बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्।
सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा कायमै छ। नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश वितरण गर्दा पनि बजारमा उत्साह देखिएको छैन। सेयर बजार जानकारका अनुसार लगानीकर्तामा अन्योल कायम रहँदा सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको हो।
घटेको बजारमा पनि सेयर बिक्रेता हाबी हुँदा नेप्से परिसूचक १९ सय अंकको हाराहारीमा रोकिएको हो। गत साता ४ कारोबार दिन नेप्से करिब ४६ अंकले घटेको थियो। अघिल्लो बुधबार १९१७.२७ अंकमा कायम रहेको नेप्से बुधबार १८९७.०८ अंकमा झरेको छ।
बैंकिङ क्षेत्रमा तरलता सहज हुँदा पनि तत्काल ब्याजदर नबढ्ने भएको छ, यस्तो अवस्थामा सेयर बजारमा उत्साह देखिनुपर्नेमा अहिले बजार स्थिर देखिएको सेयर जानकारहरू बताउँछन्। ब्याजदर नघटेसम्म सेयर बजार माथि जाने कुनै आधार नै नदेखिएको सेयर विश्लेषक केशव श्रेष्ठको भनाइ छ।
“पहिला मार्केट ‘बुलिस’ टेन्ड्रमा जाँदा घटाउनै पर्छ भनेर राज्य र नियामक निकायबाट पनि प्रतिकूल अवस्था सिर्जना गरियो", श्रेष्ठले भने, "चुनावपछि पनि तरलता सहज हुन सकेन, ब्याजदर पनि तत्काल घट्ने अवस्था देखिएन, त्यसैले बजार बढ्नुपर्ने कुनै आधार नै देखिँदैन।"
२०७८ भदौ २ गते ३२ सयको उचाइमा पुगेको बजारलाई स्थायित्व दिने उचित आधार नै नहुँदा बजार बढ्न नसकेको उनको भनाइ छ। लगानीकर्ताले नयाँ सरकार र अर्थमन्त्रीलाई कुरिरहेको पनि श्रेष्ठको विश्लेषण छ।
“बजार नयाँ सरकार नआउँदासम्म अन्योल नै हुने देखिन्छ, बजार माथि जाने अरू त कुनै कारण नै छैन", उनले भने, "लगानीकर्ताको मनोबल नयाँ सरकार र अर्थमन्त्रीमा धेरै हदसम्म निर्भर हुन्छ।” अब बन्ने नयाँ सरकारले सेयर बजारका लागि केही सकारात्मक पहलकदमी गरे बजार बढ्न सक्ने उनको तर्क छ।
अनुभवी सेयर लगानीकर्ता छोटेलाल रौनियार पनि लगानीकर्ता तत्काल निर्णय लिन सक्ने अवस्थामा नरहेकाले बजारमा अन्योल छाएको ठान्छन्। “बजार घटेर न्यूनतम अवस्थामा आइसकेको छ। यतिबेला न माथि बढ्न सकेको छ न घट्न, लगानीकर्ताहरू अन्योलमै छन्”, रौनियार भन्छन्।
सरकारले पुस १ गतेबाट प्रतिबन्धित वस्तुको आयात खुलाउने निर्णय गरिसकेको छ। यसले पुनः विदेशी मुद्राको सञ्चितिमा चाप परेर अर्थतन्त्र पुरानै अवस्थामा पुग्छ कि भन्ने त्रास पनि लगानीकर्तामा देखिएको छ। यसले पनि बजारलाई थप असर पुग्न सक्ने श्रेष्ठको आकलन छ।
“प्रतिबन्ध हटाउँदा आयात बढ्न जान्छ। आयात बढ्नु भनेको व्यापार बढ्नु हो, ट्रेड बढेपछि मानिसहरू सेयर मार्केटमा भन्दा अरू काममा लाग्छन्, अनि बजारमा लगानी हुने रकम पनि कम हुन्छ”, उनले भने।
ब्याजदर वृद्धि, तरलता अभाव, विभिन्न नीतिगत प्रभाव लगायतका कारण बजार स्थिर देखिएसँगै लगानीकर्तामा पनि उत्साह घटेको विश्लेषकहरू बताउँछन्।
नेप्से २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९९.०३ बिन्दुमा पुगेको थियो। १५ महिनाको अवधिमा नेप्सेमा १३ सय अंकको गिरावट आउँदा बजार पुँजीकरणमा १७ खर्ब २९ अर्ब १८ करोड ८४ लाख रुपैयाँको गिरावट आएको छ।
गत वर्षको भदौ २ गते नेप्से करिब ३२ सय अंकमा पुग्दा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँ पुगेको थियो। मंसिर २८ गते बुधबारसम्म आइपुग्दा २७ खर्ब ३९ अर्ब ३१ करोड ७० लाखमा सीमित भएको छ, अर्थात् १५ महिनाको अवधिमा लगानीकर्ताले करिब १७ खर्ब रुपैयाँ गुमाइसकेका छन्।
२०७८ साउन ३१ मा एकैदिन २१ अर्बमाथिको कारोबार भएको बजारमा हाल दैनिक कारोबार रकम १ अर्बबाट पनि तल झर्न थालेको छ। बुधबार जम्मा ७२ करोड ७८ लाखको मात्र सेयर किनबेच भयो।
नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेल पनि तरलता अभाव, उच्च ब्याजदर लगायतका विषयमा सुधार हुन नसक्दा लगानीकर्ता अन्योलमा देखिएको बताउँछिन्। सेयर बजारका लगानीकर्ता नयाँ सरकार र अर्थमन्त्रीको पर्खाइमा रहेको उनको भनाइ छ।
लगानीको समय
बजार जोखिमकै अवस्थामा रहे पनि दोस्रो बजारमा लगानी गर्न चाहनेका लागि उपयुक्त समय भएको यस क्षेत्रका जानकार बताउँछन्। सेयर लगानीकर्ता रौनियार तरलता अभाव, ब्याजदर लगायतका कारण बजारमाथि उठ्न नसके पनि आफ्नो बचत रकम लगानीका लागि भने उपयुक्त समय रहेको ठान्छन्।
“खराब सेयर छ भने त्यो बेचेर राम्रो सेयर किन्ने, आफ्नै बचत छ भने राम्रा कम्पनीमा लगानी गर्ने समय हो यो”, उनले भने, "अहिले 'रेड जोन'मा किन्ने हो, 'ग्रिन जोन'मा बेच्ने हो र सेभिङ गर्ने हो।” नेपालका लगानीकर्तामा बढेको समयमा सेयर किन्ने र बजार घट्दा आत्तिएर बेच्ने प्रवृत्ति रहेको उनको तर्क छ।
सेयर जानकार श्रेष्ठ पनि आफ्नो पैसा छ भने लगानीका लागि उपयुक्त समय रहेको बताउँछन्। “एक दुई वर्षसम्म होल्डिङ क्षमता लिएर आफ्नो पैसा अथवा कस्ट अफ फन्ड कम भएको पैसाले मार्केटमा पस्न चाहनेका लागि उपयुक्त समय हो”, श्रेष्ठले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
