काठमाडौँमा ‘चाइना फिल्म डे’ हुँदै, ३ वटा चिनियाँ फिल्म देखाइने

कार्यक्रममा चिनियाँ फिल्म ‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ प्रदर्शन गरिनेछ। प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँग अन्तरक्रियासमेत हुनेछ।

काठमाडौँ– नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। 

ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा पुस २५ गते उक्त कार्यक्रम हुन लागेको हो। चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्। 

कार्यक्रममा चर्चित चिनियाँ फिल्म ‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ प्रदर्शन गरिनेछ। प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन्।  दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमले दुई देशका चलचित्रकर्मीबिचको सहकार्यलाई अगाडि बढाउने थप मद्दत गर्ने नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकको उपस्थिति रहने जनाइएको छ। चाइना फिल्म एडमिनिस्ट्रेसको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङको नेतृत्वमा चलचित्र निर्माता, निर्देशक र कलाकारसहित १४ जनाको टिम नेपाल आउनेछ ।