धेरै पूर्वकुमारीले विवाह गरेर आफू अनुकूलको जीवन बिताइरहेका छन्। तर कुमारीबारे चलेका अनेक मिथक र फिल्मले गलत सन्देश दिँदा विवाहबारे भ्रम फैलिएको अध्येताहरू बताउँछन्।
काठमाडौँ– जीवित देवी कुमारीबाट अवकाश पाएपछि चैत्यदेवीलाई सल्यान केसीले एकोहोरो प्रेम गरेका हुन्छन्। तर पूर्वकुमारीले विवाह गरे श्रीमानको मृत्यु हुने किंवदन्ती उनले पनि सुनेकी हुन्छिन्। त्यसकारण चैत्यदेवी विवाह गर्न तयार हुँदिनन्।
जुजुभाइ (गौतमरत्न तुलाधार)ले पनि चैत्यदेवीलाई मन पराएका हुन्छन्। उनले चैत्यदेवीलाई आफ्नो प्रेम व्यक्त पनि गर्छन्। संयोगले सोही दिन मदिरा सेवन गरेर ट्रक चलाउँदा दुर्घटनामा जुजुभाइको मृत्यु हुन्छ। त्यो खबर पाएपछि चैत्यदेवी झनै डराउँछिन्। उनी सल्यानलाई मन पराउने भए पनि प्रेम प्रस्ताव अस्वीकार गर्छिन्।
२०३४ सालमा निर्माण भएर त्यसको एक वर्षपछि प्रदर्शन गरिएको फिल्म कुमारीको कथासार यति हो। फिल्ममा अभिनेत्री चैत्यदेवीले कुमारीको भूमिका निभाएकी छिन्। अभिनेता सल्यान केसीसँग विवाह नहुनुमा कुमारीबारे समाजमा व्याप्त भ्रमलाई नै चलचित्रको विषय बनाइएको छ।
यो फिल्मको कथा कुमारीबारे प्रचलित किंवदन्तीमा आधारित छ। किंवदन्तीअनुसार एकपटक कुमारी र राक्षस प्रेममा थिए। कुमारीका मातापिता श्वेतकाली र श्वेतभैरवले त्यस प्रेमलाई अस्वीकार गर्छन्। उक्त किंवदन्तीबारे संस्कृतिविद् ओम धौभडेलले भने, "राक्षसले कुमारीलाई छल गरेर प्रेममा पारेको हुन्छ। कुमारीका मातापिताले उनलाई अनेक तरिकाले सम्झाउँछन्। तर कुमारीले मान्दिनन्। यद्यपि, राक्षसको चाल थाहा पाएपछि कुमारी र राक्षसबीच युद्ध हुन्छ। अन्ततः कुमारीले राक्षसलाई मार्छिन्।"
कुमारी र राक्षसको प्रेमबारे अर्को पनि किंवदन्ती छ। कुमारी राक्षसको प्रेममा पर्छिन्। तर, देशको इष्टदेव रहेकी कुमारीले राक्षससँग विवाह गर्नु उचित मानिँदैन थियो। उनीसँग दुई विकल्प थिए, प्रेमीसँग विवाह गरेर देशलाई बर्बादीमा लैजानु वा प्रेमीको हत्या गर्नु। उनले देशको रक्षार्थ आफ्नै प्रेमीको हत्या गर्छिन्। व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताको खुशीको लागि कुमारीले आफ्नो प्रेमको बलिदान दिन्छिन्। त्यसपछि ती कुमारी आजीवन अविवाहत रहन्छिन्।
यस्तै किंवदन्तीलाई आधार बनाएर कुमारीको विवाह भए अशुभ हुने वा श्रीमानको मृत्यु हुने अन्धविश्वास व्याप्त रहेको संकृतिविद् धौभडेल बताउँछन्। तर, यी किंवदन्ती जीवनमा लागू नहुने र त्यस्ता हल्ला सत्य नभएको कुमारी सुसारे गौतमरत्न शाक्य बताउँछन्। "कुमारी भएकै कारण अवकाशपछि आजीवन विवाह नगरी बस्ने वा पूर्वकुमारीसँग विवाह भए श्रीमान्को मृत्यु हुने कुरा हल्ला मात्र हुन्," गौतम भन्छन्, "काठमाडौंका अधिकांश पूर्वकुमारीहरूको विवाह भइसकेको छ। उहाँहरूको दाम्पत्य जीवनमा कुनै समस्या भएको हामीलाई थाहा छैन।"
फिल्मको सन्देश नै नकारात्मक!
सरकारी निकाय सूचना विभागको लगानीमा बनेको फिल्म ‘कुमारी’को निर्देशन प्रेमबहादुर बस्नेतले गरेका थिए। यो फिल्म कमजोर अनुसन्धानका आधारमा बनेको पूर्वकुमारी रश्मिला शाक्य बताउँछिन्। "एकपटक मैले निर्देशक बस्नेतसँग भेट्ने मौका पाएको थिएँ," रश्मिला भन्छिन्, "उहाँले आफ्नो कमजोरी स्वीकार्नु भएको थियो।" फिल्मको गलत सन्देशको प्रभावबारे रश्मिलाले आफ्नो पुस्तक ‘फ्रम गडेस टु मोर्टल’मा समेत उल्लेख गरेकी छन्।
सामाजिक विषयमा बनेको र पहिलो रंगिन फिल्मको रूपमा कुमारीको चर्चा हुन्छ। तर, यसले कुमारी प्रथामाथि नै भ्रम छरेको रश्मिलाको भनाइ छ। "४५ वर्षअघि बनेको एउटा फिल्मले गरेको गलत व्याख्याले हालसम्म प्रभाव पारिरहेको छ। यसकारण पनि म मिडिया, फिल्मकर्मी तथा कुमारीसम्बन्धी अध्ययन गर्नु हुने जोकोहीलाई बुझेर मात्र लेखिदिन वा फिल्म बनाउन अनुरोध गर्दछु", उनी भन्छिन्।
फिल्मले समाएको विषय ठीक भए पनि गलत प्रस्तुतिका कारण नकारात्मक सन्देश गएको कुमारी घरका सुसारे सदस्य गौतमरत्न शाक्य बताउँछन्। "फिल्म फरक कथावस्तुमा बन्यो। तर, सन्देश सही ढंगले दिन सकेन", उनले भने।
उक्त फिल्ममा अभिनय गरेका कलाकार नीर शाह कुमारी घरका तत्कालीन अधिकारीले स्क्रिप्ट पटकपटक संशोधन गरेर मात्र निर्माण गरिएको बताउँछन्। कमजोरी भए पनि फिल्मले समाजलाई क्षति गर्ने गरी कथावस्तु प्रस्तुत नगरेको उनको दाबी छ।
वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधर पनि फिल्मले गलत सन्देश प्रसार गर्ने मनसाय भने नराखेको बताउँछन्। "फिल्मले दिन खोजेको सन्देशलाई सायद त्यस बेला सही तरिकाले प्रस्तुत गर्न सक्नु भएन", तुलाधार भन्छन्, "हामीले पनि सानैमा हेरेको हो। फिल्ममा गलत सन्देश प्रवाहको मनसाय थिएन होला।"
मिथ्या मिथकले भ्रम
रातो कुर्ता, रातै सुरुवाल, गलामा पातलो पोते, सपक्क बाटिएको एक चुल्ठी कपाल र निधारको दुई आँखीभुईंका बीचमा सानो रातो टीकाले सजिएकी थिइन् पूर्वकुमारी रश्मिला शाक्य। उनले आँखामुनि लगाएको कालो गाजलले जीवित देवी कुमारीकै झल्को दिइरहेको थियो।
रश्मिला काठमाडौंको क्वनेः हिटीमा जन्मिएकी हुन्। उनले ४ वर्षको हुँदा २०४१ सालमा कुमारी नियुक्त भएर २०४८ सालमा अवकाश पाएकी थिइन्। २०७१ सालमा विवाह गरेपछि उनी परिवारसँगै सीतापाइला बस्छिन्।
कोठामा श्रीमान् नवीनसँगको फोटो फ्रेम गरेर राखिएको छ। त्यही फोटोमुनि बसेकी उनले भनिन्, "कुमारीका बारेमा धेरै अन्धविश्वास फैलिएका छन्। अनेक जनश्रुति र किंवदन्तीबारे खोज र अध्ययन नहुँदा पूर्वकुमारीले विवाह गर्न नहुने भ्रम सिर्जना भएको छ।"
यस्ता भ्रमकै कारण कतिपय पूर्वकुमारीलाई विवाहको प्रस्ताव आउँदा समस्या पर्ने गरेको रश्मिला बताउँछिन्। "पहिले–पहिले प्रेम विवाहभन्दा पनि मागी विवाह नै हुने गथ्र्यो। मेरो पनि मागी विवाह भएको हो", उनी भन्छिन्, "विवाहसम्बन्धी भ्रमकै कारण मागी विवाहको प्रस्ताव ल्याउन परिवारबाट कहिले केटाले त कहिले केटाको घरपरिवारले पूर्वकुमारीसँग विवाह गर्न अस्वीकार गरेका उदाहरण छन्।"
उनले पनि यस्तो समस्या भोग्नु परेको थियो। तर, त्यस्ता घटनाबाट आफू विचलित नभएको उनी बताउँछिन्। "यस्ता घटना भए पनि मलाई खासै फरक पर्दैन थियो। विवाह भए होला, नत्र आफ्नो खुट्टामा उभिएर खान सक्छु भन्ने लाग्थ्यो", उनी भन्छिन्। स्नातकोत्तर अध्ययन पूरा गर्ने उनी पहिलो कुमारी हुन्। पेशाले उनी आईटी इन्जिनियर हुन्।
मिना बज्राचार्य क्वः बहाःकी कुमारी थिइन्। काठमाडौँमा राज्य कुमारीबाहेक बहाः तथा टोल कुमारीको पनि प्रचलन थियो। उनी २०३० सालमा कुमारी नियुक्त भएकी हुन्। पछि उनको विवाह राजेन्द्रमान बज्राचार्यसँग भयो। बज्राचार्य बज्रयान बौद्ध महासंघका अध्यक्ष छन्। पूर्वकुमारीसँग विवाह भए पनि आफूलाई कुनै प्रकारको स्वास्थ्य समस्या नभएको र दाम्पत्य जीवनमा पनि खटपट नपरेको बज्राचार्य बताउँछन्। पूर्वकुमारीसँग विवाह गर्न नहुने मिथकहरु मिथ्या भएको उनी बताउँछन्। "यस्ता हल्लामा मलाई कहिल्यै विश्वास भएन। विनाडर, भय र निसंकोच पूर्वकुमारीसँग विवाह गरेको हुँ", उनी भन्छन्।
पूर्वकुमारी मतिना शाक्यका पिता प्रतापमान शाक्य पूर्वकुमारीलाई परिवारले विवाहमा रोक लगाउने हल्ला सत्य नभएको बताउँछन्। पूर्वकुमारीसँग विवाह हुनु भयभन्दा पनि भाग्य हो। कुमारीको विषयमा पर्याप्त अध्ययन नहुँदा मिथकका विषयमा अनावश्यक भ्रम सिर्जना भए", उनी भन्छन्, "पूर्वकुमारीले विवाह गर्दा श्रीमान्को मृत्यु हुने गलत व्याख्या चिर्नु आवश्यक छ।" शाक्य आफै पनि कुमारी संस्कृतिको विषयमा अध्ययनरत् छन्।
सरकारी कुमारीका रुपमा काठमाडौं, भक्तपुर, पाटन र नुवाकोटका चार कुमारी छन्। यी कुमारीलाई सरकारी कुमारी मानेर सेवासुविधा दिँदै आएको राष्ट्रिय गुठी संस्थानका प्रवक्ता जनक पोखरेल बताउँछन्। इन्द्रजात्रा, रातो–सेतो मच्छिन्द्रनाथको जात्रा जस्ता पर्वमा यी चार कुमारीको महत्त्व हुने हुँदा पनि सरकारी कुमारीको मान्यता दिएको हुनसक्ने उनी बताउँछन्। त्यसबाहेक पनि टोल, समुदाय विशेष धेरै कुमारी हुन्छन्। सबैले कुमारीबाट अवकाश पाएपछि विवाह गर्न मिल्ने शाक्य बताउँछन्। तर, कहिलेकाहीँ चिना नमिल्दा विवाह अस्वीकृत हुने गरेको उनले बताए। पूर्वकुमारी मतिना अहिले कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत छिन्।
मिथ्या मिथक र अनावश्यक चर्चाले आफूलाई निकै दुखित बनाउने पूर्वकुमारी प्रीति शाक्य (सन् २०५८–२०६६) बताउँछिन्। सर्वसाधारणबाट मात्र नभइ कतिपय आफन्तले पनि नकारात्मक चर्चा गर्ने गरेको उनको गुनासो छ।
पाटनकी पूर्वकुमारी चनिरा बज्राचार्य पनि विवाहबारेको अफवाहमा विश्वास नलागेको बताउँछिन्। उनी आफू भने अविवाहित हुन्। उनीअघिकी पाटनकी कुमारी सुमिका बज्राचार्य हालै मात्र विवाहबन्धनमा बाँधिएकी छिन्।
चिनासँग डराएको समाज!
इतिहासकार डा. त्रिरत्न मानन्धरका अनुसार कुमारीलाई देशबासीको संरक्षणकर्ता मानिने हुँदा उनको ग्रह पनि बलियो हुने विश्वास गरिन्छ। त्यहीकारण श्रीमानमाथि हाबी हुन सक्ने र वैवाहिक जीवनमा समस्या आउने अन्धविश्वासका कारण कुमारीको विवाहबारे अफवाह फैलिएको मानन्धर बताउँछन्।
कुमारी भइसकेकालाई समाजले ‘देउता’कै रूपमा हेर्ने हुँदा विवाह गर्न हिच्किचाउने गरेको पाटनकी पूर्वकुमारी चनिरा बताउँछिन्। "कुमारीको चिना तथा ग्रह बलियो हुने जनविश्वासले वैवाहिक जीवनमा क्षति पुग्न सक्ने जनविश्वास छ", उनी भन्छिन्, "कुनै समय देवताको रूपमा पुज्ने व्यक्तिलाई आममानिस सरह मान्न नसक्दा कतिपयले विवाह गर्न अस्वीकार गर्छन्। तर कुमारीको विवाह नै नहुने वा गर्न नहुने भन्ने होइन।"
संस्कृतिविद् धौभडेलका अनुसार कुमारी छान्दा ‘बलियो चिना’ भएकै बालिका खोजिन्छ। त्यसले पनि भ्रम सिर्जना गर्न मद्दत पुगेको छ। पूर्वकुमारी रश्मिलाका अनुसार कुमारीको चिना राजासँग मिल्नुपर्ने मान्यता राखिन्छ। "राजा बन्नेको चिनामा जस्तै हाम्रो चिनामा पनि राजयोग हुनुपर्छ भन्ने मान्यता छ। पहिला त हाम्रो र राजाको चिना जुधाएरै हेरिन्थ्यो", राजतन्त्रको बेला कुमारी भएकी उनी भन्छिन्, "अहिले लोकतन्त्र आइसक्यो, अब कोसँग कसरी चिना जुधाउने? चिनाकै कारण वैवाहिक जीवनमा फरक पर्ला भन्ने मलाई लाग्दैन।"
काठमाडौँ र पाटनका साथै भक्तपुर तथा नुवाकोटमा पनि सरकारी कुमारी छन्। नुवाकोटस्थित भैरवीको मन्दिरका धामी (अन्य मन्दिरका पुजारीजस्तै) हरिमानसिंह डंगोल नुवाकोटमा पूर्वकुमारीको विवाहमा रोकतोक नभएको बताउँछन्।
सरकारले पनि विवाह गर्ने पूर्वकुमारीलाई प्रोत्साह गर्ने गरेको छ। राष्ट्रिय गुठी संस्थानले पूर्वकुमारीलाई विवाह भत्ता रु. १० हजार दिने गरेको प्रवक्ता जनक पोखरेल बताउँछन्।
कुमारीको वैवाहिक स्थितिबारे अभिलेख
कुमारी घरले प्रकाशन गरेको ‘द गडेस तुलजा एन्ड कुमारी इन नेपाली कल्चर’मा पूर्वकुमारीहरूको विस्तृत जानकारी समेटिएको छ। पुस्तकमा लेखक कुमारी सुसारे दुर्गा शाक्यले पूर्वकुमारीसँगको अन्तर्वार्ता पनि समेटेकी छिन्। यो पुस्तकले पूर्वकुमारीबारेका धेरै भ्रम हटाउने कुमारी सुसारे गौतम शाक्यको भनाइ छ। पुस्तकमा १९९७ सालदेखि कुमारी भएका कुमारीको तथ्यांक मात्र अभिलेख गरिएको छ।

को हुन् कुमारी?
जीवित देवीको रूपमा बालिकालाई निश्चित अवधिको लागि पूजिने परम्परा नै कुमारी प्रथा हो। काठमाडौंमा राजा जयप्रकाश मल्लले विधिवत् रूपमा कुमारी घरको स्थापना गरी कुमारी जात्राको चलन सुरु गरेको इतिहासकार त्रिरत्न मानन्धर बताउँछन्।
प्रचलित किंवदन्ती अनुसार, मल्लकालीन समयमा राजाहरू यति शक्तिशाली थिए कि, उनीहरू इष्टदेवी तुलजा (हाल अपभ्रशं भई तलेजु भन्न थालिएको) भवानीसँग साक्षात्कार गर्ने, पासा खेल्ने गर्थे। यद्यपि, राजाले भवानीलाई प्रत्यक्ष भने देख्दैन थिए।
एकपटक काठमाडौँका अन्तिम मल्ल राजा जय प्रकाश मल्ल र तलेजु भवानी पासा खेल्दै थिए। खेलको क्रममा राजाको मनमा पाप पलायो। उनी भवानीप्रति आकर्षित भए। उक्त कुरा थाहा पाएपछि तुलजा भवानी त्यहाँबाट अलप भइन्। राजाले अनेकन बिन्तीभाउ गरेपछि भवानीले सपनामा आएर आफू शाक्य परिवारको बालिका भएर उपस्थित हुने बताइन्। ती बालिकाको चयन गरी कुमारीको रूपमा पुज्न भनेपछि कुमारी प्रथा शुरु गरिएको मिथक छ।
अर्को मिथकअनुसार तुलजा भवानीलाई राजाबाहेक अन्यले देख्न नहुने बताइन्छ। एक पटक रानीले लुकीचोरी हेरेपछि भवानी रुष्ट भइ त्यस दिनबाट प्रत्यक्ष दर्शन दिन छोडेकी थिइन्। राजाले बिन्तीभाउ गरेपछि सपनामा आएर आफू बालिकाको रूपमा आउने भनेपछि जीवित देवी कुमारी पुज्ने परम्परा शुरु भएको हो।
इतिहासकार मानन्धरका अनुसार, कुमारी जात्राको लिखित दस्तावेजमा जात्राको परम्परा जयप्रकाश मल्लको समयबाट सुरु भएको पाइन्छ। तर, कुमारी पुज्ने परम्परा पहिलो पटक भक्तपुरमा सुरु भएको उनी बताउँछन्।
कुमारी पूजाको विषयमा ‘द गडेस तुलजा एन्ड कुमारी इन नेपाली कल्चर’ पुस्तकमा अर्को मिथक पनि उल्लेख छ। विसं १३८१ मा सिम्रौनगढका राजा हरिसिंह देव नेपाल भ्रमणको क्रममा भादगाँउ (भक्तपुर) आइपुगे। राजा हरिसिंह र रानी देवल देवीले श्री तुलजा (तलेजु) भवानीलाई भादगाँउको दरबारमा स्थापना गरे। स्थापित देवीलाई मल्ल राजाहरूले इष्ट देवीको रूपमा पुज्न थाले। राजाहरू देवीले नै प्रदान गरेको तान्त्रिक यन्त्रका माध्यमबाट कुरा गर्थे।
सोही क्रममा एक पटक त्रैलोकीय मल्लकी छोरी गंगा देवीले उक्त यन्त्र खोल्दा देवीको दर्शन पाइन्। त्यस समय महिलाले देवीको दर्शन पाउन नहुने मान्यता थियो। देवी रुष्ट भएर आगामी दिनबाट प्रत्यक्ष दर्शन नपाउने र कुनै शाक्य कन्यालाई कुमारीको रूपमा प्रतिस्थापना गर्न सल्लाह दिएको पुस्तकमा उल्लेख छ।
भक्तपुरका स्थानीयसमेत रहेका संस्कृतिविद् ओम धौभडेलका अनुसार, भक्तपुरमा त्रैलोकीय मल्लभन्दा केहीपछि भक्तपुरमा शासन गरेका जगतज्योति मल्लको पालाबाट भने यो परम्पराले दीगो स्वरुप पाएको हो। काठमाडौँबाहेक भक्तपुर, पाटन, नुवाकोट, टोखा, पनौती, बुंगमतिलगायत ठाउँमा १३ कुमारी छन्।
बौद्ध धर्मावलम्बी रहेका बज्राचार्य तथा शाक्य बालिकालाई हिन्दू सम्प्रदायले देवीको रुपमा पुजिने कारण यो परम्परामा दुई धर्मबीचको भाइचार पनि देखिने संस्कृतिविद्हरू बताउँछन्। कुमारी चयनको प्रक्रिया भने ठाँउ अनुसार फरक छन्। "काठमाडौंमा कुमारी चयनका लागि तीन वर्षदेखिका बालिकालाई एक स्थानमा भेला पारि गुरु पुरोहितले चिना हेर्छन्। जसको चिना देशका लागि बलियो हुन्छ उनै बालिकालाई कुमारी हुन योग्य मानिन्छ। त्यसपछि, पुरोहितकी पत्नीले बालिकाको आमाको उपस्थितिमा शरीरमा दाग, धब्बा भए–नभएको चेकजाँच गर्छन्", पूर्वकुमारी रश्मिला भन्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
