प्रधानमन्त्रीलाई आयोगले गरायो निर्वाचन सम्पन्न भएको जानकारी

बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री देउवालाई निर्वाचन सम्पन्न भएको जानकारी गराएका छन्।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७९ सम्पन्न भएको जानकारी गराएका छन्।

बिहीबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन सम्पन्न भएको जानकारी गराएका हुन्। सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पनि प्रधानमन्त्रीसमक्ष पेस गरेका थिए।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए। साथै, निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

यसअघि आयोगका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष प्रतिवेदन पेस गरेका थिए। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको नतिजा बुधबार आयोगले औपचारिक रूपमा सार्वजनिक गरेको थियो।

आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कूल ८२५ उम्मेदवार निर्वाचित भएका छन्। जसमा प्रतिनिधिसभातर्फ १८४ पुरुष र ९१ महिला निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ ३५० पुरुष र २०० महिला निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८६ वटा दल दर्ता भएकोमा प्रत्यक्षतर्फ ६१ वटा र समानुपातिकतर्फ ४७ वटा दल निर्वाचनमा सहभागी भएका आयोगले जनाएको छ।