चहकिलो एनपीएलमा धब्बा बनेको नश्लभेदी दुर्व्यवहार

हामीलाई समाज जोड्ने, देश जोड्ने प्रतियोगिता चाहिएको हो, न कि एउटा समुदाय विशेषलाई नश्लभेद–रंगभेद गर्ने अराजकता। सफल एनपीएलको चर्चा भइरहँदा यो धब्बा मेट्ने पहल आवश्यक छ, अहिल्यै। 

पहिलो मधेश आन्दोलनका बेला ढालिएको जनकपुरस्थित भानुभक्तको शालिक पुनर्स्थापना गर्न जनकपुरधाम उपमहानगरपालिकाले बनाएको योजनाअनुसार मेयर मनोजकुमार साहले शालिक शिलान्याससमेत गरिसकेका छन् (शालिक पुनर्स्थापनामा सर्वदलीय सहमति जुटाउन उपमहानगरपालिकाले पुनर्स्थापनाको अरू काम अघि बढाएको चाहिँ छैन)। इलामको सूर्योदय नगरपालिकाले त तीन वर्षअघि नै करफोकमा मैथिली महाकवि विद्यापतीको शालिक उभ्याइसकेको छ। इलाम नगरपालिकाले राजर्षि जनकको सालिक ठड्याउनुको उद्देश्य मधेश–पहाडलाई जोड्ने प्रयास नै हो। 



भनिन्छ, बाह्र वर्षमा खोला पनि फर्किन्छ। १२ वर्ष त भएकै छैन, पछिल्लो मधेश आन्दोलन (२०७२) मा सबैभन्दा चर्को सुनिने अनि पहाडिया समुदायका एकथरीले ‘नफरत’ नै गर्ने राजेन्द्र महतो यसबीचमा पहाडिया (तुलाधर) को ससुरा भएका मात्र छैनन्, काठमाडौँका रैथाने समुदायको अधिकारको आन्दोलनमा सक्रिय सुमन सायमिसहितको सहकार्यमा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्तमा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामको पार्टी नै गठन गरिसकेका छन्।



‘ऋतिक रोशन काण्ड’यता निरन्तर कमजोर बन्दै गएको पहाडी–मधेशी सम्बन्ध पुनश्च: मजबुतीतिर बढिरहेका बेला ‘ऋति करोशन काण्ड २.०’ को ट्रेलर मञ्चन भएको छ। दुःखको कुरा चाहिँ देशलाई जोड्ने उपमा पाएको खेलकै बहानामा नश्लभेदी अपराधका स्वर भर्खरै असरल्ल सुनिए। भारतलाई जोड्ने तत्वमा त्यहाँको संविधान, क्रिकेट र बलिउड (उतिबेला बलिउडले भारतीय सिनेमाको प्रतिनिधित्व गरी अरू भाषाका सिनेमाचाहिँ त्यही भाषाभाषीमै सीमित रहेका बेला बलिउडलाई देश जोड्ने तन्तु मानिए पनि अहिले खासगरी तेलुगु फिल्म उद्योगले बलिउडलाई नै पछि पार्न लागेकाले बलिउडको देशै जोड्नेखाले महत्त्व घटेको छ) अग्रभागमा आउँछन्।



देशै जोड्ने मामिलामा क्रिकेट (पुरुष) नेपालमा अरू खेलभन्दा अग्रस्थानमा छ। क्रिकेट लोकप्रिय छ नै, यसमा मधेश, पहाड, दलित, जनजाति, मुस्लिम आदिको प्रतिनिधित्व रहँदै आएको छ। जबकि लोकप्रिय फुटबलमा मधेशी समुदाय (एकाध थारूचाहिँ परेका छन्) को प्रतिनिधित्व थिएन र छैन पनि।



एनपीएल फाइनलको दिन

प्रसंग भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को हो। जनकपुर बोल्ट्स‍ले उपाधि जितेसँगै शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्सवका गीतमा समर्थक झुमिरहेका थिए। खेलाडीहरू दशर्कदीर्घालाई धन्यवाद दिँदै मैदानको चक्कर लगाइरहेका थिए। लिग चरणको खेल र पहिलो ‘क्वालिफायर’ मा आमनेसामने हुँदा ‘ब्याक टु ब्याक’ दुईचोटि सुदूरपश्चिम रोयल्ससँग पराजित जनकपुर बोल्ट्स् पहिल्यदेखि दबाबमा थियो। जनकपुरका समर्थकहहरू चाहिँ नश्लभेदी टिप्पणीहरूको शिकार भइरहेका थिए। दुवै खेलमा मैदानभित्रै हल्का धक्कामुक्की भइसकेको थियो। फाइनलमा उपाधिका लागि भिड्नुअघि नै समाजिक सञ्जालमा नश्लभेदी टिप्पणी असरल्ल भइसकेको थियो। नश्लभेदी टिप्पणीमा असहमत, असन्तुष्ट र आक्रोशितजन त्यसको विरोधमा उत्रिँदा सामाजिक सञ्जाल पुरै तातेको थियो।  



त्यहीकारण हुनुपर्छ, उपाधि जितेलगत्तै जनकपुर बोल्ट्सका समर्थकले मैदानमा ‘यो जित कसको? धोतीको’ नारा घन्काएका थिए। खेल सकिएपछि दर्शकलाई मैदानबाहिर निस्कन एउटै बाटो थियो, बाटो कुरेर अराजक समूह ‘ग्याङ’ बनाएर बसेको थियो। त्यो ‘ग्याङ’ले जनकपुर बोल्ट्सका जर्सीधारी, झण्डा बोक्ने र अबिर लागेका अनुहारहरूलाई आफ्नो निशाना बनाए। कतिपय चाहिँ अनुहारकै कारण आक्रमणमा परेका थिए। मुक्का–लात त हानिएको थियो नै, ढुंगामुढा गर्नुका साथै केहीमाथि फलामे डन्डी नै प्रहार भयो।



जनकपुर बोल्ट्सको जर्सीमा प्रफुल्ल अनुहारमा बाहिर निस्किरहेका सिरहाका विपिन यादवका हुडी, मफलर र टोपी च्यातिए नै, शरीरभर रडको नीलडाम पर्‍यो। “म एक्लो मान्छेलाई ठूलो हुलले हमला गरे,” उनले उकालोसँग भने, “टाउकोमा चोट छ, ओठ फुटेको छ, रडको मारले जिउ सुन्निएको छ।”



धनुषाका हेमनारायण यादवले जर्सी त लगाएका थिएनन्, निधारको टिकाले गर्दा निशानामा परे। “डरले लुसुक्क बाटो लाग्न खोज्दै थिएँ, टिका लगाको छ हान् हान् भन्दै हानिहाले,” हेमनारायणले सुनाए, “भाग्न खोज्दा लठ्ठी र रड जिउमा पर्‍यो।” त्यो त्रासदीमा बल्लबल्ल बचेका सप्तरीका बिटु मिश्रले एक्समा लामो थ्रेडमार्फत गम्छा र अबिर छोपेर बडा मुस्किलले आक्रमणबाट जोगिँदै त्यहाँबाट सुरक्षित निस्कन सकेको लेखेका छन्। “सडकमा अगाडि लठ्ठी, रड र ढुंगा बोकेकाहरूको भीड दौडिँदै आएको देखेपछि साइड लागेँ,’ उनले लेखेका छन्, “पहिलो काम, मुरेठा खोलेँ, त्यसपछि निधारको अबीर टोपीले छोपेँ र जोगिएँ।”



 



निश्चिन्त आयोजक र सुरक्षा निकाय

सुदूरपश्चिम रोयल्ससँग पहिलो खेलदेखि नै जनकपुर बोल्ट्सका समर्थकहरूले रंगशालामै नश्लभेदी दुर्व्यवहार खेप्नुपरेको थियो। नश्लभेदी टिप्पणी गर्ने, बहानाबाजी गरीगरी धक्कामुक्की गर्ने हर्कत पहिलो खेलमै भएको थियो। ‘क्वालिफायर’ चरणमा आइपुग्दा स्टेडियमको दर्शकदीर्घाका साथै सामाजिक सञ्जाल नश्लभेदी दुर्व्यवहारले दुर्गन्धित भइसकेका थिए। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा सीमित नश्लभेदी दुर्व्यवहार कर्णाली याक्ससँग जनकपुर बोल्ट्सले खेलेको क्वालिफायरको दोश्रो खेलका क्रममा पनि दोहोरिएको थियो।



ती सबैका बावजूद न आयोजक न सुरक्षा निकायमै यथेष्ट सतकर्ता देखियो। आयोजक नेपाल क्रिकेट संघ (क्यान) सर्बत्र जारी वाहवाहीमै मख्ख थियो– रंगशालाभित्रै भइरहेका नश्लभेदी दुर्व्यवहारतिर ध्यान दिन उसले आवश्यक नै ठानेन। अप्रिय घटनाको कालो बादल अघि नै मडारिइरहे पनि फाइनलका लागि तदनुरूप सुरक्षा व्यवस्था मिलाउन आवश्यक ठानेको पनि देखिएन।   



फाइनल खेल सवा १२ बजे शुरू हुने भनिए पनि बिहान ८ बजेदेखि नै रंगशाला छेउछाउ भिडभाड जम्मा हुन थालेको थियो। प्रहरीको गाडी ओहोरदोहोर र ठाउँठाउँमा ‘ब्यारिकेड’ देखिँदा सुरक्षा व्यवस्था चुस्त नै सुनिन्थ्यो। १० बज्दानबज्दै भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिसकेको थियो। रंगशालाभित्र भन्दा निकै बढी मान्छे बाहिर भेला भइसकेका थिए। कतिपय रूख चढेर त कतिपय अग्लो ठाउँबाट मैदानतिर नियाल्न उद्दत देखिन्थे। फाइनलको दुई दिनअघि नै सबै टिकट बिक्री भइसकेको अवस्थामा टिकट नभएकालाई रंगशाला बाहिरपट्टि भेला हुन नदिन सकिन्थ्यो। 



खेल समाप्त भई दर्शकहरू बाहिरिन थालेपछि चाहिँ सुरक्षा चुक छरपस्ट देखियो। रंगशाला बाहिरको भाग अराजक समूहको नियन्त्रणमा पुगिसकेको थियो, भिडको सामु सुरक्षाकर्मी चुपचाप सुनिन्थे। ‘लोकतन्त्र टाइम्स’ फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा प्रहरी उपस्थितिका बाबजुद एकजनाको टाउको फुटेको देखाइएको छ। युवकले लगाएको हुडीभरी रगत छरपष्ट देखिन्छ, प्रहरी मौन छन्। प्रस्तोताले यसको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गर्दा प्रहरी ‘हामीलाई थाहा छैन’ भन्छन्। प्रस्तोताले ‘तपाईंहरूको कमान्डर खै’ भनेर सोध्दा थाहा नभएको जवाफ प्रहरीहरूले फर्काएका छन्।



प्रहरीकै अघिल्तिर कुटिँदा पनि रोक्न नखोजेको आरोप गौतम पाण्डे लगाउँछन्। “म आफैले कुटाइ खाइरहेका मेरा साथीहरूलाई बचाउनुस् भन्दा प्रहरीहरूले हामी ट्राफिक हो, बाटोमात्रै खाली गराउने हो भने,” गौतम भन्छन्। जनकपुरका रिजवान शेख प्रहरीले जनकपुर बोल्ट्सका समर्थकले कुटाई खाऊन् जस्तो व्यवहार गरेको गुनासो पोख्छन्। 



रौतहटका दिनेश चौधरी भने आफूहरू जितेर पनि जितको खुशी मनाउन नपाएकोमा दुःखी छन्। उनले आफूहरू जितेर पनि अपमानित हुनुपर्दा जितको अर्थ नै फिका भएको बताए। “शानदार जितपछि बाहिर निस्किँदा पिटाइ नै खाने हो भने किन जित्नुपर्‍यो,” रौतहटका दिनेश चौधरीले भने, “त्यो कप पाएर के गर्ने?”



रंगशालादेखि सामाजिक सञ्जालसम्मै वितण्डा मच्चाउनेमा एउटै टिमका समर्थकहरूको बाहुल्य देखिँदा पनि उक्त टिमको व्यवस्थापन टोलीले यसलाई ‘नोटिस’ मा लिएर त्यसो नगर्न अनुरोध गरेको थाहा पाइएन। एकछिनलाई मानौँ, नश्लभेदी दुर्व्यवहारमा सुदूरपश्चिम रोयल्सका समर्थकहरू नै बढी छन् भन्ने लागेको अवस्थामा टिमको व्यवस्थापनले कप्तान दीपेन्द्रसिंह ऐरीले त्यस्तो नगर्न भनेको छोटो भिडियो बनाएर दुर्गन्धित बनाइएको सञ्जालमा प्रवाह गरेको भए त्यसको सन्देश प्रभावकारी हुन सक्थ्यो।



जबकि, सुदूरपश्चिमकै धेरैजनाले सामाजिक सञ्जालमै नश्लभेदी क्रियाकलाप अस्वीकार्य भन्दै विरोध जनाएका थिए। कप्तान ऐरीको आह्वानले फाइनल खेलका दौरान र खेल सकिएपछिको माहोल अर्कै बनाउन सक्ने थियो। खेल सकिएपछिको हिंसामा उत्रिने पनि एउटा टिमकै समर्थक रहेको प्रष्ट भइरहँदा पनि त्यो टिमको व्यवस्थापनले एक शब्द उच्चारण गर्न आवश्यक ठानेको देखिएन।   



घटनापछि मधेशी आयोगले विज्ञप्तिमार्फत् उद्दण्ड र अभद्र बनेका व्यक्तिहरूलाई तुरून्त कानूनी कारबाही गर्न अपिल गरेको छ। “खेलमा एउटा उदण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्सप्रति देखाएका नश्लिय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै पनि तवरले अग्राह्य गरेको आयोगको ठम्याई छ,” विज्ञप्तिमा भनिएको छ, “विभिन्न सञ्चारमाध्यमबाट आएका प्रमाणमाथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायले कुनै पनि कारबाही नगर्नु अशोभनीय र जिम्मेवारीबोध नभएको देखिन्छ।”



कांग्रेस महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको भएको भन्दै कारबाहीको माग गरे। “मधेशी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृहप्रशासनलाई सिफारिश गरेको छ, जुन एकदमै सकारात्मक छ,” एक्समा उनले लेखेका छन्, “सरकारले तुरून्त यसमा कारबाही अघि बढाओस। यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन। नो इफ नो बट।”    



मधेश प्रदेश सरकारले पनि विज्ञप्तिमार्फत् घटनाको भर्त्सना गरेको छ। त्यसैगरी स्थानीय युवाहरूले सप्तरी र धनुषाका जिल्ला प्रशासन कार्यालयमार्फत् गृहप्रशासनलाई दोषीउपर कारबाही गर्न माग गरेका छन्।



जनमत पार्टीका अध्यक्ष सीके राउत र पूर्वप्रधानमन्त्री एंव नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले यो घटनाको आलोचना गर्दै दोषीउपर कडा कारबाहीको माग गरेका छन्। “जनकपुर समर्थकमाथि केही अराजक व्यक्ति/समूहबाट भएको भौतिक आक्रमण र नश्लीय/रंगभेदी गालीगलौज अत्यन्त आपत्तिजनक, भत्र्सनायोग्य र दण्डनीय छ,” भट्टराईले आइतबार एक्स (ट्विटर) मा पोष्ट गरेका छन्, “देशको जातीय, क्षेत्रीय विविधतालाई खल्बल्याएर कुत्सित मनसाय पुरा गर्ने बाहिरी र भित्री तत्वको कुचेष्टालाई समेत सबैले बेलैमा चिनेर निष्फल पार्न ध्यान दिऊँ।”  



“एनपीएल टिमको नाम जेसुकै राखिए पनि एनपीएल इन्टर प्रभिन्स घरेलु टुर्नामेन्ट नै होइन,” डा. देवेन्द्रराज पाण्डे एक्समा लेख्छन्, “कहाँबाट आए संकीर्ण बुद्धिका ठिटाहरू?” 



जनकपुर बोल्ट्सको लोगोमै जानकी मन्दिर राखिएको छ। तर लोगोमा प्रयोग गरिएको मन्दिरको तस्वीर ‘मस्जिद जस्तो बनाइएको’ भनेर जनकपुरमा हिन्दुत्ववादीहरूले एकखाले बितण्डा मच्चाउने प्रयास गरेका थिए। जबकि लोगोमा जानकी मन्दिरको माथिल्लो भाग मात्र देखाइएको थियो, मन्दिरको तस्वीरमा कुनै छेडखानी गरिएको थिएन। 



खेलका क्रममा दुई पक्षका समर्थकबीच झडप सामान्य ठानिन्छ, नश्लभेदी छ भने टिप्पणी, इशारा नै असामान्य मानिन्छ। सन् २०२३ जुन ५ मा स्पेन सरकारले नश्लभेदी शब्द प्रयोग गर्ने सातजनालाई कारबाही गरेको थियो। रियल मड्रिड तथा ब्राजिल राष्ट्रिय टिमका खेलाडी भिनिसिएस जुनियरउपर फुटबल मैदानमै नश्लभेदी दुर्व्यवहार गर्ने क्रममा उनीहरूले छालाको रंगमाथि टिप्पणी गरी चिच्याउने र इसारा गर्ने गरेका थिए। ‘भ्वाइस अफ अमेरिका’का अनुसार चारजनालाई ६४ हजार २५५ डलर जरिवानासहित दुई वर्षको लागि रंगशाला प्रवेश निषेधको निर्णय भएको थियो भने तीनजनालाई पाँच हजार ३५४ डलरसहित एक वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।



सन् २०१४ मा युनियन अफ यूरोपियन फुटबल एशोसिएसनले रियल मड्रिड क्लबलाई नै कारबाही गरेको थियो। बायर्न म्युनिखविरुद्धको खेलमा मड्रिडले १–० को अग्रता लिएपछि मड्रिडका समर्थकहरूले स्टेडियममै ‘नाजी’ संकेत भएको ब्यानर प्रदर्शन गरेपछि एशोसिएसनले क्लबउपर नै कारबाहीको डन्डा चलाएको थियो। ‘टाइम्स अफ इजरायल’का अनुसार कारबाहीस्वरूप दोस्रो सिजनको घरेलु खेलमै मड्रिड समर्थकलाई सान्टियागो बर्न्बाउ रंगशालाका दुईवटा सेक्टरमा जान रोक लगाइ प्रतिबन्धित सेक्टरमा ‘नो टु रेसिजम्’ को ब्यानर झुन्ड्याउन एशोसिएसनले मड्रिडलाई निर्देशन नै दिएको थियो।



केही समयअघि काठमाडौँमा रूपालाई डेरा दिन तयार भइसकेकी घरधनी महिला रूपाको थर विश्वकर्मा थाहा पाई नदिने अवस्थामा पुग्नुलाई जातीविभेद भन्दै सामाजिक सञ्जालबाटै जबर्जस्त दबाव सिर्जना भयो। घरधनी महिला थुनिइन्, उनीविरुद्ध मुद्दा चल्यो। मधेशी समुदायविरुद्ध भएको यत्रो नश्लभेदी दुर्व्यवहारमा दुईजना पक्राउ पर्नु पर्याप्त छैन। रंगशालाबाहिर भौतिक आक्रमणमा संलग्नका साथै सामाजिक सञ्जालमा नश्लभेदी टिप्पणी गर्नेहरू छानीछानी कारबाहीको दायरामा पर्नुपर्छ, ताकि नश्लभेदीले फेरी टाउको उठाउन नपाऊन्। एकछिन सोचौँ, त्यो दिन हानाहानमा कसैको ज्यान गइदिएको भए के हुन्थ्यो? भनिराख्नुपर्दैन, यहाँ अर्को ‘ऋतिक रोशन काण्ड’ दोहोरिन सक्थ्यो। ‘बांग्लादेश बनिजाओस्’ भन्दै धूप–दीप–नैवेद्य गरिरहेकाहरूले बांग्लादेश नै बनाउने मौका छोप्थे। त्यसकारण पनि सरकारले यो घटनाको गाम्भीर्य बुझ्नुपर्ने खाँचो छ।



हिरोको खोजीमा हुनेहरू

सधैँ ‘हिरोको खोजीमा’ रहने नेपाली समाजको समस्या भनेको ‘हिरो’ फेला पारेपछि त्यसको देवत्वकरण गरिहाल्ने हो। मान्छे हो, उसमा कमजोरी पनि हुन्छन् भन्ने मानेर कमजोरीमा आलोचनासहित मूल्यांकन गर्न हामी प्रायः चुक्ने गर्छौँ। राजा–महाराजालाई विष्णुकै अवतार मान्दै ऊबाट गल्ती नै हुँदैनन् भन्ने मान्यता राखेर राजालाई कानून भन्दा माथि राखेको विगत भएको हाम्रो समाजले उसले हिरो ठानेका मान्छेमा कमजोरी पनि हुन्छन् भन्ने मानेर कमजोरीमा आलोचनासहित मूल्यांकन गर्न हत्पत्ति मान्दैन। देवत्करण वा दैत्यकरण रुचाउँछ। पत्रकारितामा पनि यो कमजोरी छरपष्ट छ।



यही मेसोमा नेपाली समाजले अर्को हिरो पाएको छ, पारस खडका। यत्रतत्र, सर्वत्र उनको देवत्करण भइरहेको छ। तमाम लक्षणका बाबजुद फाइनलको दिन सुरक्षा व्यवस्थामा भएको चुकमा क्यान जवाफदेहीबाट भाग्न पाउने छैन। एनपीएल जस्तो भव्य प्रतियोगिता आयोजना सफल पारे भन्दैमा पारस प्रश्नभन्दा माथि हुँदैनन्। अब एनपीएलको जश जति एकलौटी पारसलाई दिने, पारसले लिने भएपछि अपजस चाहिँ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको थाप्लोमा हाल्न मिल्दैन होला नि? 



एनपीएलको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ। एनपीएल त एक प्रकारले ‘गरिबोंका आईपीएल’ नै हो। आइपीएलकै परिकल्पनाकार र कार्यान्वयनकर्ता ललित मोदी फरार आरोपी हुन्। आर्थिक हिनामिनाको आरोप लागिरहेकै बेला कानूनी कारबाहीबाट जोगिन फरार भएका उनी बेलायतमा बस्छन्। सम्भवतः उनको बाँकी जीवन नै भारतमा नआई बित्ने छ। मोदी भागे पनि शुरूआती चरणकै विवादलाई निप्टाउँदै अघि बढेका कारण आइपीएल अहिले भारतले गर्व सक्ने प्रतियोगिता हुन पुगेको छ। हामीले पनि एनपीएलको भव्यतापूर्वक निरन्तरतालाई कायम राख्ने हो भने कसैलाई देवत्करण वा दैत्यकरण गरेर होइन, कमीकमजोरीमा प्रश्न उठाएर सुधार्न बाध्य पार्नुपर्छ। पहिलो सिजनमा देखिएको नश्लभेदी दुर्व्यवहारले निरन्तरता पाउने हो भने यो ‘ऋतिक रोशन काण्ड २.०’ बन्नेछ, देश तोड्ने त्यस्तो एनपिएल हामीलाई चाहिएको छैन। र, नश्लभेदी/रंगभेदी दुर्व्यवहार मधेशी समुदायविरुद्ध मात्र होइन, कुनै जात, समुदाय, धर्म, लिंगविरुद्ध पनि स्वीकार्य छैन।