व्यक्ति आफैले आफ्नो आत्मसम्मान बढाउने जमर्को गर्नुपर्छ। आफैले आफूलाई माया गर्ने, आत्मसम्मान डगमगाउन नदिने गर्नु नै यस्ता सम्बन्धमा नगाँसिनु र गाँसिइहालेको अवस्थामा बाहिर निस्कन सहज हुने माध्यम हुन्।
सम्बन्ध कस्तो हुनुपर्छ?
कुन कुराले सम्बन्ध असल वा खराब छ भन्ने छुट्याउँछ?
तपाईंले आफ्नो पार्टनर कस्तो होस् भन्ने चाहनुहुन्छ?
सायद यस्ता प्रश्न हामीहरू धेरैको मनमा थुप्रै पटक आएका छन्। कतिले त यस्ता प्रश्नमा आफ्ना नजिकका र मन मिल्नेहरूसँग औपचारिक/अनौपचारिक चर्चा र कुराकानी पक्कै गर्छन्।
सम्बन्धलाई परख्ने सबैका आआफ्नै दृष्टिकोण, बुझाइ र भोगाइ हुन्छन्। तिनकै आधारमा हामी सम्बन्धको परिभाषा बनाउँछौँ।
साँच्चै, अरूले देख्दा ‘आहा’ भन्ने सम्बन्ध राम्रो कि आफैले भोग्दा ‘आहा’ भन्ने सम्बन्ध राम्रो?
केही उदाहरण हेरौँ:
एक
‘म र मेरो प्रेमी सम्बन्धमा रहेको तीन वर्ष भयो। अहिले ऊ विदेशमा छ। आउने माघमा ऊ नेपाल आएपछि हामीबीच बिहे हुने योजना बन्दैछ। परिवारमा कुरा चलिरहेको छ। ऊ मलाई एकदमै माया गर्छ। मैले खाए नखाएको, सन्चो बिसन्चो, पढाइदेखि लिएर हरेक कुरामा ऊ सोधपुछ गरिरहन्छ। तर आजभोलि उसको व्यवहार मलाई पहिलेभन्दा फरक लाग्न थालेको छ। अलिबेर म कसैसँग फोनमा बोल्दा पनि कोसँग बिजी थिइस् भन्छ। जति बेला पनि ऊसँगै कुरा गर्नुपर्ने, एकै छिन अफलाइन भए पनि कता गाको, को केटासँग घुम्न गएको भन्छ। मेरो फेसबुक र इन्स्टा चेक गर्दै त्यहाँ कोही आफन्त केटा मान्छेसँगै कुरा गरेको भेट्दासमेत किन बोलिस् भनेर मलाई मनलागी मुख छोड्न थालेको छ। घरपरिवारमा हाम्रो सम्बन्धबारे सबैलाई थाहा छ। उसको परिवारलाई भेटेको छु। तर अहिले आएर मलाई बिहे गरौँ कि नगरौँजस्तो भएको छ। तर जे भए पनि माया गर्छ। उसले गर्ने माया सम्झिँदा सबै कुरा बिर्सेर बिहे गर्न मन लाग्छ तर एकदमै शंका गर्ने, जति बेला पनि कन्ट्रोल गर्ने, कसैसँग बोल्न नदिने गर्दा बिहे नगरौँजस्तो हुन्छ।’
दुई
‘लिभिङ टुगेदर'मा बसेको तीन वर्ष भइसकेपछि सँगै जीवन बिताउने भन्दै एक अर्कालाई माया, विश्वास र साथ दिएको मान्छेसँग आजभोलि भने डर लाग्न थालेको छ। परिवारविरुद्ध गएर ऊसँग बस्न थालेँ, परिवारले बिहे गरेर मात्रै सँगै बस, कि त विदेश जाऊ भन्दासमेत मानिनँ। नेपालमा नै केही गर्ने हो भन्दै ऊसँग बसेँ। अहिले उसका हर्कतले मानसिक रूपमा विक्षिप्त भएकी छु। राम्रो कमाइको जागिर पनि उसकै कारण छोडेँ। अफिसको कामले बाहिर जानुपर्दा पनि कोसँग सुत्न जान लागिस् भन्छ। मिटिङमा जानु छ भन्यो भने अफिसको हाकिमको नाम लिँदै त्यसैसँग डेटिङ जान लागेको होला हैन भन्दै तथानाम भन्छ।
लगातार यस्तो हुन थालेपछि मैले काम गर्नै सकिनँ। अनि कोठामै बस्न थालेँ। ऊ अफिस जान्थ्यो, तर अफिस पुग्न नपाउँदै मेरो निगरानी शुरू गर्न थाल्थ्यो। कतै कसैसँग कुरा गर्न, वल्लोपल्लो कोठाको कसैसँग बोल्न दिँदैन। मलाई अहिले आफूले गरेको मायाप्रति विश्वास उठेको छ। ऊसँग बस्न मन छैन। माया नगर्ने हैन, अथाह गर्छ। मलाई नराम्रो नलागोस् भनेर मन लागेको खानेकुरा र लगाउन मन लागेको कुरा सबै ल्याइदिन्छ। हामी हरेक हप्ता शुक्रवार बाहिर खाना खान जान्छौँ। महिनाको एक पटक घुम्न पनि गएकै हुन्छौँ। तर यी सबै कुरा फिका लाग्न थालेको छ। यसबाट बाहिर निस्किन पनि सकेको छैन।’
सामाजिक सञ्जालमा व्यक्त यी दुई अनुभवले हामीलाई सम्बन्धबारे लेख्न अझै जोडबल पुग्यो। यी भोगाइ वैवाहिक सम्बन्धमा बाँधिनका लागि शारीरिक, मानसिक र उमेरका हिसाबले परिपक्व दुई युवतीको हो। तर यी दुई उदाहरणले धेरैको साझा भोगाइको प्रतिनिधित्व गर्छ भन्दा पक्कै फरक पर्दैन। किनकि, अक्सर सामाजिक सञ्जालका गोप्य समूहहरूमा आफ्नो परिचय लुकाएर आउने ‘कन्फेसन’ र हाम्रो पडकास्ट गुलाबी संवादबाट सुझावको अपेक्षा गर्दै मेल र म्यासेज गर्नेहरूको भोगाइले यो धेरैको जीवनसँग मेल खाने विषय हो भनेर प्रस्ट्याउँछ।
हामीले देखेका, सुनेका र सुझावको अपेक्षासहित हामीसम्म आइपुगेका सम्बन्धसँग जोडिएका भोगाइहरूको एकै छिन चर्चा गरौँ। ती सम्बन्धमा गाँसिएकाहरू धेरैलाई प्रेमीप्रेमिकाले आफ्नो निजी जीवनमा दायराहरू बनाइदिएको विषयलाई सामान्य ठान्दा रहेछन्। प्रेमीप्रेमिकाले आफ्नो सामाजिक सञ्जालको नियन्त्रण गर्नु, उनीहरूसँग आफ्नो पासवर्ड शेयर गर्नु र आफूलाई अन्य केटा वा केटीसँग बोल्न नदिनु, सबैभन्दा प्रेमिल निर्णय लाग्दो रहेछ।
अझ अचम्मको कुरा त, आफ्नो पार्टनरले अरूसँग बोलेको थाहा पाउँदा आफूलाई गाली गर्नु, कोही केटा वा केटीसँग कतै जाँदा ‘नाजायज’ सम्बन्धको संज्ञा दिनुलाई ‘केयरिङ’ सोच्नु, आफ्नो चरित्रमा शंका गर्दै अपशब्दसहित दुर्व्यवहार गर्नुलाई ‘माया’ ठानेर आफैँलाई भाग्यमानी सोच्नेको जमात पनि ठूलै रहेछ। उनीहरूको यस्तो बुझाइले हामीलाई चकित त पार्यो नै, सँगसँगै यसरी जोडिने सम्बन्धको साथ कत्तिको दिगो होला भनेर पनि घोत्लिन बाध्य बनाइदियो।
के आफ्नो स्वतन्त्रता र अधिकारको सम्पूर्ण हक मन परेको मान्छेको जिम्मा लगाउनु नै माया, विश्वास र सम्बन्ध हो त? किन धेरैलाई यस्ता कुरा सामान्य लाग्छ? के त्यस्ता व्यवहार साँच्चै सामान्य हुन् त? आफ्नो दैनिकीदेखि पारिवारिक, सामाजिक सम्बन्ध, आफ्नो गोपनीयता र व्यक्तिगत अधिकारका सम्पूर्ण कुरामा अर्को व्यक्ति हाबी भइदिनु, हस्तक्षेप गरिदिनुले स्वस्थ सम्बन्धको छनक देखाउला? आफूलाई प्राविधिक वस्तुजस्तो ठानेर रिमोटले कन्ट्रोल गरेजस्तो जीवन स्वीकार गर्नुले आत्मसन्तुष्टि र प्रेमको अनुभूति गराइदेला? पक्कै पनि गराउँदैन।
हुन त प्रेमको शाश्वत परिभाषा हुँदैन भनिन्छ। प्रेममा नाफा घाटाको हिसाब हेर्नुलाई स्वार्थी ठानिन्छ। प्रेम अन्धो हुन्छ, र प्रेममा सबै कुरा स्वीकार्य हुन्छ पनि भनिन्छ। तर के माथि चर्चा गरिएझैँ अस्वस्थ र विषाक्त व्यवहारले पनि प्रेम दर्साउँछ? के ‘टक्सिक रिलेसनसिप’ (विषाक्त सम्बन्ध) पनि प्रेमले स्वीकार गर्छ?
केही समयअघि एक जना बहिनीको प्रेमीले उनीहरूबीचको शारीरिक सम्बन्धको फोटो र भिडियो खिचेछन्। ‘तिमी नभएको बेला ती फोटो भिडियो हेर्दै मन बुझाउन हुन्छ’ भन्दै प्रेमीले गरेको अनुरोधलाई नकार्न नसकेर ती बहिनी फोटो र भिडियोका लागि राजी भइछन्। पछि सम्बन्धमा खटपट शुरू भएपछि प्रेमीले ‘विषाक्त व्यवहार’ देखाउन थाल्यो।
‘म तँलाई माया गर्छु, तर मलाई छोडिस् र भनेको बेला भेट्न आइनस् भने फेक अकाउन्टबाट तिनै फोटो र भिडियो सार्वजनिक गरिदिन्छु’ भन्नेजस्ता धम्की दिन थाल्यो। माया गरेको जताउँदै झुटो आश्वासन दिने र ब्ल्याकमेल गर्ने प्रवृत्ति बढ्दै गयो। कहिले कलेजको गेटमा फूल लिएर उभिने, कहिले बस स्टपमा उपहार लिएर पुग्ने र बेवास्ता गर्यो भने फोटो सार्वजनिक गर्ने धम्की दिने गर्न थाल्यो। जब ती व्यवहारले चरम रूप लिन थाले, ती बहिनीले हिम्मत जुटाएर सबै कुरा आफ्नो परिवारलाई भनिछन्। परिवारकै सहयोगको पुलिस रिपोर्ट गरेपछि त्यो 'विषाक्त प्रेमी' पक्राउ पर्यो र उसको ल्यापटप र फोनबाट गोप्य फोटो/भिडियो पुलिसले हटाइदियो।
यस्ता घटनाले पछिल्लो समय बढिरहेका विषाक्त सम्बन्धको प्रवृत्ति दर्साउँछ। सँगसँगै, आफू ‘टक्सिक रिलेसनसिप’मा छु भन्ने थाहा हुँदाहुँदै पनि त्यसैलाई ‘केयरिङ नेचर’को उपमा दिने, ‘माया जताएको’ ठानेर दंग पर्ने, त्यसले आफूलाई छोडे ‘जीवन नै समाप्त हुन्छ’ भनेर अन्धभक्त हुने, दुर्व्यवहारलाई ‘प्रोटेक्सन’ गरेको भन्दै व्याख्या गर्नेको जमात पनि ठूलो छ भन्ने सजिलै बुझाउँछ।
आफूले/आफूलाई मन पराएको, माया गरेको मान्छेले आफूलाई डर धम्की दिइराख्दा, आत्मसम्मानमा चोट पुग्ने गतिविधि र नराम्रा शब्दहरूको प्रयोग गरिराख्दा पनि त्यस्ता सम्बन्धबाट बाहिर निस्किन सकिरहेका हुँदैनन्।
तर किन त? हामीले यही प्रश्न केहीसँग सोध्यौँ।
‘आफूले प्रेम गरिरहेको व्यक्तिलाई छोड्दा अर्को मान्छे कस्तो पर्छ भन्नेबारे आत्मविश्वास कम हुनाले, आफैँलाई विश्वास गर्न नसक्नाले, आफ्नो पार्टनरले ललाईफकाइ गर्नाले, मलाई छोडिस् भने यसोउसो गर्छु भन्दै धम्की दिने कारणले पनि सम्बन्ध बोझपूर्ण लाग्दालाग्दै पनि पीडितले त्यस्तो सम्बन्धलाई निरन्तरता दिइरहन्छन्।’
‘जसरी विभिन्न किसिमका लत हुन्छन्, सम्बन्ध पनि एउटा लतजस्तै हो। नराम्रो हो भन्ने जान्दाजान्दै, यसले मलाई हानी गरिरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई निरन्तरता दिइराख्ने हुन्छन्।’
‘केटा मान्छे आखिर यस्तै हुन् भन्ने सोचका कारण पनि जतिसुकै दुर्व्यवहार सहेर पनि आफ्नो सम्बन्धलाई कतिले निरन्तरता दिइराखेका हुन्छन्। यस्ता कारणले गर्दा नै धेरैजसो महिलाले टक्सिक सम्बन्धमा आफूलाई बाँधिरहन्छन्।’
हामीलाई आएका केही प्रतिनिधि जवाफ हुन् यी।
आफ्नो पार्टनरलाई सम्मान नगर्ने, नियन्त्रण गर्न खोज्ने, मानसिक र शारीरिक रूपमा हिंसा गर्नेजस्ता व्यवहार ‘टक्सिक’ व्यवहार भएका व्यक्तिमा हुन्छ। माया गर्ने, केयर गर्ने बहानामा आफ्नो पार्टनरलाई सधैँ आफ्नो नियन्त्रणमा राख्न खोज्छ। क्लिनिकल साइकोलोजिस्ट तारा अधिकारीका अनुसार दुर्व्यवहारमा पर्नु सामान्य हो भन्न त मिल्दैन तर सामान्यतया यो एउटा प्यार्टनका रूपमा विकास हुन्छ, जसले गर्दा सहेर बसिराख्ने प्रवृत्ति देखिइराखेको हुन्छ। अधिकारीका अनुसार यसमा विभिन्न तत्त्व जोडिएका हुन्छन्।
‘विगतमा पीडितमा कुनै आघातजन्य घटना घटेको हुन सक्छ, कुनै यौन दुर्व्यवहारमा परेका हुन सक्छन्। भावनात्मक दुर्व्यवहार भएको हुनसक्छ। यस्ता खालका हिंसाजन्य व्यवहार व्यक्तिमाथि भएको हुनसक्छ, जसले गर्दा यो कुरा नै ठिक हो कि भन्ने लाग्ने हुन्छ। हुर्किँदै/बढ्दै जाने क्रममा यस्तै घटनामा फस्दै जाने हुँदा यो सामान्य रहेछ भन्ने लाग्नु एउटा कारण हो’, अधिकारी भन्नुहुन्छ।
उहाँका अनुसार अभिभावकसँग कस्तो खालको आत्मीयता छ, हुर्किने क्रममा कस्तो खालको वातावरण थियो भन्ने कुराले पनि असर गर्छ। अभिभावक या रेखदेख गर्नेको व्यवहार शोषण गर्ने खालको थियो कि? तर्साउने, धम्क्याउने, एकदमै आलोचना गर्ने खालको अभिभावकसँग हुर्केको बच्चामा मलाई छोड्ने पो हुन् कि? म एक्लै हुने पो हो कि? जस्तोसुकै अवस्था आए पनि मैले मेरो आमाबुवासँग बस्नुपर्छ भन्ने भावनाको विकास हुन्छ र यही 'हेल्पलेसनेस'को सिकाइ मनमा गढेर बस्छ। जसले गर्दा पछि गएर आफ्नो पार्टनर दुर्व्यवहार गर्ने खालको भन्ने जानेर या नजानेर त्यस्तै खालको सम्बन्धमा व्यक्ति बाँधिन पुग्छ, या त त्यस्तै खालको सम्बन्धप्रति आकर्षित हुन पुग्छ। जसले गर्दा दुर्व्यवहारको श्रृंखलामा व्यक्ति फस्न थाल्छ। माया भनेको यस्तै हो, सम्झौता गर्नुपर्ने हुन्छ, म यस्तैको लायकको छु भन्ने खालको सोचाइको विकास हुँदै जाने रहेछ।
उहाँलाई हामीले यसरी दुर्व्यवहार भोग्ने व्यक्तिमा कस्ता खालका मानसिक समस्या देखिन्छन् भनेर पनि सोध्यौँ। त्यस्ता व्यक्तिमा मनोवैज्ञानिक, सामाजिक समस्यासँगै कडा खालमा मानसिक स्वास्थ्य समस्या पनि देखिन सक्ने रहेछन्। एकदमै ‘एन्जाइटी’ र ‘डिप्रेसन’का लक्षण देखिन सक्छन्। ससानो कुरामा आत्तिने, डराउने, लामो समयसम्म दुःखी भइराख्ने र एक्लै बस्न रुचाउनेजस्ता समस्या देखा पर्न सक्छन् र आफ्नो भावनालाई राम्रोसँग व्यक्त गर्न सक्दैनन्।
आफूलाई के भइरहेको छ थाहा नहुने, कुन कुरामा खुशी हुने र कुन कुरामा दुःखी हुने भन्ने थाहा हुँदैन, आफ्नो भावना सन्तुलन गर्न नसक्ने हुन्छ। जति बेला पनि पार्टनरले आफूलाई छोड्ने पो हो कि, एक्लै पो पार्ने हो कि भन्ने डर हुन्छ। आफ्नो पार्टनरप्रति धेरै निर्भर हुँदा यस्तो हुन्छ। पार्टनरले मलाई छाड्ला कि भन्नेमा मात्रै ध्यान हुन्छ। सामाजिक रूपमा हेर्दा कहिले फकाएर, कहिले तर्साएर, कहिले दुर्व्यवहार गरेर शारीरिक/मानसिक दुर्व्यवहार पीडकले गरिराख्ने हुन्छ।
‘टक्सिक पर्सनालिटी डिसअर्डर’ भएको मान्छेलाई कसरी ‘म्यानिपुलेसन’ गर्ने भन्ने थाहा हुन्छ। उसले कुन बेला पीडित के गर्दा डराउँछन् भन्ने थाहा पाएको हुन्छ। मान्छेसँग आफ्नो पार्टनरलाई बोल्न नदिने र सामाजिक जीवन नै बन्द गरिदिने गर्छ। अर्को मानसिक स्वास्थ्य समस्या हो ‘पोस्ट ट्रम्याटिक सिन्ड्रोम डिसअर्डर’। धेरै विषाक्त सम्बन्धमा लगातार दुर्व्यवहार भोगिरहेको खण्डमा पहिलेका घटना व्यक्तिले अनुभव गर्न थाल्छ। यस्तो सम्बन्धले निद्रामा समस्या आउँछ। धेरै लामो समयसम्म तनावजन्य अवस्था भइराख्दा स्मरण शक्तिमा कमी हुने र रोग प्रतिरोधात्मक क्षमता कम हुने हुन्छ।
यस्ता खालका सम्बन्धबाट बाहिर निस्किन सजिलो छैन। एकदमै लामो समयदेखि दुर्व्यवहार भोगेको व्यक्तिको बारम्बार आत्मसम्मानमा चोट पुगिरहेको हुन्छ। अरूले गरेको मात्रै ठीक र आफूले गरेको बेठीक भन्ने भाव मनमा हुन्छ। आत्मविश्वासको कमी हुन्छ। तर यस्ता सम्बन्धबाट बाहिर निस्कन असम्भव पनि छैन।
यसका लागि व्यक्ति आफैले आफ्नो आत्मसम्मान बढाउने जमर्को गर्नुपर्छ। आफैँले आफूलाई माया गर्ने, आत्मसम्मान डगमगाउन नदिने गर्नु नै यस्ता सम्बन्धमा नगाँसिनु र गाँसिइहालेको अवस्थामा बाहिर निस्कन सहज हुने माध्यम हुन्। आफूले आफैलाई माया गर्ने, त्यो माया र सम्मान अरूबाट पनि पाउन आफूलाई योग्य सम्झने र आफ्नो अधिकारबारे प्रस्ट हुने हो भने विषाक्त सम्बन्धको जालोले हामीलाई जेल्न सक्दैन।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
करुणा देवकोटा
