एसएसपी भट्टराईको ‘दृश्य प्रलेख’ कथासंग्रह विमोचन

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ।

काठमाडौँ– प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ। शनिबार नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमबीच कथासंग्रह ‘दृश्य प्रलेख’ लोकार्पण भएको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, लेखक तथा प्रज्ञा अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा समालोचक सुमन वर्षा र लेखक/प्रकाशक पुष्पराज पौडेलद्वारा संयुक्त रूपमा लोकार्पण भयो।

समीक्षक सुमन वर्षाले कथासंग्रहमा महिला पात्रलाई सशक्त र अधिकारसम्पन्न रूपमा प्रस्तुत भएको प्रत्येक कथाहरूले पाठकलाई नयाँपन दिने बताइन्। समीक्षक बानियाँले प्रत्येक कथाका पात्र र प्रस्तुति नौलो रहेको, साँच्चिकै किताब पढेर पुरस्कृत हुने भए यो किताब हुनुपर्ने उल्लेख गरे। उनले किताब पढ्दा कुनै पनि खोट लगाउने ठाउँ नभेटेको बताए। 

मदन पुरस्कार विजेता लेखक न्यौपानेले कथाहरू पढ्दा नयाँपन र रोमाञ्चित लागेको र लेखकको पहिलो संग्रह नै यति राम्रो हुनुमा लेखकको मिहिनेत स्पष्ट देखिएको बताए।

लेखक तथा प्रहरी नायब निरीक्षक केसीले आफू कथाकारसित कथा लेखनको बेलादेखि नै सँगै रहेको र उनको कथा लेखनले प्रभाव पारेको बताए। प्रहरी महानिरीक्षक कुँवरले प्रहरीभित्र पनि सिर्जनात्मक पक्ष रहेको उल्लेख गर्दै गोपालचन्द्र यसको उपलब्धि रहेको बताए। 

शिखा बुक्सद्वारा प्रकाशित यो कथासंग्रहको मूल्य ५५५ रुपैयाँ रहेको छ।