मुलुकको अर्थतन्त्र जोखिममा छ : प्राडा वाग्ले

अर्थविद् प्राडा अच्युत वाग्लेले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

काठमाडौँ- अर्थविद् प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान् अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्। 

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान् अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका हुन्। 

उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताए। प्राडा वाग्लेले मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताए। 

उनले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भीर प्रश्न उठेको भन्दै सरकारले समयमै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरू आइरहेको दाबी गरे। 

त्यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताउँदै उनले न्यून आय भएका मानिसहरूको क्रय शक्ति र आय दुवै कम भएको कारण आर्थिक चक्र नै खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गरे। 

लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्ने भन्दा बाहेक केही नभएको उनले बताए। 

उनले भने, “मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था रहेको छ। चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ। यसमा राज्यको पुँजीगत खर्च गर्ने क्षमताको गम्भीर प्रश्न हो। बहुआयामिक खालका समस्याहरू आएका छन्।”

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरूले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताए। बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरूले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको वाग्लेले बताए। 

त्यस्तै, उनले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घर जग्गा कारोबार गरिनुपर्ने भनिए पनि अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गरे। राज्यविहीनताको अवस्था बढ्दै गएको कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्यधिक चर्किँदै उनको भनाइ थियो।

अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उनको जिकिर थियो।