‘मोन्टी’लाई सम्मान, नेपाली क्रिकेटलाई नयाँ कोच

मोन्टीको विकल्प खोज्दै गरेको क्रिकेट संघले एनपीएलको भव्य आयोजनासँगै माथिल्लो स्तरको कोच लिनुपर्ने धारणा राख्नु खराब होइन, बरु ढिला पो भयो त!

माघ महिनाको शुरूआततिरै युवा ब्याटरका लागि ‘ब्याटिङ क्लिनिक’ नाम दिएर नेपाल क्रिकेट संघले ब्याटिङ क्याम्पको घोषणा गर्‍यो। नेपाल क्रिकेट संघले एक हप्ताभन्दा लामो प्रशिक्षण त्रिवि क्रिकेट ग्राउन्ड र मूलपानी क्रिकेट ग्राउन्डमा हुने र त्यस क्लिनिकको ‘डाक्टर’ नेपाली क्रिकेटका कोच मोन्टी देसाई रहने बतायो। पछिल्ला प्रतियोगिताहरूमा राम्रो प्रभाव देखाएका युवा खेलाडीहरूको क्लिनिकमा सहभागिता रह्यो। नेपाली क्रिकेट टिमसित कोच मोन्टीको ‘लास्ट असाईन्मेन्ट’ हो भनेर लख काट्न थालियो, चर्चा चल्यो।

त्यसअघि सम्झौँ। दशैँ तिहारपछि नेपाली क्रिकेटमा दुई ठूला र महत्त्वपूर्ण प्रतियोगिता आयोजना भए। नेपाल प्रिमियर लिग (एनपीएल) का नाममा क्यानले खेलकुद इतिहासकै सशक्त प्रतियोगिता सम्पन्न गर्‍यो। भव्य प्रतियोगिताको रूपमा एनपिएल सकियो। त्यसलगत्तै नेपाली क्रिकेटको नयाँ पुस्ताले सेतो जर्सीमा रातो बलको प्रतियोगिता खेले। पहिलो चोटि दुई दिवसीय र त्रिदिवसीय शैलीमा नेपाली भर्जनको टेस्ट क्रिकेट पनि राम्रै हिसाबले सम्पन्न भयो। निकै लामो समययता घरेलु क्रिकेटमा लामो संरचनाको क्रिकेट प्रतियोगिताको आवश्यकता रहेको आवाज उठे पनि त्यसले वर्षौंपछि मात्रै सार्थकता पायो।

एनपिएलदेखि जय ट्रफी घरेलु मैदानमै राम्रै चर्चाका साथ सकिए। तर यी तमाम घटनाबीच कोच मोन्टी कतै हराइरहेका थिए। नेपाली क्रिकेटका राष्ट्रिय/अन्तर्राष्ट्रिय र घरेलु मैदानमा पहिलेझैँ चर्चा पाइरहेका थिएनन्। एनपीएलताका पूरै छायामा परेका उनको चर्चा जय ट्रफीमा समेत भएन। पहिलेझैँ उनको व्यक्तित्वको चर्चा 'क्रिकेट समुदाय'मा भइरहेको थिएन। ‘मोन्टी इरा’को समापन भएको सुरुवाती संकेत थिए यी घटनाहरू।

लामो प्रतीक्षापछि १० वर्षको अन्तरमा सन् २०२४ मा नेपाली क्रिकेट टोलीले दोस्रो पटक टी २० क्रिकेट वर्ल्ड कपमा सहभागिता जनायो। दोस्रो पटक वर्ल्ड कपमा सहभागी हुँदा नेपाली क्रिकेट टिम निकै बदलिएको थियो। त्यति बेलाका कप्तान यतिखेर क्यानको सचिव भइसकेका थिए भने दुई विश्वकपमा सहभागी खेलाडी सोमपाल कामी राष्ट्रिय टिममा संलग्न भइसकेका थिए। एक दशक अगाडीको नेपाली क्रिकेट टिम निकै सानो 'झिल्को' थियो। अहिलेजस्तो 'वान डे स्टेटस' पाइसकेको थिएन। उतिखेर नेपाली टिम आईसीसीका डिभिजन स्तरीय खेलमै अलमलिएर बस्ने गरेको थियो। कहिले एक तह घटुवा त कहिले एक तह बढुवा नेपालको नियतिजस्तै भइरहेको थियो। नेपालले लामो संरचनाको क्रिकेट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि निकै नै कम मात्रै खेल्दै आएको थियो। अफगानिस्तान र आयरल्यान्ड आईसीसीका एसोसियटतर्फ दमदार प्रदर्शन गर्दै आएका दुई टिम थिए।

वर्ल्डकपमा नेपालले सशक्त अफगानिस्तानलाई हरायो भने हङकङ माथि प्रभावशाली जित निकाल्यो। नेपालले आफू समावेश समूहका खेलमा दुई जित निकाले पनि नेट रनरेटका आधारमा बांग्लादेशसित पछि पर्न गयो। यसपछि नेपालले विश्व क्रिकेटमा हलचल मच्चायो। विश्व क्रिकेटलाई नेपालतर्फ आकर्षण गर्न सफल भयो।

यता, एक दशकपछि अमेरिका र वेस्ट इन्डिजमा गत जुनमा सम्पन्न टी२० वर्ल्डकपमा सहभागी भई नेपाल जितविहीन भई घर फर्कियो। समूह चरणका चार खेलमध्ये तीन खेलमा हार बेहोर्न पुग्यो भने एक खेल वर्षाले प्रभावित हुँदा रद्द भयो। समूह चरणमा दक्षिण अफ्रिकाविरुद्ध एक रनले स्तब्ध भयो। नेपाली टोलीले दुई बलमा दुई रन बटुल्न नसक्दा एक ऐतिहासिक नतिजा गुमाउन पुग्यो। वर्षौंदेखि नेपाली क्रिकेटले भोग्दै आएको ब्याटिङले पुनः नेपाललाई धोका दियो।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वर्ल्डकपपछि टोलीले धेरै सिक्न पाएको भन्दै पुरानै रटान लगाए। समूह चरणमा नेदरल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेशसँग नेपालले कुनै कायापलट गर्न सकेन। एसोसियट टिमहरूमध्ये एक नम्बर बनाउँछु भन्ने कप्तानले वर्ल्ड कपमा कप्तानी जादु देखाउन सकेनन्। बाह्र खेलमध्ये एघार खेलमा जित निकालेर जादुमयी तरिकाले वान डे स्टेटस बचाउन सफल कोच मोन्टी देसाईको त्यहाँ जादु चलेन।

दुई वर्ष अगाडी मोन्टी देसाई नेपाली क्रिकेटसँग जोडिनुभन्दा पहिले नेपाली क्रिकेट टिम धराशायी अवस्थामा थियो। छ-छ महिनाको अन्तरमा कोच परिवर्तन भइरहेका थिए। कोच आउने-जाने भइरहेको थियो। सबैले टिममा रहेका खेलाडीहरूलाई दोष दिँदै भागे। तर निकै सकारात्मक भावसहित मोन्टीको उपस्थिति भयो। क्यानले नियुक्त गर्नु अगाडी नै उनी काठमाडौँ ओर्लिएर खेलाडीहरूलाई प्रशिक्षण नै दिन थाले।

क्यान भित्रको समस्याले देसाईलाई कोचमा नियुक्ति दिलाउन ढिलाइ भए पनि उनले आफ्नो कर्म सुरु गरे। त्यसपछि सुरु भयो नेपाली क्रिकेटमा ‘मोन्टी इरा’। वान बल ब्याटल, मोन्टी बल, ह्याप्पी ड्रेसिङ रुम, वी क्यानलगायत ह्यासट्याग सहित नेपाली क्रिकेट नयाँ स्वरूपमा देखिन थाल्यो। नेपाली क्रिकेटले 'डिजिटल इन्गेजमेन्ट' बढाउन सुरु गर्‍यो। देसाईले टेस्ट राष्ट्रको टिमलाई कोचिङ गरेभन्दा फरक व्यवहार गरेनन्। नेपाली क्रिकेटको फ्यानबाट नतमस्तक देसाईले आफूलाई नयाँ व्यक्तित्वको रूपमा स्थापित गरे। नेपाली क्रिकेट टोलीको कोच भएपछि उनले सामाजिक सञ्जाल एक्समा आफ्नो सक्रियता बढाए।

कोचिङ गर्दाका बखत कुनै फिल्मी नायकजस्ता देखिने उनका तस्बिरहरू सामाजिक सञ्जालमा छाउन थाले, हरेक खेलमा प्राप्त जित/हारपश्चात् ग्राउन्ड स्टाफलाई नमस्कार गर्दै सम्मान व्यक्त गरे। हरेक हारपछि मिडियासँग बोल्न आफै उपस्थित भए भने जितमा कप्तान र खेलाडीहरूलाई बोल्न अगाडी सारे। खेल सकिएपछि होस्टेलमा 'ह्याप्पी ड्रेसिङ' रुमअन्तर्गत खेलाडीबीच आत्मीयता बढाउने कार्य गरे।

विश्व प्रसिद्ध कोच एन्डी फ्लावर तथा विश्वकप विजेता टिमका कोच राहुल द्रविडलगायत भारतीय स्टार खेलाडीहरूसँग उनीहरूको ड्रेसिङ रुममा नेपाली खेलाडीलाई साक्षात्कार गराए। देसाईले टी २० वर्ल्ड कपमा छनोट गराई नेपाली टिमलाई भारत र पाकिस्तानसँग खेल्नेगरी एसिया कपसम्म पुर्‍याए। उनकै प्रशिक्षण कालमा नेपाली क्रिकेट टिमले भारत र पाकिस्तानसँग क्रिकेट खेलेको हेर्ने दर्शकहरूको सपना पूरा भयो। मोन्टीले एसिया कपको छनोट खेलमा काठमाडौँको झरीमा घण्टौँ छाता लिई उभिएर नेपालको खेल हेर्न कुरेका दर्शकलाई निराश बनाएनन्।

एशिया कपमा छनोट भई नेपालले पाकिस्तानसँग उसकै घरेलु मैदान मुल्तानमा गएर खेल्यो भने भारतसँग खेल्न श्रीलंका सयर गर्‍यो। टी २० वर्ल्डकप छनोट खेलका दिन मूलपानी मैदान आसपासका डाँडाकाँडा, पाखापखेरादेखि घरका छतमा भरिभराउ दर्शकमाझ नेपाल वर्ल्ड कपमा छनोट भएपछि देसाई निकै भावुक भए। कप्तान रोहितका अनुसार कोच खुशीले भावुक भएका थिए।

क्यानले देसाईलाई कोचमा नियुक्त गर्दैगर्दा उनको पहिलो अभिभारा वान डे स्टेटस बचाउनु दिइएको थियो। उनको पहिलो असाईनमेन्ट नेपालको गुम्नै लागेको एक दिवसीय मान्यता बचाउनु थियो। वान डे स्टेटस बचाएबापत उनको तलब वृद्धि गर्ने ‘क्लज’ समेत राखेर देसाईसँग क्यानले सम्झौता गरेको थियो। तर देसाईले वान डे स्टेटस मात्र दिलाउन भूमिका खेलेनन्। बोनसस्वरूप एशिया कपमा छनोट गराउनदेखि एक दशकपछि पुनः टी २० वर्ल्ड कपमा नेपालको पुनरागमनमा भूमिका खेले। जुन प्रयोजनको लागि क्यानले उनलाई कोचमा नियुक्त गरेको थियो, त्यसको भरपाई मात्रै नगरी देसाईले बोनससमेत बाँड्न सफल भए।

टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनको हार र हाल चलिरहेको लिग २ का खेलहरू तपसिलका विषय थिए। उनको असाईन्मेन्ट सकिएको थियो। उनले बोनससमेत दिइसकेपछि उनीबाट बढी अपेक्षा गर्नु निरर्थक थियो। 

गत वर्ष टी २० वर्ल्ड कपमा नेपाल छनोट भएपछि फागुनमा आईसीसी लिग २ अन्तर्गत पहिलो सिरिजको रूपमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित ट्राई सिरिज नेपालमा सम्पन्न भयो। घरेलु मैदानमा बाह्र खेलमध्ये एघार खेल जितेर सुरु भएको ‘मोन्टी इरा’ त्यसको ठिक विपरीत घरेलु मैदानमा चारमध्ये तीन खेल हारेसँगै अन्त भएको संकेत देखियो। वर्ल्ड कपमा पनि चारमध्ये तीन खेल गुमाउन पुग्यो।

नेपाली टिमले दक्षिण अफ्रिकाविरुद्ध एक रनको झिनो अन्तरमा पराजय बेहोर्‍यो। आईसीसीको पूर्ण सदस्य बन्न वर्ल्डकपमा टेस्ट राष्ट्रलाई हराएको हुनुपर्ने प्रावधानमा नेपाल बलियो बन्न पनि दक्षिण अफ्रिकाविरुद्धको जित निकै महत्त्वपूर्ण थियो। वर्ल्ड कपमा अपेक्षित जित निकाल्न नसकेपछि देसाईले नेपाली मिडिया फेस गर्ने आँट गर्न सकेनन्।

पहिले पहिले टिमले खेल गुमाउँदा पत्रकारको प्रश्न सामना गर्ने देसाई त्यसपछि मिडियाका सवाल जवाफमा सरिक हुन छाडे। वर्ल्ड कपमा सहभागी भई फर्केपछि क्यानका पदाधिकारी नै कोच र कप्तानलगायत धेरै विषयमा गम्भीर छलफल हुनुपर्ने बताउन थाले। यहीँबाट सुरु भयो देसाईको विकल्पको खोजी।

टी२० वर्ल्डकपपछि आईसीसी लिग२ अन्तर्गत नेपाली टिमले गरेको क्यानडा र अमेरिका भ्रमण पूर्ण रूपमा असफल भयो। त्यसले पनि मोन्टीको ओरालो यात्रालाई गति दियो। लिग २ अन्तर्गत अमेरिका र क्यानडापछि अर्को सिरिज नेपालले खेलेको छैन। अतः मोन्टीको विकल्प खोज्दै गरेको क्रिकेट संघले एनपीएलको भव्य आयोजनासँगै माथिल्लो स्तरको कोच लिनुपर्ने धारणा राख्नु खराब होइन, बरु ढिला पो भयो त!

यतिचाहिँ भन्नै पर्छ, टेस्ट मान्यता प्राप्तिबारे विगत कोट्याउँदा अफगानिस्तानसँग तुलना गर्न पछि नपर्ने क्रिकेट संघका पदाधिकारीले अफगानिस्तानले वान डे मान्यता पाएपछि के गर्‍यो र नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि के गर्‍यो भनेर तुलना गर्नु अर्थपूर्ण हुन्छ। कोचिङ स्टाफ र घरेलु क्रिकेटमा लगानीलगायतमा अफगानिस्तानले के गर्‍यो भनेर नेपाल क्रिकेट संघले खोज्ने र बुझ्ने हो भने टेस्ट मान्यता प्राप्तिको बाटो खासै पर छैन।

मोन्टीलाई एक दिवसीय मान्यता बचाउने काम दिएर कोचमा नियुक्त गरेपछि उनले नेपाली क्रिकेटसँग जोडिएर जे जति दिन सके ती सबैको लागि धन्यवाद दिँदै मोन्टीको सम्मानका साथ बिदाइ गरौँ। अबको गन्तव्य लिग २ अन्तर्गत बाँकी खेलमा सानदार प्रदर्शनसहित एसोसियटमा बलियो राष्ट्रको रूपमा उभ्याउनु र टेस्ट राष्ट्र मान्यता प्राप्त गर्न अझै अनुभवी र माथिल्लो स्तरको कोच लिऊँ। यति भन्दाभन्दै के नभुलौँ भने सबै कोच नै साध्य होइनन्, साधन मात्र हुन्।

 

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)