पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम पुस्तकमा गरिएको छ।
काठमाडौँ– नेपाली इतिहास, संस्कृति र पुरातत्त्वका अनुसन्धाता महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन्। पुस्तकलाई पब्लिकेसन नेपालयले यही पुस २७ (पृथ्वीजयन्तीका दिन) मा बजारमा ल्याउने भएको छ।
इतिहास उत्खनन् र त्यसको तथ्यसंगत पुनर्लेखनमा राणाकालदेखि नै सक्रिय मुलुककै अग्रणी संस्था संशोधन मण्डललाई नेतृत्व दिँदै आएका पन्तले झण्डै आधा शताब्दी लगाएर गरेको खोज पुस्तकमा अटाएको छ। पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनोट गरिएका ११ लेखको विस्तारित, परिमार्जित, अनूदित रूप पुस्तकमा समेटिएको छ।
पिता प्राज्ञ नयराज पन्तद्वारा स्थापित संस्था ‘संशोधन मण्डल’को पाठशालामा संस्कृत भाषा र वांमय अनि नेपालको इतिहास अनुसन्धानका लागि आवश्यक विद्या आर्जन गरेका पन्त हाल त्यसै संस्थाका अध्यक्ष छन्। पछि उनले जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरे। जर्मनी र भारतबाट एक–एकवटा पुस्तकसहित उनका हालसम्म १८ वटा पुस्तक र ८०० जति अनुसन्धानमूलक लेख प्रकाशित छन्।
नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध अध्यापन तथा फ्रान्सको ‘सेन्टर फर साइन्टिफिक रिसर्च’मार्फत शोध गरेका छन्। पन्त इतिहास प्रधान त्रैमासिक जर्नल ‘पूर्णिमा’को स्थापनादेखि हालसम्मकै सम्पादक पनि हुन्। २०२१ सालमा शुरू भएको पूर्णिमा पनि ६० वर्ष पुगेको छ।
“पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,” इतिहासकार पन्त भन्छन्, “यतिबेला यस विषयमा धेरै चासो रहे पनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले मैले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ।”
पुस्तकमा ‘इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नकली हो?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन्?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक समावेश छन्।
यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनुभन्दा केही समयअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ।
१३३ पृष्ठको पुस्तकलाई ४९५ रुपैयाँ मूल्य तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
