छुदेनको ‘उरमाल’ र गजेन्द्रको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।

काठमाडौँ– लेखक छुदेन काविमोको उपन्यास ‘उरमाल’ र पत्रकार गजेन्द्र बुढाथोकीको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ पुस्तक सार्वजनिक भएको छ। 

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको हो। प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा मानवशास्त्री सुरेश ढकाल र लेखक छुदेनले संयुक्त रूपमा पुस्तक ‘उरमाल’  सार्वजनिक गरे। 

कार्यक्रममा लेखक छुदेनसँग मानवशास्त्री ढकालले संवादसमेत गरेका थिए। संवादमा मानवशास्त्री ढकालले ‘उरमाल’ उपन्यासले चिया उमार्नेहरूको कथा अर्थात् चिया टिप्ने श्रमिकको जीवनका दुःख र संघर्षको कथा पस्किएको जनाए। 

उता, मण्डिखाटारमा आयोजित एक कार्यक्रममा बुढाथोकीका पिता भक्तबहादुर, इतिहासका प्राध्यापक त्रिरत्न मानन्धर, पत्रकार कुन्द दीक्षित र लेखक यादव देवकोटाले ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक गरे।

आर्थिक इतिहासको विषयमा अध्ययन गर्ने क्रममा जंगबहादुरबारे रोचक विवरण फेला परेको र त्यस क्रममा अघि बढेको थप अध्ययनले पुस्तकको आकार लिएको लेखक बुढाथोकीले बताए।