बेलायतले नेपालमा धेरै काम गरेको छ, तर हामी प्रचार गर्दैनौँः राजदूत फेन

‘नेपालमा युवाका लागि कसरी देशभित्र रोजगारी सिर्जना गर्ने भन्नेमा हामी केन्द्रित छौँ। विकासका हरेक पक्षमा नेपालसँग कुराकानी गरिरहेका छौँ। नेपाललाई सुस्त विकासको पासोबाट मुक्त गर्न हाम्रो मद्दत रहन्छ।’

तस्वीरहरू : मनीष पौडेल/उकालो

नेपालस्थित बेलायती राजदूत हुन्– रब फेन। उनी २०२३ अगस्टमा नेपालका लागि राजदूत नियुक्त भएका थिए। यसअघि, उनले सन् २०१८ देखि २०२२ सम्म इन्डोनेसियामा बेलायतको डेपुटी हेड अफ मिसनका रूपमा काम गरेका थिए। उनी सन् २००९ देखि २०१३ सम्म ब्रुनाईस्थित ब्रिटिश उच्चायुक्त थिए। राजदूतका रूपमा नेपालमा १८ महिना बिताइसकेका फेनसँग नेपाल अनुभव, राजनीति, कूटनीति, ब्रिटिश–गोर्खालगायत विषयमा उकालोका लागि आमोद प्याकुरेलकिरण दहालले गरेको कुराकानीः

नेपाल र बेलायतबीच द्वौत्य सम्बन्ध स्थापना भएको दुई शतक बितिसकेको छ, यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
यो अवधिमा धेरै कुरा भएका छन् र सम्बन्धमा नाटकीय परिवर्तन आएको छ। १६ मे २०२४ मा नेपाल–बेलायत मैत्री सन्धिको १०० वर्ष मनाइयो। मलाई उक्त कार्यक्रममा सहभागी हुने ठूलो सौभाग्य मिल्यो। म भर्खर राजदूत भएर नेपाल आएको थिएँ। सन्धिको अर्थ त्यति बेला र अहिले फरक हुन सक्छ। सन्धि हुँदा नेपालमा चन्द्र शमशेर प्रधानमन्त्री थिए। उनी यो सन्धि हरहालतमा गराउन चाहान्थे। अन्ततः नेपाललाई स्वतन्त्र देशको रूपमा मान्यता दिने दस्तावेज तयार भएको थियो। त्यो ऐतिहासिक कोसेढुंगा थियो।

हामी १०० वर्षभन्दा बढी समयदेखि सन्धिद्वारा मित्र भएका छौँ। मलाई विश्वास छ– यसले हाम्रो सम्बन्धलाई अद्वितीय बनाएको छ।

हामी यहाँको भू–राजनीतिबाट केही हदसम्म अलग छौँ। नेपालमा भू–राजनीति भए पनि, हामी यहाँ भएकाले यसमा संलग्न छौँ। यद्यपि, हामी भू–राजनीतिको लागि यहाँ आएको होइन। हामी हाम्रा द्विपक्षीय मित्रताका कारण यहाँ छौँ। बेलायती जनताका लागि नेपाल महत्त्वपूर्ण छ र मलाई विश्वास छ– यसले हामीलाई बास्तवमा अलग तहमा राखेको छ।

नेपाल र बेलायतबीच विकास साझेदारी छ। नेपालमा विकासलाई कसरी तीव्र बनाउने, युवाका लागि कसरी देशभित्र रोजगारी सिर्जना गर्ने भन्नेमा हामी केन्द्रित छौँ। विकासका हरेक पक्षमा नेपालसँग कुराकानी गरिरहेका छौँ। नेपाललाई सुस्त विकासको पासोबाट मुक्त गर्न हाम्रो मद्दत रहन्छ। हामी त्यसमा काम गरिरहेका छौं।

तर बेलायत पछिल्लो समय नेपालमा अलिक निस्कृय भएको अनुमान गरिन्छ नि?
गरिन्छ र?

नेपाल र बेलायतको सम्बन्ध अरू देशको तुलनामा अलिक फरक छ। नेपालमा तपाईंहरूले आफ्नो उपस्थितिलाई कसरी हेर्नु भएको छ?
विकास साझेदारसँग हुने सार्वजनिक कूटनीतिमाथि हामी सहकर्मीहरूबीच ठूलो बहस हुन्छ। बेलायती सरकारमा पनि यो छलफल हुन्छ। उसले स्थानीय नेतृत्व र स्वामित्वमा अत्यधिक जोड दिन्छ। विकास कार्यक्रमको सह–स्वामित्व हाम्रो प्राथमिकता हो। यसकारण, नेपाललाई हरेक पटक केही प्रदान गर्दा त्यसको हल्लाखल्ला हुँदैन। त्यो हाम्रो चाहाना पनि होइन।

जाजरकोट भूकम्पपछि यो अझ प्रष्ट भयो। नेपालका धेरै साथीहरू सहयोग गर्न हतारिए, तर हामीले त्यसो गर्नु परेन। हामीले पहिले नै विभिन्न ठाउँमा मानवीय सहयोग प्रदान गरिसकेका थियौँ। त्यसमध्ये कतिपय कार्यक्रम अझ पनि अर्थ मन्त्रालयलाई हस्तान्तरण गर्न बाँकी छ। अब तपाईं जाजरकोट जानुभयो भने, त्यहाँ बेलायतले गरेको सहयोग देख्न पाउनुहुन्छ। हामीले त्यहाँ निर्माणका काम गर्यौं, धेरै पैसा पनि खर्च भयो। यद्यपि, हामीले यसको धेरै प्रचार गरेका छैनौँ।

बेलायत सरकारले विकासका काम गर्दा नेपाल सरकारका विभिन्न निकायमार्फत लगानी गर्ने हो कि सिधै लाभान्वित समुदायमा पुग्छ? तपाईंहरूको प्राथमिकता के हो?
हाम्रो प्राथमिकता सरकारी निकायमार्फत जाने हो, तपाईंले भन्नु भएको पछिल्लो माध्यममा हाम्रो प्राथमिकता कम छ। हामीसँग अझै पनि थुप्रै कार्यक्रम पाइपलाइनमा छन्, जसमा सशासन कार्यक्रम पनि समावेश छ। यसका निम्ति सरकारको हरेक तहसँग साझेदारी आवश्यक पर्छ।

हामी केही अन्य विकास साझेदारहरूसँग पनि एक प्रमुख लगानीकर्ता हौँ। नेपालको संविधानमा हाम्रो विश्वास छ। यहाँ प्रदेश र स्थानीय तह छन्। अहिले विभिन्न स्थानलाई प्राथमिकतामा राखेका छौँ, जस्तो– लुम्बिनी, मधेश र कर्णाली। हामी चाहन्छौँ– प्रदेश तहका सरकारले सक्रियतापूर्वक काम गर्न सकोस्। किनभने, तिनीहरूले अपेक्षाकृत नतिजा निकाल्न सकेनन् भनेर बेलाबेला आलोचना गरिन्छ। तर नतिजा निकाल्न सक्ने वातावरण तयार पारिएको छैन।

तपाईंहरू संघीयतालाई सबल बनाउन चाहनुहुन्छ र यो बेलायत सरकारको प्राथमिकता हो?
हो। यो महत्त्वपूर्ण छ। नेपालको संविधान राम्रो छ र मानिसले खोजेको परिवर्तनलाई सम्बोधन गर्न सक्छ जस्तो लाग्छ।

हाम्रोमा एउटा ‘फ्रेज’ छ– सिस्टम स्ट्रेन्थनिङ। यो विशेषगरी विकास–निकायमा प्रचलित छ। नेपाली संरचनाले गरेको भन्दा अगाडि बढेर हामीले काम गर्न सक्दैनौँ। हामी विभिन्न कार्यक्रममार्फत यहाँको सिस्टमलाई बलियो बनाइरहेका छौँ। पूर्वाधारमा भएको लगानी पनि त्यही हो। 

हामीले आफ्नो काम स्थानीय सरकारसँग मिलेर गरेका छौँ। स्थानीय सरकारले आधा लगानी गर्छ, हामी आधा गर्छौँ। तर हाम्रो सहयोग त्यति बेला मात्र सम्भव हुन्छ, जति बेला उनीहरूले समावेशी योजना प्रस्तुत गरेका हुन्छन्। समुदायमा एकले अर्कालाई पन्छाएर अगाडि बढ्ने होइन, सबै जनाको छलफलबाट बढ्नुपर्छ। स्थानीय तहमा गरिने सहयोगलाई हामीले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लोकल इन्फ्रास्ट्रक्चर सपोर्ट प्रोग्राम) नाम दिएका छौँ।

तपाईंहरूको यस कार्यक्रमले पर्यावरणलाई पनि समेट्छ?
पर्यावरण समावेश छैन। यसको मुख्य उद्देश्य स्थानीय पूर्वाधार सुधार गर्ने हो। यो पर्यावरणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रम होइन।

पूर्वाधारको कुरा हुँदा पर्यावरणको विषय पनि जोडिन आउँछ। पूर्वाधारको निर्माण गर्दा पर्यावरणलाई बिर्सन नमिल्ने विज्ञहरू बताउँछन् नि?
स्थानीय योजना प्रक्रिया अत्यन्त महत्त्वपूर्ण छ। यदि, स्थानीय समुदायसँग पर्याप्त छलफल भयो भने जटिलताहरूलाई पहिले नै सम्बोधन गर्नुपर्छ। जस्तो– सडक निर्माण गर्नुभन्दा पहिला आवश्यक छलफल हुँदा काम गर्न सहज हुन्छ। यो उत्तम उपाय हो।

नेपालमा अस्थिरता छ भन्ने प्रसंग हरदम आउँछ। बेलायतको पनि कुरा गरौँ, त्यहाँका सरकार विगतमा स्थिर देखिन्थे। पछिल्लो समय अस्थिर भएको छ। यसको कारण के हो?
हामी सबै विश्वव्यापीकरणको चपेटामा छौँ र सामाजिक सञ्जालमा हुने राजनीतिक र सार्वजनिक बहसबाट प्रभावित छौँ। हामीले ‘पपुलिस्ट’ सरकार देखेका छौँ। म भन्न चाहन्न– यो वर्तमान सरकारको पनि विशेषता हो। तपार्ईं चार वर्षको स्थिर शासनको अपेक्षा गर्न सक्नुहुन्छ। मलाई विश्वास छ– यो सरकार स्थिर हुनेछ, यद्यपि सजिलो हुने छैन। हाम्रो समाजमा अझ पनि असहमति छन्।

सार्वजनिक बहसमा उल्लेखनीय परिवर्तन भएको छ। विगतमा, सार्वजनिक छलफलमा असहमतिहरूले अन्ततः साझा समझदारी निम्त्याउँथे। बहस हुन्थे, एउटा तर्क प्रबल हुन्थ्यो र के गर्ने भन्ने निर्णय लिइन्थ्यो। आजभोलि सामाजिक सञ्जालले निम्त्याउने परिणाम फरक छ।

मानिस अनलाइनमा एकदम सक्रिय छन् र यसले प्रायः विभाजनलाई निरन्तरता दिएको छ। यस प्रकारको सार्वजनिक बहस सार्वजनिक नीति निर्माणका लागि हानिकारक छ। मलाई लाग्छ– यसले प्रत्येक देशलाई असर गरिरहेको छ। बेलायत पनि अछुतो छैन।

तर म बेलायतलाई अस्थिर मुलुक मान्दिन। यहाँ स्थिरता छ।

नेपाली समाजमा असमानता चरम छ। समृद्ध मुलुकहरूमा समेत छ। पश्चिमाले पनि असमानताको खाडललाई कम गर्न सकेका छैनन्। बेलायतमा असमानताको असर कस्तो छ?
असमानताले निःसन्देह राजनीतिलाई प्रभाव पार्छ। यो केवल बेलायती ‘फेनोमेनन’ होइन, विश्वव्यापी मुद्दा हो। बेलायती समाजभित्र पनि प्रशस्त असमानता छन्।

बेलायतमा असमानता बढिरहेको छ भन्यौँ भने गलत हुन्छ?
मलाई लाग्छ, असमानता बढी देखिँदैछ। आंशिक रूपमा यसको कारण सामाजिक सञ्जाल पनि हो। यसले मानिसलाई आफूसँग के छैन वा अरूसँग के छ भन्ने बारे बढी सचेत बनाउँछ। बेलायतमा आर्थिक असमानता बास्तवमा बढ्दै गइरहेको छ कि छैन भन्नेमा म निश्चित छैन। तर वर्तमान सरकारको लक्ष्य यसलाई कम गर्नु हो।

अमेरिका, युरोप र बेलायतमा पनि देखिएको आप्रवासी विरोधी भावनाको लहरबारे के भन्नु हुन्छ? समाजमा यसको प्रभाव कस्तो छ?
मलाई यसको जवाफ थाहा छैन। सबै देशहरू कानूनी र गैरकानूनी आप्रवासनसँग संघर्ष गरिरहेका छन्।

बसाइँसराइप्रति राजनीतिक नेतृत्वको कटाक्ष हामीले विभिन्न मलुकमा सुनेका छौँ। बसाइँसराइ बेलायतमा पनि छ। त्यहाँको अवस्था के छ?
फरक–फरक मुलुकका मानिसलाई यो प्रश्न सोध्नु भयो भने फरक जवाफ आउला। बेलायतमा, म मानिसहरूलाई उनीहरूको छालाको रङ जस्तोसुकै भए पनि मानिस जस्तै व्यवहार गरिएको देख्छु। हामी एकदम आत्मकेन्द्रित छौँ। लोकतन्त्रको सुन्दरता त्यो स्वार्थलाई उपयोग गर्ने क्षमतामा निहित छ।

ब्रिटिश–गोर्खाको पेन्सनका विषय बेलाबेला चर्चा हुन्छ। नेपाली राजनीतिज्ञसँग तपाईंको भेटघाटमा यो मुद्दाले प्रवेश पाएको छ? समस्या किन सुल्झिएको छैन?
यहाँ समस्या छ भन्नेमा शंका छैन। यो सानो समूहका मानिसका लागि समस्या हो, जसको निवृत्तिभरण नेपालमा खर्च गर्न डिजाइन गरिए पनि अहिले बेलायतमा खर्च भइरहेको छ। हाल भेदभाव छैन। ब्रिटिश सेनामा भएका सबैले पेन्सन पाएका छन्। ‘सानो’ पेन्सन लिएर बेलायत आउन रोजेकाहरूले बेलायतमा उच्च मूल्यको सामना गर्छन्।

बेलायतमा धेरै मानिस छन्, जसको आय न्यून छ। यसकारण हाम्रोमा कल्याणकारी राज्य छ। पेन्सनको मुद्दा पनि समाधान होला। यस सन्दर्भमा बेलायती मन्त्री र सैन्य व्यक्तित्वहरूको प्रतिबद्धतामा मलाई कुनै शंका छैन। 

हामी बेलायती सरकारले उपलब्ध गराउन नसक्ने एउटा कुरामा जोड दिइरहेका छौँ– विगतमा फर्किएर पेन्सन प्याकेज परिवर्तन गर्न गाह्रो छ। यो मुद्दा गोर्खा वा निवृत्तिभरणको मात्र होइन, वित्तीय सेवा क्षेत्रले प्रभावकारी रूपमा काम गर्छ कि गर्दैन भन्ने कुरा हो। तर काम गर्न सकिने ठाउँ देखिन्छन्। समस्यालाई सम्बोधन गर्न उनीहरूलाई सम्मानजनक सेवानिवृत्ति सुनिश्चित गर्न हामी सकेसम्म सहयोग गर्न सक्छौँ।

बेलायती सेनामा रहेका परिवारका निम्ति तपाईंहरूले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्नुहुन्छ। विभिन्न ठाउँमा तपाईंहरूका कार्यक्रम पनि संचालनमा छन्। अहिले बसाइँसराई उच्च छ, लाहुरे पनि बसाइँ सरेका छन्। यो अवस्थामा आफ्ना योजना परिवर्तन गर्ने सोच छ?
गोर्खा वेलफेयर ट्रस्टले यो विषयमा सोचेको होला। यसको समीक्षा पनि भएको होला। नेपालमा निश्चित मात्रामा स्रोतहरू खर्च भएका छन्। यसको लक्ष्य गोर्खालाई सहयोग गर्ने हो। गोर्खा वेलफेयर ट्रस्ट एक परोपकारी संस्था हो। यसले नेपालमा विभिन्न काम गरेको छ। मैले धेरै गाउँ र विद्यालयको भ्रमण गरेको छु। 

विगतमा ब्रिटिश गोर्खामा काम गरेका नेपालीलाई मैले पनि भेटेको छु। केही समयअगाडि एक जना लामा भेटेको थिएँ, जो पहिला गोर्खा आर्मीमा रहेछन्। उनी अहिले पनि ट्रस्टको सहयोगमा नियमित स्वास्थ्य जाँच गर्ने रहेछन्। गोर्खा वेलफेयर ट्रस्टले नेपालमा राम्रो काम गरेको छ। गोर्खा भेटेरानले ट्रस्टको कामबाट फाइदा पनि लिएका छन्। यसले निरन्तरता पाउँछ। ट्रस्टमा आउने रकम सरकार र बेलायती जनताको सहयोग हो।

तपाईं नेपाल आएको १८ महिना बित्यो। योबीचमा नेपाललाई कसरी बुझ्नु भएको छ?
म नेपाल आएको लामो समय बितेको छैन। मैले बुझ्दा, नेपालमा खास प्रजातन्त्र छ भन्ने लाग्छ। कतिपय अवस्थामा बेलायतको भन्दा फरक छ। यहाँ प्रजातन्त्रको राम्रो अभ्यास भएको पाउँछु। हामीले निर्वाचनलाई हेर्ने हो भने यहाँ अत्याधिक मतादान हुन्छ। केही अस्थिरता छ, यो के अर्थमा भने– यहाँ समयसमयमा सरकार परिवर्तन भइरहेको छ। कर्मचारी पनि परिवर्तन भएका छन्। 

यसका बाबजुत पनि देशको समग्र गति राम्रो छ। नेपालको आफ्नो परराष्ट्र नीतिमा उलटपुलट छैन, आर्थिक सुधारतर्फ बिस्तारै तर निरन्तर सही दिशामा अघि बढिरहेको छ। विदेशी लगानीकर्तालाई यहाँ नाफा आर्जन गर्न सक्षम बनाउँदै स्वदेशमै रोजगारी सृजना भइरहेको छ। अर्थतन्त्र सुधार्ने प्रयास भएको छ।

बेलायत मात्र होइन, बाँकी विश्वले पनि नेपालको उन्नति होस् भन्ने चाहन्छ। नेपालसँग काम गर्ने हरेक विकास साझेदारले थप प्रगति र संघीयताको उचित कार्यसम्पादन भएको हेर्न चाहन्छ। नेपालसँगको हाम्रो साझेदारी अहिले देश जहाँ उभिएको छ, त्यही अनुरूप हुनुपर्छ।

तपाईं केही समयअगाडि घान्द्रुक जानु भयो। कस्तो अनुभव रह्यो?
नेपालमा घान्द्रुक मेरो दोस्रो ‘ट्रेक’ हो। यसअगाडि म लाङटाङ गएको थिएँ। म लान्द्रुक पनि पुगेँ। लुम्ले र मजगाउँबाट लान्द्रुक पुग्न सजिलो भएकाले मैले दुई वटा हबमा पदयात्रा गरेको थिएँ। घान्द्रुक लोभलाग्दो रहेछ, मन्त्रमुग्ध भएँ। त्यहाँको रूख बिरूवा, चराचुरूंगी– पहाड समग्रमा एकदम सुन्दर थियो। म नेपालमा अरू ट्रेक पनि जान चाहन्छु।