौँ करोड अमेरिकी गिर्जाघर, मन्दिर, गुम्बा, गुरुद्वारा, बहाई केन्द्र र विपश्यना केन्द्र नियमित धाउने भएका थिए। अमेरिकालगायत सबैजसो धनी देश अर्काले दिएको ऋणमै आर्थिक संकट धानिरहेका छन्। भर्खरै निर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएडमार्फत विश्वभरि दिँदै आएको सहयोग बन्द गर्नाले पनि अमेरिकी आर्थिक संकटको पनि संकेत गर्छ। 

नेपाल पनि गम्भीर आर्थिक संकटमा छ। त्यसमाथि वैदेशिक ऋण बढ्दो छ, सुशासन कमजोर छ। तर युद्धमा परेर नेपाल बरबाद भएको होइन। प्राकृतिक विपत्तिमा परेर धुलीमाटी भएको होइन। ठूलो रोग र महाव्याधि लागेर नागरिक हताहत भएका होइनन्। सन् १९४३ को बंगालको भोकमरीझैँ भएको होइन यहाँ। हिरोसिमा र नागासाकीमा अमेरिकाले अणु बम फालेर जापानझैँ मटियामेट भएको होइन। बजारमा पहिलेभन्दा मन्दी आएको मात्र हो, तर समय र आँधी उस्तै हो, पक्कै टरेर जानेछ। 

सकारात्मक नजर
२०४६ सालको जनआन्दोलनले पुनः ल्याएको प्रजातन्त्रपछि पश्चिमा जीवनशैली र खुलापनसँग नेपाली बिस्तारै आमनेसामने भए। संसारसँग जोडियौँ हामी। हामी नक्कल गर्न औधी सिपालु मात्रै होइनौँ, दक्षिण एशियाली देशमध्ये एक प्रकारले उदार पनि छौँ। त्यसो हुँदा सुविधायुक्त जीवनशैली, चरम उपभोक्तावादी आदत, घाँटी नहेरी हाड निल्ने बढ्दो चलन र देखासिकी समाजमा बढ्यो। सरल र निर्वाहमुखी जीवन यापन छोडेर सुविधामुखी र फजुल खर्चतिर लागेपछि आर्थिक व्यवस्थापन सहज पक्कै हुन्न। त्यसले पनि कतिको जीवन अत्यासलाग्दो भएको होला।

उसो त नेपालमा विकास र समृद्धिका धेरै कुरा भएका छन्। यस सन्दर्भमा सर्लाहीको सासापुरका समाजसेवी गंगालाल थिङको नेपालको विकासबारे टिप्पणी घतलाग्दो छ, ‘भ्रष्टाचार भएरै नेपालमा विकास भएको हो।’

कति निर्मम र कडा व्यंग्य।

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालमा १८ हजार २४१ किलोमिटर कालोपत्रे, सात हजार ६९७ किलोमिटर खण्डस्मित र आठ हजार ३२९ किलोमिटर कच्ची सडक गरी संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ नै ३४ हजार २७६ किलोमिटर छ। नेपालका सबै जिल्लामा सडक पुगिसकेको छ। संसारसँग जोडिने ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहमा पुगेको छ। देशभर स्वास्थ्य केन्द्र सात हजार ८५८ छन् भने अस्पताल २१५ वटा छन्। प्राथमिक स्वास्थ्य केन्द्र २०१, स्वास्थ्य चौकी तीन हजार ८२० र आयुर्वेदिक औषधालय ४२६ छन्। उपस्वास्थ्य चौकी/आधारभूत स्वास्थ्य केन्द्र तीन हजार १९६ छन्। सबै अस्पतालका शय्या १६ हजार ५४१ वटा छन्। (सरकारी) 

अर्को खुशीको कुरा, राष्ट्रिय ग्रिड, लघु जलविद्युत् र सौर्य ऊर्जा गरी सबै जिल्लामा विद्युत् पुगेका छन्। कुल जलविद्युत् जडित क्षमता तीन हजार ६० मेगावाट पुगेको छ।

सिधै र नीतिगत भ्रष्टाचार हुँदैनथ्यो, इमानदारीसाथ सुशासन कायम राख्न सकिन्थ्यो भने नेपालको विकास अचम्मै लाग्नेगरी हुन सक्थ्यो।

अब हामी निराश हुने कि आशावादी?

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका व्यक्तिगत हुन्।)