भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।
काठमाडौँ– १६ फेब्रुअरी (आइतबार), दिउँसो ४ बजे। भारत, ओडिसा। भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय क्याम्पसको २१औँ स्थापना दिवस। क्याम्पस परिसरमा उत्सव चलिरहेको थियो। परिसरमै साँझ ७ बजे चर्चित र्यापर बादशाहको पनि प्रस्तुति हुने खबरले विद्यार्थी उनको प्रतिक्षामा थिए।
त्यही कार्यक्रमका कारण विश्वविद्यालयको होस्टेल सुनसान थियो। कार्यक्रम नसकिँदासम्म विद्यार्थीहरू होस्टेल छिर्ने ‘मुड’मा थिएनन्। ठिक त्यहीबेला एउटा खबरले सनसनी मच्चियो। खबर थियो– बी टेक संकायकी एक छात्रा होस्टेलमा मृत फेला परेकी छन्।
यो खबर नेपाली छात्रहरूले थाहा पाइसकेका थिएनन्। जब राति ९ बजे खबर नेपाली पुरूष विद्यार्थीको होस्टेलसम्म पुग्यो, माहोल फरक हुन थाल्यो। नेपाली छात्रसम्म यो खबर क्विन्स क्यासल (क्यूसी) फोर ब्लक होस्टेलकी एक छात्राले पुर्याएकी थिइन्। उनैले आफ्नो पुरुष साथीलाई महिला होस्टेलमा बी टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको शव भेटिएको र स्थिति तनावपूर्ण रहेको बताएको पुरूष होस्टेलमा बस्ने बी टेक दोस्रो वर्षमा अध्ययनरत एक नेपाली छात्र बताउँछन्।
यो सूचनापछि नेपाली विद्यार्थीहरू होस्टेलबाहिर निस्कने प्रयासमा लागे। तर विश्वविद्यालय प्रशासनले होस्टेलबाट निस्कन नदिएको ती छात्र बताउँछन्। “हाम्रो कुरा सुन्नै मानेनन्। त्यसपछि हामी क्यान्टिनको ढोकाबाट आईआरओ (इन्टरनेसनल रिलेसन अफिस)मा भेला भयौँ। तर त्यहाँका कर्मचारीहरूले हामीलाई कुनै सूचना दिएनन्,” उनी भन्छन्, “केहीबेरमै भिड बढ्न थालेपछि महिला होस्टेलमा एक नेपाली विद्यार्थीले आत्महत्या प्रयास गरेको, तर जिउँदै रहेको बताइयो। एकछिनमै महिला होस्टेलबाट उनको मृत्यु भइसकेको जानकारी आयो।”
यो सूचना पाएलगत्तै पुरूष विद्यार्थीहरू आईआरओ अगाडि नै धर्ना बसे। त्यहाँका कर्मचारीहरूले पटकपटक होस्टेल फर्किन आग्रह गरे पनि विद्यार्थी त्यहाँबाट हटेनन्। त्यहीबेला महिला होस्टेलमा अन्य नेपाली छात्रामाथि होस्टेल वार्डेनहरूले ज्यादती गरिरहेको खबर बाहिरियो।
“हाम्रै समूहका एकजना साथीलाई फोन आयो। उताबाट आफूहरूलाई होस्टेलको कोठामा थुनेर अपशब्द प्रयोग गरिरहेको र वार्डेनले प्रकृतिको शवको भिडियो बनाइरहेको भनेपछि सबैको धैर्यताको बाँध टुट्यो,” घर फर्किन भूवनेश्वरस्थित एक होटेलमा बसेका विद्यार्थीले उकालोसँग भने। त्यसपछि आफूहरू महिला होस्टेलको मूल ढोकाअगाडि गएको उनी बताउँछन्।
‘क्यूसी फोर ब्लक’मा जे चलिरहेको थियो...
प्रकृति क्यूसी फोर ब्लकको चौँथो तलामा रहेको कोठा नं. फोर ए १२५ मा बस्थिन्। उनी आफ्नो कोठाको पंखामा सलले झुन्डिरहेको खबर पहिला प्रकृतिकै साथीले पाइन्। उनैले आफ्ना अन्य साथीलाई खबर गरिन्। यो खबर होस्टेलको वार्डेनसम्म पुग्यो। प्रकृतिका साथीले तेस्रो पटक फोन गरेपछि मात्र वार्डेन बोन्दिता कोठामा आइपुगिन्। तर उनले प्रकृतिलाई अस्पताल लैजानुको साटो मोबाइलले भिडियो खिच्न थालेको अर्की छात्रा बताउँछिन्।
“हामीले म्यामलाई उसको सास चलिरहेको छ भन्दा चुप लाग्न इशारा गरिन्। हामीलाई इग्नोर गर्दै भिडियो खिचिरहिन्,” उनी भन्छिन्, “भिडियो खिचिसकेपछि अन्य कर्मचारी बोलाएर विश्वविद्यालय क्याम्पसकै किम्स अस्पतालमा लग्न निर्देशन दिइन्।”
प्रकृतिकी एक साथीका अनुसार कोठाको पंखा बेडभन्दा निकै माथि छ र बेडमाथि उभिएर पनि त्यहाँ सल बाँध्न सकिँदैन। प्रकृतिले सल बाँध्न कुर्सीको सहयोग लिएको पनि देखिँदैन। “कुर्सीमा उसले लुगा राखेकी थिई र ती जस्ताको त्यस्तै थिए। हामीलाई अचम्म लागेको छ, कसरी पंखामा सल बाँधियो? उसको हाइटले भ्याउँदैन थियो,” उनी भन्छिन्।
प्रकृतिको कोठामा अन्य विद्यार्थीलाई जान प्रतिबन्ध लगाइयो। त्यहाँबाट बाहिर निकालेपछि कलेजमै रहेका उनका आफन्त (कजन भाइ)लाई समेत हेर्न दिइएन। विद्यार्थीलाई कोठामा जान वार्डेन र कर्मचारीले दबाब दिइरहे। “हामी कोठाभित्र जान नमान्दा अपशब्द प्रयोग गर्दै गालीहरू बर्साउन थाले,” ती छात्रा भन्छिन्, “हामी रातभरि नै कोठाबाहिर उभिइरह्यौँ, गाली सुनिरह्यौँ।”
सोमबार बिहानसम्म होस्टेलको स्थिति अर्कै बनिसकेको थियो। छात्राहरू मुखबाट एक शब्द निकाल्न पनि डराइरहेका थिए। महिला वार्डेनहरू तारन्तार आएर विद्यार्थीलाई थर्काइरहेका थिए। ती भिडियो क्लिपहरू सामाजिक सञ्जालमा पनि भाइरल छन्।
“यतिसम्मकि, यो होस्टल अब तिमिहरूको लागि सुरक्षित छैन। सक्छौ भने जति चाँडो हुन्छ यहाँबाट निस्किहाल भन्न थाले,” एक छात्राले सुनाइन्, “हामी शान्त भएर सुनिरहेका थियौँ। चुपचाप भिडियो खिचिरह्यौँ। देशलाई नै खुलेआम नीचा देखाउन थालेपछि हाम्रो तर्फबाट केहीले जवाफ दिन खोज्यौँ पनि, तर चुप लाग्नुको विकल्प देखेनौँ। बोल्यो कि हात छोडिहाल्ला भन्ने डर थियो।”
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा होस्टल डाइरेक्टर जयन्ती नाथ र आईआरओकी अधिकारी मञ्जुसा पाण्डेले नेपाली विद्यार्थीलाई कलेज छाड्न दबाब दिइरहेको देखिन्छ। जयन्तीले नेपालको नामै लिएर आफूहरूले ४० हजार विद्यार्थीलाई निःशुल्क खुवाइरहेको र ‘तिमीहरूको देशको बजेटभन्दा बढी विश्वविद्यालयको खर्च रहेको’ बताउँछिन्। देशको नाम लिएपछि भने केही विद्यार्थीले प्रतिवाद गरेको भिडियोमा सुनिन्छ।
विश्वविद्यालयको उर्दी– क्याम्पस तुरुन्त खाली गर
प्रकृति मृत फेला परेको खबर पाएपछि छात्रहरू पनि महिला होस्टेलअगाडि पुगेका थिए। तर त्यहाँ प्रवेश नपाएपछि राति नै विश्वविद्यालय क्याम्पस अघिको सडकमा जम्मा भए। सडकमा भिड देखिएपछि ओडिसा पुलिसको टोली त्यहाँ पुगेको थियो।
सडकमा भएका विद्यार्थीलाई एकैपटक सम्झाउन असहज भएपछि पुलिसले विश्वविद्यालयकै सभाहलमा जम्मा पारेको थियो। आफूहरू बिहान आएर निश्पक्ष छानबिन गर्ने आश्वासन दिँदै सबैलाई होस्टेल फर्किन प्रहरीले आग्रह गरेको थियो। तर विद्यार्थी होस्टेल जान मानेनन्। बरू ‘वि वान्ट जस्टिस’ नारा लगाएका थिए।
सभाहलमा कुरा नमिलेपछि विद्यार्थीहरूको भिड पुनः सडकमा आइपुग्यो। बिहान हुँदासम्म भिड ठूलो भइसकेको थियो। विश्वविद्यालयका प्रत्येक विभागका प्रमुखहरू भिडअगाडि उभिइरहेका थिए। “त्यतिबेलासम्म उहाँहरू विद्यार्थीसँग ठिकै वर्ताबमा हुनुहुन्थ्यो,” एक छात्रले सुनाए, “तर बिस्तारै मुख छाड्न थाल्नुभयो।”
परिस्थिति काबुबाहिर जान नदिन लोकसभा र राज्यसभाका सदस्य रहिसकेका केआईआईटीका संस्थापक अच्युता समान्ता आफै विद्यार्थीअगाडि आइपुगे। उनले कुनै सानोतिनो घटना मात्रै भएको जसरी कुरा गरेपछि नेपाली विद्यार्थी असन्तुष्ट भए।
“फाउन्डर सरले सजिलै ‘जो होना था होगया, तुमलोग पर्सो आना’ भन्दै सबैलाई जान भन्नुभयो। तर हामीले मानेनौँ। हामीले अहिले अनुसन्धान शुरू गराउन भन्यौँ,” ती छात्रले भने, “उहाँले फेरि पनि जाउ बाबुहरू होस्टेल जाउ भनेर फकाउने प्रयास गर्नुभयो। उहाँलाई यो सब घटना बाहिर नजाओस् भन्ने थियो।”
संस्थापक समान्ताको कुरा नमानेपछि प्रहरीले बल प्रयोग गर्न शुरू गर्यो। प्रहरीले विद्यार्थीलाई सडकबाट क्याम्पस परिसरतिर धकेल्न थाल्यो। केहीलाई कुटपिटसमेत गरे। परिसरभित्र आएपछि क्याम्पसका ‘बाउन्सर’हरूले भिडको अगाडि हुनेलाई मुक्का बर्साउन थाले।
“त्यसपछि ‘औकात नही है, पढ्ने आ जातें है’ भन्दै अपशब्द प्रयोग गर्न थाले। कतिपयलाई ठाडै तुम लोगोंको अप्सन नहीं, अर्डर देरहे हैं, निक्लो यहाँ से सबके सब भने,” ती छात्रले सुनाए। होस्टलमा पनि बाउन्सरहरू छिरेर कुटपिट गरेको उनको भनाइ छ।
यता विश्वविद्यालयले सूचना जारी गरेर सबै नेपाली विद्यार्थीलाई अनिश्चितकालका लागि तुरून्तै क्याम्पस छाडेर जान निर्देशन दियो। सूचना जारी भएको केही मिनेटमै क्याम्पसका बस सबै होस्टेल ब्लकअगाडि आइपुगे। अनि क्याम्पसका कर्मचारी होस्टेलमा पसेर सबैलाई झोला प्याक गरेर निस्कन जबर्जस्ती गर्न थाले।
“बसमा हालेपछि कसैलाई कट्टक स्टेसनमा छाडिदियो, कसैलाई कोलकाता जाने स्टपमा,” एक छात्र भन्छन्, “कतिपय यस्ता विद्यार्थी थिए, जो यो घटनाबारे नै अनभिज्ञ थिए। उनीहरू सुतिरहेकै बेला कोठामा छिरेर जबर्जस्ती बसमा बसाइयो।”
उता महिला होस्टेलबाट पनि यसरी नै छात्राहरूलाई निकालियो। “हाम्रो सुपरिटेन्डेन्ट सञ्जु म्याम आफै हाम्रो कोठामा छिर्नुभयो। ‘साइन डाई (अनिश्चितकाल) का मतलब नही समझ्ती है? आप्ना सामान उठाओ और निक्लो यहां से’ भन्नथाल्नुयो,” क्यूसी–१८ मा बस्ने एक छात्राले सुनाइन्, “आफ्नै हातले ठेल्दै अपशब्द बोल्दै ढोकासम्म पुर्याउनुभयो।”
यतिबेलासम्म कुटपिटको भिडियो र विद्यार्थीहरू अलपत्र परेको खबर फैलिसकेको थियो। सञ्चारमाध्यममा समाचार आउन थाले। सामाजिक सञ्जालमा घटनाको विरोध हुन थाल्यो।
अर्को सूचनामा भनियो– ‘होस्टेलमा फिर्ता आऊ’
विश्वविद्यालयबाट बलजफ्ती निकालिएका कतिपय विद्यार्थी घर जाने टिकट नभएर जुन गन्तव्यको गाडी भेटे त्यसैमा बसे। कतिपयले भुवनेश्वरकै होटेलमा रात बिताएर अर्को दिन घर फर्किने योजनामा थिए। त्यही साँझ विश्वविद्यालयले अर्को सूचना जारी गरेर विद्यार्थीलाई होस्टेल फर्कन भन्यो।
उक्त सूचनामा भनिएको छ, “हिजो (आइतबार) साँझ क्याम्पसमा एउटा दुखद् घटना भयो। यो घटनाको अभियुक्तलाई समातेर प्रहरीले अनुसन्धान शुरू गरेको छ। क्याम्पस प्रशासनले आफ्नो सारा शक्ति होस्टेलको अवस्था सामान्य बनाउन र कक्षा सुचारु गराउनमा लगाइरहेको छ। यो अपिल गरिन्छ कि, क्याम्पस छाड्ने वा योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीहरू फर्केर आफ्नो पढाइलाई निरन्तरता दिउन्।”
त्यसअघि विश्वविद्यालयले अर्को विज्ञप्ति पनि जारी गरेको थियो, जसमा थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको थियो। विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्याउने जनाएको थियो।
विश्वविद्यालय छाडेर हिँडेका विद्यार्थीहरू तुरून्तै त्यहाँ फर्किन तयार छैनन्। सोमबार राति कोलकाता बास बसेर मंगलबार बिहान नेपालका लागि निस्केका एक छात्र भन्छन्, “हामी कसरी फेरि एक नोटिसमा विश्वविद्यालय फर्कौं? त्यहाँ हामीमाथि कस्तो दुर्व्यवहार भयो त्यसको असली अनुभव त्यहाँ हुनेलाई मात्रै छ। अहिले नै त्यहाँ गयौँ भने मारिदेलान् भन्नेसम्म सोच आइरहेको छ।”
यो घटनाको सम्बन्धमा दिल्लीस्थित नेपाल राजदूतावास र काठमाडौँस्थित भारतीय राजदूतावास दुवैले विज्ञप्ति सार्वजनिक गरेका छन्। नेपालले आवश्यक पहलकदमीका लागि समन्वय भइरहेको बताएको थियो भने, भारतले घटनाप्रति समवेदना प्रकट गर्दै सबै संयन्त्रसँग सम्पर्कमा रहेको र नेपाल–भारत सम्बन्धमा दरार आउन नदिन सबै आवश्यक कदमहरू चाल्न तयार रहेको जनाएको थियो।
दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत एसएसपी सञ्जीव शर्माले उकालोसँगको कुराकानीमा सोमबार दिउँसोसम्म स्थिति तनावग्रस्त भए पनि रातिसम्म सबै सामान्य भइसकेको बताए। “म आफै रातभरि खटिएको थिएँ। अहिले त सबै सामान्य नै छ। हिजै राति धेरै विद्यार्थीहरूलाई विश्विद्यालय फर्कायौँ,” उनले भने।
क्याम्पसले मंगलबार बिहान विज्ञप्ति जारी गरेर नेपालको विषयमा बोल्ने दुई जना वरिष्ठ अधिकारीलाई हटाएको जनाएको छ। त्यसैगरी, दुई सुरक्षा अधिकारीलाई निस्कासन गरेको पनि जनाएको छ। विज्ञप्तिमा क्याम्पसले उक्त घटनाप्रति माफी माग्दै विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेको पनि जनाएको छ।
पूर्वप्रेमीबाट बारम्बार धम्की
प्रकृतिकी नजिककी एक साथीका अनुसार उनको मृत्युको कारण सोही क्याम्पसका छात्र अड्विक श्रीवास्तव हुन्। “प्रकृति केही समय श्रीवास्तवसँग प्रेम सम्बन्धमा थिइन्, पछि उनीहरू छुट्टीएका थिए। तर श्रीवास्तवले बेलाबेला सम्पर्क गरेर उसलाई ब्ल्याकमेल गर्थे,” ती साथीले भन्छिन्।
पछिल्ला दुईतीन दिनदेखि प्रकृतिलाई नियमित रूपमै श्रीवास्तवले फोन गरिरहेका थिए। घटना भएको दिन बिहानैदेखि उनी श्रीवास्तवसँग फोनमा कुरा गरिरहेकी थिइन्। “उसले मानसिक तनाव सहन नसकेर एक महिनाअघि आईआरओमा गएर गुनासो नै गरेकी थिई। तर त्यहाँबाट कुनै सुनवाइ भएन,” उनकी साथी भन्छिन्, “दोस्रोपटक गुनासो गर्दा केटा एक महिनाको लागि सस्पेन्ड भयो। उसको सस्पेन्सनको अन्तिम दिन यो घटना भयो।”
उकालोलाई प्राप्त प्रकृति र श्रीवास्तवको अडियो संवादमा श्रीवास्तवले प्रत्येक वाक्यमा अश्लील शब्दहरू प्रयोग गरेर गाली गरेका छन्। उनले आफूले केही नगरेको बताइरहँदा पनि श्रीवास्तवले गाली गरिरहन्छन्। “...मेरो मुख नलाग, ... मसँग माफी माग ... नभए उल्टासिधा गरिदिन्छु...,” यसरी धम्की दिएको सुनिन्छ।
प्रकृति मृत भेटिएकै रात श्रीवास्तव भुवनेश्वरबाट भाग्न खोजेका थिए। उनलाई राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। उनले कोलकाताका लागि टिकट काटेको फेला परेपछि पुलिसले उनलाई पछ्याएको थियो। उनीविरुद्ध प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले प्रहरीमा एफआईआर दर्ता गराएका छन्।
उकालोले यो विषयमा कुराकानी गर्न प्रकृतिसँग नजिक रहेका अन्य छात्राहरूसँग पनि सम्पर्क गर्यो। तर आफूहरूले असुरक्षा महसुस गरिरहेको बताउँदै थप कुरा गर्न नसक्ने बताएका थिए। केहीले आफूहरू हतास भइरहेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
