‘संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।’
धनुषा– छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेशको मत’ले मधेशको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो। सांसदहरू मनिष सुमन, योगेश भट्टराई र डा. अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए। तीनै जनाले मधेशको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे।
सांसद सुमनले मधेशी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भने, “मधेशमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आबद्ध गर्नसक्ने नेतृत्वको अभाव हो। संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।”
सांसद भट्टराईले मधेशको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैंगिक समानता र समुदायबीचको समन्वयमा केन्द्रित रहँदै भने, “मधेशमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठूला उपलब्धि हासिल गरे पनि सामाजिकस्तरमा समानता र समावेशिताको पूर्णतः कार्यान्वयन हुनसकेको छैन। विशेषगरी लैंगिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौती छन्।”
सांसद डा सिंहले मधेशको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे उल्लेख गरे। “मधेशको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको अव्यवस्थित अवस्था सबैभन्दा ठूलो अवरोध बनेको छ। स्वस्थ र शिक्षित जनशक्तिबिना हामी समृद्ध मधेशको परिकल्पना गर्न सक्दैनौँ,” उनले भने।
सत्रका सहजकर्ता पत्रकार टीकाराम यात्रीले विशेष सत्रको समापन गर्दै वक्ताका विचारलाई समेट्दै मधेशको सामाजिक संरचना, राजनीति र समग्र विकासलाई सम्बोधन गर्दै महत्त्वपूर्ण निष्कर्ष प्रस्तुत गरेका थिए। उत्सवमा समाजशास्त्री तथा मिथिला संस्कृतिका विशेषज्ञ डा। सुवोधचन्द्र भारतीले ‘सीता: बियाहक संस्कार आ परम्पराके समृद्ध साझा धरोहरक प्रतिरूप’ मा गहन र विचारोत्तेजक प्रस्तुति दिएका थिए। भारतीले मिथिला संस्कृतिमा सीताको विवाह र त्यसको अनन्तकालीन सांस्कृतिक महत्वबारे विस्तृत चर्चा गर्दै सीताको विवाहलाई मिथिला र आर्यसभ्यताको साझा सांस्कृतिक धरोहरका रूपमा व्याख्या गरे।
“सीताको विवाह केवल एउटा व्यक्तिगत र धार्मिक घटनामात्र थिएन, यो सम्पूर्ण समाजको समृद्ध सांस्कृतिक परम्परा र मान्यताको प्रतिविम्ब थियो। सीताजस्तो आदर्श व्यक्तित्वको विवाहले नारी सशक्तीकरणको अवधारणालाई पनि बलियो बनाएको छ,” उनले भने।
साहित्य महोत्सवमा ‘उज्यालोको यात्रा’ विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले लोडसेडिङको समस्या कसरी समाधान गरेको भन्ने विषयमा आफ्नो अनुभव सुनाए। कुन्दन झाले सञ्चालन गरेको उक्त सत्रमा कार्यकारी निर्देशक घिसिङले नेपालका विद्युत् क्षेत्रका प्रगति, चुनौती र सम्भावनाबारे चर्चा गरे।
महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’ शीर्षकमा भएको छलफलमा सांसद सन्तोष परियारले मधेशी समुदायको समस्या र संघर्ष नयाँ नभएको बताए। इतिहासका विभिन्न कालखण्डमा मधेशलाई राज्यले उपेक्षित गरेको उनले बताए । राज्यले मधेशलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएकामा सांसद परियारले चिन्ता व्यक्त गरे।
‘आन्दोलन र साहित्य’ सत्रका प्रमुख वक्ता प्रगतिशील साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपाली साहित्य र आन्दोलनको अद्वितीय सम्बन्धको उजागर गर्दै साहित्य कुनै पनि समाजको गहिरो परिवर्तनको माध्यम मात्र नभई विद्रोहको एक सबल औजार पनि रहेको बताए। उनले नेपाली राजनीतिक आन्दोलन र साहित्यको आपसी सम्बन्धबारे चर्चा गर्दै साहित्यले समाजलाई मात्र नभई चेतनालाई पनि क्रान्तिकारी दिशामा मोड्ने गरेको बताए। साहित्य र राजनीतिलाई केवल दुई अलग विधामात्र नभएर समाज परिवर्तनका लागि परस्पर पूरक तत्त्वका रूपमा व्याख्या गरे।
‘समाज, साहित्य र सिनेमा तीन ‘स’को अन्तरसम्बन्ध’ शीर्षकअन्तर्गत साहित्य र सिनेमाको आपसी सम्बन्ध, प्रभाव र अन्तरक्रियाका विषयमा चर्चा गरिएको थियो। कवि विप्लव प्रतीक, अभिनेत्री केकी अधिकारी र अभिनेता तथा लेखक विजय बराल सहभागी उक्त सत्रको सहजकर्ता पूर्णेन्दुकुमार झा रहेका थिए।
कवि प्रतीकले समाज र साहित्यको आपसी सम्बन्धका बारेमा आफ्नो दृष्टिकोण राख्दै भने, “साहित्य भनेको समाजको ऐना हो। समाजमा भइरहेका घटना, प्रवृत्ति र विकृतिलाई साहित्यले आवाज दिन्छ। हामीले साहित्यमार्फत समाजलाई विश्लेषण गर्नेमात्र होइन, समाजलाई मार्गदर्शन गर्ने प्रयास गर्छौं।”
अभिनेत्री अधिकारीले साहित्य र चलचित्रबीचको अन्तरसम्बन्धलाई उजागर गरिन् । “चलचित्र भनेको साहित्यको एउटा दृश्यात्मक रूप हो। साहित्यले जुन भावना, विचार र सन्देशलाई व्यक्त गर्छ। चलचित्र त्यसलाई दृश्य र ध्वनिको माध्यमबाट व्यक्त गर्छ। तर, साहित्यको जस्तो गहिराई प्राप्त गर्न चलचित्रमा अझै धेरै चुनौतीपूर्ण छ। यद्यपि, अहिलेको समयमा धेरै सिनेमा साहित्यमा आधारित हुँदै बनेका छन्। यसले दर्शकलाई गहिरो गरी सोच्न बाध्य पार्छ,” उनले भनिन्।
अभिनेता तथा लेखक बरालले चलचित्र र समाजको गहिरो सम्बन्धको बारेमा चर्चा गरे। उनले भने, “चलचित्र भनेको समाजको एउटा चौंकाउने साधन हो। यसको बलियो पक्ष भनेको यो दृश्यमा आधारित हुन्छ र यसले तत्काल व्यक्तिको भावनामा परिवर्तन ल्याउन सक्छ। चलचित्र एक शक्तिशाली माध्यम हो। यसले समाजको सामुन्ने धेरै जटिल मुद्दालाई सजिलोसँग राख्न सक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
