क्यानले हरेक फ्रेन्चाइज टिमलाई ‘ट्यालेन्ट हन्ट’मार्फत एक स्थानीय खेलाडी राख्नै पर्ने नियम लगाएको थियो। यसरी छानिएकामध्ये तीन खेलाडीले मैदानमा मौका पाउँदा कर्णालीका विपीनको प्रदर्शन उत्कृष्ट रह्यो।
काठमाडौँ– काठमाडौँ गुर्खाजका ‘आइकोनिक प्लेयर’ कृष कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल)मा मैदान उत्रिनै पाएनन्। काठमाडौँले लिगमा सात वटा खेल खेल्दा चार जित र तीन हारको नतिजा ल्यायो। यी सबै खेलमा कृष ‘प्लेयर बक्स’मा थिए।
आइकोनिक खेलाडी छनोट गर्न काठमाडौँले भक्तपुर, ललितपुर, नुवाकोट र काठमाडौँमा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो। अलराउन्डर कार्की धेरै प्रतिस्पर्धीलाई पाखा लगाउँदै छनोट भएका थिए।
एनपील खेल्न नपाए पनि आफू निराश नभएको कृष बताउँछन्। काठमाडौँ प्रतियोगिताबाट बाहिरिएसँगै आफूले अब अर्को एनपीएलका लागि कडा मिहिनेत शुरू गरिसकेको उनले बताए।
“राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूसँग बेन्च शेयर गर्ने मौका मिल्यो। उनीहरूको खेल्ने तरिका देखेर धेरै सिकेँ,” उनी भन्छन्, “नखेले पनि टिममा थिएँ, खुशी छु। अर्को वर्ष खेल्छु भन्ने विश्वास छ।”
उनी मात्र होइन, आठमध्ये पाँच टिमका आइकोनिक प्लेयरले मैदान उत्रिन पाएनन्। अब फाइलन खेल मात्र बाँकी हुँदा मैदान उत्रिन नपाएकाहरूमा कृषबाहेक जनकपुर बोल्ट्सका विशाल सुसलिङ, विराटनगर किंग्सका कमल खत्री, चितवन राइनोजका सल्लाहुद्दिन खान र लुम्बिनी लायन्सका आरिफ खान छन्। यद्यपि, जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्दैछ।
३ जनालाई मौका, विपीनको प्रभाव
कर्णाली याक्सका आइकोनिक प्लेयर विपिन शर्माले एनपीएलमा तरंग नै ल्याएका छन्। देब्रेहाते ‘अर्थोडक्स’ विपीन १६ वर्ष मात्र पुग्दैछन्। प्रतियोगिताकै कान्छा खेलाडी विपीनले कर्णालीबाट आठ खेल खेल्दै १३ विकेट लिए।
धेरै विकेट लिने खेलाडीको सूचीमा उनी चौँथो नम्बरमा छन्। उनीभन्दा अगाडि एक जना मात्र नेपाली खेलाडी ललित राजवंशी छन्। जनकपुर बोल्ट्सका खेलाडी ललितले नौ खेलमा १६ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिमका स्कट कुग्गेलिनसँग बराबरी गरेका छन्।
विपीनले खेलेका सबै आठ खेलमा विकेट लिए। जनकपुरविरुद्धको दोस्रो क्वालिफायरमा त उनले प्रतियोगिताकै आफ्नो उत्कृष्ट बलिङ गरे, भलै टिमलाई जिताउन सकेनन्। उनले १७ रन दिएर ३ विकेट लिएका थिए। जनकपुरका आक्रामक ब्याटर जेम्स निशमलाई उनैले पेभेलियन पठाएका थिए।
लिग चरणमा पनि चितवनविरुद्ध ‘प्लेयर अफ दि म्याच’ बनेका विपीनले तीन विकेट नै लिएका थिए। त्यसका लागि २१ रन खर्चिएका थिए। प्रतियोगितामा उनले पाकिस्तानका चर्चित क्रिकेटर सोहेल तनवीर, नामिबियाका लोफ्टी इटन, अस्ट्रेलियाका बेन कटिङ, न्युजिल्यान्डका मार्टिन गुप्टिल, अमेरिकाका आन्द्रेस गौस जस्ता खेलाडीको विकेट लिएका छन्।
जनकपुरसँगको खेलपछि बिहीबार विपीनले पत्रकारहरूसँग कुरा गर्दै भने, “मलाई धेरै क्रिकेटर चम्किने र हराउने गरेको थाहा छ। म आफ्नो खेल जीवनलाई लामो यात्रा गराउन चाहन्छु। चम्किने बित्तिकै हराउन चाहन्नँ।”
विपीनबाहेक पोखरा एभेन्जर्सका आइकोनिक प्लेयर सुदीप अर्याल र सुदूरपश्चिम रोयल्सका वसन्त खत्रीले पनि मौका पाएका छन्। सुदीपले एक र वसन्तले दुई खेलमा मौका पाउँदा प्रभाव छाड्न भने सकेनन्।
पोखराका सुदीपले लिगको अन्तिम खेलमा मौका पाएका थिए। दायाँहाते मध्यम गतिका बलर रहेका उनले सुदूरपश्चिमविरूद्धको खेलमा दुई ओभर बलिङ गरेर १९ रन दिए। तर विकेट लिन सकेनन्।
सुदूरपश्चिमका वसन्तले भने लिग चरणमा लुम्बिनी लायन्स र विराटनगर किंग्सविरूद्ध मौका पाएका थिए। दायाँहाते मध्यम गतिका बलर रहेका उनले लुम्बिनीविरुद्ध एक ओभर मात्र बलिङ गर्न पाए, जसमा १२ रन दिएका थिए। विराटनगरविरूद्धको खेलमा ब्याटिङको मौका पाएका उनले अविजित ४ रन जोडेका थिए।
कसरी छनोट भएका थिए?
नेपाल क्रिकेट संघ (क्यान)को गाइडलाइनअन्तर्गत हरेक फ्रेन्चाइजी टिमले एक जना स्थानीय (सम्बन्धित प्रदेश वा ठाउँका) खेलाडी छनोट गरेर टिममा राख्नु पर्ने थियो। यस्तो खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्नु पर्थ्यो।
सबै टिमले यस्ता खेलाडी छनोटको जिम्मा टिमका मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षकलाई दिएका थिए। काठमाडौँ गुर्खाजका मुख्य प्रशिक्षक वसन्त शाहीका अनुसार प्रत्येक टिमले आ–आफ्नो आवश्यकताअनुसार नै सम्बन्धित प्रदेशबाट आइकोनिक प्लेयर छानेका हुन्। आफ्नो टिमलाई जस्तो प्लेयरको खाँचो छ त्यस्तै छान्नु स्वभाविक भएको उनी बताउँछन्।
“खेलाडी छान्दा मुख्यगरी हामीले परफरमेन्स नै हेर्ने हो। सबै टिमको आआफ्नो आवश्यकता हुन सक्छ। हामीलाई एउटा राम्रो अलराउन्डर चाहिएको थियो, त्यस्तै रोज्यौँ,” शाही भन्छन्, “अरू टिमलाई कस्तो खालको प्लेयरको खाँचो छ, त्यस्तैलाई आइकोनिक बनाउने हो।”
कतिपय टिमले आइकोनिक खेलाडी छनोट गर्दा उत्कृष्ट प्रदर्शन गर्नेलाई पनि टिममा सँगै रहेर प्रशिक्षणको मौका दिएका थिए। विराटनगर किंग्सले कमल खत्रीलाई आइकोनिक बनाउँदा फिर्दोस अन्सारी र सुजन तिमिल्सिनालाई पनि टिममा राखेर प्रशिक्षण गराएको थियो। त्यस्तै, सुदूरपश्चिमले वसन्त खत्रीलाई आइकोनिक बनाउँदा अरू ६ जना खेलाडीलाई पनि प्रशिक्षण गराएको थियो।
के हो आइकोनिक खेलाडीको महत्त्व?
नेपाली क्रिकेटको ‘होराइजन’ फराकिलो बनाउनु नै आइकोनिक प्लेयरको महत्त्व भएको पूर्व राष्ट्रिय खेलाडी राजु बस्नेत बताउँछन्। उनका अनुसार आइकोनिक प्लेयरको छनोटले नयाँ खेलाडीहरूलाई प्रोत्साहन दिन्छ।
त्यति मात्र नभई राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ प्रतिभा जन्मिने सम्भावना पनि हुने उनी बताउँछन्। “नेपालमा क्रिकेटरहरूको समूह सानो छ। खेलाडीहरू पनि थोरै छन्। यस्तो ठूलो आयोजनहरूमा लोकल खेलाडीहरूलाई आइकोनिक प्लेयर बनाएर ल्याउँदा नेपाली क्रिकेटको क्रेज बढ्छ र यसले भविष्यमा नेपाललाई खेलाडीको खाँचो हुँदैन,” उनी भन्छन्।
पहिलो एनपीएलले पनि कर्णालीका विपीनलाई प्रतिभावान खेलाडीका रूपमा भेटाएको र उनी राष्ट्रिय टिम पुग्ने प्रतिस्पर्धासम्म पुगेको बस्नेतको भनाइ छ। उनी अक्सनका लागि दर्ता थिएनन्। “आइकोनिक प्लेयरको छनोटले नै उनले आफ्नो प्रतिभा देखाउन सम्भव बनाएको हो नि,” उनी भन्छन्।
क्यानका प्रवक्ता छुम्बी लामा पनि घरेलु क्रिकेटलाई विकसित र विशाल बनाउन आइकोनिक प्लेयरको अवधारणा ल्याइएको बताउँछन्। आइकोनिक प्लेयरमार्फत एनपीएलमा मौका दिनुको उद्देश्य नै देशका लागि खेलाडी उत्पादन गर्नु हो।
“देशका लागि पर्याप्त खेलाडी उत्पादन होस् र नयाँ खेलाडीले पनि मौका पाउन् भनेर नै आइकोनिक प्लेयरको कन्सेप्ट ल्याइएको हो,” लामा भन्छन्, “अहिले कतिले खेल्ने मौका पाए वा पाएनन् आफ्नो ठाउँमा छ। तर उनीहरू टिममै छन्। त्यहाँ बसेर धेरै कुराहरू सिकिरहेको हाम्रो विश्वास छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
