Wednesday, May 01, 2024

-->

इन्स्टाग्राममा युद्धविरोधी स्टोरी राख्ने रुसी महिला पक्राउ, १० वर्ष जेल सजाय हुनसक्ने

रुसमा युद्धको विरोध गर्नेलाई सामाजिक बहिस्कार गर्न थालिएको छ। विद्यार्थी, शिक्षक र कामदारले सहकर्मीको पोल खोल्ने र पक्राउ गर्न सघाउने गरेका छन्।

इन्स्टाग्राममा युद्धविरोधी स्टोरी राख्ने रुसी महिला पक्राउ १० वर्ष जेल सजाय हुनसक्ने 
तस्वीर : बीबीसी

रुसी नागरिक २० वर्षीया ओलेस्या क्रिभ्त्सोभा इन्स्टाग्राममा युद्ध विरोधी पोस्ट गरेकै कारण पक्राउ परेकी छिन्। गत अक्टोबरमा रुसले अतिक्रमण गरेर आफ्नो भूमिमा गाभेको क्रिमियाको एक पुल विस्फोट भएपछि ओलेस्याले “जे भयो त्यसबाट युक्रेनीहरू कति खुशी भए होलान्,” भनेर इन्स्टाग्रामको स्टोरीमा पोस्ट गरेकी थिइन्।

साथै, उनले युद्धसम्बन्धी अन्य साथीहरूका पोस्ट पनि सेयर गरेकी थिइन्। त्यसपछि भने घटनाक्रम नाटकीय रूपमा बढ्दै जान्छन्।

रुसमा सरकारको आलोचना गर्नेहरूलाई राष्ट्रघातीको आरोप लगाएर जेल चलान गर्ने गरिन्छ। यसमा अधिकांश जनताले नै सरकारलाई यस्ता व्यक्तिको बारेमा जानकारी दिने गर्छन् र जेल पठाउने गर्छन्। आलेस्यालाई पनि त्यस्तै भयो। उनलाई आतंकवादलाई प्रश्रय दिएको र रुसी सैन्य बललाई अपमान गरेको आरोप लगाइएको छ। जसमा उनलाई १० वर्षसम्मको कैद सजाय हुन्छ।

“म घरमा बसेर आमासँग फोनमा कुरा गर्दै थिएँ। घरको अगाडिको ढोकाबाट एकाएक धेरै प्रहरी घरभित्र पसे। मेरो फोन खोसे अनि थर्काएर मलाई भुईमा पल्टिन भनियो,” ओलेस्या भन्छिन्, “मैले कल्पनासम्म गरेकी थिइनँ कि इन्टरनेटमा एउटा पोस्ट गरेकै भरमा कुनै व्यक्तिलाई यति लामो जेल सजाय हुन्छ भनेर। रुसमा अचम्मका फैसलाहरू भएको त सुनेकी थिएँ तर खासै ध्यान नदिइ निरन्तर रूपमा बोल्दै आएकी थिएँ।”

अर्खान्गेल्स्कस्थित उत्तरी संघीय विश्वविद्यालयकी विद्यार्थी ओलेस्याको नाम अहिले रुसका आतंकवादी र अतिवादीहरूको सरकारी सूचीमा छ। “विद्यालयमा गोली चलाएका आक्रमणकारी र इस्लामिक स्टेट समूहका मानिसहरूको नामसँगै जब मेरो नाम पनि सँगै देखेँ, म छाँगाबाट खसेजस्तै भएँ”, ओलेस्याले बताइन्।

अहिले उनी घरमै नजरबन्दमा छिन्। फोन चलाउन, अनलाइनमा बस्न सबै प्रतिबन्ध छ। ओलेस्याको दाँया खुट्टामा एक आकर्षक ट्याटु पनि छ। जसमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई एक माकुराका रूपमा चित्रण गरिएको छ र अर्वेलियन भाषामा लेखिएको छ, ‘बिग ब्रदर इज वाचिङ यु’ अर्थात एक शक्तिशालीले तिमीमाथि नजर राखिरहेको छ।

तर ओलेस्याका लागि ‘बिग ब्रदर’ अर्थात शक्तिशाली अरू कोही नभएर आफ्नै साथीहरू भैदिए। एकदिन साथीले च्याट गरिरहेका बेला उनीबारेको एउटा पोस्ट देखाए। त्यस ग्रूपच्याटमा ओलेस्या रुसको ‘विशेष सैन्य कारबाही’ विरूद्ध उत्रिएकाबारे चर्चा भइरहेको थियो। र, यो कुरा सरकारी निकायकहाँ पुर्‍याउने वा के गर्ने भन्ने छलफल गरिरहेका थिए।

ग्रूपच्याटको एउटा कमेन्टमा ओलेस्यालाई आरोप लगाउँदै भनिएको थियो, “यो पराजयवादी र अतिवादी चरित्रको उत्तेजक पोस्ट हो। युद्धका समय यस्तो हुनु हुँदैन। यसलाई जरैदेखि हटाइनुपर्छ। पहिले हामी यसको बेइज्जत गरौँ। त्यति गर्दा पनि नबुझे सुरक्षाकर्मीले नै सम्हाल्नेछन्।”

अर्को व्यक्तिको कमेन्ट थियो, “सामाजिक आलोचना गर्नु राष्ट्रवादीहरूको जिम्मेवारी हो।” अदालती कारबाही शुरू गर्दा प्रत्यक्षदर्शीको नाम पढेर सुनाउँदा ओलेस्याले च्याटका ती विद्यार्थीलाई चिनेकी थिइन्। छिमेकी मुलुक युक्रेनमा रुसले आक्रमण गरेको एक वर्ष बित्नै लागेको छ। यसलाई क्रेमलिनले ‘विशेष कारबाही’ भन्दै आएको छ। युद्ध शुरू भएको केही सातामै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले “राष्ट्रघाती र दोहोरो चरित्रका मान्छेहरूबाट सच्चा राष्ट्रवादी”लाई अलग बनाउन रुसी नागरिकलाई आग्रह गरेका थिए।

त्यसयता रुसमा युद्धको विरोध गर्नेलाई सोभियत संघकै ढाँचामा सामाजिक बहिस्कार गर्ने र बेइज्जत गरिरहेको खबर बाहिरिएका छन्। विद्यार्थीले शिक्षकको र कामदारले सहकर्मीको पोल खोल्ने र पक्राउ गर्न सघाउने भइरहेको छ।

रुसले युक्रेनमाथि गरेको युद्धको सार्वजनिक आलोचना गर्नु र आलोचकका पोस्टहरू शेयर गर्नु निकै खतरनाक मानिन्छ। रुस युक्रेन युद्धमा रुसले आफ्नो पूर्ण समर्थन चाहन्छ। समर्थन नगर्ने हो भने पनि चुप बस्नु नै उत्तम हुन्छ। चुप नबस्ने विरोधीलाई सजाय दिइन्छ। गलत सूचना फैलाएको र सेनाको अवज्ञा गरेको लगायत कानून लगाएर चुप लगाइन्छ।

अर्खान्जेल्स्क शहरको मध्यभागको नौतले भवनमा युक्रेनी आक्रमणमा मारिएका एक रुसी सैनिकको ठूलो पोस्टर टाँसेर लेखिएको छ, “लडाकु हुनु भनेको अजम्बरी हुनु हो।” 

यता, नजरबन्दमा रहेयता ओलेस्या आफ्नो घरबाहिर निस्केको एकै पटक हो त्यो पनि अदालतमा जाँदा। उनका वकिलले ओलेस्यामाथि लागेका प्रतिबन्ध हटाउन माग गरिरहेका छन्। तर न्यायाधीशले घरमै नजरबन्दमा रहने आदेशलाई निरन्तरता दिएका छन्।

ओलेस्या भन्छिन्, “स्वतन्त्रता, प्रजातन्त्रका लागि वादविवाद गर्न रुस सरकारसँग समय छैन। तर उनीहरूले सबै जनालाई जेल पठाउन सक्दैनन्। कुनै समय उनीहरूसँग पर्याप्त जेलको पनि अभाव हुनेछ।”

बीबीसीको सहयोगमा
 


 


सम्बन्धित सामग्री