कवि जीवन थिङको सालिक बनाउने कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि बोलिहाल्लान् जस्ता कवि थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।
माटोमा मिल्नुअघि माटोमा जन्मिनुको मट्यौली प्रेमलाई कविता र साहित्यमा भनिराखेर जिन्दगीको मध्यदिन नदेखी माटैमा मिलेका कवि जीवन थिङको ६९औँ जन्मदिन गत बिहीबार परेको थियो। उनी ४७ वर्षअघि नै सिक्किमे माटोको मायामा बलिया साहित्य सिर्जना गरिराखेर हिँडेका हुन्।
कवि थिङको ‘थिंकिङ पावर’ले अझै पनि सिक्किमको माटोमा लेखिने साहित्यहरू झन्झनाइरहेका छन्। जिन्दगीका ३० वसन्त–हिउँदो काट्न नपाई बाटो लाग्नेहरूमा अच्छा राई रसिक, जोहन किट्स, सिल्भिया प्लाथ, पर्सी बिसी सेली थिए। उसैगरी कम उमेरमै धरती छाडेर लामो समय बाँचिराख्ने र सिक्किमले ‘माटो कवि’ उपाधि दिएका कवि हुन् जीवन थिङ।
असाधरण कवि व्यक्तित्व बोकेका थिङको ‘साङ्लीभित्र बाँधिएका घोडाका टापहरू’ एक्लो साहित्य संकलन हो, जुन उनले जीवनकालमा देख्न पाएनन्। थोरै लेखेर धेरै चर्चित हुने कवि थिङ गइसकेपछि दान खालिङले सम्पादन गरेको कविता, गीत, मुक्तक, खण्डकाव्य, समालोचना र कथाहरूको संकलन हो यो पुस्तक। यसलाई १९८३ अप्रिलमा श्याम ब्रदर्श प्रकाशन दार्जीलिङले प्रकाशन गरेको थियो।
सिक्किमको माटो र माटोमा रहिआएका होमो सेपियन्सको तीतो यथार्थहरूलाई काव्यिक र साहित्यिक ‘क्राफ्ट’मा उनेर भविष्यको निम्ति खै गरिएका भविष्यवाणीजस्ता छन् उनका साहित्यिक कृतिका चेत। उनले त्यति बेला सोचेका विचार तत्कालीन समयभन्दा छिटो थियो। उनले खिपेका हरेक शब्दहरूमा भविष्यमा आइपर्ने अस्तित्व संकट, चिनारीको प्रश्न, आर्थिक विपन्नता र अनुहार हराउन सक्ने सम्भावना भेटिन्छ। त्यसैले कवि जीवन थिङले जे लेखे, त्यो समयभन्दा अगाडि नै छ। उनी समयभन्दा धेरै छिटो थिए र समयले छोड्नु अघि नै फर्किए।
१९५५ डिसेम्बर १९ मा दक्षिण सिक्किमको नाम्चीमा जन्मिएका थिङले गान्तोकको सिच्छे तामाङ गुम्पा नजिकको पुस्तैनी बासस्थानमा समय बिताए। १९७२ मा दार्जीलिङको सेन्ट जोसेफ कलेजमा स्नातक अध्ययन गर्न गएपछि उनको साहित्यिक प्रतिभाले चमत्कार देखाउने मौका पायो। लगभग पाँच वर्ष मात्र सक्रिय साहित्य अभ्यास गर्न पाएका कवि थिङ फोक्सोसित सम्बन्धित बिमारीको कारण १९७८ मा कोलकत्ताको पीजी अस्पतालमा सधैँको निम्ति निदाए।
‘काशी जलिरहोस्’ भन्ने पहिलो प्रकाशित कविता सेन्ट जोसेफ कलेजको म्यागेजिन नर्थ पोइन्टरमा छापिएसितै उनी कविको रूपमा चिनिएका हुन्। उनले जम्मा ८२ वटा कविता लेखे। तीमध्ये प्राप्त भएका ७९ वटा कविता ‘साङ्लीभित्र बाँधिएका घोडाका टापहरू’मा छापिएका छन्।
उनले कथा लेखे, गीत लेखे, समालोचना लेखे, अनि लेखे ‘नार्सिस’ खण्डकाव्य। यो खण्डकाव्यका सात खण्ड छन्, तर अन्तिम खण्ड पूरा छैन। उनले खण्डकाव्य पूरा गर्नुअघि नै जानु पर्यो। आफ्ना मित्र डा. घनश्याम नेपाललाई लेखेको पत्रमा आफू निको भएर आएपछि नार्सिस खण्डकाव्य पूरा गर्नु पर्ने, अनि अन्य काम पनि रहेको उल्लेख छ। तर उनीभित्र दुखिरहने सिक्किमको पीडा बोकेरै गए, नफर्किनेगरी।
सिक्किम भारतमा विलयपछि उनको माटो प्रेमको भक्कानो फुटिरहन्थ्यो। उनका हरेक रचनामा सिक्किम ओतप्रोत भएर पोखिन्थ्यो। त्यसैले साहित्यकार दान खालिङले भनेका छन्, “यी कवि आफ्नो देशको, सिक्कमको यति माया गर्छन्, जसको सिमाना छैन। कविता पढ्दा–पढ्दै पाठक आफैँ पनि सिक्किम सचेत हुन पुग्छ र आफू र आफ्नो स्थिति– अवस्थिति बिर्सेर मेरो सिक्किम, मेरो देश भन्ने अवस्थामा पुग्छ।”
तार्किक कवि
माटो कवि जीवन थिङ अब्बल दर्जाका तार्किक पनि थिए। १९७४ अक्टुबर २ को एउटा सुनौलो सम्झना कवि तथा कथाकार कालुसिंह रनपहेँलीले साझा गरेका थिए।
कवि रनपहेँलीका अनुसार त्यो गान्धी जयन्तीको दिन थियो। गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको तत्वावधानमा सम्मेलनकै भवनमा स्वामी प्रबुद्धानन्द स्मारक च्यालेन्ज शिल्डको पाँचौँ वार्षिक तर्क प्रतियोगिता आयोजना भएको थियो। खचाखच भरिएको हलमा कालेबुङ सरकारी महाविद्यालय र सेन्ट जोसेफ कलेज, दार्जीलिङबिच घमासान भएथ्यो त्यो वाक्युद्ध।
त्यहाँ, सेन्ट जोसेफ कलेजका पाँच तार्किकहरू राजेन्द्र ढकाल, भीमप्रसाद अधिकारी, जीवन थिङ, कालुसिंह रनपहेँली अनि जमानसिंह गुरुङ तयार थिए। यो दलका अगुवा जीवन थिङ थिए। रनपहेँली लेख्छन्, “त्यो वाकको कुश्तीमा हामी बलवान निस्क्यौँ। स्वामी प्रबुद्धानन्द स्मारक च्यालेन्ज शिल्ड हामीले जित्यौँ। हाम्रो हर्षको सीमा रहेन।”
त्यति बेला आफूहरूभन्दा बढी खुशीले नेपाली विभागका आफ्ना प्राध्यापक जेरर्ड मुखिया धपक्क बलेको पनि रनपहेँलीले उल्लेख गरेका छन्। उनले प्रतियोगिताका विजेता पाँच जनालाई चौक बजारको पोस्ट अफिसछेउ प्रसिद्धनारायण दासको मिठाई दोकानमा लगेर भनेका थिए, “म आज अति खुशी छु। तिमीहरूले मेरो नाक राख्यौ। तिमीहरू जे खान्छौ खाऊ।”
पत्रकार जीवन थिङ
साहित्यको सबै विधामा कलम चलाएर छोटो समयमै स्थापित बन्न पुगेका थिङको जीवनको अर्को पाटो पत्रकारिता पनि थियो। उनले ‘सुधा’ नामक साहित्यिक पत्रिका सम्पादन गरेका थिए। त्यसैगरी नेपाली समाचारपत्र ‘हिमाली बेला’मा पनि काम गरेको कवि डा. राजेन्द्र भण्डारी बताउँछन्।
थिङ जतिको सशक्त कवि सिक्किममा आफूले नदेखेको बताउने कवि भण्डारीले उनको पुनर्पठन हुनुपर्ने ठान्छन्। कवि भण्डारीले जीवन थिङलाई १९७६ मा भेटेका थिए।
“उनी हिमाली बेला समाचारपत्रको कार्यालयमा काम गर्थे। म मेरा ससाना लेखोट उनलाई देखाउथेँ। उनी हौसला, प्रेरणा दिन्थे। अत्यन्त नरम र शिष्ट स्वभावका थिए। साहित्यका विद्यार्थीप्रति अत्यन्त सद्भाव राख्थे,” भण्डारी भन्छन्, “केहीपछि त्यहीँबाट सुधा नामक साहित्यिक पत्रिकाको सम्पादन गरे। म उनलाई दाजु भन्थेँ।”
सिक्किम भारतमा विलय हुँदा उनको युवाहृदय क्षत–विक्षत भएको थियो। यही आघात उनका कविताहरूमा प्रतिविम्बित भएको पाइने भण्डारी बताउँछन्। कवि थिङको सिक्किम विलयविरोधी अडानलाई सिक्किमबाटै धेरैले विरोध गरे। राजनैतिक अपरिपक्वता भने। तर उनले कवितालाई जसरी, जुन शैलीमा, जुन संवेगमयताका साथ प्रस्तुत गरे, त्यो शक्तिशाली र प्रभावी छ।
जेजस्तो प्रतिक्रिया आवोस् त्यसमा अडिग रहेर लेख्नु उनको लेखनगत इमान्दारिता भएको कवि भण्डारीको मत छ। सन् १९७३–७४ को जनआन्दोलन र तत्पश्चात् १९७५ को विलयलाई निर्भीकतापूर्वक साहित्यिक रूपमा प्रस्तुत गर्ने उनी सिक्किमका विरल साहित्यकार हुन्।
डा. भण्डारीको मतमा थिङका कथाहरू पनि कविताजत्तिकै प्रखर छन्। कथामा उनको विषयपरिधि केही व्यापक छ। “कवि थिङ अहिले केही ओझलमा परेको देखिन्छ। त्यसको कारण उनले उठाएको विवादस्पद मुद्दा हो, तर यसले गर्दा कवित्वचर्चा पनि कम हुन पुगेको छ। यस्तो नभए हुन्थ्यो भन्ने लाग्छ,” भण्डारी भन्छन्, “हामी अभिव्यक्ति स्वतन्त्रतालाई मान्छौँ, अनि खाँटी कवित्वको सराहना गर्छौँ। जीवन थिङको पुनर्पठन हुनु आवश्यक छ।”
अध्येयता जीवन थिङ र उनको विरासत
पाश्चात्य साहित्य अध्ययन र तत्कालीन ग्रिसेली मिथकहरूको अभ्यासमार्फत नेपाली साहित्यमा विषय प्रवेश गराउने चलनबाट जीवन थिङ पनि अभिप्रेरित थिए। उनलाई दार्जीलिङबाट सिर्जित तेस्रो आयमको लेखन परम्परासितै अन्य प्रयोगात्मक लेखन परम्पराको बोधले छोएको थियो। उनको खण्डकाव्य ‘नार्सिस’लाई त्यसैको प्रभाव मान्न सकिन्छ।
तर उनले वैश्विक सन्दर्भहरूलाई पनि सिक्किमसित केलाएर हेर्ने गर्थे। उनी धेरै अध्ययन गर्थे र सन्दर्भहरूको खोजीमा हुन्थे भन्ने रोचक प्रसंग उनका सहपाठीसमेत रहेका सिक्किमका कुशल अनुवादक तथा समीक्षक मन्दीप लामा बताउँछन्। समीक्षक लामाले ‘नार्सिस’ खण्डकाव्य लेख्न अघिको रोचक प्रसंग साझा गरेका छन्।
थिङ र लामा कक्षा साथी थिए। पछि थिङले दार्जीलिङमा ‘ग्रेजुएसन’ गर्दा लामा सामुदायिक केन्द्र पुस्तकालयको लाइब्रेरियन थिए। एक दिन कवि थिङ गान्तोकमा लामालाई भेट्न जाँदा लामा श्रीमती रोजाबेल नाम्चु (रोसा गुरुमा भनेर चिनिन्छिन्, हाल स्वर्गीय) सँगै पुस्तकहरू मिलाउन व्यस्त थिए।
उनी पुस्तकालयमा भर्खरै आएका पुस्तकहरूको वर्गीकरण गरिरहेका थिए। उनलाई किताबको थुप्रोले घेरिएको देखेर कवि थिङले भनेका थिए, “मन्दीप, तिमी धेरै भाग्यमानी छौ, सधैँ यति धेरै किताबको बीचमा रहनु पाएका छौ।”
केही कुराकानीपछि कवि थिङले भने, “मन्दीप, म सिक्किमको इन्डियासँग विलयको विषयमा खाण्डकाव्य लेख्ने योजनामा छु। यो खण्डकाव्यलाई नार्सिसस भन्ने सोचेको छु। शायद तिमीलाई नार्सिससको कथा थाहा छ।”
लामाले नार्सिसस मिथकबारे सुनेका थिए, पढेका थिएनन्। थिङले त्यो दिन नार्सिससको मिथक सुनाए। अन्त्यमा लामालाई भने, “तिम्रो पुस्तकालयमा ग्रिक पौराणिक कथाहरूमा केही पुस्तकहरू हुनु पर्छ। म चाहन्छु तिमीले ती पौराणिक कथाहरू पढ, विशेषगरी नार्सिसस र मेरो खण्डकाव्यका लागि पृष्ठभूमि तयार पारिदेऊ।”
“मैले ग्रिक पौराणिक कथाहरू पढ्न थालेँ, एस्किलस, सोफोक्लिस र युरिपाइड्सका केही ग्रिक त्रासदीहरू पढेँ। ग्रिक साहित्यप्रति मेरो लगाव बलियो हुँदै गयो,” लामा भन्छन्, “त्यसपछि नै म र ग्रिक पौराणिक कथाहरूबीच रोमान्स शुरु भयो, यो आजसम्म जारी छ।”
कवि थिङलाई नार्सिसस खाण्डकाव्य लेख्न उनको नोटले कुन हदसम्म मद्दत गर्यो त्यो त लामालाई थाहा छैन। किनभने, थिङ उत्तर बंगाल विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि गएपछि उनीहरू दुई जनाबीच विरलै भेट भयो।
“जीवन थिङले मलाई पौराणिक कथाहरूको संसारमा अगुवाइ गरेर मेरो जीवनको बौद्धिक पक्षलाई समृद्ध बनाइदियो। अझै पनि मलाई ग्रीक र अन्य पौराणिक कथाहरूको संसारमा घुम्नको लागि अभिप्रेरित गरिरहन्छ,” उनी भन्छन्।
बलियो कथाकार जीवन थिङ
माटो कवि उपाधि पाएपछि थिङ कविकै रूपमा धेरै चर्चामा छन्। उनको निधनको चार दशक बितेर गइसकेको छ। उनले जति कविता लेखे त्यसको तुलनामा थोरै कथा र लेख लेखेका छन्। उनले कम्ती लेखेका कथाले नै उनलाई सम्मान दिएको पाटो भने अहिलेसम्म थोरै चर्चा गरिन्छ।
उनको कथा ‘बिम्ब–प्रतिबिम्बः गान्तोकको कलिलो बिहान’ले नेपालको चर्चित रत्नश्री स्वर्ण पदक जितेको थियो। उनले जम्मा १२ वटा कथा कथिगएका छन्, जसले सिक्किमकै तत्कालीन र भविष्यको स्थितिको नक्सा कोरेको पाउछौँ। आख्यानकार तथा कवि प्रवीण राई जुमेली जीवन थिङको कथा कथ्ने पक्षलाई बलियो मान्छन्।
कवि जुमेली भन्छन्, “जीवन थिङ सिक्किमको इतिहास र साहित्यमा सम्झना गर्नुपर्ने व्यक्तिको रूपमा हेर्छौँ। उनको काव्य र कथामा जुन पहिचान छ, त्यसले नै उनको परिचय दिइहाल्छ। उनको लेखन सिक्किम विलयको विरोधमा छ। त्यसै पनि उनी सिक्किमवादी भएकोले गर्दा उनलाई माटो कवि भनिएको हो।”
खाँटी सिक्किमेको सम्झना गर्नुपर्दा जीवन थिङको नाम लिन सकिने कवि जुमेलीको ठम्याइ छ। कवितामा भन्दा कथामा जीवन थिङ धेरै बलियो भएको उनी बताउँछन्। कथाको ‘क्राफ्ट’मा ध्यान नपुगेर वा कथा नै राम्रोसित नपढिएको कारण उनका कथाले चर्चा नभएको हुन सक्ने उनको भनाइ छ।
जीवन थिङ मार्ग र सालिक
माटो कविको उपाधिसितै सिक्किमको राजधानी गान्तोकको डेपलोपमेन्ट एरिया जाने वर्तमान मनन केन्द्रदेखि टासी नामग्याल उच्चत्तर माध्यमिक विद्यालसम्म पुग्ने बाटोको नाम जीवन थिङ मार्ग राखिएको छ। जीवन थिङलाई माया गर्नेहरूमा उनको मित्र सिक्किमका पूर्वमन्त्री तथा वरिष्ठ कलाकार थुकचुक लाचुङपा पनि एक हुन्, जसले जीवन थिङको पूर्णकदको सालिक बनाए।
काँस्य सालिक धेरैअघि बनिएर गान्तोक आइपुगेको हो। तिब्बत पथस्थित बीएल हाउसमा केही समय अघिसम्म सुरक्षित थियो। आफ्नो प्रिय मित्र कवि थिङको सालिक बनाएर ल्याएपछि कलाकार लाचुङपाले भनेका थिए, “कविजस्ता समाजका सम्मानित व्यक्तिको भव्य सालिक बनिएर आयो, अब भव्य पेडेस्टलमाथि स्थापित गरिनुपर्छ। सरकारले यसको निम्ति उचित जमिनको व्यवस्था गर्नुपर्छ।”
समय बितिरह्यो, माटो कवि जीवन थिङले माटो पाएनन्। अहिले कवि थिङको सालिक निर्माता कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि बोलिहाल्लान् जस्ता कवि जीवन थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।
कलाकार लाचुङपाले आफूले लन्डनमा कलामा स्वर्णपदकसहित स्नातक गरेकको बेला जीवन थिङले अन्तर्गवार्ता छापेको सम्झना गरिरहन्थे। त्यस बेलाको सोझो सिक्किमेलाई कला र स्वर्णपदक अनि लन्डनमा पुगेर पाएको सफलताबारे कुनै चासो नै नहुँदा कवि थिङले अन्तर्वार्ता लिएर दार्जीलिङको चर्चित पत्रिका ‘दियालो’मा छापेका थिए। कलाकार लाचुङपाले त्यो अन्तर्वाता छापिएको पत्रिकाको माग गर्दै सक्कली पत्रिका दिनेलाई नगद ५० हजार रूपियाँ पुरस्कार तोकेर पत्रकार सम्मेलन गरेका थिए। पत्रिका प्राप्त भएको समाचार भने प्रकाशमा आएन।
माटो कवि थिङको सालिक सही ठाउँमा स्थापित गरिनु पर्ने वरिष्ठ पत्रकार तथा कवि भीम रावतको मन्तव्य छ। “हामीले हाम्रा महापुरुषहरूको धेरै मूर्तिहरू सिक्किममा स्थापित गरेका छौँ। जीवन थिङजस्ता व्यक्तिको मूर्तिले पनि ठाउँ पाउनु पर्ने हो, जसले सिक्किमेलाई त्यस समयमा झक्झकाएका थिए,” उनले भनेका छन्।
धेरै वर्षअघि मूर्ति स्थापनाका लागि समिति पनि बनाएको उनले स्मरण गरेका छन्। मूर्तिलाई पायक परेको ठाउँमा राख्न सके भावी पिँढीले पनि जीवन थिङलाई चिनिरहेन मौका पाउने र समाजलाई सिक्किमको माटोलाई माया गर्नु पर्ने चेतना दिने उनी बताउँछन्।
अहिले पनि थिङका कविता, साहित्यिक योगदान र त्यसका गुणवत्ताबारे चर्चा भइरहेकै छ। विभिन्न विश्वविद्यालयहरूले उनीमाथि शोध कार्यहरू पनि गरिरहेकै छन्। छोटो जीवन लिएर आएका थिङ कर्महरूमा लामो बाँचेका छन्। माटो कविले अब आफ्नै घर आँगनको माटोमा भने कहिले निर्धक्क सालिक उभिने मौका पाउने हुन्, टुंगो छैन। तर त्यो दिन चाँडो आओस्, माटो कविलाई श्रद्धाञ्जली।
(प्रवीण खालिङ गान्तोक, सिक्किमका कवि तथा पत्रकार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
