रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

तीनपटक मदन पुरस्कार पाउने संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। 

फाइल तस्वीर

काठमाडौँ- संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। 

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको उनको आत्मकथा ‘सत्यमोहन’का लेखक पत्रकार गिरिश गिरीले ट्विटमार्फत जानकारी दिएका छन्। “सत्यमोहन सर रहनुभएन। अहिले बिहान ७ बजेर ९ मिनेटमा हामीबाट बिदा हुनुभयो,” गिरीले लेखेका छन्।

जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो। कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। त्यसपछि रगत जाँच गर्दा उनलाई डेंगी सङ्क्रमण भएको पाइएको थियो।

जोशीलाई मुटु र प्रोष्टेटको समस्या थियो। कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। त्यसपछि रगत जाँच गर्दा उनलाई डेंगी सङ्क्रमण भएको पाइएको थियो। अस्पतालमा उपचारकै क्रममा निमोनियासमेत भएको थियो। खाना अरुचीका कारण उनी शिथिल बन्दै गएका थिए। 

जोशीको जन्म १९७७ वैशाख ३० गते भएको हो। उनी तीनपटक मदन पुरस्कार पाउने एक मात्र व्यक्ति हुन्। जोशीले ‘हाम्रो लोक संस्कृति’ पुस्तकका लागि ले २०१३, ‘नेपाली राष्ट्रिय मुद्रा’का लागि २०१७ र ‘कर्णाली लोक संस्कृति’ का लागि २०२८ सालमा मदन पुरस्कार पाएका थिए।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो। राजा महाराजाबाहेक जीवित छँदै हुलाक टिकटमा फोटो र नाम अंकित हुने उनी पहिलो सर्वसाधारण हुन्। २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको हो। 

उनी न्यूजिल्यान्ड पुग्ने पहिलो नेपाली हुन्। त्यसैगरी पोखराको महेन्द्रगुफा उनैले पत्ता लगाएका हुन्। सांस्कृतिक संस्थान स्थापना गर्ने उनै थिए। उनी पुरातत्व विभागका पहिलो निर्देशक हुन्।

उनले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए।