समूह 'बी' को उपविजेता बन्दै मधेश प्रधानमन्त्री कपको सेमिफाइनलमा

बुधबार भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै मधेश अन्तिम चारमा पुगेको हो।

काठमाडौँ- समूह 'बी' को उपविजेता बन्दै मधेश प्रदेश प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै मधेश अन्तिम चारमा पुगेको हो। मधेशले अब फाइनल प्रवेशका लागि समूह ' ए' को विजेता सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ।

मधेशले दिएको १०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ५१ रन मात्रै बनाउन सक्यो।

लुम्बिनीकी मधु डिसीले अविजित रहँदै २१ रन बनाइन्। उनले १७ बलमा ३ चौका प्रहार गरिन्। यता, मध्यक्रमकी रन्जु श्रेष्ठले पनि अविजित रहँदै २१ रनको योगदान दिइन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्।

ओपनर लक्ष्मी चौधरी १२, आसमा पुलामी मगर ११, कप्तान सरस्वती जीएम ११ र सरस्वती पुन १० रनमा आउट भइन्।

मधेशकी भूमि सिंहले सर्वाधिक २ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्। कविता गौतमको नाममा १ विकेट रह्यो।

त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनाएको थियो।

मधेशकी साना प्रवीणले अविजित रहँदै सर्वाधिक ४६ रन बनाइन्। उनले ६४ बलमा ५ चौका प्रहार गरिन्। मध्यक्रमकी अमिरा निशाले १९ बलमा १ चौकासहित १५ रन बनाइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

मधेशले खेलमा अतिरिक्त २७ रन पाएको थियो। लुम्बिनीकी मनीषा राणा, सरस्वती पुन र बिभसना बिसीले ११ विकेट लिइन्। समूह 'बी' बाट प्रदेश नम्बर १ समूह विजेताको रूपमा सेमिफाइनलमा पुगिसकेको छ।

समूह 'ए' बाट भने विभागीय टोली एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।