‘सिस्टम’मा खराबी आउँदा रोकियो राहदानी वितरण

राहदानी विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन आग्रह गरेको छ।

काठमाडौँ– राहदानी विभागको सिस्टममा समस्या आउँदा राहदानी वितरणमा समस्या आएको छ। सिस्टममा खराबी आएपछि राहदानीसम्बन्धी सेवा रोकिएको राहदानी विभागले जनाएको हो।

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए। अर्को सूचना जारी नहुँदासम्म मंगलबारदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ।

"विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस/म्यासेज आएपछि मात्र विभागमा आउन हुन अनुरोध छ", निर्देशक सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नियमित रूपमा राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीलाई भने तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरिएको छ।